शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा सलह : पहिलो लट हरायो, दोस्रो लट आउने तयारीमा

शनिबार, २७ असार २०७७, १४ : २४
शनिबार, २७ असार २०७७

काठमाडौं ।  असार १४ गते नेपाल छिरेका सलह बिस्तारै–बिस्तारै हराउँदै गएका छन् भने अर्को नयाँ झुण्ड छिर्ने तर्खरमा देखिएको छ । भारतबाट नेपालको बारा, पर्सा नाकाबाट छिरेका सलह किरा शुरुमा नेपालका ४० भन्दा बढी जिल्लामा फैलिएका थिए ।

चितवन, पाल्पा, मकवानपुर, अर्घाखाँची जिल्लामा करौंडोको बालीनाली नष्ट गरेका किरा बिस्तारै आफैं हराएका छन् । नेपालमा पछिल्ला दिन भने सलहले केही क्षति नगरेको वा कतै झुण्ड नदेखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

हिमाल, पहाडतिर चढेका कतिपय किरा आफैं कठ्याङ्ग्रिएर मरेका छन् भने कतिपय डुल्दाडुल्दै हराएको मन्त्रालयले दावी गरेको छ । कतिपय ठाउँमा झुृण्ड–झुण्डमा रहेका सलह आफै तितिरवितिर भएका छन् । कहिकतै एक दुईटा देखिएपनि झुण्डमा कतै देखिएको छैन तर भारतबाट फेरि ठूलो झुण्ड नेपाल प्रवेश गर्ने खतरा रहेको उनले बताए । उक्त झुण्ड नेपाल–भारतको सीमा क्षेत्रमा आइसकेको र जुनसुकै बेला पनि नेपाल छिर्न सकिने अवस्था रहेको उनले बताए । त्यसका लागि प्रदेश तथा स्थानीय तहलाई सतर्क रहन सर्कुलर पठाइसकिएको पनि उनले बताए । 

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकाअनुसार पछिल्लो विवरणअनुसार हाल भारतको जयपुर र आगराको बीचमा पर्ने धौषा भन्ने स्थानमा देखिएका ५ वटा सलहका झुण्डहरु करिब ५२५ हेक्टर क्षेत्रफल साइजमा रहेका छन् । ती झुण्ड हावाको बहावसँगै उत्तर पूर्वतर्फ गंगानगर, ग्वालियर हुँदै ३ दिनमा अल्लाहबादसम्म पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, राजस्थानको सिकर आसपासका क्षेत्रमा करिब ४०० हेक्टर क्षेत्रफल साइजका अरु ५ वटा झुण्डहरु राजस्थानको चुरु हुँदै पूर्वमा उत्तर प्रदेशको साहजाहाँपुर तथा सीतापुरतर्फ अगाडि बढ्ने अनुमान गरिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाइँले बताए । 

उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका दुईवटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएका छन् । यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी, मुजफ्फरपुर र दरभंगा आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपाल प्रवेश गर्न सक्ने उनले बताए । यसैगरी राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरु पनि दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

परिपक्व हुँदै गरेका यी झुण्ड अनुकूल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने तर हावाको बहावसँगै पूर्वतर्फ लाग्न सक्ने सम्भावना देखिइएकोले जुनसुकै बेला पनि नेपाल प्रवेश गर्न सकिने उनले बताए । पटनासम्म आइसकेको झुण्डलाई जनकपुर छिर्न एक दिन पनि नलाग्ने बताउँदै हुमगाइँले पानी परेको बेला तथा रातमा सलह चलायमान नहुने बताए । तर हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले ती झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

पानी परेको बेला तथा रातको समयमा स्थानान्तरण नगर्ने भएतापनि ती झुण्ड धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा पुग्न सक्ने उनले अनुमान गरे । त्यस्तै सुदुरपश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट प्रवेश गर्ने सम्भावना रहेको उनको भनाई छ । उता, प्रदेश नं ५ का दक्षिण पश्चिमका भू–भागहरुबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्व तयारी समेत गर्नु–गराउनु भन्दै प्रदेश तथा स्थानीय तहलाई सर्कुलर गरिएको छ ।

हुमगाइँले भने, ‘अहिले पानी परिरहेको छ, पानी परिरह्यो भने आउन सम्भावना निकै कम हुन्छ, तर पानी रोक्यो र हावाको बहाव यस्तै रह्यो भने नेपालमा छिर्न सक्छ’ उनले भने, ‘पहिलो लटमा आएको सलहको खतरा टरेपनि दोस्रो लटमा आउनेको खतरा टरेको छैन, पहिलो लटभन्दा यो आउने सलहको झुण्ड ठूलो हुनेछ, जसले बालीनालीमा ठूलो नोक्सानी गर्नसक्छ ।’  

भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै गएकोले राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्यप्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्दैछन् । जुन गतिमा अगाडि बढ्दैछ, त्यही गति रह्यो भने नेपाल एक दुई दिनमै प्रवेश गर्न सक्छन् ।  भारतको राजस्थान लगायतका विभिन्न स्थानमा रहेका सलहका झुण्डका केही अंशहरु अम्फान आँधीपछिको पश्चिमी वायुको सहारामा मध्यप्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै उत्तर प्रदेश र विहारमा प्रवेश गरेका थिए ।

असार ११ र १२ गते हावाको बहावमा एकाएक आएको परिवर्तनका कारण मनसुनको शुरुवात भइसकेपछि पनि हावाको वहाव दक्षिणबाट उत्तर पूवतर्फ मोडिएकोले भारततर्फका सिमावर्ती जिल्लाहरु सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रुपन्देहीमा असार १३ गते विहान सलहको झुण्ड आइपुगेको थियो ।

भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेकोे झुण्डबाट छुट्टिएर आएका केही सलहहरु र असार १४ गते लखनउ नजिकको बाँसी जिल्लामा आइपुगेको झुण्डबाट छुट्टएिर आएको केही भाग कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिका र असार १५ गते भारतको सोहरतगढमा देखापरेको झुण्डको केही अंश रुपन्देही आइपुगेको थियो । सोही झुण्ड भारतको उत्तराखण्डतर्फ जाने क्रममा कैलाली तथा डडेल्धुराबाट समेत नेपालको भूभागमा प्रवेश गरेको थियो । 

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकाअनुसार अफ्रिकाको विशेष गरी सोमालियामा वसन्त ऋतुमा तयार भएका झुण्डहरु गर्मीयाममा बंशवृद्धिका लागि भारत तथा पाकिस्तानतर्फ सर्ने अनुमान गरिएको छ । भारत–पाकिस्तानको सीमाक्षेत्रमा वसन्त ऋतुमा तयार भएका झुण्डहरु भारतका पूर्वी तथा उत्तरी राज्यहरु हुँदै नेपालसम्म आइपुगेका हुन् । ती झुण्ड मनसुनको शुरुवातपछि राजस्थानतर्फ फर्किने सम्भावना समेत रहेको जनाइएको छ । 

ती झुण्डहरु इरान तथा पाकिस्तान र अफ्रिकाबाट आएका झुण्डहरुमा मिसिएर राजस्थान र उत्तरी गुजरातमा वंशवृद्घि गरी जुलाइको अन्ततिर फेरि नयाँ पुस्ताका झुण्ड तयार हुनसक्ने अनुमान गरिएको छ । यसमध्ये केही झुण्ड नेपालका समथर भू–भाग र केही पहाडी क्षेत्रहरुसम्म पनि पुग्न सक्ने पूर्वानुमान एफएओको रहेको छ ।

के भन्छ मौसम ?
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र  प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी भोली दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप