शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्ग— वर्ण व्यवस्थाका आधार

सोमबार, २९ असार २०७७, ०९ : ०६
सोमबार, २९ असार २०७७

भारतीय उपमहाद्वीपमा छरिएर रहेको आर्यजातीय सभ्यताको विकासका क्रममा अनगिन्ती युद्ध, प्रकृतिसँगको संघर्ष र महामारी आदि प्राकृतिक विपत्तिका  कथा  छन् ।  युद्ध स्थानीय जाति—प्रजातिबीच आपसमा र  उपमहाद्वीप बाहिरबाट आएकाहरुमध्ये  अघिल्लो हुरी  र पछिल्लो हुरीका स्वजातीयवीच समेत भएका थिए । तिनै युद्ध र जीविकोपार्जनका संघर्षकाबीच विश्वमा एउटा छुट्टै विशेषता रहेको आर्य सभ्यताको विकास भएकोछ । त्यो सभ्यतालाई आज अध्यात्मवादी सभ्यताको  नाम पनि दिइएकोछ । यो अध्यात्मवाद भनेको सारतत्वमा एक सचेत परमसत्ता अर्थात् परम आत्माद्वारा रचित एवं परिचालित यो ब्रह्माण्ड (कस्मिक)मा मानवले  पुनर्जन्मको दुखबाट मुक्ति कसरी पाउने भन्ने  अवधारणामा आधारित छ ।

पुनर्जन्मको  निरोधद्वारा आत्माले सासारिक दुखबाट सदाका लागि मुक्ति पाउनु पर्छ र परमानन्द, परमसुखको लक्ष प्राप्त गर्नुपर्छ भन्ने यसको मुख्य उद्देश्य  हो । सनातन वैदिक अध्यात्मवादी दर्शनले मात्र होइन, वेदलाई न मान्ने यही उपमहद्वीपको बौद्ध आदि अन्य दर्शन पनि यस्तै पुनर्जन्ममा विश्वास राख्छन् र जन्म ,मृत्यु, बुढापा, र रोगलाई दुखको कारण मान्दछन् । यो सभ्यतामा समाज बन्धनका नियमलाई आदिम कालदेखि नै धर्मको संज्ञा दिइएकोछ ।  सभ्यताको विकाससँगै  यो सभ्यतामा धर्म र दर्शनका अनेक रुप विकसित भएकाछन् ।कसैले संसार र मानिसलाई ईश्वरले आफै रचना गरेको भनेका छन् तर चिन्तनको अन्तिम टुप्पोमा आएर एक अजर अमर निराकार तर सचेत र अज्ञेय  परमात्मा परम तत्वछ जसमा सीपीमा चाँदीजस्तो देखिने गरी त्यो सत्सँगै रहेको विकार पैदा भएपछि देखापर्ने माया या जडपदार्थबाट यो संसारको रचना शुरु हुन्छ भनिएको छ । विकृतिको   नाश भएपछि फेरि यो संसार त्यही परमतत्व परमआत्मामा विलीन हुन्छ भन्ने चिन्तन देखा परेकोछ ।   मानिस र मानिसको आत्मा पनि त्यही परमात्माको एक अंश मात्र हो भन्दछन् अध्यात्मवादीहरु । मानिसको आत्मा उसको अंशी परमात्मामा लीन हुनु नै मानिसको अन्तिम लक्ष हुनुपर्छ भन्ने अध्यात्म हो । त्यो परमात्मा चिन्तनको प्रारम्भमा ब्रह्म या परब्रह्म भनिन्थ्यो । तर त्यो ज्ञानभन्दा परको परिभाषा गर्न पनि नसकिने तत्व भनेर अति रहस्यवादी अमूर्त कल्पना गरिएकोछ । अध्यात्मवादको सारमा यो संसारमा जेजति प्राणी र वस्तुछन् पहिले नै परमतत्व अर्थात् परम आत्माभित्र अस्तित्वमा रहेका तर पछि विभिन्न दृश्य रुपमा प्रकट भएका हुन् भनिन्छ । जसको वीजरुप पहिलेदेख थियो त्यही समयक्रममा विभिन्न रुपमा  प्रकट हुने गर्दछन् भनिएकोछ ।  

भौतिकवादलेजस्तो पदार्थको गतिशीलताका कारण आउने परिवर्तनले नै गुणात्मक परिवर्तन ल्याउँछ । एक स्वरुपको पदार्थ अर्को स्वरुपमा बदलिन्छ । जडमा आएको रासायनिक  परिवर्तनले चेतना उत्पन्न हुन्छ । निरन्तरको अभ्यास र संघर्षले वानर मान्छे वन्छ आदि भनाइ अध्यात्मले स्वीकार गर्दैन । पहिलेदेखि भएको चेतनतत्वबाट मानिस बुद्धिमान बनेको  हो भन्ने अध्यात्मवादको सार हो ।सोही आध्यात्मिक सोचअनुरुप यो सभ्यतामा अनेक विधि विधान, कर्मकाण्ड र तदनुरुपका सोच एवं परिभाषा र अर्थ लगाइने शैलीको विकास गरेर अनुसरण गर्न लगाइन्छ । भौतिक संसारको समानान्तर अध्यात्मवादीहरुले छुट्टै मानसिक र आध्यात्मिक संसार छ भन्ने सोच्दछन् र त्यही मानसिक संसारको बाटोबाट हिडेपछि मात्र मानिस लक्षमा पुग्दछ र सुख प्राप्त गर्न सक्दछ भन्दछन् । त्यही सोचअनुरुपको भौतिक सांसारिक व्यवहारका लागि आचार र आचरणका निर्माणसमेत गरिएका छन् । त्यस्ता आचार विधिमध्ये प्रमुख सामाजिक विधि हो बर्ण व्यवस्था र बर्णाश्रम धर्म । यसलाई वेदले निर्धारण गरेको वताइन्छ, जो आर्य जातिको सभ्यताको आधार ग्रन्थ हो । धर्म आदिम कालमा पशुअवस्थाबाट सामाजिकताको विकासका लागि देवगणले तयार गरेको नियम या विधि थियो , जसलाई त्यसवेलाका अगुवाहरुले भगवान या प्रकृतिको आदेशका रुपमा समाजमा लागू गरेका हुन् ।  बर्ण व्यवस्थामा समाजमा त्यसबेला प्रचलित सभ्यता र परम्पराअनुसार मानिसको वर्ग, हैसियत र प्रतिष्ठा मात्र होइन श्रम पनि  विभाजन गरिएकोछ ।  तर यो एकैपटक देखापरेको होइन  नत यसलाई कुनै घोषणाद्वारा लागू गरिएको हो । बर्ण व्यवस्था इतिहासका विभिन्न कालखण्डमा बनेका बर्णहरुको वर्गीय अवस्थिति हो । शुरुमा कुलगोत्र प्रमुख थिए, जो पछि ४बर्णको पहिलो ब्राह्मण बन्यो । राज्यसत्ता खडा भएपछि क्षत्रिय बर्ण या वर्ग बन्यो । शूरु देवगणदेखि आर्य जातीय समाज रचना हुदासम्मका आम जन समुदाय पछि एक वर्गशक्तिका रुपमा उदाएपछि तिनलाई विश अर्थात् वैश्य भनियो । युद्धमा पराजित जाति, समुदाय,व्यक्ति आदि सातप्रकारका पराधीन दस्यु, दास उच्च वर्गको कोपभाजनमा परेकाहरु सवै शूद्र कहलाए । चारै बर्णमा आधा जनसंख्या नारीको भए पनि तिनको बर्ण वा वर्ग तोकिएन । आर्यसभ्यतामा शिक्षा र संस्कृतिमा अगुवा वनेका शुरु गणसभ्यतादेखिका कुल—गोत्रप्रमुखका उत्तराधिकारी सामन्तकालीन ब्राह्मणले बनाएको गीताको नौ अध्यायको ३२औ श्लोकमा उच्चवर्गले आम मानिसलाई कस्तो नजरले हेरेको थियो भन्ने मनोभाव झल्कन्छ—    माम् हि पार्थ व्यपाश्रित्य येपि स्युः पापयोनयः। स्त्रियो वैश्यास्तथा शूद्रा तेपि यान्ति परां गतिम् । अर्थात्  भगवान‍्मा आश्रित भयो भने अरु त अरु पापी कुलमा जन्मेका, स्त्रीहरु,वैश्यहरु र शूद्र पनि उच्च गति (भगवानको स्तर) मा पुग्नसक्छन् ।यसरी ते अपि भनेर अरु त अरु ती पनि भन्ने कुरामा जोड दिइएकोछ । मानिसको हैसियत र वर्ग निर्धारणमा सवैभन्दा तल, तुच्छ कोही थिए भने वैश्य, शूद्र , नारी र अन्य पतित थिए । तर कसैले यो बर्ण या वर्ग संरचनालाई भगवानले नै मानिसलाई ४ बर्णको सृष्टिको शुरुमै बनाएका हुन् भनेका छन् भने निकै प्रगतिवादीहरुले पनि आर्य सभ्यताको ४ बर्णलाई श्रमविभाजनको मौलिक स्वरुप भनेर  व्याख्या गरेका छन् । त्यसैलाई  सामन्तवादी बौद्धिक प्रतिगामी वर्गले सृष्टिको आदिकालदेखि नै चलेको बर्णाश्रम धर्म भनेर समाजमा लाद्दै आएका हुन् ।

पितृसत्तात्मक सभ्यता शुरु भएसँगै आर्यजातिको वर्ण विभाजन सैकडौं हजारौं युद्ध, सहमति र जातीय मिश्रणको परिणतिबाट उत्पन्न एक मौलिक सभ्यता हो । यस्तो वर्ण विभाजनको सुनियोजित र सुव्यवस्थित रुप संसारका अरु कुनै सभ्यतामा पाइदैन । त्यसैले वर्गसंघर्ष तीव्र भएकाबेला विश्वका शक्तिशाली  र विकसित सभ्यता र क्षेत्रका नीति निर्माता र थिङ्कट््याङ्कहरुले पनि भारतको वर्ग—वर्ण व्यवस्थाको खुलेर प्रशंसा गर्दछन् र यसभित्रबाट विकसित अध्यात्मवादको सारलाई शिक्षा ग्रहण गर्ने अन्तिम शरण स्थल मान्दै आएका छन् । यसो हुनमा आर्यसभ्यताको बर्ण व्यवस्था यसको लामो एतिहासिक पृष्ठभूमि हुनु नै कारण हो ।  भारतीय उपमहाद्वीपको यो सभ्यतामा सभ्यताको आदिकालदेखिको स्वामी वर्ग सभ्यताको र संस्कृतिको नेतृत्व गर्दै अझसम्म सक्रिय रहनु र त्यसको चिन्तनमा  शोषित, पीडित वर्गलाई विद्यमान वर्ग स्थिति सृष्टिको शुरुदेखि नै भगवानले वनाईदिएको भन्ने सांस्कृतिक दाशताको वन्धनमा जकडन सक्नु हो । यसो हुनमा सभ्यताको शुरुदेखिको मालिक वर्गको संस्कृति कुनै विद्रोहद्वारा नष्ट नभएर पनि हो । सभ्यताको शूरुको मालिक वर्ग कुनै न कुनै रुपमा उच्च तहमा रहिरहनाले पनि उसको संस्कृति पनि यथावत् रहिआएकोछ । 

 त्यसो त  भारतीय उपमहाद्वीपको  इतिहासका विभिन्न मोडमा वर्गस्थितिमा परिवर्तनहरु नभएका होइनन् । त्यस्ता परिवर्तनमा आर्यजातिको मूलप्रवाह रहेको पुरानो देवगणका कुलगोत्र प्रमुख पनि दास वनेर  शूद्र कहलाएका होलान् । पुराना दासहरु पनि धनका स्वामी वन्ने अवस्थाभएर शक्तिका श्रोत भए भन्ने त मगध सम्राट मौर्यलाई शूद्र थियो भन्नेहरुले मानेकै छन् ।  तर यस्तो परिवर्तन पुरानो  दाशताको संस्कृतिमा क्रान्ति नल्याई  भएकाहुँदा व्यक्ति परिवर्तन भए पनि अवधारणामा परिवर्तन आएनन् । जसका कारण प्रारम्भिक कालका स्वामी कुलगोत्र प्रमुख कुलीन वर्गको भन्दा  शक्तिशाली परमप्रभु परमात्माको दाश हुन पाए  गौरवशाली ठान्ने धारणा झन् प्रवलसँग जीवित रह्यो । त्यो परमप्रभु परमात्मा मालिक वर्गकै राज्यसत्ताको शक्तिको रहस्यमय रुप हो भन्ने कुरा बुझेर पनि नवधनाढ्य पुराना शूद्रहरुले बुझ्न आवश्यक ठानेनन् होला । शक्ति र धनले जीवनस्तरमा सुधार आए पनि नवधनाढ्य शूद्रहरुसमेत दाशताको पुरानो व्यवस्थाको प्रणाली त्यागेर अघि वढ्न सकेनन् । आर्यका आदिगण देवहरुले मानिसको वर्ग र बर्णको तह निर्धारण गर्ने जुन स्थिति बाँधे, जसलाई स्थापित गरे त्यसैअन्तर्गतको तह र श्रेणीमा उक्लने प्रयास आर्य जातिमा समाविष्ट हुन आएका नयाँ गण र दाशताको बन्धनबाट मुक्त शूद्रहरुले पनि गरे । तर तह र श्रेणी वा बर्ण व्यवस्था भत्काउने प्रयास गरेनन् व ागर्न सफल भएनन् ।    जुन सोच संसारका प्रतिगामीहरुको लागि सवभन्दा महत्वपूर्ण विचारको योगदान ठहरिएकोछ । यो आदिकालदेखिको स्वामित्वको अपरिवर्तित धारणालाई आज पनि संसारको सवभन्दा लोकतान्त्रिक शक्तिसमेत सकेसम्म दासता, धर्म , सान्तवाद, रुढीवादलाई च्यापेर प्रगतिवाद, साम्यवाद र समानताको विरोधमा सवभन्दा उपयोगी विचार ठान्दछ । संसारका प्रतिगामीहरु भरतको वर्ण व्यवस्थालाई त्यसरी नै माया गर्दछन् जसरी संसारका पूँजीवादीहरु राजाहरु, सामन्तहरु र खानावदोस लुटेराहरुलाई बलियो तुल्याएर समाजवाद विरुद्ध जाइलाग्दछन् ।

यस्तो वैचारिक दाशताको पछाडि कस्तो लामो एतिहासिक पृष्ठभूमि रहेको छ त ? अव हेरौ भारतीय उपमहाद्वीपमा मानव इतिहासतर्फ । यहाँ आदिकालदेखि विभिन्न अनुवंशका मानिसको सम्मिश्रणबाट बनेको आर्यजातिको वसोवास त छँदैछ  साथै जातीय सम्मिश्रण भैनसकेका स्थानीय आदिवासीहरुको पनि अझै बाक्लो वसोवासछ, उपस्थिति छ । बाहिरबाट आएका भनिएकाहरु जस्तै— युरेशियाली, अष्ट्रोद्रविड,मङ्गोल र निग्रोआदि हुन् । पछिल्ला ऐतिहासिक अन्वेषण र अनुसन्धानले  भारतीय उपमहाद्वीपका विभिन्न क्षेत्रमा २०औं लाखं बर्ष अगाडि वा हजारौ बर्ष अगाडि नै यहाँका गुफा कन्दराहरुमा मानव अस्तित्व थियो भन्ने पुष्टि अनुसन्धानमा फेलापरेका जीवाष्मले गरेका छन् । नेपालको वुटवल र भारतको महाराष्ट्रआदि ठाउँमा भेटिएका हतियार र जीवाष्मले इतिहासलाई लाखौं बर्ष अघिसम्म पु¥याएकोछ । ती ढुङ्गाको हतियार चलाउने अवधिका पनि पाइएका छन् ।   तर इतिहासविद्हरुले यतिबेला जीवनमा रहेका जुनसुकै अनुवंशका मानिसलाई पनि एउटै होमो शेपियन्स प्रजातिकै हुन् भन्ने सिद्ध गरेको तथ्य विर्सन सकिदैन । इतिहासका विभिन्न चरणमा र विभिन्न भौगोलिक वातावरणमा विकसित भएका त्यही शेपियन्स प्रजाति नै मानवसभ्यताको आधारमा एउटै प्रजातिको मानिसलाई पहिचानका लागि मात्र विभिन्न अनुवंशमा बाँडिएको तथ्य बाहिर ल्याइएकोछ  । भारतीय उपमहाद्वीपजस्तो मानव आवादीका लागि अत्यन्त उपयोगी र जीविकाको अवसर सम्पन्न क्षेत्रमा पनि शेपियन्सहरु मानवको स्वरुप विकास हुँदादेखि नै सम्भवतः शुरुमा अफ्रिकाबाट सिधै पनि आए होलान् र तिनीहरु नै पहिलो स्थानीय बनेका थिए होलान् नै भन्ने अडकल इतिहासकारले गरेका छन् । पछि त युरेशियादेखि अफ्रिकासम्म, पर्सियादेखि मङ्गोलियासम्मका फिरन्ते मानिसका अनुवंश हुरी हुरी गरेर इतिहासका अनेक कालखण्डमा भारतीय उपमहाद्वीपमा आए । यसक्रममा यहाँ चाहे वध्यतावस होस् चाहे मित्रतावस्, एक मौलिक जातीय सम्मिश्रणयुत्त सभ्यताको विकास गरेको इतिहास पाइएकोछ ।  यस्ता धेरै अनुवंशको मिश्रणबाट भारतीय उपमहाद्वीपका वासिन्दाको छुट्टै आर्यजातीय पहिचान बनेको छ । यसो भएपनि सभ्यताको र संस्कृतिको मूलप्रवाह र नेतृत्व युरेशियाली मूलका मानिसको रहेकोछ । जसलाई पछि आर्य सभ्यता भनिएकोछ । त्यही अनुवंशको नेतृत्वमा विकसित तिनको सभ्यतालाई भारतीय आर्यजातिको सभ्यताका नामले पुकारिएकोछ । यही सभ्यताको मूल कडी हो बर्ण— वर्ग व्यवस्था । हजारौ वर्षदेखि, चाहे बाहिरबाट हमला गर्दै आएका समुदाय हुन्,चाहे स्थानीय सबै यही व्यवस्था अन्तर्गत तह र श्रेणीमा आबद्ध भएका छन् ।

 भारतीय सभ्यताको मूलप्रवाह बनेको युरेशियाली अनुवंशको मानव समुदाय भनेर  युरोप र एसियामा फैलेको   युराल —ककेशिया आदि  पर्बतहरुमा विकसित भएको मावजातिलाई चिनाउन खोजिएको हो । यिनीहरुको मानवसभ्यता सिरिया—मेसोपाटोमिया —इराकदेखि ककेशिया पहाडसम्म मात्र होइन युरोपतर्फ पनि विस्तार र विकास हुदै थियो । जस्तो कि शेपियन्स प्रजातिको मानव शुरुमा पशुअवस्थाबाट सचेत मानवका रुपमा विकसित हुनुअघि आफ्नो आहाराको खोजीमा वन्यजन्तुको शिकार गर्न जान्ने भएको वा शिकार गर्न पल्केको थियो । यही शिकार गर्ने क्रममा शायद सैकडौ हजारौं बर्ष लगाएर उसले कुन र कस्ता वन्यजन्तु शिकार गर्ने, कुन वन्यजन्तुको शिकार गर्न सजिलो हुने अनि कुन वन्यजन्तु सोझो र आज्ञाकारी वा सहयोगी हुन्छ, कुनलाई पालेर, अचेतेर आहारा बनाउन सकिन्छ भन्ने आदि कुरा मात्र पत्ता लगाएन बरु कुन र कस्ता औजारले शिकार गर्न सजिलो हुन्छ भन्ने पनि पत्ता लगाउदै गएको हो । यहीक्रममा करीव पन्ध्रहजार बर्ष अघि नै मानवले आत्मसुरक्षा र शिकारको सहयोगीका रुपमा कुकुरको प्रयोग गर्न थालेको वताइएकोछ ।  मानिसको सवैभन्दा पहिलो सहयोगी र पाल्तु जनावर यसरी कुकुर हुन आएको हो । त्यसबेलासम्म मानव बढीमा १५÷२०जनाको जत्थामा शिकार गर्दै डुली हिड्ने गर्दथ्यो । आहाराको खोजी, सञ्चय , शिकारको खोजी र शिकारका लागि अनुकूल वन्यजन्तुको निगरानीको काम गर्ने जत्थाको शुरुको समयमा एउटा वा दुईवटा स्त्रीलिङ्गी पोथीले जत्थाको नेतृत्व गर्दथे भन्ने अनुमान इतिहासकारले गरेका छन् । त्यसबेलाको जत्था आमा नेतृत्वको ठूलो परिवारसरह हुन्थ्यो ।  शिकार गरिएको वस्तु पोथी नाइकेले सवै भोका सदस्यलाई बाँडीचुँडी ख्वाउने गर्थी भन्ने अनुमान छ  । त्यही नै आदिम साम्यवादको शुरुआत थियो । मानिसले विस्तारै शिकारका लागि सिधासाधा वन्यजन्तुको पहिचान गरेर तिनलाई आफ्नो निगरानीमा राख्न सिक्यो र त्यो पशुपालनको पहिलो चरण थियो । यस्ता पशुमा गाई भेडा बाख्रा हुनथाले । यसरी आफुले निगरानीमा राखेका वन्यजन्तुलाई  शिकार खोज्दै हिडेका अर्को जत्थाका मानवले खोसेर लैजाने गर्ने हुनाले लैजान खोज्ने र आफैंसँग राख्न खोज्नेबीच झगडा र युद्ध पनि त्यो चरणमा हुन थालेको थियो  । पशुको छिनाझपटीको युद्धका घटना बढ्दै गएपछि जत्थामा लडाकुहरुको आवश्यकता बढ्दै जानु स्वाभाविक हो । जुनजत्थामा लडाकु धेरै , बलिया र सिपालु हुन्थे, जुन जत्थासँग बढी घातक हतियार हुन्थे तिनैले पशु कब्जामा लिनसक्थे र प्रसस्त आहारा पनि पाउँथे ।  त्यस्ता आहाराका लागि निगरानीमा राखिएका वन्यजन्तु पशुलाई बाँधेर राख्ने प्रचलन शुरु भएकै थिएन । कारण स्वयम् मानव पनि स्थायी वसोवास गर्न थालिसकेको थिएन । ती पशुको आहारा र पानी जता राम्रो हुन्थ्यो त्यतैजान्थे र मानव पनि सँगै हिड्थ्यो । विकासको क्रममा मानिसले शिकारबाहेक अरु फलफूल अन्न आदि खानेकुरा खानमात्र जानेन कि आगोमा पोलेर खान , आगोको अरु उपयोग गर्न , पशु र अन्य आहाराको सञ्चय गर्न पशुबाट दूधआदि अन्यआहारा उत्पादन गर्न पनि सिक्दैगएको हो । यतिजान्न थाल्दासम्म मानिसको जत्था पनि ठूलो हुन थालेको थियो । सचेत र विकसित पनि बनेको थियो ।

बढ्दो युद्धका कारण अव जत्थाको मूली या नेता पोथी या स्त्रीलिङ्गी  नभएर भाले या पुरुष हुन थालेको थियो । स्त्रीलिङ्गीले नेतृत्व गरेको जत्था करीव सानो आकारको मात्र हुन्थयो भने पुरुषले नेतृत्व गरेको जत्था अपेक्षाकृत ठूलो र समाजिक रुपको हुनेगर्दथ्यो । युद्धमा पुरुषको महत्व बढ्दै गएपछि उसको नरइष्र्या पनि जाग्दै गयो र एउटा पोथीका धेरै भाले हुने क्रम रोकिन थाल्यो । यो नेतृत्वमा पोथीको सट्टा भालेले अधिकार जमाउने परिवर्तनको प्रकृयाले लामो समयसम्म मानव जातिमा ठूलै हुडलो मच्चिएको थियो । पोथीको खटनपटन अव चल्न छोडेको थियो र जसले युद्ध जितेको थियो जत्थामा उही शक्तिशाली बनेको थियो । यसपछि नै परिवारको स्वरुप पनि विकसित हुनपुगेको हो ।  परिवारको विकास पछि करिव १०÷ १२हजार बर्ष अगाडिसम्म कतिपय ठाउँमा मानिसले स्थायी वसोवास गर्न र वनमा आफै फलेका फलमात्र होइन  अन्न आदि पनि खोजेर खान र सञ्चय गर्नसमेत सिकिसकेको थियो । बस्तु संचयको प्रवृत्ति विकास भएसँगै स्वामित्वको र बस्तु वितरणमा विभेदको प्रवृत्ति प्रारम्भ भयो ।  मध्यएसियाको यो पशुसँगको डुलन्ते जाति वन्यजन्तुलाई आफ्नो अधीनमा राख्ने कामलाई जीविकाको मूल आधार मान्दथ्यो र अन्य आहारालाई गौण । यसोेहुँदा यो जाति चलायमान र डुलन्ते हुन पुग्यो । युफ्र्रेट्स् र नील नदीको किनारातर्फ मानिसले स्थायी वसोवास र खेती शुरु गर्न लाग्दा मध्य एसियाको यो जाति पशुपालनाका लागि डुलन्ते नै थियो । करीव १०हजार बर्ष अघि यो जातिको पहिलो हुरी पर्सिया हुदै भारतीय उपमहाद्वीपका मलिला मैदानमा आईपुगेको भन्ने अनुमान पनि गरिन्छ । यहाँ आएपछि एउटा हाँगो पहाडतिर पशुपालनतर्फ नै लागिरह््यो भने अर्को हाँगो मैदानी इलाकामा आएर कृषि र व्यापारको विकासमा लाग्यो । सम्भवतः उनीहरुलाई यहाँका रैथाने  वा उनीहरुभन्दा अगाडिदेखि वसोवास गरेर कृषि र व्यापारको विकास गर्दै गरेका अर्को यहाँको पुरानो वासिन्दाले प्रेरित गरे । त्यसबेला भारतका सिन्धुनदीका मैदानमा अष्ट्रोद्रविड सभ्यता विकसित थियो भनिएको छ । ककेशियालीहरुको  पहिलो  हुरीेले मोहनजोदडो र हडप्पाको सभ्यता विकसित हुँदैगर्दा स्थानीय वासिन्दासँग सम्मिश्रित भएर शहरको निर्माण पनि गरेको हुनसक्छ । करीव पाँच हजार बर्ष अगाडिसम्मको यो नगरसभ्यता विकसित हुन कम्तीमा पाँच सय बर्षदेखि हजार वर्ष लागेको हुनुपर्छ ।  त्यो नगर सभ्यताको अवशेष हेर्दा त्यसैबेला आधुनिक ढाँचाको शहरी सभ्यता विकास भएको पाइन्छ । यो हडप्पा शहरकोे नाम ऋग्वेदको छैठौ मण्डलको २७औ सूक्तको पाँचौ मन्त्रमा हरियुपिया भनेर उल्लेख गरिएकोछ ।

तर युरेशियातिरबाट भारततर्फ मोडिएको यो जातिको प्रवाह रोकिने कुरै थिएन । तिनलाई तिनका पशुहरुले पनि यसअघिका पशुहरुको पदचिन्हका आधारमा  शायद यतै डो¥याउँदे ल्याउने गर्थे । यो जाति स्वभाव या प्रकृतिले नै स्थायी वसोवास गर्ने खालको नभएकोले लगातार धेरै हुरीमा, धेरैपटकमा धेरै जत्था—जत्थामा सैकडौं बर्षसम्म  भारतीय भूमितर्फ आइरहेको अनुमान हुन्छ े । यिनीहरु खेती गरेर स्थायी वसोवास गर्ने होइन कि आफ्नो आवश्यकता पूरा गर्न अन्यसमुदायलाई लूटपाट गर्ने प्रकृतिका थिए । लडाकु पनि थिए । प्रकृतिपूजक थिए । खेती, पशुपालन र व्यापार यिनले जानेकै थिएनन् । जहाँ आफ्ना लागि उपयोगी वस्तु छ त्यसलाई जवर्जस्ती खोसेर लुटेर उपभोग गर्ने सभ्यताको चरणमा यिनीहरु थिए । यिनको सभ्यता र धर्म नै यही थियो । आफ्नै जातिका पहिलो हुरीका मानिसले विकसित गरेको शहरी सभ्यतालाई पनि खानावदोसी अवस्थाका पछिल्लो हुरीका लडाकुले ध्वस्त वनाइदिएको पनि हुनुपर्छ । अन्यसमुदायका शहरी सभ्यता नष्ट गरेका होलान् । तर जे भए पनि पुरन्दर अर्थात् शहर ध्वस्त पार्नु यिनका देवताको धर्म थियो, सभ्यता थियो ।

 भारतीय मैदानमा आइपुग्नुपूर्ब यो जातिको सामाजिक संगठन र सभ्यता निकै प्रारम्भिक चरणमा थियो । तर पशु नै जीविकाको मूल आधार भएको यो जातिको निरन्तरको चलायमान जीवनमा विभिन्न समुदाय, जाति र लडाकुजत्थासँग निरन्तर संपर्क संघर्ष र युद्ध भइरहने हुनाले यो जातिको समाजिक बनावट र सङ्गठन पनि फौजीस्वरुपको बन्दै गएको थियो । जति ठूला युद्ध  र संघर्ष हुन थालेका थिए त्यहीअनुपातमा जत्थाहरु एकीकृत बन्नुपर्ने आवश्यकता र बाध्यता पर्दै गएको थियो । ठूला र बलिया शत्रुसँग लड्न आपसमा पनि पशुहरुको छिनाझपटीका लागि लड्ने गरेका ससाना जत्थाहरु एक भएर लड्नु आवश्यकता पर्दथ्यो । यस्तो बेला विजातीय वा पूर्ब अपरिचित समुदाय वा जत्थासँग लड्न पूर्बपरिचित शत्रु जत्था पनि एक हुने गर्दथे होलान् भन्ने अनुमान छ ।  यस्तो बेला जत्थाका नाइकेहरुले एउटा संयुक्त सेना वा सेनापति निर्माण गर्दथे । यस्तो अवस्थासम्म आइपुग्दा स्त्रीलिङ्गी नेतृत्वको ससाना जत्थामाजस्तो  जत्थाका सदस्यबीचको  समानता र हार्दिक एकता भन्दा पनि परिस्थितिजन्य सामाजिक एकता बाध्यता नै वनिसकेको थियो । जत्थाका सदस्य आफ्नो दैनिक आवश्यकता पूर्तिका लागि जत्था नाइकेको नजिक पर्ने र नाइकेले पनि पारिवारिक सदस्यलाईजस्तो स्नेह र सहानुभूति देखाउने वातावरणमा होइन कि निश्चित नियमका आधारमा जत्थाहरुको एकता वा सामजिकता निर्माण हुनु स्वाभाविक थियो । हरेक जत्था आआफ्नो पहिचान राख्दथे र आआफ्ना जत्थाका सदस्यले संकलन र संचय गरेका उपभोग्यवस्तु र पशुहरुको उपभोग गर्दा जत्थाको नाइकेलाई दिन विशेष भाग छुट्याउँथे । जत्थाको नायकले विशेष भाग शक्तिको नेतृत्व गरेको र जत्थाको व्यवस्थापन गरे वापत उपभोग गर्दथ्यो । त्यसबेलासम्म पित्रीप्रधान समाज विकसित भैसकेको भए पनि नायकत्व वंशानुगत भैसकेको थिएन । यी सम्पूर्ण जत्थाका नायकहरुले युद्धका लागि तयार पारेको लडाकु समूह र त्यसको नायक युद्ध जितेपछि स्वाभाविकरुपमा अधिकारसम्पन्न शक्तिशाली हुन्थ्यो र उसले सवै जत्थाका नायकहरुबाट विशेष भाग असुलेर उपभोग गर्दथ्यो भने उसैले शासन अर्थात् नियन्त्रण पनि गर्दथ्यो । यसरी युद्ध जितेर वस्तु प्राप्त गर्नु , प्राप्त भएका वस्तुको युद्ध लड्ने लडाकु , नायक र महानायकहरुलाई भागवण्डा लगाउने समारोह नै   यज्ञ कहलाउने गर्दथ्यो । यो  नै त्यसबेलाको उत्पादन र वितरण पद्धति थियो । यसरी नायकहरुले छानेर चुनेका महानायकले नेतृत्व गरेको समुदाय एउटा गण वन्न पुगेको थियो ।  पछि समाज विकसित र विस्तारित हुँदै गएपछि झन् ठूला युद्धको आवश्यता परेका वखत यस्ता थुप्रै मित्र गणहरु मिलेर गणहरुका पनि महानायक चुनिन्थे र ती युद्ध सरदार शक्तिशाली र जत्था गणका नायकहरुका स्तुत्य र मान्यवर महानायक बन्दथे ।  यस्तै गणहरुका महानायकलाई पुरन्दर अर्थात् मोहनजोदडोजस्ता शहर ध्वस्त पार्ने  इन्द्र भनिन्थ्यो । यो गण शहर ध्वस्त पार्नु र लुट्नु  बहादुरी ठान्दथ्यो  । यो जातिको विकासको यही रीतिस्थिति,यही प्रणाली, यही प्रथा त्यसबेलासम्म कायम रहिरह्यो जतिबेलासम्म यिनीहरुले भारतका  मैदानी इलाकामा स्थायी वसोवासो गरेर कृषि र व्यापार व्यवसायको विकास गरेनन् । तर त्यसपछि पनि पछिल्लो हुरीले अघिल्लो हुरीले तयार गरेका संरचना ध्वस्त पार्ने परिपाटी पछिसम्म कायम रहेको देखिन्छ । मैदानी इलाकामा स्थायी वसोवास गर्न थालेपछि  राज्यसत्ता र युद्धका स्वरुपमा परिवर्तन आए पनि उनीहरुको समाजिक संगठन,  प्रकृतिपूजा र त्यसबाट निर्मित परम्परा,   संस्कृति र प्रणालीभने स्थापित भैसकेकोले त्यसमा परिमार्जन त आयो तर परित्याग गरिएन  । समाजको तल्लो तहमा जत्थाका सदस्यहरुबाट जत्था नाइकेले विशेष भाग उठाएर खाने र त्यसवापत जत्थाको कल्याणको काम गर्ने परम्परा यो देव नामको गणमा पहिलेदेखि कायम थियो र पछि पनि  कायमै रह्यो भने गणनायक र महानायक चुन्ने परम्परा पनि यथावतै चल्यो । समाजमा यी नायकहरु आफुलाई प्राकृतिक शक्तिका प्रतीक अर्थात् दैवीशक्तिका प्रतीक, देवदूत भन्थे र देवगणका सदस्य एवं गैरदेवगणका सदस्यका काम कर्तव्य र अधिकारको निर्धारण एवं वन्दोवस्त गर्दथे । सर्बसाधारणले यिनलाई प्राकृतिक शक्ति अर्थात् देवताका दूतका रुपमा मान्नुपर्दथ्यो भने , यिनले पनि समाजका सदस्यको सुरक्षा दिन्छन् र दिनुपर्छ भन्ने विश्वासले जरा गाड्दै   थियो ।   विश्वासका आधारमा मात्र होइन , शासक र नियन्त्रकका रुपमा यसलाई जवर्जस्ती पनि स्थापित गरिन थालियो । युद्धमा हारेका समुदायलाई विजेता गणनायकहरु प्राकृतिक शक्ति र ईश्वरका दूत हुन् भनेर मान्न्नबाध्य पारियो र पराजितहरुलाई यसै बहानामा अधीनमा राखिन्थ्यो ।  ऋग्वेद मण्डल ३ सूक्त ५३उदाहरणका लागि भनिएकोछ— हेइन्द्र यी नीच वंशकालाई तिमी अधीनमा राखि देऊ । गण नायकहरुले समाजलाई सभ्यताको मार्गदर्शन गराउने, नैतिकता सिकाएर अराजकताबाट जोगाउने, प्रकृतिको रहस्यमय शक्ति वा देवता तथा पूर्बपुरुषहरुलाई  खुसी पारेर समाजका सवै सदस्यको कल्याण गर्ने कर्तव्य पनि  पूरा गर्छन् र गर्नुपर्छ भन्ने धारणा योजातिको समाजमा विकसित पारिएको र भैसकेको थियो । सारांशमा पहिलेका पुराना जत्था नायक र तिनले युद्धका लागि चुनेका महानायकहरुको समाजमा  बलियो पकड र स्थान बनाइएको थियो । पराजित समुदायले अधीन हुन नमान्दा आम नरसंहार पनि गरेहोलान् । पछि विस्तारै स्थिर वसोवास र सभ्यताको विकाससँगै तिनको नरसंहार नगरेर जीविकोपार्जनमा सकाधनका रुपमा प्रयोग गएिको थियो । यही क्रममा यिनले राज्यसत्ताको निर्माण गरेका थिए , जुन राज्यसत्ताले जत्थानायक, गण नायक र महानायकहरुलाई समाजका सदस्यबाट आवश्यकताका वस्तुको लागि विशेष भाग उठाएर खान पाउने अधिकारको परम्परा र संस्कृतिको रक्षा र विकास गरेको थियो । राज्य शक्ति जत्थानायक र गणनायकहरुमा बढी निहित थियो । युद्धकाबेला युद्धसरदार या महानायक अधिकार सम्पन्न हुन्थ्यो तर सामान्यअवस्थामा शक्ति नायकहरुको हातमा हुन्थ्यो । यिनै महानायकहरुलाई  प्रजापति भन्ने गरिन्थ्यो । प्रजापति राज्यमा  राजा हुने परम्परा अघिका शासक हुन् । प्रजापति कालमा मात्र होइन  पछि ती सयी राजाको रुपमा  हुँदा पनि शासनमा समाजका नायक कुलगोत्रप्रमुख र राजाको शक्ति वाँडफाँड हुन्थ्यो  । तिनै शक्तिका श्रोत बनेका नायकहरु अर्थात् कुलगोत्र प्रमुख आश्रम(उपनिवेश)का स्वायत्त शासक हुन्थे । यिनीहरु आफ्ना क्षेत्रमा रहेका कुनै पनि वस्तुका अधिपति हुन्थे । यनिलाई उत्पादनका साधन होइन सिधा आवश्यकताका वस्तुको आपूर्ति गर्नु आश्रमका मानिसको कर्तव्य थियो भने राज्यसत्ताले पनि यिनको आवश्यकता पूरा गर्नुपर्दथ्यो । आफुलाई देवदूत दावी गर्ने गणनायकहरुले   जनसाधारण खासगरी पराजित दस्यु( दास)समुदायले उनीहरुको आवश्यकता पूरा गरिदिनु पर्दथ्यो । यसो नगरे दण्डित हुनुपर्दथ्यो ।  

 यो करीव ५–७हजार बर्ष पहिलेको कुराहो, जब महानायकका हतियार भनेका मरेका जनावर र मानिसका हाडबाट बनेका हुन्थे । ऋग्वेद प्रथम मण्डलको ८४औ सूक्तमा इन्द्रको वज्र दधिचि ऋषिको हड्रडीबाट बनेको उल्लेख हुनुले यो जुनसुकै प्रतीक भए पनि मानिसको हड्डीको हतियार हुन्थ्यो भन्ने कुरालाई पुष्टि हुने विषय हो । धनुर्वाणको आविष्कार पनि भएको थिएन । ढुङ्गाका हतियार हुन्थे, फलामको जानकारी नै थिएन । पुर अर्थात् शहरलाई लूटपाट गरेर ध्वस्त पार्ने इन्द्रको युग थियो त्यो । त्यसबेला आर्यका महानायकको नाम नै त्यसै भएर पुरन्दर राखियो । मोहनजोदडोजस्ता कति शहर ध्वस्त पारिए खोजीको विषयछ ।  नायकहरुको भूमिका र नाम फरकछ । शान र शासकको स्वरुप फरक छ तर तिनको सांस्कृतिक र नैतिक  आधार अहिले पनि त्यही जत्था नायकहरुकले तयार पारिदिएकै रहेको छदैछ । 

यसरी राज्यसत्ताको निर्माणको प्रारम्भमा  युद्धका लागि अस्थायी महानायकहरुको चयन गरिन्थ्यो र युद्ध नभएकासमयमा ती स्थायी हुदैनथे । तर यसबीचमा यो जातिको अनेक नयाँ नयाँ जाति गण र समुदायहरुसँग जम्का भेट र युद्ध हुनथालेपछि त्यस्ता नयाँ समुदायका मानिससँगको सम्बन्धले पनि जातिको स्वरुप र मान्यता फेरिने र परिमार्जन हुने गर्नथालेको थियोे । त्यसका लागि एक स्थायी प्रकृतिको राज्यसत्ताको आवश्यकता पर्नथाल्यो । पहिले आफुले युद्धगरेका सवैलाई मार्ने, ध्वस्त पार्ने गर्दथे ।  पराजित भएको अवस्थामा देवगणहरुका कतिपय वस्ती र समुदायको सभ्यता नै पनि पूरा ध्वस्त भएर सकियो होला । राज्यसत्ताको निर्माण भएपछि भने युद्ध लडिएको अर्को समुदायसँग हारजीत नहुने बराबरीको अवस्थामा संझौता गरेर सहकार्य र सम्मिलनको प्रणालीको  विकास पनि यो जातिको  त्यस समयको अर्को विशेषता थियो, जुन परम्पराकै रुपमा हालसम्म छदैछ । यो समावेशिताको सिद्धान्त पनि आर्य जातिको स्वरुप निर्माणमा महत्व राख्ने अर्को महत्वपूर्ण पक्ष हो । अर्थात् राज्यसत्ताको निर्माण भएपछि लडिएका युद्धपछि जुनजाति जनजाति र समुदायलाई यिनीहरुले जित्न सके, तिनका पशुहरु र स्त्रीहरुको हरण गर्नसके त्यस्तो पराजित समुदायलाई दस्यु भनेर दमन गरिन्थ्यो तर जुन समुदायलाई उनीहरुले जित्न सकेनन् त्यस्तालाई गणनायकहरुले खाने भागबराबरको उपभोग्य वस्तुको भागखाने हकदार बनाएर संझौताको बाटो अवलम्बन गर्दथे । यस्तो परिपाटीलाई परवर्तीकालमा यज्ञभाग दिने भन्ने गरिन्थ्यो । यज्ञ भाग खान पाउने विगोत्रीय, विजातीय भए पनि त्यसलाई आफ्नै हैसियतको मान्यता दिएर समुदायभित्र गणना गरिन्थ्यो ।  त्यस्ता आगन्तुक विजयीहरु देवगणको सामाजिक संस्कार र पद्धति न अपनाए पनि तिनलाई देवताकै श्रेणीमा राखेर पूज्ने गरेका थिए ।   पछि परवर्ती कालमा यस्ता आगन्तुक विजयी  क्षत्रिय कहलाएका छन् ।

यज्ञ भाग भनेको समाज विकासको प्रारम्भमा   सामूहिकरुपमा  शिकार गरेर वा अन्नादि कन्दमूल, फलफूल बटुलेर वरावर बाँडचुड गर्ने उत्पादन र वितरणका पद्धतिबाटै शुरु भएको प्रणालीे हो । अर्थात् यो उत्पादन र वितरणको समूहिक पद्धति हो । पछि यो समूहिक भागबाट जत्था नायकले लिने विशेष भाग पनि यज्ञको एक अङ्ग बन्यो । यो विशेष भाग खाने पद्धति पछि करको रुपमा विकास भयो । यसरी विजातीय संम्पर्क निरन्तर हुनथाले पछि राज्यसत्ता स्थायी प्रकृतिको हुन आवश्यक पर्दैै गयो तर राज्यसत्ताले जत्थाका नायक र गणनायकहरुको अर्थात् आदिम स्वामी वर्गको विशेष भागखाने अधिकारको रक्षा त ग¥यो तर आगन्तुक समुदाय बढ्दै गएपछि र समाज विकसित भएर बृहतस्तरमा उत्पादन हुन थालेपछि तिनको अधिकार र भूमिका कमजोर हुँदै गयो । जत्थाका नायक र गणनायकहरु कुलगोत्रप्रमुखहरुले यज्ञ भाग खाने प्रणाली आगन्तुक समुदायको बाहुल्य हुँदै गएपछि प्रगतिविरोधी हुदै गएको महसूस गरियो । त्यसप्रणालीको सुरक्षाका लागि  राज्यसत्ताको निर्माण पनि भयो ।  तर कुल गोत्र प्रमुख नायकहरु र गणनायकहरुको एउटा वर्ग नै खडा भयो जसले राज्यसत्तालाई  जनसाधारणबाट आफुले विशेष भाग (कर) उठाउन प्रयोग गर्नमा ध्यान दिन मात्र थाल्यो । यही करप्रणाली पछि स्वैच्छिक वन्यो र  दानको रुपमा कायम रह्यो । यसको प्रमाण ऋग्वेदमा आधारित कौशितकीब्राह्मणोपनिषद्को दोस्रो अध्यायको पहिलै सूत्रमा दानलाई बलि अर्थात् कर भनेर उल्लेख गरिएबाट पाइन्छ ।जस्तै प्राणाय ब्राह्मण सर्वाणि भूतानि  अयाचमानायैव बलिम् हरन्ति भनेर बाहुनलाई नमागिकनै कर दिन्छन् भनिएकोछ ।यहाँ दान भनिएन कर भनिएकोछ । यो ऋग्वैदिक पुरोहित वर्गको अवधारणा हो ।  अर्थात् राज्यसत्ता नायकहरुको हितरक्षाका लागि खडा गरिएकोले राज्यसत्ताको कर्तव्य नै समुदायको सुरक्षा मात्र होइन नायकहरुको विशेष भाग( कर)को प्रत्याभूत गर्नु पनि थियो । तर राज्यसत्ता बनेपछि देवगण बाहिरका आगन्तुक गणसमाजमा मिसिदै गए पछि नायकहरु अर्थात् कुलगोत्रप्रमुखहरुको मात्र नभएर सवैको अथवा अन्य गणका स्वामी वर्गको हित पनि हेर्नुपर्ने हुनाले  राज्यसत्ताका प्राथमिकता फेरिन थालेका थिए ।  यसरी नायकहरुभन्दा राज्यका नेताहरु शक्तिशाली बन्न थालेका थिए । त्यसबेलासम्म  नायक वर्ग प्रत्यक्ष उत्पादनका साधनको स्वामी हुदैनथ्यो । भारतीय आर्यसभ्यताको विशेषता भनौ या परवर्र्ती ब्राह्मण  वर्गको उदय हुने एतिहासिक प्रणालकिो विकास भनौं यही उत्पादन र वितरण प्रणालीले शुरु गरेको हो ।  विगोत्री र विजातिसँगको युद्धगरेर प्राप्त हुन आएको धन सम्पत्तिको र आफ्नै गणसदस्यहरुले उत्पादन गरेको विशेष भागउठाएर उपभोग गर्ने यो नायक वर्गको उत्पादित वस्तुमाथिको विशेष भागको दावी रक्षाकै लागि राज्यसत्ता बनेकोले त्यस्तो भागको सुनिश्चितता राज्यको कर्तव्य हुन्थ्यो ।   तर नयाँ नयाँ गण र समुदायसँगको सहजीवन र समाजमा कृषि र व्यपारको विकासलाई अनुकूल हुने गरी शुरु भएको स्थायित्व पछि विशेष भाग खाइआएका नायकहरु अव राज्यसत्ता र समाजका निष्प्रयोजनका बोझ हुन थालेका थिए । नयाँ उत्पादनपद्धतिमा पुरानो उत्पादनसम्बन्ध बाधक हुनथाल्यो । दासलाई प्रत्यक्ष उत्पादन कार्यमा लगाउने प्रणालीको विकास न भएकै अवस्थामा लूटपाट या बस्तु संग्रह र संकलन गर्दाको अवस्थादेखि नै बस्तुमा विशेष अधिकार राख्दै आएको यो वर्ग उत्पादनका साधनमा  स्वामित्व राख्न आवश्यक ठान्दैनथ्यो । समुदायसँग जेजति सुखका साधन थिए तिनमाथि स्वतः आफ्नो अधिकार ठान्ने तर उत्पादन र त्यसका नियममा, तिनका साधनमा मत्लव नराख्ने, समाजका सवै सदस्यलाई आफ्नो आवश्यकतापूर्तिको साधन ठान्ने   यो कुलीन( कुलगोत्रप्रमुख) स्वामी वर्ग राज्यसत्ताको विकास पछि विश अर्थात् सर्वसाधारण वैश्य प्रजाले उत्पादनका साधनमा स्वामित्व कायम गर्ने सक्ने प्रणालीको विकास पछि पनि उत्पादनका साधनमा स्वामित्व नराखी उत्पादित वस्तुको नै  विशेष भाग प्राप्त गर्ने आदिम प्रणालीको सुरक्षा राज्यबाट चाहन्थ्यो । दाश प्रणालीको उत्पादन पद्धति शुरु भएको समयमा उत्पादनका साधन प्रयोग गरेर उत्पादनमा सहभागी वैश्य वर्गले उत्पादनसँग कुनै सम्बन्ध नभएकोले नायक वर्गलाई विशेष भाग किन दिने भन्ने  प्रश्न उठाउनुलाई नै  कुलीन वर्ग पाप ठान्दथ्यो । अर्थात् अवैध ठान्दथ्यो । यसरी यो  विकासको वाधक वनेको थियो । यस क्रममा राज्यसत्ता र नायक वर्ग तथा आम सर्बसाधारण समुदायका सदस्यबीच तीव्र वर्ग संघर्ष भएको थियो । नायक वर्ग आफुले खडा गरेको र समाज निर्माण शुरुहुँदादेखि आफैले समाजको नेतृत्व गरेको कारणले समाजकोभित्रीतहसम्म भिजेकोले आफुले खाइपाइ आएको विशेष भागमा अधिकार छोड्न चाहँदैनथ्यो तर राज्यसत्ता बलियो भए पछि उनीहरुको प्रयोजन सकिएको थियो ।  यसरी समाजमा प्रष्टसँग वर्गहित र वर्ग स्वार्थ छुट्टिनथालेको थियो । एउटा नायक वर्ग, अर्को राज्यसत्ता र अर्को सामान्य जनसाधारणको मालिक वर्ग । त्योबाहेक अर्को ठूलो वर्ग थियो सोही सभ्यतामा समाविष्ट हुदै गरेको विजातीय समुदाय । विजातीय समुदायमा पनि एउटा पराजित र अधीनमा आएको समुदाय र अर्को पराजित नभएर बराबरको कर उठाउने अधिकार पाएको समुदाय । यी प्राय स्थानीय जनजाति हुने गर्थे वा ककेशियाली समुदायकै पछिल्लो समयमा आउनेहरुको समुदाय हुन्थ्यो । यस्तै अन्तर विरोधवाट परशुराम अवतार, राजा नहुष, राजा वेन आदिका अनेक कथा पुराणहरुमा रहेका छन् ।

राज्यसत्ता बलियो हुँदा नायक वर्गको अधिकार कटौती मात्र हुदैनथ्यो कि आफैले खडा गरेको राज्यसत्ताले उनीहरुलाई निस्प्रयोजन तुल्याउँदै जानथालेको थियो । तर नायक कुलीन  वर्ग  राज्यसत्तासँग रुष्ट भए पनि विघटन गर्नसक्ने अवस्थामा थिएन । यसैले राज्यसत्ता नायकवर्गबाट स्वतन्त्रहुदै गयो र राज्यसत्ताको प्रमुख अव  नायकहरुले चुनेको पद इन्द्र मात्र होइन कि राजा नै हुन थालेका थिए  । अर्थात् राज्यको संचालक स्थायी प्रकृतिको हुन थालेको थियो । राजाको कर्तव्य नायकहरुको हित रक्षा, सर्बसाधारण प्रजाको खुसी र दस्यु अर्थात् दास र पराजित जातीयसमुदायको दमन र तिनके व्यवस्थापन एवं सामाजिक समृद्धि हुनथाल्यो । यसका लागि निश्चित नियमहरु बने  । कृषक र व्यापारीहरुले राज्यलाई त कर दिनुपर्दथ्यो नै  तर नायक वर्गलाई पनि विशेष भाग छुट्याउनुपर्दथ्यो  ।  नायकहरुको वर्गले व्यापारी र कृषकहरुबाट कमाइको अनुपातमा पहिलेजस्तो विशेष भाग बढाएर दिने नगरेकोमा आक्रोस व्यक्तगर्दथ्यो । दान भाग नदिने विश अर्थात् जनसाधारणलाई दाशलाईजस्तै दण्डदिन माग गर्दथ्यो । तर राज्यले त्यस्तो गर्न सम्भव हुन छोडेको थियो । दस्युहरु अर्थात् पराजित गण र जाति भने सबै नायक, राजा र विशहरुका लागि दमनका लायक थिए । ती दस्यु दास पनि कोही आर्यगणलाई आवश्यकता परेको समयसमयमा आक्रमण गरेर तिनले आर्जन गरेको धनसम्पत्ति लुटेर लगिने आदिम दाशप्रथा खाले स्थितिका थिए त कोही निरन्तर नायक, राज्यका कर्मचारी र कृषक व्यपारीका काममा लाग्ने पूर्ण दाश नै थिए । नायक वर्ग आफुलाई यस समाजको सृष्टिकालदेखिको अगुवा, सभ्यता सिकाउने, शक्तिको श्रोत,देवता बनेका पूर्बपुरुषहरुको उत्तराधिकारी ठान्दथ्यो  । आर्थिक र राजनीतिकरुपमा कमजोर हुदै गए पनि सामाजिक प्रतिष्ठा र सांस्कृतिक कार्यमा यो वर्ग समाजमा सवैभन्दा प्रभावशाली थियो । आगो, पानी ,सूर्य, वायुजस्ता प्राकृतिक शक्तिमा प्रकट हुने देवताका दूत पनि यही वर्गका मानिस हुन्थे । तिनलाई जनसाधारणले नबुझ्ने देववाणीमा देवताको प्रार्थना गर्न आउँछ र यिनैले देवता खुसी पारेर हाम्रो रक्षा गर्छन् भन्ने समाजमा आम धारणा थियो ।   यति मात्र होइन समाजको पहिलो अगुवा मालिक वर्ग भएकै कारण यसको समाजमा राज्यसत्ता निर्माणको परिवर्तन पछि पनि वर्गीय रुपमा यो एक सामाजिक शक्ति छँदैथियो । यो सवभन्दा पुरानो स्वामी वर्ग थियो । यसलाई देवदूत या कुलपुरुष भन्ने गरिन्थ्यो । राज्यसत्ता निर्माण भए पछि राज्यको कामकाजमा लागेर युद्धआदि कारणले अधिकारसम्पन्न बनेका, आगन्तुक समुदायका नायक मालिक वर्ग   र तिनका सहयोगी पनि सुरक्षा दिने हुनाले अधिकार सम्पन्न थिए । समाजमा कुलपुरुष वा देवदूतहरु पछिका सम्मानित र शक्तिशाली यो छुट्टै वर्गको पनि समाजमा यसरी उदय हुन पुग्यो ।

 राज्यसत्ताको भूमिका बढ्दैजानुको अर्थ समुदाय बर्बर अवस्थाबाट सभ्यताको विकासमा लाग्नु पनि हो । यसको तात्पर्य कृषि, पशुपालन, व्यपारको विकास र सुविधासम्पन्न वसोवास हुदैजानु हो। सँगै विलासी वस्तुको उत्पादन, नयाँ आविष्कार, शक्तिको विकास पनि हो । यसको लागि राज्यले नियम, कानुनको पनि तदनुरुपको व्यवस्थ ागर्न थालेको थियो । जसलाई धर्मकै नाम दिइएको थियो । धर्म आवश्यक नियमको पालना र कर्तव्य दुवै थिए ।  समाजमा  कृषि पशुपालन र व्यापारबाट नायक र राज्यसत्तालाई सुखदिन सक्ने र परेकोबेला खर्च गर्ने धनीहरु सर्वसाधारण पनि शक्तिशाली वनेर उदाइसकेका थिए । यी देवगणकै पुराना सदस्यका साथै पणि असुर, यक्षजस्ता नयाँ नयाँ समुदायका सदस्य पनि हुन्थे । यिनलाई विश अर्थात् प्रजा वा वैश्य भनिन्थ्यो । राज्यसत्ता सञ्चालनमा धर्म नियम कानुनका काम , बोद्धिक सल्लाहका काम गर्ने राजाका भारदार वर्ग पुराना कुलगोत्र प्रमुख कुलीन वर्गका  हुन्थे । समाजमा सभ्यताको विकाससँगै युद्धमा पराजित तर राज्यसत्ता र स्वामी वर्गको अधीनमा रहने ठूलो समुदाय पनि थियो जसलाई जसलाई बर्बर अवस्थामा दस्यु भनिन्थ्यो भने कृषि र व्यपारको विकास भएको अवस्था पछि उत्पादनका साधनका रुपमा दाश भन्न थालियो ।  यसरी आर्यजातिमा ३वटा मालिक वर्ग र एक पराधीन दाश वर्ग गरी ४ वर्गको अस्तित्व राज्यसत्ताको उदय र सुदृढीकरण पछि देखा परेको हो  ।   तिनैले परवर्ती कालमा ब्राम्हण,क्षत्रिय,वैश्य र शूद्र बर्णको संज्ञा पाएका हुन् । यिनै ४ वर्ग ४ बर्णका आधार हुन्  । तर हाल शास्त्रहरुमा बर्णन गरिएका चार बर्णका स्वरुप अथवा अहिले पनि हाम्रो समाजमासमेत सामाजिकरुपमा चिनिएका  चारबर्ण भने भारतको गुप्तसाम्राज्यको पुनरुनरुत्थान काल  र शंकराचार्यको आठौ सदीपछिको कालमा निर्धारित भएका हुन् । 

यो समुदायको जाति वा बर्ण निर्माणको परम्परा र प्रकृयामा रहेको समावेशिताको अवधारणाले पनि वर्ण—वर्ग व्यवस्था निर्माणमा ठूलो भूमिका खेलेकोछ । यो समुदायको गणसभ्यता कायम रहँदासम्म नयाँ मानवसमुदायसँगको कुनै सहकार्य वा सामाजिक सरसम्पर्क लेनदेन कारोवार आदि गर्ने सम्मिश्रित समाज थिएन, अर्थात् गण—गोत्रपद्धतिमा अधारित समाज मात्र थियो । तर राज्यसत्ताको विकास भए पछि भने यो ककेशियायी समाजमा अन्यसमुदायका मानिस सम्मिलित हुदै गएपछि सम्मिश्रित  समाज बन्नथाल्यो । जसका कारण पुराना ककेशियायी मूलका मनिस मात्र देवगण कहलाउँनथाले । वाँकी पछि मिसिन आएकाहरु क्षत्रिय , वैश्य दस्यु(शूद्र) कहलाउन थाले । देवताको आराधना समाजमा अत्यावश्यक शक्तिको श्रोत हुन्थ्यो र आराधनाका लागि देव वाणीमा प्रार्थना गर्नुपर्दथ्यो । देववाणी अर्थात् देवगणको आदिम मौलिक भाषा देवगणका नायकहरु र तिनका उत्तराधिकारीले मात्र वोल्न जान्दथे । त्यसैले आदिम देव गणका मानिसको देव वाणी देवताको आराधनाका लागि अनिवार्य शर्त वन्यो । त्यो नै आदिम संस्कृत भाषा थियो । समाज ठूलो हुदै गए पछि र अन्यसमुदायका मानिस मिसिदै गए पछि लोक भाषाको उत्पत्ति भयो अनि देववाणी सुन्नु ,पढ्नु विशेष कार्य र योग्यता बन्न थाल्यो । देववाणी बोल्ने र बुझ्ने कुलगोत्र प्रमुख वा कुलीन वर्गमात्र हुन्थ्यो । देववाणीका आफ्ना विशेषता जीवित रहे ।  अन्यसमुदायवाट आएका प्रतिभाशाली व्यक्तिले पनि त्यो भाषा र देव आराधनाका पद्धति गुरुबाट पढ्दै सिक्दै गए पछि ती पनि देवदूतको काम गर्न पाउँथे । देववाणी नजान्ने देवगणका सदस्य पनि देवदूत नभएर विश अर्थात् वैश्य पनि हुन थाले ।    त्यसो त राज्य र राष्ट्रको विकास हुनु अघि पनि अन्यसमुदायका गणका  मानिस यस समुदायमा समाविष्ट भएका थिए भन्ने कुरा ऋग्वेदमा ऋभुगणलाई देवगणमा समावेश गरेर पदोन्नत गरिएको, त्वष्टाजस्ता असुरलाई पनि देवताकोरुपमा सम्मानित गरिएको कथाबाट  प्रष्ट भएकोछ । तर पछि समाविष्ट हुन आएका रुद्रगण, मरुत गण यक्ष गण, राक्षस गण आदि अन्यजनजातीय समुदायमा रहेका तर शक्तिका आधारमा देवगणले यज्ञभाग खान दिएर आफ्नो समाजमा उच्चस्थानमा राखिएका प्रतीत हुन्छन् । त्यस्ताहरुमध्ये देवगणभन्दा अलग चरित्र र संस्कारका जनजातिलाई पनि आर्य वैदिक धर्ममा अङ्गीकार गरिएको उदाहरण सवैभन्दा उल्ल्ोखनीय रुद्र गण नै हो । यसअघि देवगणले खुसले अङ्गीकार नगरेका कुनै पनि जनजाति र समुदायलाई विना देव संस्कार अङ्गीकार गरिदैनथ्यो । तर मानसरोवरदेखि अहिलेको हिमाचल, कास्मीर र यता खसप्रदेशसम्म फैलेका ककेशियन मूलका यी उपजाति या जनजातिमध्ये रुद्रगण यति प्रभावी र बलशाली थियो कि उसले आर्यका नगरीहरु ध्वस्त वनाइ दियो र उज्जैन सम्म पनि पुगेर आतङ्क मच्चायो । रुद्रगणको नाम नै महाङ्काल बन्यो । त्यसपछि नै  वैदिक संस्कार परम्परा नमान्ने भए पनि शक्तिशाली रुद्रगयाको समुदायलाई यज्ञभाग या कर तिरेर आफ्नो स्तर बराबरमा लिन मूलप्रवाहको देवगण सहमत भयो । पछि लिङ्गपूजक विना संस्कारका रुद्र शिवका रुपमा आर्यहरुका मूल त्रिदेवमध्येका एक शिव शंकर बन्न पुगे । जसको दैदिक यज्ञ धर्मसँग कुनै साइनो थिएन । यसै अवधारणा अन्तर्गत नै अनार्य र म्लेच्छ कहलाएका खसहरु पनि पछि वैदिक आर्यका रुपमा समाविष्ट भएका हुन् र अधिकारीआदि खस ब्राह्मणहरु पनि देववाणीको माध्यमबाट अलनापुरआदि ठाउँमा गएर गुरुकुलमा वसी आर्य संस्कारमा दीक्षित भएपछि मात्रै वर्ण व्यवस्थाभित्र प्रवेश गरेका हुन् भन्ने इतिहास करीव हजार वर्ष अघिको मात्र छ । यही अवधारणा अनुरुप यक्ष, किन्नर आदि सवैजनजाति पछि आर्य वने ।  

यससम्बन्धमा पशुपति नाथको दर्शन, स्पर्शन, पूजनसम्बन्धमा समीक्षा पुस्तकका लेखक प्राज्ञ ज्ञानमणि नेपालले नेपाल, मिथिला र पशुपतिको प्रतिष्ठा भन्ने शीर्षकको २०७५को पोखरेल दर्पण पत्रिकामा लेख्नु भएकोछ—दक्ष प्रजापतिको यज्ञ र सतीदेवीले यज्ञको आगोमा हाम फालेर मरेको कथाबाट विद्वानहरूले के निष्कर्श निकालेका छन् भने पशुपतिनाथ महादेव ऋग्वैदिक कालसम्म आर्य ऋषिका दृष्टिमा देवताको मर्यादामा चढिसकेका थिएनन् र आर्येतर जातिका देवता हारकारी टौड कर्मकारी रुद्रका रुपमा मानिन्थे । आर्य मर्यादामा नचल्नेभूत प्रेत पिशाचका मालिक नमगुणी, डरलाग्दा रुद्र थिए । त्रिशूल, पिनाक धनु लिने जङ्गलमा शिकार गर्ने,हात्ती बाघ आदि जन्तुको छाला लगाउने,मुण्ड माला लगाउने, अपवित्र अघोर रौद्र (डरलाग्दो) कर्म गर्ने भएर नै रुद्र कहलाए । त्यसैले सती देवीले मेरा पति  महादेवलाई यज्ञमा बोलाएर यज्ञ भाग किन नदिएको भनी आफ्ना बाबु दक्ष प्रजापतिलाई सोद्धा दक्ष प्रजापतिले जवाफ दिएका थिए आर्य मर्यादामा नरहेको तिम्रो पतिले वैदिक यज्ञमा स्थान पाउदैन, यज्ञ भाग पनि पाउदैन । यसको अर्थ वैदिक युगको प्रारभिक कालमा महादेव यज्ञभागी देवता थिएनन् ।  यज्ञ भाग खानु  देवगणदेखिको आर्य सभ्यतामा समान हैसियतमा रहनु, दाश होइन मालिक वर्गको  सर्वसाधारणबाट कर उठाएर खाने अधिकार पाउनु हुन्थ्यो ।यजुर्वेद संरचनासम्म आइपुग्दा रुद्र  पनि वैदिक यज्ञमा समाविष्ट भए । तर ती  महादेवकहलाएका रुद्रप्रतिको आदिकालको संस्कारका कारण आजभोलि पनि रुद्रलाई यज्ञको अवशेष रहलपहल, उच्छिष्ट भाग इशान दिशा पट्टी लगाइन्छ । वैदिक यज्ञ देवताका रुपमा न चढेकालेयज्ञशेष रहलपहल भाग दिइएको हो । यसैगरी विष्णुको पूजा गर्दा जल अभिषेक गरेर चरणोदक भनेर खानेगर्छन् तर शिवको अभिषेक जल  पवित्र मानिदैन , सेलाइन्छ । यसैगरी ब्रह्मकर्ममा लागेको कुनै ब्राह्मण पनि शिवजीको पुजारी हुन रुचाउँदैन, यसको कारण पनि उनी पहिले अनार्य भएर नै हो  ।’

प्राज्ञ ज्ञानमणिको उक्त लेखाइबाट पनि यसरी देवगण आर्यगण वन्दासम्म थुप्रै गैरदेवगण र अनार्य जातिका मानिसहरु समावेश भएर आर्यजातिको निर्माण भएको हो भन्ने इतिहास पाइन्छ ।

यसप्रकार यो जातिको इतिहासमा राजा बलिया भएका ठूल्ठुला राज्यहरु नवन्दासम्म समाजको व्यवस्थापनको नेतृत्व गरेका समूह, समुदाय र गणका नायकहरुले आफुहरुलाई समाजमा सभ्यता ,नैतिकता, नियम सिकाउने सृष्टि कालदेखिको अगुवा सृष्टिकर्ता नै वताउँथे र जनसाधारण पनि तिनलाई सृष्टिकर्ता नै मान्दथे । , प्रकृतिको शक्ति र त्यसको प्रतिनिधित्व गर्ने देवता बनेका आफ्ना पूर्ब पुरुषको प्रतिनिधि ठान्दथे नायकहरु ।,त्यसैले उनीहरु देवगणका सन्तान थिए र  समाजका सदस्यलाई त्यही विश्वास दिलाएर वा त्यसै भनेर विशेष भाग(कर) उठाएर जीविका गर्दथे । हुन पनि त्यही सुविधाको उपभोगका कारण उनीहरु सभ्यताको आदिकालदेखि नै सामाजिक अभ्यासकै कारण  आम सर्बसाधारणभन्दा बढी चिन्तनशील,  सचेत, सभ्य, शिक्षित, अनुशासित हुन पाएका थिए । सामाजिक सभ्यता र संस्कृतिका अगुवा थिए । यही बिशेष योग्यताका कारण उनीहरुमा राजनीतिक, सामाजिक, दार्शनिक  ज्ञान पनि बढी नै हुँदै गयो, त्यस परिस्थितिमा त्यो  स्वाभाविक थियो । राज्यको विस्तार विकास भए पछि शासक राजाहरुले पनि उनीहरुकै हितरक्षाका लागि काम गर्ने गरेका थिए । पछि राज्यसत्ताको विकास र सामाजिक स्तरोन्नति भएपछि पनि अन्तरद्वन्द्व हुँदाहुँदै पनि यही पुरानो नायक वर्गको सल्लाहमा नै राजकाज चलाउँथे । अझ भनौ त्यहाँ राजा र कुलीन गणनायकहरुको शक्तिवाँफाँडमा शासन चल्थ्यो । युद्धपछि भरिएका ढिकुटीको असली मालिक राजा हुनथालेपछि भने  नायकहरु अव आशामुखी हुन थाल्नु स्वाभाविक थियो । आफुलाई देवताका सन्तान भन्ने नायकहरुमध्ये केही भारत भूमिका विशाल जङ्गलामुलुकमा नयाँ उपनिवेश( आश्रम ) पनि खडागरेर आफ्नो परम्परागत स्वायत्त अधिकार चालु राख्ने गर्दथे ।  तर राज्य वा राष्ट्रहरु बनिसके पछि ती आश्रम ससाना परिवारको रुप मात्र लाग्दथे । त्यस पछिको समाज देवगणको समाज थिएन बरु विभिन्न प्रकारका गणका सदस्य अटाउने एउटा जातिको निर्माण शुरु भएको समाज थियो । त्यही जाति आर्य जाति थियो । तर राज्यका स्वार्थले र धनसम्पत्तिके छिनाझपटीका लागि  एउटै जातिभित्र पनि परस्पर एक अर्कौलाई उनीहरु विगोत्री ,विजातीय र विधर्मी भनेर निन्दा गर्न थालेका थिए ।

  पहिले देवगणले अन्य समुदायका मानिसलाई दस्यु ,राक्षस ,असुर आदि भनेर दुष्मन ठानेर युद्ध गर्दथे । त्यो  नै त्यसबेला सभ्यता  थियो । परस्पर लूटपाट मारकाट गर्ने युगमा आत्मसुरक्षाका लागि पनि युद्ध त गर्नेपथ्र्यो । एउटा गणले अर्को गणलाई दुष्मन वा दस्यु वा तस्कर चोर ठान्दथ्यो र विगोत्रीय विजातीय गणका मानिसलाई  लुट्नु, मार्नु आफ्नो अस्तित्व जोगाउने कर्तव्य मानिथ्यो । तर राज्य खडा भए पछि आआफ्नै गोत्र र जातिका भएपनि अर्को राज्यमा बस्नेलाई दुष्मन राज्यको ठान्नु ,अर्को राज्यको राजालाई युद्ध गरेर हराउनु, त्यस राज्यको धनसम्पत्ति लुटुनु, त्यहाँका स्त्रीको अपहरण गर्नु ,तिनलाई दास बनाउनु मानवीय उद्देश्य नै हुनथाल्यो । त्यो नै त्यसबेला सभ्यता थियो । राज्यमा काम गर्ने पुराना नायकहरुले पहिलेदेखि समाजमा भनिआए झैं अव अर्को राज्यका मानिसलाई दस्यु, दास, तस्कर, चोर, देवताविरोधी, यज्ञआदि सभ्यताविरोधी भनेर जनसाधारणबीच प्रचार प्रसार गर्थे । त्यस्तै शिक्षा दिन्थे ।  पहिले गणहरुबीच वा मानव जत्थाजत्थाबीच हुने गरेका युद्ध अव राज्य राज्यबीच हुन लागेका थिए । यस अवस्थामा राज्यभित्रका देवगणबाहिरबाट आएका अन्य समुदायका मानिस पनि सामाजिक हैसियत र प्रतिष्ठाको आधारमा संस्कार निर्वाहको शर्तमा ब्राह्मण ,क्षत्रिय र ,वैश्य र शूद्र वर्गको मान्यता प्राप्त गर्नथालिसकेका थिए । देवगणको भाषा र देवपूजाका पद्धति र कर्मकाण्ड सिकेका आफ्ना राज्यप्रति वफादार र समर्थवान व्यक्ति देवगण वाहिरको भए पनि राज्यबाट पुरोहित वर्गमा मान्यता पाउँथ्यो । अर्थात् अव समाजको ४वर्गीय अवस्थिति देव गणको मात्र सभ्यता रहेन अन्य गणसम्मिलित आर्यजातीय सभ्यता हुन आइसकेको थिएन । यहाँसम्म कि  परस्पर विरोधी युद्धरत राज्यहरु पनि आफैलाई श्रेष्ठ  देखाउन देवपूजा र वर्णधर्ममा होड गर्दथे ।

राज्यहरुबीच हारजीतका घटना  बढ्दै गएपछि धनसम्पत्तिका प्रकारहरु पनि धेरै बढे । सुखसुविधाका अनेक साधन बने र वढे । सैकडौ हजारौ संख्यामा हुने सम्पत्तिको मात्रा लाखौमा पुग्न थाल्यो । पहिले सुखी सम्पन्न भनिएका नायक वर्ग अव आशामुखीमा सीमित हुन थाले । युद्ध र व्यापारले गर्दा सर्वसाधारण कृषक ,व्यापारी प्रजाको हैसियत अभूतपूर्व रुपमा बढ्यो । उनीहरु नायक वर्गको भन्दा सुख सुविधाको जीवन विताउँथे । तर नायक वर्गले पाउने गरेको विशेष भाग स्वैच्छिक बन्नथाल्यो । यसैकारण नायक वर्ग दान नगर्ने अर्थात् नायकलाई कम भाग दिने र दिदै नदिनेलाई देवताविरोधी, सभ्यताविरोधी, र दस्यु भनेर गाली गर्दथे । आफुलाई देवदूत सावित गर्नु, खुसी भएका देवताले मात्र समाज र राज्यको कल्याण गर्न सक्छन् भनेर देवताले बुझ्ने भाषामा प्रार्थना गर्नु र समाजले दिदै आएको विशेष भाग खानुको औचित्य सिद्ध गर्नु उनीहरुका लागि आवश्यक पनि थियो र  यस्तै प्रयास अन्तर्गत देवताको प्रार्थना गर्ने क्रममा ऋचा या प्रार्थनाका श्लोकहरु ीनर्माण गरिन थाले ।  जसले यस्ता प्रार्थनाया ऋचा निर्माण गरे ती कुलीन गोत्रप्रमुखहरु ऋषि कहलाउन थाले । तिनको प्रार्थना संग्रहको नाम ऋग्वेद भयो ।  ऋग्वेदमा ऋषिहरुले रचना गरेका थुप्रै ऋचामा उनीहरुलाई विशेष भाग( कर या दान) नदिने वैश्य वर्ग , खासगरी व्यापारीको निन्दा गरिएको छ भने दान दिने राजा या यजमानको प्रशंसा गरिएको छ ।

यस्तो अवस्थामा के देखिन्छ भने कुलीन नायकहरुले पनि समाजमा आफ्नो योग्यता प्रदर्शन गरेर मात्र कर या दान प्राप्त गर्न थालेका थिए ।  उनीहरु देवताका प्रतिनिधि भएका हुनाले देवतासँग साक्षात् प्रसन्न तुल्याउने र युद्ध जिताउने, धनसम्पत्ति एैश्वर्य दिलाउने सन्देश पु¥याउने भन्दै विधि विधानसँगका यज्ञ पूजा आदि गराउने पुरोहित वर्गको कामको जिम्मेवारी लिने गरेपछि मात्र दान लिन पाउन थालेका थिए ।   राज्यको माथिल्लो तहमा पुगेका नायकहरु पनि राजाहरुलाई युद्ध गर्न सुर्‍याउँथे किनभने राज्यले लूटपाट गर्नपाउँदा तिनले पनि भाग पाउँथे । त्यसबेलासम्म भारतीय उपमहाद्वीपमा धातु र धातुका हतियारको पर्याप्त विकास भैसकेकाले यस्ता नयाँ हतियारको प्रयोगपछि आफ्नो जीत पक्का हुन्छ भन्ने पनि राजा र तिनका सल्लाहकारहरुलाई लागेको थियो होला । तर ती हतियार र नयाँ ढङ्गले वनेका हात्ती, घोडासमेतका आधुनिक सेनाको प्रयोग जीतको लागि कसैले त्यसबेलासम्म परीक्षण पनि गरिसकेको थिएन । यसैले  यसरी समग्र उत्तर—मध्य भारतसम्म फैलेको आर्यजातिका विभिन्न राज्यका राजाहरुबीच आपसमा शक्ति र धनसम्पत्तिका लागि  नयाँ सैनिक शक्तिको प्रयोगका रुपमा पनि बृहत युद्ध भयो जसको संस्मरणमा महाभारतको काव्य—कथा पछि रचना गरिएको हो । यो युद्ध विन्ध्याचल भन्दा उत्तरका राजाहरुबीच ईस्वीपूर्ब करीव  हजार पन्ध्रसय बर्ष अघि नै भएको  अनुमान छ । युद्धमा जव सर्वनाश भयो , कुनै राज्यले जितेर भारतको एकीकरण गर्न पनि सकेन त्यसपछि आर्यहरुको दाशप्रथामा आधारित सभ्यताको उत्कर्ष पनि सकियो । पुराना दाश मालिक नायक वर्ग , तिनको हितरक्षाका लागि गठन भएर शक्ति र सामथ्र्यका लागि  चरमोत्कर्षतिर जान युद्धतत्पर राज्यका राजा तथा राजकाजमा संलग्न वर्ग र तिनको विश्वास गरेर स्वार्थमा स्वार्थ गाँसेर सम्पन्न बनेका विश अर्थात सर्वसाधारणभित्रका दलाल प्रजा वर्गका मानिसको आशा, उत्साह र विश्वास चकनाचुर भयो ।  पुरोहित वर्गको कुश पानीमा , तिनको विधि विधानमा रचिएका यज्ञ होममा , तिनले दिएका बलिमा अव न राजाहरुको, न त विश वर्गका धनाढ्यहरुको , न समाजका बौद्धिक वर्गको नै विश्वास टिक्न सक्यो । स्वयम् दाश मालिक नायक वर्गका कुलीन बौद्धिक वर्गले यज्ञयागादि पूजाबाट कुनै फल प्राप्ति हुदैन भनेर देवता र ईश्वर, सदाचार र नैतिकता, जीवनमा प्राप्त गनुपर्ने वास्तविक सुख आदिका बारेमा परम्परागत चिन्तनमा सुधार गर्नुपर्ने महसुस गर्नथाले । पहिले राज्य र राज्यका पुरोहित वर्गबाट सत्ताको बलमा आर्थिकआदि स्वार्थवस वैदिक संस्कार खोसेर शूद्र वनाइएका समुदाय र व्यक्तिले   कसैले वैचारिक विद्रोह पनि प्रकट गरे । यही चिन्तनमा आएको नयाँ विकासका क्रममा मानिसलाई  इन्द्र आदि प्राकृतिक देवता  प्रत्यक्ष मदत गर्ने होइन रहेछन् बरु खास दैवीशक्ति त  अर्कै इन्द्रभन्दा पनि शक्तिशाली रहस्यमय  रहेछ भनेर पुराना कुलीन नायक वर्गका मानिसले नै नयाँ  अवधारणा ल्याउन थाले । सामाजिक र राजनीतिक शक्तिको , हतियार र सेनाको , अन्य राज्य संयन्त्रको विकाससँगै  जव भारतमा एकीकृत साम्राज्य र सम्राटको  उदय हुने वातावरण बन्यो । यही वातावरणमा एकीकृत मौर्य साम्राज्यको विकास हुन पुग्यो ।  त्यसपछि नै  देवता पनि  ब्रह्मा, विष्णु ,महेश नामका सर्वोपरी शक्तिका रुपमा क्रमशः देखापर्र्दै गए  इन्द्रआदि वैदिक देवताको भन्दा अगम्य शक्ति भएका देवताको पूजा हुन थाल्यो ।  त्यसपछिको सामन्तवादी समाजको विकास भएपछि त उपनिषदको चिन्तनको विकास भयो । सांसारिक जीवनको निसारता दर्शाउँदै ब्रह्मा, विष्णु महेशभन्दा पनि माथि एक ब्रह्माण्ड (कस्मिक) शक्तिको कल्पना गर्दै अन्तिम लक्ष त्यहाँ विलीन हुने रहेको वताउन थालिएको हो ।

 दाश राजाहरुको आपसी महाभारत युद्धमा इदम् भ्रष्ट उदम् भ्रष्ट भएको अवस्थामा  पुराना  समुदाय स्तरमै अर्धदाशको रुपमा रहेका पराधीन समुदायहरु, जो पारिवारिक रुपमा अर्ध स्वतन्त्र थिए, मुक्त भए ।  कुलीन वर्गको सामाजिक र सांस्कृतिक दवदवाव घटेर गयो । वैश्य वर्ग शक्तिशाली भएर अगाडि आयो । स्वाभाविक रुपमा पुराना हैसियत, पुराना वर्ग हराउदै गए, पुरानो वर्गीकरणको अवधारणा र पद्धति पनि दुवै फेरिदै गए ।  अनि  कुलीनतन्त्र नमान्ने नायक वर्गीय संस्कार वाहिरका चिन्तकहरुले बौद्ध, जैनआदि मत स्थापित गर्न थाले ।जो धर्म र नैतिकताका  दुृष्टिले नायक वर्गका परम्परागत देवताका लागि गरिने पूजाविधिभन्दा सरल, बोधगम्य र व्यवहारिक थिए । ती विचार त्यस्ता राज्यबाट देखापरे जहाँ देवगणको कुलीवर्गको शासनमा कुने प्रभाव वा शक्तिवाँडफाँड हुदैनथ्यो । त्यसैले ती लोकप्रिय पनि भए । ती मत कुलीनहरुको वैदिक धर्मदर्शनलाई अस्वीकार गर्दथे । पुराना वैदिककर्मका अनुयायीहरुले यिनलाई अनीश्वरवादी भनेर निन्दा गर्दथे तर ब्रह्मण कहलाउने कुलीन देवगणका सन्तानहरुको शक्तिक्षीण भएकाले त्यस्ता विचार लोकपृय हुदै गए । ब्राह्मण इतरका शासक वर्गका शाक्यमुनि बुद्धले यही प्रसङ्गमा आफ्नो पहिलो उपदेश शूद्र वर्गका तपस्स र मल्लक भन्ने दुई अनुयायीलाई दिएका थिए ।  शूद्रहरुलाई दाश भनेर कुनै प्रकारको धर्म संस्कृतिबाट बञ्चित गर्नुपर्छ भन्ने त्यसबेलाको कुलीन ब्राह्मण वर्गको शास्त्रीय अवधारणामा यो एउटा ठूलो विद्रोह थियो । साक्यमुनि बुद्ध (गौतम बुद्ध)को वास्तविक विद्रोही भावना शूद्रअर्थात् दाशलाई सास्कृतिक रुपमा अगाडि ल्याउनु थियो जुन अवधारणा पछिका राजा बिम्बिसार र अशोकजस्ता बुद्ध धर्मका अनुयायी बने पछि बुद्धधर्म पनि कर्मकाण्डी वन्यो र मूर्तिपूजातर्फ फर्कियो  ।

 माथि उल्लेखित दाश राज्यका राजाहरुका महाभारत युद्धमा सहभागी राजाहरुप्राय सबै नै पराजित भए। बचेका राज्यमध्ये मगधराज्य अझै शक्तिशाली थियो । त्यो युद्ध पछि त्यसको प्रभाव भारतीय समाजमा व्यापकरुपमा परेको थियो । राज्यहरु कमजोर भए पछि दासको रुपमा दवाइएर राखेका धेरै जातीय समुदायले मुक्तहुन पाएका थिए । तिनको पारिवारिक अवस्थिति  लगभग अस्त व्यस्त थियो । त्यसैगरी बृहत युद्धका लागि राजाहरुले उर्दीगरेर जम्मा पारेका हजारौंलाखौंको संख्याका विभिन्न राज्यका प्रजाहरुको पनि युद्धपछिको स्थिति विछृङ्खलित बनेको थियो । युद्धमा हजारौ त मारिएका थिए । हजारौ अपाङ्ग बनेका थिए । जो युद्धबाट भागेर बचेका थिए ती सामान्य मनस्थितिमा फिर्न नसक्ने अवस्थामा थिए । कहाँ भगदत्त भन्ने आसामको राजाको प्रजा  कुरुक्षेत्रको युद्धबाट भागेर बाँच्नका लागि पञ्जाव पुग्योहोला । त्यस्तै उत्तरको मानिस दक्षिण पुग्यो होला । राज्य नै ध्वस्त बने पछि हजारौ सिपाही घर न घाटका भए होलान् । त्यस्ता लाखौ विछृङ्खलितहरुको जमात युद्धको विभिषिका सम्झेर संसारको निसारतालाई आत्मसात् गर्दै सांसारिक गतिविधिबाट अलगथलग बन्न थालेको थियो । यही अवस्थामा असामाजिक सन्यासीहरुको जमात खडाहुनथालेको हो । तिनका अखडा बन्ने परम्परा नै बस्यो । असामाजिक सन्यासीका संघ, संगठन बने । यसैगरी उत्पादनको साधन परिचालन नगरी समुदायको सम्पत्तिको रुपमा रहेको उत्पादित वस्तु उपभोग गर्ने तर शारीरिक परिश्रम नगर्ने कुलीन वर्गका मानिस पनि आफ्ना विश्वास भङ्ग भएको र आफ्नो वर्गस्थिति भताभुङ्ग भएको अवस्थामा पुग्यो । त्यस वर्गका मानिस पनि घरपरिवार त्याग गरेर हिड्ने वैरागी, सन्यासी हुन थालेका थिए ।  यो स्थितिको प्रभाव समाजमा यति गहिरोसँग परेको थियो कि यसै वर्गका विद्वान उपनिषदका रचनाकारहरुले पनि संसारको निसारता अनुभव गरेर सवैकुरा त्यागेर जङ्गल पस्नुपर्छ भन्ने उपदेश नै गरेका छन् । उपनिषदको पलायनवाद मानव इतिहासको दोस्रो विश्वयुद्धपछिको अस्तिवादजस्तै हो ।

यसरी दाश मालिकहरुको सत्ता कमजोर भए पछि उनीहरुले बनाएका नियम , उनीहरुका विश्वास, उनीहरुका आचरणपद्धति,सबै कमजोर भए । कतिपय क्षेत्रमा ध्वस्त नै भए । अराजकता पनि छायो । पराधीनसमुदायहरु मुक्त पनि भए । यसअवस्थामा युद्धबाट बचेका विछृङ्खलित सिपाहीहरुलाई सङ्गठित हुने माध्यम वा निकासको विकल्प थिए बौद्धमतका संघहरु, कुनै कर्मकाण्डको बन्धन नभएका रौद्र— शिवमार्गी हठमार्गी सन्यासीहरु र प्रतिगामी उपनिषद्वादी निःसारतावादी  जंगलतर्फका भगौडाहरु । भारतीय संस्कृतिमा परवर्तीकालमा योगी सन्यासी कहलाएका असामाजिक र गृहस्थ नवनेकाहरुको सन्यासी जमातका अखडा बन्ने परम्परा यहींबाट शुरु भएको हो । श्रम गर्ने परम्परा र संस्कार नभएका, सधैं दाशलाई लूटेर खान पल्केका , कुलीन वर्गका मानिस सन्यासी बनेर भिक्षा मागी खाने भगौडा परम्पराका अगुवा बने । दाशप्रथाले चरम विकास गरेको अवस्थामा भारतमा अद्भूत भौतिक प्रगति भएको थियो । मालिक वर्गको सुख सयल  र संस्कृतिको विकासमा त्यसबेला गरिएका आविष्कार, चालचलन सभ्यताको रुपमा आजसम्म पनि हामीले अपनाई आएका छौं । दाशमा आधारित उत्पादन पद्धति भए पनि सभ्यताको विकास र आविष्कारमा आर्यहरु अग्रणी थिए । युद्ध पछिको नयाँ चिन्तनले भाषा, आयुर्वेद,वास्तु शास्त्र , खगोल विद्या आदिमा विश्वमै अग्रणी भूमिका खेलेको पनि हो । पुष्पक विमानको अवधारणाजस्ता नयाँ चिन्तन  त्यसैवेला प्रकट भएको पनि हो तर शिक्षामा लगभग एकाधिकार राख्ने कुलीनतन्त्रको मरणशील सोचले गर्दा त्यो प्रगतिको वेगलाई अगाडि लैजानुको साटो उनीहरुको चिन्तन भौतिक संसारको विकास मिथ्या हो , शून्यमा मिल्नु नै लक्ष हो भन्नेतिर गयो । उनीहरु भन्न थाले— क्रियानाशात् भवेत्चिन्ता नाशोस्मात् वासना क्षयः। वासनाप्रक्षयो मोक्षः सा जीवन्मुक्तिरिष्यते । अर्थात् अहिलेसम्म गरेको कामको प्रगतिलाई नष्ट गरियो वा हुन दिइयो भने मात्र तिम्रो सांसारिक तनाव र चिन्ता सकिन्छ र  तिमी जिउदै दुखबाट मुक्ति पाउन सक्छौ । –अध्यात्म उपनिषद) ।

समग्र भारतीय उपमहाद्वीपको त्यसबेलाको सोचको धारा ,चाहे बौद्ध होस् वा वैदिक, सवै नै जीवनमा दुखको नाश कसरी हुन्छ र आनन्द कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित थिए । तर त्यस्तो सोच भौतिक विकासमाभन्दा आत्मचिन्तन, अन्तरमुखी बन्यो । किनभने महाभारत युद्धको पीडा राजा, प्रजा , दाश, कुलीन सबैले भोगेका थिए । अर्थात् दाशप्रथाको उपलब्धि र अभिशाप दुवै भारतबर्षले भोगेको थियो । हो,सो युद्ध पछि नै भारतमा दाश मालिकहरुको कुलीनतन्त्रको पुरानो प्रणाली समाप्त भयो र दाशमालिकहरुले शूद्रमा वर्गीकरण गरेको मौर्य कुलको चन्द्रगुप्त नामको राजाले मगधबाट एकीकृत सामन्तवादी भारतको साम्राज्य खडागर्न सफल भए । तर उनको सफलताको पछाडि भारतीय उपमहाद्वीपमा समाजको आदिकालदेखि सभ्यताको नेतृत्व गरिआएको उही कुलीन दाश मालिक वर्गकै चाणक्य कौटिल्यको सचेत र प्रगतिशील मार्गदर्शनले काम गरेको थियो । त्यसैले एकीकृत भारतका ती संगठक कौटिल्यले साम्राज्य निर्माणपछि घोषणा गरेका थिए अव कुनै पनि आर्यजातिको मानिस दाश हुनेछैन ।  यता मौर्यसाम्राज्यले भारतीय उपमहाद्वीपका अलगअलग राज्यहरु कुनै दाशहरुका, विजातीय राज्य हाइनन् बरु समग्र यो भूमि एउटै आर्यजातिको भएकोले यो एउटै राष्ट्र हो भन्ने सिद्ध गरेपछि त्यो समयको मागलाई  सम्बोधन गरेको सिद्ध भएको थियो । दाशमालिक पुरोहित वर्ग र युद्धपिपासु राजाहरु भरत भित्रैका एकअर्को राज्य र त्यहाँका वासिन्दालाई दस्यु,चोर, सभ्यता विरोधी, देवता विरोधी,विजातीय राक्षस भनेर निन्दामात्र गर्दैनथे , एकअर्कालाई लूट्ने , दाश वनाउने प्रयास गरिरहन्थे ।जवकि यी सवै एकै आर्यजातीयसमाजका थिए । आम मानिस राजा र दाशमालिक वर्गको यो विभेदकारी संकीर्ण सोचका विरोधी थिए । उनीहरु एकीकृत भारत भयो भने मात्र कृषि , व्यापार, कालीगढीको विकास गर्न सकिन्छ भन्ने ठान्दथे ।  त्यसैले तिनले पनि शूद्र कहलाएका मौर्यराजाले गरेको एकीकरणलाई मनपराएका थिए । यसैले यो घटना इतिहासमै प्रगतिशील थियो । विश वर्गले राज्य राज्यको अवरोध विना नै भारतभर व्यापार गर्न पाउनथालेको थियो । दुष्मन राज्यको प्रजा हुनुपरेन । अव समुदायले खेतीको काम गरेर स्वतन्त्रसँग जीवन निर्वाह गर्न पाउँथ्यो । दाश वनेर कमाइ सवै कुलीन वर्गलाइ बुझाउनु परेन । यता देवत्व र सद्भाव समाजमा आडम्बरी पूजाविधिबाट होइन, सद्विचारबाट प्राप्तहुन्छ भन्ने बौद्ध दर्शनले समाजमा नयाँ जागरण ल्याउँदै थियो । भारतको एकीकृत साम्राज्यको निर्माण भएको केही सय बर्षमा नै जव सम्राट अशोकले बौद्ध मतस्वीकार गरे त्यसबेलासम्म बुद्धको  समय सुहाउँदो व्यवहारिक मत र संगठन एउटा धर्ममा खासगरी राजा महाराजाको धर्ममा परिणत भयो । राज्यसत्तामा नयाँ व्यपारिक र उद्योगी वर्ग हावी हुन सकेन। वारम्बार हुने गरेका युद्धमा दाशमालिक जमिन्दार वर्गले युद्धसरदारहरुलाई मद तगर्न लागेपछि अनि दाशमालिकहरुको पुनरुत्थान हुनथाल्यो । एकीकृत साम्राज्य छिन्नभिन्न भयो ।

 मौर्य वंशले शुरु गरेको समयसापेक्ष प्रगतिशील सामन्तवाद र आर्यहरुको एकीकृत साम्राज्य धेरै समय टिक्न सकेन । भारतमा बाहिरबाट आगन्तुक समुदायको आक्रमणको परम्पराको अन्त्य भएको थिएन । कनिष्कको हमलापछि सामन्तवादको प्रगतिशील स्वरुप समाप्त भयो । त्यसपछिको गुप्तवंशका राजाहरुको नीति दाशप्रथाका मालिक वर्गको सहयोग लिएर वैदिकपरम्पराअनुसार शासन गर्ने रह्यो ।  पुराना मालिक वर्गको पुनरुत्थान भयो । यद्यपि बौद्ध मतका आडमा प्रतिगामी पुनरुत्थानको समयसमयमा प्रतिकार हुन्थे तर तिनको वर्ग आधार वैदिक मतानुयायी प्रतिगामीहरुको तुलनामा कमजोर थियो । दाशमालिकहरु अव जमिनका र अद्र्धदाश एवं घरेलु दाशका मालिक बन्दथे । राज्यसत्ताको निर्माण र विकास भएको समयसम्म पनि नायक वर्गका मानिसको उत्पादनका साधनमा स्वामित्व हुदैनथ्यो । उनीहरु सभ्यताको आदिम अवस्थादेखि चलिआएबमोजिम नै उत्पादित वस्तु नै भाग उठाएर खाने गर्दथे भने उनीहरुको यो हकको रक्षा राज्यले गर्नु पर्दथ्यो । त्यो प्रणाली त्यसै भएर उत्पादनका साधनमा स्वामित्व नभएको भनी कतिपयले आदिम साम्यवाद भनेर कतिपय अहिलेका प्रगतिशील कहलाउने विद्वानले पनि उल्लेख गरेका छन्  । त्यसै कारण आजका कतिपय विद्वानहरु पनि आदि स्वमी वर्गलाई श्रम गरेर खाने साम्यवादी हुन् भन्ने दावी गर्दछन् । हो राज्यसत्ताको सुदृढीकरण पछि राजा र क्षत्रिय वर्गले कृषिको व्यापक विकास गरेका मान्धाता आदि राजाको कथावाट के बुझिन्छ भने त्यसपछि नै जमिन सम्पत्तिका रुपमा विकास भयो । जमिन सवै सरकारको हुन्थ्यो । राज्यलाई ६ या ४ भागको एक भाग कर बुभाउने गरी वैश्यहरुले खेती गर्थे ।   उत्पादनका साधनको प्रयोग विश वर्गका वैश्य  अर्थात् कृषकले गरेको हुन्थ्यो । यसै भएर नायक वर्ग जो ब्राह्मण कहलायो दान लिनु वा दान पाउनु आफ्नो अधिकार नै संझन्थ्यो । तर उत्पादनको साधनको पहिले स्वामी थिएन । महाभारतको युद्ध पछिको स्थितिमा अव नायक वर्गका ब्राह्मणहरु पनि उत्पादनका साधनका मलिक हुन थालेका थिए । त्यसपछिको बाध्यात्मक अवस्थामा दान या यज्ञभाग अधिकारको रुपमा नरहेपछि स्वैचिछक सामाजिक संस्कारवस पढ्ने पढाउने यज्ञआदि धार्मिक कल्याणका काम गर्ने गराउने गरेका हुन् । पहिलेदेखि  देवदूत कहलाएका पुरोहित कुलीन वर्गका मानिस भएकाले   समाजका लागि आवश्यक काम गरेवापत दान लिने दिनेकाम गरेका हुन् । यिनले समाजका सदस्यहरुको बर्णाश्रम धर्मको आचार संहिता पनि जारी गर्ने परम्परा वस्यो ।

संक्षेपमा आदिकालदेखिका समाजका यी नायक वर्गका मानिसहरु सनातन सभ्यता, संस्कार , नैतिकता नियम र धर्मका प्रतिपादक र नेता थिए । खासगरी देववाण्ीमा मात्रै देवताको पाठपूज ागर्ने प्रचलन रहेको, देववाणीमा देवताका सन्तानको मात्रै पहुच र ज्ञान हुने गरेको र उनीहरु नै समाजका अगुवा र सभ्यताका प्रतिपादक हुने गरेकाले सभ्यता र शिक्षाको माध्यम पनि देववाणी नै हुदै आएको थियो  । यसरी शिक्षा, सभ्यता, धर्म र संस्कृतिको नेतृत्व ब्राह्मणले गरेका हुन् । पहिले देवताका सन्तान भनिए, पछि देवदूत भनिए, पछि ऋषि भनिन थालिए । यिनैलाई ब्राह्मण भनियो । ब्राह्मण भन्नाले बृहत अर्थात् ठूलो भन्ने अर्थ पनि लाग्छ । शून्यलाई पनि ब्रह्म नै भनिन्छ जस्तै खम् ब्रह््म । यिनले शून्यबाट सभ्यताको अगुवाइ गरेका हुन् । सृष्टि अर्थात समाज र सांसारिक सभ्यताको रचना गर्ने ब्रह्मदेवताका उत्तराधिकारी पनि ब्राह्मण कहलाउँछन् । यसले आदिकालदेखिका अगुवा नै ब्राह्मण हुन् भन्ने बुझाउँछ । ब्रह्मणः अपत्यं पुमान् बा्रह्मण ः भनिन्छ । त्यसो त जो विस्तार हुदैजान्छ त्यो पनि ब्रह्म कहलाउँछ । विग् व्याङ्ग विस्फोट पछि  यो वर्तमान भौतिक जगतको विस्तार भएकोले नै कस्मिकलाई  ब्रह्माण्डको संज्ञा दिइएकोछ । तर ब्रह्माण्डको ब्रह्म अन्तिम सत्यको विषय मानिएकोछ भने ब्रह्माको सगुण र साकार रुपबाट ब्राह्मण बनेका हुन् । शब्द एउटै भए पनि यिनको तात्पर्य फरक छ । देवगणका सन्तान, पुरोहित र कुलीन दाश मालिक वर्ग अव नियमितरुपमा ब्राह्मण कहलाउन थालेपछि  ब्राह्मण हुन निश्चित संस्कार र ज्ञान हुनुपर्ने पुरानो मान्यतालाई शास्त्रीय रुप पनि दिइयो । तर यसको मूल आधारचाहि शासक वा राज्य वा शासनमा पहुच भएका ब्राह्मणको जातीय श्रेष्ठताको अनुमोदनको थियो । उनीहरुले ब्रह्मण ठहराएका ब्रह्मण कहलाउँथे । यहाँसम्म कि सातौ आठौ सदीतिर वर्णाश्रम धर्ममा लागेका खससमुदायमा त १९औ सदीसम्म पनि यही अवस्था थियो भने दक्षिण भारतमा यही अवस्था विद्यमान छदैछ । नेपालमा विसं १९१०को मुलुकी एनले समेत राजाको मूल पुरोहित वा ब्राह्म्ण परिषदले जातको तह निर्धारण गर्ने अधिकार पाएको थियो । राज्य, राजा वा राजपुरोहितले कुनै मानिसको पनि जातीय पहिचान र श्रेष्ठता निधौरण हुन्थ्यो ।

 मौर्य साम्राज्यको पतन पछि पुनरुत्थान कालमा ब्राह्मणहरुले लिपिको आविष्कारसमेत गरिसकेका हुनाले प्राचीन पौरोहित्य श्रुति  परम्परामा गाइने वेदको संकलन र सम्पादन गरेका हुन् । त्यसैकारण वेदमा प्राचीन परम्परादेखि तत्कालीन समयसम्मका चिन्तन र स्तुति समावेश गरिएका छन् । सबैभन्दा पुरानो भनिएको ऋग्वेदमा समेत देवता वनिसकेका पूर्ब पुरुष, मनुष्यका गोत्र प्रवर्तक ऋषि र तिनको परम्परा धान्ने परवर्ती कालका पुरोहित र तिनले गाएका ऋचाका सम्पादक र संकलकहरुकोसमेत विचार तथा सामाजिक झलक पाइन्छ । वेद मात्र होइन पुराण, स्मृति ,उपनिषदजस्ता सनातन धर्मका परम्पराको व्याख्या र काव्यादि रचना पनि त्यसपछि नै व्यापक लेखन गरिएको हो । त्यसैले तिनमा अनेक क्षेपक अर्थात् पछि थपिएका समयसन्दर्भ नमिल्ने श्लोकहरु प्नि छन् । यसैबेलादेखि पुराना देवताहरुको ठाउँमा नयाँ देवताहरु प्नि समाजमा पूजिन थालेका थिए  । इन्द्रादि देवताको भन्दा अव ब्रह्मा विष्णु महेश्वर भन्ने पहिलेका भन्दा ठूला र प्रभावशाली देवता पूजिन थाले भने ताििन्त्रक देवताको उदय भयो ।   

