शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाको चार्टर्ड उडानको जिम्मा विदेशी एयरलाइन्सलाई, एनएसीको व्यापार खोसियो

मंगलबार १५३ जना नेपाल आउँदै
शनिबार, २७ असार २०७७, १६ : ५३
शनिबार, २७ असार २०७७

काठमाडौं । अष्ट्रेलियाबाट नेपालीको उद्धार गर्दै आएको नेपाल वायुसेवा निगम (एनएसी) को ‘व्यापार’ खोसिएको छ । अष्ट्रेलियास्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघले तेस्रो चार्टर्ड उडानको जिम्मा सिंगापुर एयरलाइन्सलाई दिएको हो । यसअघि दुई उडानमार्फत् निगमले ५३० जना नेपालीलाई नेपाल ल्याएकोे थियो ।

तेस्रो फ्लाइट भने सिंगापुर एयरलाइन्सको विमानमार्फत् मंगलबार हुनेछ । सो फ्लाइटमा १५३ जना नेपाल फर्किनेछन् । सो उडानका लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ । अष्ट्रेलियाबाट थप ६०० नेपालीहरु आउन चाहेकोमा नेपाल सरकारले स्वीकृति दिएसँगै उनीहरुलाई क्रमशः उद्धार गर्दै जाने अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

कसरी खोसियो निगमको व्यापार ?

पहिलो र दोस्रो लटमा नेपाल वायुसेवा निगमले प्रतिव्यक्ति अमेरिकी डलर १६१५ को दरले नेपालीलाई नेपाल ल्याएको थियो । तर, सिंगापुर एयरलाइन्सले अमेरिकी डलर ११५१ मै नेपालीलाई ल्याउन प्रस्ताव गरेपछि नेपाल एयरलाइन्सको व्यापार खोसिएको हो ।
 अघिल्लो दररेटभन्दा करिब ३० प्रतिशत सस्तो पर्ने भएपछि विदेशी एयरलाइन्सलाई छनौट गरिएको दूतावासले जनाएको छ । नेपालमा नियमित उडान नभए पनि सिंगापुरले नेपालमा उडान भर्न लागेको हो ।

अष्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहाल*ले उडान भर्ने एयरलाइन्सबारे तय गर्न गठित समितिको सुझावका आधारमा विदेशी एयरलाइन्सलाई चार्टर्ड उडानको लागि छनौट गरिएको बताए ।

 ‘कुन उडानबाट नेपालीलाई उद्दार गर्ने भन्ने सम्बन्धमा छुट्टै समिति नै बनेको थियो । त्यो समितिमा दूतावास, गैरआवासीय नेपाली संघ, पत्रकार महासंघ लगायतका संस्थाको प्रतिनिधित्व थियो । त्यो समितिले सबैभन्दा सस्तो भाडादर भनेपछि विदेशी एयरलाइन्सलाई जिम्मा दिने निर्णय गरिएको हो’ राजदूत दाहालले भने ।  उनले सिंगापुर नभइ सिल्क एयरलाइन्सलाई चार्टर उडानको जिम्मा दिइएकाे पनि दावी गरे । 

गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले पनि एयरलाइन्स परिवर्तनको कारण अरु केही नभएर भाडादर नै भएको बताए । 

‘कहाँको सोह्र सय पन्ध्र डलर, कहाँको एघार सय ५१ ? धेरै नै सस्तो भएकोले मात्रै हामीले यसलाई रोजेका हौं । नत्र हामी पनि नेपालीको उद्दार नेपाल एयरलाइन्सकै विमानले गरोेस् भन्ने चाहन्थ्यौं’ कँडेलले भने । उनका अनुसार सिंगापुर एयरलाइन्सले अष्ट्रेलियामा व्यवसायिक उडान समेत थालेकोले सस्तोमा उडान गर्न सम्भव भएको बताए ।

तर, सरोकारवालाहरुले भने राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई छाडेर प्रतिस्पर्धाको नाममा उद्धारजस्तो काम समेत अरु एयरलाइन्सलाई दिएकोमा असन्तुष्टि पोखेका छन् । त्यसमाथि नेपालमा नियमित उडान अनुमति नै नपाएको सिंगापुर एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिनुमा अनियमितताको शंका समेत गरेका छन् । यद्यपि यो भाडादर पनि सामान्य अवस्थाको एकतर्फी उडानको भाडादर भन्दा करिब दोब्बर हो ।

के भन्छ एनएसी ?

नेपाल वायुसेवा निगमले भने यसबारे आधिकारिक रुपमा केही जानकारी नभएको जनाएको छ । निगमकी प्रवक्ता अर्चना खड्काले तेस्रो उडानका लागि पनि गैर आवासीय नेपाली संघले कुराकानी गरेको भए पनि पछि सम्पर्कमा नआएको बताइन् । 
‘उहाँहरु हामीसँग एक चरण कुरा गर्न आउनुभएको थियो, त्यसपछि आउनुभएन । २÷३ ठाउँमा कुरा गर्नुभएको पनि हुनसक्छ । अहिले सिंगापुर एयरलाइन्सलाई जिम्मा दिइयो रे भन्ने मैले पनि सुनेको छु’ प्रवक्ता खड्काले भनिन् ।

कोभिड–१९ को संक्रमणपछि करिब १४ सय नेपालीले अष्ट्रेलियाबाट नेपाल फर्किन चाहेको भन्दै दूतावासलाई उद्धारका लागि अनुरोध गरेका थिए । सोमध्ये हालसम्म ५३० जना नेपाल आइसकेका छन् । मंगलबार थप १५३ जना नेपाल आउनेछन् । बाँकीमध्ये करिब ४०० जनाले अग्रिम भुक्तानी गरेर नेपाल आउने बाटो कुरेर बसेका छन् । उनीहरुलाई पनि नेपाल सरकारसँग स्वीकृति लिएर विस्तारै उद्धार गर्दै जाने तयारी रहेको अध्यक्ष कँडेलले बताए ।

‘हामीले १४ तारिखको उडान स्वीकृति पाइसकेका छौं । २१ तारिखमा अर्को उडानका लागि पनि स्वीकृति मागेका छौं । तर, नेपाल सरकारले उडान स्वीकृति नदिई आफूहरुले तयारी गरेर मात्रै केही हुँदैन । नेपालमा क्वारेन्टिन लगायतको व्यवस्थापन भएपछि मात्रै सरकारले अनुमति दिन्छ’ कँडेलले भने, ‘हामी जतिसक्दो चाँडो सबैलाई नेपाल फर्काउने प्रायास गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप