बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैतडीमा एसइर्ईको आन्तरिक मूल्याङ्कन सम्पन्न

शनिबार, २७ असार २०७७, १४ : ५१
शनिबार, २७ असार २०७७

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन् ।

जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको एकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।  विद्यालयले प्रथम त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको आधारमा आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको नतिजा पठाएका छन्, उनले भने, “विद्यालयहरुले पठाएको आन्तरिक मूल्याङ्कनको नतिजा एकीकृत गरेर बोर्डमा पठाउने तयारी भएको छ ।” 

यस वर्ष जिल्लाका पाँच हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन् । जिल्लाका दुई हजार ७२८ छात्र र दुई हजार ९६६ छात्राको आन्तरिक मूल्याङ्कन गरिएको हो । गत  चैत ६ गतेदेखि हुने तय भएको एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो ।

लकडाउनका कारण रोकिएको एसइई गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नगर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाटै ग्रेड सिट तयार पार्ने निर्णय गरेको हो । 

यसैवीच भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनको अवधिमा १३७ जना स्वदेश फर्किएका छन् ।सीमापारि रहेका नेपाली स्वदेश फर्केका हुन् । यस्तै ४३८ भारतीय पेन्सनधारी नेपालीले पेन्सन बुझेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

लकडाउनका कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि तीन दिन शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको थियो । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो । यस्तै नाका खुला भएपछि नेपालबाट २९ भारतीय नागरिक पनि आफ्नो देश फर्केका छन् ।

भारतबाट पेन्सन बुझ्ने धेरै नागरिकले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाले फेरि नाका खोल्नका लागि भारतीय पक्षलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । पुनः केही दिनका लागि नाका खोल्न जिल्ला प्रशासन कार्यालयले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप