बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई टिकट मिलाइदिन्छु भन्दै युएईमा बिचौलियाको ठगीधन्दा

शनिबार, २७ असार २०७७, १७ : ५५
शनिबार, २७ असार २०७७


युएई । कोरोनाको कारण समस्यामा परेका नेपालीहरु युएईबाट स्वदेश फर्कने क्रम जारी छ। नेपाली दूतावास युएईको एकहप्ता पहिलेको तथ्याङ्क अनुसार युएईबाट आजसम्म ३ हजार ५ सय दुइ जना नेपालीहरु स्वदेश फर्किसकेका छन्।

नेपाल फर्कनेहरुले रोजगारदाता र आफ्नै खर्चमा हवाई टिकट लिएर नेपाल फर्किएका हुन्।रोजगारदाता र आफैसँग पैसा हुने त स्वदेश फर्किसकेका छन्। तर पैसा नभएर हवाई टिकट काट्न नसक्ने असली पीडित यतै छन्।

सरकारले विदेशमा रहेका नेपालीहरुको लागि विभिन्न एयरलाइन्स मार्फत छुट्टाछुट्टै हवाई भाडादर तोकेको छ। युएईबाट नेपाल फर्कन नेपाल एयरलान्सको भाडादर ३ सय ६० अमेरिकी डलर तोकिएको छ भने हिमालय एयरलाइन्सले ३ सय ८५ अमेरिकी डलर, एयर अरेवियाले ५ सय र फ्लाइ दुवईले ५ सय अमेरिकी डलर भाडादर तोकेको छ।

तर युएईबाट नेपाल फर्किएका पीडित नेपालीहरुले सरकारले तोकेको भाडादर भन्दा केहि चर्को हवाई शुल्क तिरेर टिकट लिएको प्रमाण भेटिएको छ। उनीहरुलाई बिचौलिया र केही ट्राभल्स एजेन्सीहरुले आन्तरिक शुल्क भन्दै मनपरी शुल्क लिएको पाइएकाे हाे।

रातोपाटीले प्राप्त गरेको प्रमाणमा एउटै हवाई टिकट २ जना यात्रुको नाममा समेत इस्यु भएको पाइएको छ। तर उडान मिति भने फरक छ। 
गत जुलाइ ४ तारिकमा एक बिचौलिया केशब खनालले दुवईबाट कृष्ण प्रसाद गैरेको नाममा आज ११ जुलाईको टिकट इस्यु गरे। त्यो पनि एक हजार ५ सय चालिस दिर्हाममा। सरकारले तोकेको भन्दा २ सय २० दिर्हाम अर्थात(७ हजार ४० रुपियाँ )बढी शुल्क तिर्ने सर्तमा उनले टिकट पाए। तर आज नेपाल एयरलाइन्सको नेपालको लागि दुवईबाट उडान सेडुल थिएन।उनी नेपाल फर्कन पाएनन्।

आश्चर्य कुरो के छ, भने सोही(२८५२१००३९७६८९)नम्बरको टिकट नेपालबाट पनि इस्यु भएको छ। तर उडान मिति  भने,फरक छ। सुदिप जवेगुंको नाममा इस्यु भएको सो टिकट गत ९ जुलाईको हो। उनी नेपाल फर्किसकेका छन्।

युएईमा यस्ता गतिविधिहरु थुप्रै भेटिएका छन्।यस्ता कार्यले पीडित नेपालीहरुलाई झनै पीडा थपेको छ ।नेपाली दूतावास युएईले बिचौलिया र दलालहरुबाट नठगिन समन्धित एयरलाइन्सको अफिस र एजेण्ट मार्फत हवाई टिकट लिन नोटिस जारी गरेको थियो। गैर आवासीय नेपाली संघ(एनआरएनए)युएईले पनि यात्रुहरुलाई समन्धित एयरलाइन्सको अधिकृत बिक्रेता र समन्धित ट्राभल्सबाट टिकट लिन आह्वान गरेको थियो।

यस्ता सूचना प्रवाह हुदाँहुदै पनि उनीहरु ठगिन पुगेका हुन्। युएईका एक ट्राभल्स संचालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने-युएईबाट नेपाल फर्कने नेपालीहरुसँग केही ट्राभल्सले प्रति व्यक्ति २ हजार देखि बाईस सय दिर्हामसम्म टिकट शुल्क लिएका छन्। उनले थपे-फ्लाइ दुबई र एयर अरेवियाको टिकट महँगो शुल्कमा बेचिएको हो।

युएईमा रोजगारी गुमाएर अलपत्र परेका हजारौं नेपाली नेपाल फर्कने पर्खाइमा छन्।नेपाल फर्कनेको संख्या धेरै भएकाले कोही हवाई टिकट नपाएर पीडित छन्भने कोही पैसा नभएर र कम्पनीले बेवास्ता गरेर पीडित बनेका छन्।केही दिनअघि मात्रै युएईमा रहेको ट्रान्सगार्ड कम्पनीमा रोजगारी गुमाएर बसेका सयौं नेपालीहरुले कम्पनीको म्यानेजमेन्टसँग घर फर्काइदिन भन्दै आक्रोशित भएका थिए। सो कम्पनीमा २ हजार ७ सय भन्दा बढी नेपालीहरुको रोजगार गुमेको थियो।

युएईबाट नेपाल फर्कने नेपालीको संख्या तीस हजारको हाराहारीमा छ। केही हप्ता अगाडि नेपाली दूतावास युएईले चौध हजार १ सय १० जना नेपाली घर फर्कने एकीकृत नामावली सार्वजनिक गरेको थियो। जसमध्ये पैतिस सय भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप