शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अरनिको राजमार्ग ११ ठाउँमा अवरुद्ध, तातोपानी नाकासँग सम्पर्कबिच्छेद

सडक खुलाउन पहल सुरु
शनिबार, २७ असार २०७७, १२ : ३९
शनिबार, २७ असार २०७७

अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको ११ स्थानमा सडक कटान तथा अवरुद्ध भएको छ । 

गत बुधबारदेखिको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको जुरेमा झन्डै १ सय मिटर सडक कटान गरेको छ भने बाह्रबिसे बजार छेउको सडक पनि कटान गरेको छ । जुरेदेखि नेपालको चीनसँगको प्रमुख नाका तातोपानीसम्म अरिनिको राजमार्गका ११ स्थानमा सडक कटान भएको छ । बाढी र पहिरोले सडक बिगारेपछि तातोपानी नाकासँगको सम्बन्ध टुटेको छ । 

२०७२ को भूकम्पपछि अवरुद्ध बनेको तातोपानी नाका २०७५ जेठ १५ मा मितेरीपुलको निर्माणपछि उद्घाटन गरिएको थियो । भर्खर सञ्चालनमा आउन लागेको नाका बाढी पहिरोले सडक अवरुद्ध गरेपछि बन्द भएको छ । 

नेपाल र चीनबीचको व्यापारका क्रममा सो नाकाबाट मात्रै २ अर्ब बढी राजस्व संकलन हुने गरेको थियो । चीनले सुख्खा बन्दरगाह बनाएर नाका खुलाउन लागेको बेला फेरि बाढीले सडक अवरुद्ध भएको छ । 

चीनले सो नाकाबाट नेपाल भित्रिने पाँच–छ वटा गाडी दैनिक छोड्ने गरेको थियो । बाटो छिटो नबनेमा दुई देशबीचको व्यापार व्यवसायमा असर पुग्ने हिमालय सीमापार व्यापार संघका पूर्वअध्यक्ष दुर्गाबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

सो नाका हुँदै चीनबाट नेपालमा तयारी पोसाक, जुत्ता, इलेक्ट्रोनिक्स सामान, औषधि, हार्डवेयरका सामान, फलफूलहरु आउने गर्छन् ।

नेपालको पूरानो र चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले सरकारले तत्काल सुचारु गर्नुपर्ने पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ ।  

सडक खुलाउन सभामुख अग्नि सापकोटाको निर्देशन 
बिहीबार बाढी पहिरो प्रभावितस्थल र पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोको बाह्रबिसे जम्बु पुगेका प्रतिनिधि सभाका सभामुख तथा सो क्षेत्रका जनप्रतिनिधि अग्निप्रसाद सापकोटाले अवरुद्ध राजमार्ग खुलाउन निर्देशन दिएका छन् । 
उनले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँग छलफल गरी तत्काल सडकमार्ग खुलाउने उपायबारे छलफल गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गर्नुपर्ने बताएका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको र कामका सिलसिलामा स्थानीय स्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।  

सडक विभागका महानिर्देशक केशव कुमार शर्माले जुरेमा अबरुद्ध बाटो बनाउने काम जारी रहेको र कुनै अबरोध नभए केही दिनमै बाह्रविसेसम्मको बाटो सुचारु गर्ने बताएका छन् । 

अरनिको राजमार्गको खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज हाल्नुपर्ने प्रारम्भिक प्रतिवेदन आएको छ । असार २४ र २५ गते रातिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सीमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अवरुद्ध छ । 

बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिका अन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुलमा क्षति र खागदल क्षेत्रको सडकखण्ड, खागदलदेखि जम्बु जाने सकडखण्ड, जम्बु बजार क्षेत्र, नयाँ पुल सडकखण्डमा क्षति पुगेको छ । 

यस्तै भोटेकोशी गाउँपालिका अन्तर्गत बुल्कुटे पुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा क्षति पुगेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप