बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दाइजोमा जग्गा माग्दै यातना, युवतीद्वारा आत्महत्या

सोमबार, २९ असार २०७७, ०८ : २९
सोमबार, २९ असार २०७७

जनकपुरधाम । कोरोना महामारीको बीचमा एक युवतीले विवाह गरेको दुई वर्ष पनि नबित्दै आत्महत्याको बाटो रोज्नुपरेको छ । घरमा दिनहुँ दाइजोमा जग्गा माग्दै विभिन्न किसिमले यातना दिइरहेकै कारणले २२ वर्षीया कल्पना ठाकुरले आत्महत्या गरेको उनको परिवारको आरोप छ ।

गत मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा रहेको घरमा मृत्त पाइएकी कल्पनालाई आत्महत्या गर्नका लागि पति र सासुले बाध्यात्मक अवस्था सृजना गरेको आरोप उनकी आमा रिङ्की पाण्डेले लगाएकी छन् । छोरीलाई उनको पति र सासुले दाइजोका लागि पटकपटक ब्ल्याकमेलिङ गरेकाले दबाब सहन नसकेर गत असार २३ गते झुण्डिएर आत्महत्या गरेको उनले दाबी गरिन् ।

मृतक कल्पनाकी आमा रिंकी पाण्डेले छोरी कल्पनाको विवाह महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ डाम्ही महेशपुरका महेन्द्र ठाकुरको छोरा जितेन्द्र ठाकुरसँग २०७४ सालमा गराएकी थिइन् । विवाहमा ८ लाख रुपैयाँ दाइजो पनि दिइएको थियो ।

कल्पना केही महिनादेखि माइतमै बस्दै आएकी थिइन् । कोरोनाको कारणले गर्दा सरकारले घोषणा गरेको लकडाउनपूर्व नै छोरी र ज्वाइँ जितेन्द्र ठाकुरबीच जग्गा नामसारीको बिषयलाई लिएर पटक पटक झगडा भइरहेको उनले सम्झिन् ।

करिब ३ सातापूर्व ज्वाइँ जितेन्द्रले आफ्नो कार्यस्थल सर्लाहीको लालबन्दी फर्के पनि छोरी र ज्वाइँ बीच फोनमा झगडा र विवाद चल्ने गरेको थियो । आमा रिङ्की भन्छिन्, ‘मेरो छोरीलाई उसको पतिले आफ्नो आमाको इसारामा जग्गाको लागि पटक–पटक मानसिक यातना दिदैँ आएको थियो । हामीले जतिसक्यौँ सबैथोक उनीहरुलाई दिएकै हो । उनीहरुले हामीलाई प्रत्यक्ष नभने पनि छोरीलाई लगातार तनाव दिदैँ आइरहेका थिए । फोनमा पनि ज्वाईले कल्पनालाई पटक पटक गालीगलौज र अपशब्द प्रयोग गर्ने गर्थे ।’

‘यो सब कुरा कल्पना हामीसँग बस्न थालेपछि भने अनि मात्र थाहा पायौँ ।  विवाह भएको केही समयपछि नै निरन्तररुपमा पति र सासुले मानसिक तनाव दिन सुरु गरेका थिए,’ उनले भनिन् ।

निरन्तरको मानसिक तनाव र पतिको गाली अपशब्द सहन नसकेर आफ्नो छोरीले अन्त्यमा मृत्युको बाटो रोजेको मृतक कल्पनाका पिता दरोगा साहले आरोप लगाए । उनी भन्छन्, ‘धनकै लोभमा परेर उनी (जितेन्द्र) मेरो छोरीसंग विवाह गर्न राजी भएको थियो । मैले आफ्नो छोरीको नाममा जनकपुरमा रहेको जग्गा दिन पनि राजी थिएँ । तर जितेन्द्रकी आमाले छोरीको नाममा नभएर छोराको नाममा जग्गा रजिष्टे«शन पास गर्नुपर्छ भन्दै दबाब दिदैँ आएकी थिइन् । त्यसैले पनि उनीहरुले कल्पनालाई माइतबाट घर लग्न समेत आनाकानी गरिरहेका थिए ।’

‘ज्वाइँ जितेन्द्रले जबसम्म मेरो नाममा जग्गा पास हुँदैन तबसम्म तिमीलाई यहाँबाट लग्दिन भनेर कल्पनालाई फोनमा धम्की दिइरहेका थिए’, उनले अघि थप्दै भने ।

मृतक कल्पनाको डेढ वर्षीय एक छोरा पनि छ । कल्पनाको परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा दुरुत्साहन मुद्दा दर्ता गरेको थाहा पाएपछि अहिले जितेन्द्र र उनकी आमा माधुरी ठाकुर फरार छन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले भने आरोपितहरुलाई खोजी कार्य गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप