
४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ

रु ४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीको रहम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।
उनका अनुसार प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगञ्जमै रहेको विशेष सुराकीका आधारमा प्रहरीले बिहान पक्राउ गरेको हो । उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् ।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही रु२० लाख धरौटी मागिएको छ । बज्राचार्य रु२० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो ।
सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