 राजकाज गर्ने र राजाका भारदार कर्मचारी पहिलेदेखि नै क्षत्रिय कहलाउँथे नै । क्षत्रियको वर्ग निर्धारणका सन्दर्भमा जे गरियो त्यो नै भारतीय उपमहाद्वीपको वर्ग—बर्ण व्यवस्थाको विशेषता हो । जस्तो कि माथि पनि उल्लेख गरिसकिएकैछ कि यहाँको आर्य जतिको बनोटमा धेरै अनुवंश , धेरै प्रकारका गण र धेरै बाहिरी र स्थानीय प्रजातिका मानिसको मिश्रण रहेकोछ । साथै यो जातिको निर्माणमा अन्यत्रभन्दा बढी नै समावेशिताको सिद्धान्त पनि अँगालिएकोछ तर त्यसको शर्तचाहिँ दाश मालिक गणनायकहरुको यज्ञ भागलगाउने पद्धतिबाट सम्पत्तिको वितरण प्रकृयाका साथै स्वामित्वका तह सवैले स्वीकार गर्नुपर्दथ्यो । त्यो एउटा सभ्यताको मापदण्ड नै बनेको थियो । यस सन्दर्भमा सभ्यताको आरम्भमा जत्थाका नायक र पछि गण नायकहरुले क्षतिबाट रक्षा गर्नका लागि राज्यसत्ताको विकास र विस्तार गर्ने क्रममा राज्यको काम गर्नेलाई क्षत्रिय अर्थात् रक्षक भन्न थालेका हुन् । राज्यको मुख्य उद्देश्य नै रक्षा भएकाले यस काममा विशेष योग्यताको खाँचो थियो त्यो भनेको लडाकुपन र अनुशासनको पालना हो । त्यसका लागि चेन अफ कमाण्ड अर्थात् मर्यादाक्रम र आज्ञाकारिता विशेष योग्यता हुने नै भए । यस्तो योग्यता भएपछि जुनसुकै वर्ग र कुल गोत्रको भए पनि त्यो क्षत्रिय हुनसक्थ्यो तर कुलीन गणनायक वा नायकको श्रेणी र संस्कार पाउँदैनथ्यो । समाज विस्तार र विकासको क्रममा देवगण गोत्रका धेरै सदस्यको वंशबृद्धि र अन्य गण गोत्रका समाजसँगको सम्पर्क र युद्ध हुनेगरेपछि नयाँ आगन्तुक गण गोत्रका मानिसको हैसियत र श्रेणी विभाजनमा देवगणका नायकहरुको मुख्य ध्यान पुग्दथ्यो । यस्तो श्रेणी विभाजन नै यिनको ठूलो विशेषता थियो । उनीहरुको जुन गण वा जनजातिसँग युद्ध हुन्थ्यो तीमध्ये पूर्णतः पराजितलाई उनीहरु दास वनाउँथे । दाश पनि धेरै तहका थिए । पराजित समुदायका सदस्यहरुको परिवार नै छिन्नभिन्न तुल्याउनेगरी पुरुष सदस्यलाई मार्ने (परवर्ती कालमा बाँधेर आवश्यकताको काममा लगाउने) र नारीलाई उपभोग गरेर काममा लगाउने, वस्तीलाई नै सशस्त्र निगरानीमा राखेर काम लगाउने तर परिवार छिन्नभिन्न नपार्ने र समय समयमा हमला गरेर कमाई लूट्ने तर अरु हस्तक्षेप नगर्ने दासका यी भिन्न रुपहरु थिए । विजातीय र विगोत्री केही यस्ता समुदाय पनि उनीहरुको वर्गीकरणमा हुन्थे जसलाई आफुभन्दा हीन संझन्थे तर तिनलाई पराजित गर्न सक्तैनथे । केही विजातीय र विगोत्री समुदायका मानव समुदायलाई देवगण जित्न सक्तैनथे र पूर्ण पराजित पनि हुदैनथे तिनलाई उनीहरु आफ्नो सभ्यतामा स्वीकार गरेर यज्ञभाग अदि दिएर क्षत्रियको रुपमा स्वीकार गर्दथे । क्षत्रिय अर्थात् नायकहरुजस्ता कुलीन होइनन् न त नायकहरुकोजस्तो संस्कार नै प्राप्त गर्दछन् , न देवता र पितृको नजिक पुग्ने त्यो नायकहरुको हैसियत नै राख्दछन् तर रक्षागर्न सक्ने लडाकु हुन्छन् । राजा वा राज्यप्रमुख हुन सक्दछन् । विजातीय वा विगोत्रीय भए पनि ती आर्यजातीय समाजका सदस्य बन्दछन् । यसरी चाहे स्थानीय जनजाति होस् वा विजाति विगोत्रीय किन नहोस् पराजित छ भने शूद्र(दाश)का रुपमा र र विजेता छ भने क्षत्रियका रुपमा बाह्य समुदायको सदस्य पनि आर्यजातिमा समाविष्ट हुने गर्दथ्यो । शर्त केवल सामथ्र्यको हुन्थ्यो ।  देवगण या आर्य जातिको समावेशी सिद्धान्तको एउटा ज्वलन्त उदाहरण खस जाति पनि हो । सामान्यतया ईस्वीसन् शुरुहुनु एक÷डेढसय बर्ष अघि रचना गरिएको विश्वास भएको मनुस्मृतिले खस जातिलाई पराजित गर्न नसकेको हीन शूद्रजातिको श्रेणीमा राखेको उल्लेख छ । ब्राह्मणले खसभूमिमा एक रात पनि नबस्नु अपवित्र भइन्छ भनेकोछ तर पछि त्यही खसलाई नायक ब्राह्मणहरुले क्षत्रियको दर्जा दिए । किनभने खसहरुले नायकहरुको शर्त र सभ्यता स्वीकार गरे । अझ प्रष्टरुपमा भन्दा उपमहाद्वीपमा नै प्रचलित समाजिक श्रेणी र प्रतिष्ठा प्राप्त गर्न खसहरु सफल भए र आर्यहरुको दाशताबाट स्वतन्त्र रहने सामथ्र्य प्रदर्शन गरे । यता ब्राह्मण नायकहरुले खस क्षेत्रमा सामाजिक रुपमा आफ्नो  नेतृत्व स्थापित गरेर  भूमि लगायतका श्रीसम्पत्ति उपभोग गर्ने अधिकार प्राप्त गरे  ।

क्षत्रिय वर्गको अर्को विशेषता राज्यको विकाससँगै यो वर्ग सम्पत्तिका रुपमा भूमिको स्वामी पनि हुन्थ्यो  । अर्थात् राज्य र राजाको अस्तित्वसँगै  भूमिमाथि सम्पत्तिका रुपमा राजा अर्थात् क्षत्रिय वर्गले कब्जा जमाउन थाल्यो । तर मानवरहित जङ्गलमा ब्राह्मणहरुले खडा गरेका उपनिवेश,जसलाई आश्रम भनिन्थ्यो त्यहाँ राज्यको कुनै अधिकार हुदैनथ्यो ।  राज्यको प्रमुख राजा विष्णु भगवानको प्रतीक कहलाउँथ्यो । ब्रह्मा नायक ब्राह्मणहरुका आदि पुरुष देवतास्वरुपका हुन् भने विष्णु क्षत्रियदेवता हुन् ।

तेश्रो बर्ण अर्थात् तेश्रो मालिक वर्ग विश अर्थात् सर्व साधारण प्रजा हुन्थे । यिनमा समुदायमा सहकार्यद्वारा मिसिन आएका अन्यसमुदायका सर्बसाधारण मानिस पनि हुन्थे । यिनैलाई  वैश्य पनि भनियो । यिनीहरु उत्पादनका साधनसँग प्रत्यक्ष सम्बन्ध राखेर जीविका गर्दथे । शुरुमा पशुधन, पछि  सभ्यताको विकास भएपछि र राज्यको गठनसँगै  स्थायित्व शुरु भएपछि कृषि र व्यापार यिनको जीविका र कमाइको आधार थियो । यिनले राज्यलाई कम्तीमा छ भागको एक भाग कर तिर्नुपर्दथ्यो । अझ महायुद्ध अगाडिको परिस्थितिमा त पुरोहित वर्गलाई  दान भाग अनिवार्य छुट्याउनुपर्ने राज्यले नै नियम बनाएको थियो । दान नगर्ने विश वर्गलाई पुरोहित वर्गले दस्यु, राक्षस, धर्मविरोधी, दण्डनयि भनेर निन्दा गर्दथ्यो । यति भए पनि राज्यको कृपा लिन सफल वैश्य व्यापारी र कृषक गृहस्थीहरु  राजाको शासनमा धेरै धनी हुन्थे । हजारौ पशुधन हुन्थ्यो । हजारौ दाश हुन्थे । टाढा टाढासम्मको व्यापारबाट बहुमूल्य धातु संग्रह गर्न सफल हुन्थे ।

 चौथो बर्ण अर्थात् वर्ग शूद्र हो । देवगणको समयदेखि मौर्यशासन शुरुहँुदासम्मका विभिन्न काल खण्डमा  भएका युद्धमा  पराजित गणका सदस्य, व्यक्तिगत, पारिवारिक र सामुदायिकरुपमा जो पराधीन वनेका थिए तिनै शूद्र अर्थात् दाश थिए । यिनको सामाजिक, राजनीतिक र आर्थिक विषयमा कुनै अधिकार थिएन । समाजमा यिनको कुनै सामाजिक हैसियत पनि हुदैनथ्यो । नत कुनै संस्कारको अधिकार थियो । ब्राह्मण, क्षत्रिय र वैश्यको सुख सुविधाका लागि समर्पित रहनु नै यिनको कर्तव्य हुन्थ्यो ।  शूद्रहरु सातप्रकारका हुन्छन् भनेर चाणक्यले पनि बताएका छन् ।

यसप्रकार मौर्य वंशको शासनको पतन पछिको पुनरुत्थान कालमा सनातन वैदिक हिन्दु धर्मअनुसार समाजलाई चार वर्णका नाममा मानवसभ्यताको शुरुदेखिका चार वर्गलाई स्थापित गरिएको हो । तर त्यसपछि समाज यति विविध र विशालस्तरमा फैलिएर विकसित भयो कि ब्राह्मणहरुका आचार संहितामा समेत अनेक विरोधाभास देखिनथाले । त्यसको समाधानका लागि उनीहरुले खडा गरेका विधिविधान यति जटिल, कठिन र झन्झटिला  भए कि तिनबाट मुक्ति पाउन स्वयम् ब्राह्मण वर्गकै मानिसले सरल मार्गबाट ईश्वरको कृपा पाउने उपाय खोज्नथाले जसलाई अरु वर्गको पनि साथ मिल्नथाल्यो । यसै क्रममा सुधारवादी ब्राह्मणहरुवाटै पुराना वैष्णव धर्म, पाशुपत धर्म आदिको उदय भयो ।  कर्मकाण्डबाट, झन्झटिला वैदिक विधिविधानबाट मात्र होइन, भक्ति मार्गवाट पनि परमसुख  परमपद वा मोक्ष पाउन सकिन्छ भन्ने उपायका रुपमा अगाडि सारिएका पन्थ अर्थात् बाटोहरु थिए   भने केहीसय बर्ष पछि ने भागवत् भन्ने नयाँ धर्मदेखापर्यो जहाँ केवल भक्तिको आवश्यकता थियो । बर्ण र वर्गको होइन । समाजको आधा जनसंख्या रहेको नारी वर्गलाईसमेत  वैदिक संंस्कारबाट वञ्चित गरिने गरेकाले भागवत् धर्म तिनको पनि पहुचभित्र पर्ने  गरी प्रचार गरिएको थियो । यो झन् लोकप्रिय भयो । 

आर्यहरुको दक्षिण भारतमा विस्तार पछि ब्राह्मण बनेका त्यहाँका स्थानीय जनजातिका मानिसले समाजमा नयाँ मुल्लाहले  बढी नै प्याज खान्छ भन्ने उखान चरितार्थ गर्दै शूद्र कहलाएका स्थानीयलाई दमन गर्न थाले पछि त्यहाँ सांस्कृतिक विद्रोह भयो । दक्षिण भारतको पाण्डुराज्यको पश्चिमी तटमा सातौ सदीतिर ब्राह्मणहरुले शठकोप अर्थात् विद्रोही नाम दिएका  तमिलनाडुका आलवार जातिका शूद्रका बाबु छोराले हामीलाई वैदिक धर्म अँगाल्न पनि नदिने हो भने हामीले मोक्ष कसरी पाउने त भनेर नयाँ वैष्णव धर्मको प्रतिपादन गरे । पल्ली नामको शूद्रका वंशमा कारी र सुमतीको गर्भबाट शठकोप(पराङ्कुश मुनि) जन्मेका थिए ।उनैले श्री संप्रदायको वैष्णवमतको प्रतिपादन गरेका थिए ।तमिलनाडुमा १२जना अलवारहरुले ४हजार श्लोकको रचना गरी विष्णुभक्तिको प्रचार गरे । शठकोप पाँचौ अलवार थिए ।तिनले समानान्तर वेद रचना गरेर द्रविडोपनिषदको रचना पनि गरेका थिए । शुरुमा त्यो धर्मबारे बुझ्न तमिल भाषा अनिवार्य रहेछ । पछि यही पन्थलाई रामानुजाचार्य, वल्ल्भाचार्य,मध्वाचार्य लगायतका पण्डितहरुले आधुनिक रुप दिए र उत्तर भारतमा पनि व्यापक प्रचार गरियो  । वैदिक धर्मका प्रचारक शङ्कराचार्य र रामानुजाचार्यलाई त्यस समयका प्रतिद्वन्द्वी मानिन्छ ।भारतमा  पढेर विद्वान वनेका पं लीलाकान्त पोखरेलले आफ्नु स्वधर्म निर्णय भन्ने पुस्तकमा पनि यीकुरा उल्लेख गर्नु भएकोछ । यसरी पनि  भक्तिधाराका अनेक बर्णाश्रम विरोधी धर्म प्रवर्तन गरिएका थिए । अनेक युगमा अनेक सन्तहरुले बर्ण धर्मप्रतिकूल हुने गरी अनेकपन्थको प्रवर्तन गरेका छन् तर पनि भारतीय उपमहाद्वीपको आििर्थक सामाजिक वातावरण अनुकूलको बर्णाश्रम धर्म अझै पनि  मूलप्रवाह वनेकोछ । यसो हुनमा मूल कारण यो उपमहाद्वीपमा आदिम समयका जत्था नायक—गणनायककै समयदेखिका मालिक वर्गको सांस्कृतिक र सामाजिक हैसियत   यथावत् रहनु र वर्गीय संघर्ष र वर्र्गीय क्रान्तिवाट त्यसमा परिवर्तन नहुनु नै हो । वीचवीचमा जुन परिवर्तन भए तिनमा परिवर्तनलाई  ठोसरुपमा गतिदिने सिद्धान्तको अभाव , क्रान्तिभन्दा संझौता र सुधारबाट परिवर्तनलाई अधूरो छोड्नु कारण हो भने अर्को कारण परिवर्तन पछिको खिचडी सामाजिक बनोटमा प्रतिगामी पुनरुत्थानवादी तत्व बलियो हुनु अनि समाज सञ्चालनमा परिवर्तन पछिको नेतृत्वले प्रतिगामी तत्वको सहयोग लिनु पनि हो । 

 भारतीय उपमहाद्वीपको इतिहासमा  परिवर्तनको प्रयत्न गर्ने राजा होस् या विद्रोही समूह, उसले थालेका प्रयास अन्तिम परिणतिमा नपुग्दै परिवर्तनको अभियान कमजोर हुन थाल्छ । मालिक वर्गका संस्कार भौतिक आधार यति परस्पर जोडिएका छन् कि एक ठाउँको वर्गीय संरचनालाई छुनासाथ अर्को ठाउँको वर्ग सचेत भएर परम्पराको रक्षा गर्न प्रतिगमनको अभियानमा सरिक हुन थाल्छ । इतिहासको अदिकालदेखिको यो श्रृङ्खला अटूट भएकै कारण भारतीय आर्यजातीय समाजमा परिवर्तन भन्दा अपरिवर्तनीय एउटै सत्यमा बढी विश्वास रहेको पाइन्छ । यही अपरिवर्तनीयता नै अजर अमर आत्माको दर्शनको आधार पनि हो । अदृश्य परमात्माले मात्रै केही गर्नसक्छन् भन्ने विश्वास भएका दर्शन सवै भारतीय दर्शनका सार पनि हुन् । यो अन्धविश्वासलाई भारतका विभिन्न काल खण्डका राजा महाराजा, विभिन्न मठाधीश र यहाँसम्म कि उपनिवेशवादी अंग्रेजलेसमेत बढावा दिनु स्वाभाविक थियो किनभने प्रतिगमनमा नै तिनको स्वार्थ टिकेको हुन्थ्यो । वर्तमान विश्वका महाशक्ति राष्ट्र पनि भारतमा जरो गाडेको यो वर्ग व्यवस्थालाई वर्णाश्रम धर्मको जामा पहि¥याएर जनसमक्ष कायम राख्ने उद्देश्यले यसको प्रशंसा गर्दछन् यो प्रयास प्रतिगमनकै प्रयास हो ।

श्रोतसामग्रीः—

1. Sapiens, a brief history of humankind—Yuval Noah harari
2. Ansienthistory of vedicculture—Stephen knapp
3. The Discovery of India — jwaharlal Nehru
4. A brief history of India—alain Danelou
५. आदिम सम्यवाददेखि दाशप्रथासम्म—श्रीपाद अमुत डाँगे
६. ऋग्वेद (नेपाली अनुवाद) — तिलकप्रसाद लुइटेल
७. स्वधर्म निर्णय —पं लीलाकान्त पोखरेल
८. कौटिल्यको अर्थशास्त्र
९. कौशीतकी, अध्यात्म आदि उपनिषद
१०. भगवत् गीता
११. नेपाल, मिथिला र पशुपतिको प्रतिष्ठा(लेख) —ज्ञानमणि नेपाल
१२. महात्मा बुद्धको जीवनी
१३. वोल्गा से गङ्गातक—राहुल सांकृत्यायन
१४. देवासुर संग्राम —मोदनाथ प्रश्रित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम अधिकारी
श्याम अधिकारी
लेखकबाट थप