शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डप बजार खुलेपनि सुनसान

आइतबार, २८ असार २०७७, १९ : ०८
आइतबार, २८ असार २०७७

निम्न वर्गीय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ । लकडाउनका कारण तीन महिनासम्म बन्द रहको बजार असार १५ गतेदेखि खुलेको हो । लकडाउनका कारण चैत महिना यताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउनसमेत कठिन भएको व्यवसायीहरुले बताएका छन् ।

करिब १३ सय पसल रहेको यो बजार लुगा, जुत्ता, चप्पल इलेक्ट्रोनिक सामान किनमेल गर्नका लागि सजिलो बजार पनि हो । सस्तोमा सामान पाउने भएपछि निम्न वर्गीय समुदायका मानिसहरु किनमेल गर्न जाने यो बजार लकडाउनको तीन महिना बन्द रहेपनि अहिले भने खुलेको छ । 

भृकुटीमण्डमा व्यापार गर्ने साना व्यवसायीहरुको संगठन काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणि प्रसाईंले अझैपनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताए । लकडाउन सुरु हुन भन्दा अघि नै चैत ७ गते देखि नै बजार बन्द भएकाले कतिपय व्यापारीहरु गृह जिल्ला पुगेकाले अझै केही पसल खुल्न नसकेको प्रसाईंले बताए ।

उनले सरकारले असार १ गतेदेखि बजार खोल्न दिएपनि भिडभाड हुने बजार भएकाले १५ गतेदेखि मात्रै खोलेको उनले बताए ।

कोरोना संक्रमणको अवस्थालाई ध्यान दिई विहान १० बजेदेखि साँझ ६ बजे सम्मका लागि बजार खुल्ला गरिएपनि ग्राहक नआएकाले सुनसान रहेको बताए । उनले ग्राहक नभएपनि दैनिकी चलाउन सजिलो हुन्छ की भन्ने आशामा पसल खोलिएको बताए ।


लकडाउन अघि दैनिक १५÷२० हजारको व्यापार हुने गरेकोमा अहिले बोहनी समेत हुन नसकेको व्यापारीहरुले बताएका छन् । पसल खोलेको झण्डै १५ दिन भइसक्दा पनि व्यापार हुन नसकेको व्यवसायी बोधराज थापाले बताए । उनले जनजीवन सहज नभएसम्म ग्राहक आउने सम्भावना नरहेको बताए ।

भृकुटी मण्डपमा अहिले करिब १३ सय पसल रहेका छन् । प्रत्येक पसलले प्रति स्क्वारफुट महिनाको १४ रुपैयाँका दरले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्छ । लकडाउन पछि खुलेको बजारमा व्यापार नहुँदा भाडा तिर्न समेत पैसा नभएकाले चैत महिना यताको भाडा तिर्न नसकेको व्यवसायीहरु बताउँछन् । 

उनीहरुले व्यापार नै नभएपछि दैनिक गुजारा चलाउन समेत कठिन भएको बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप