सदस्यसचिवका लागि दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै सदस्यसचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित दरखास्त पेश गर्न आग्रह गरेको छ । सदस्यसचिवका लागि नेपाली नागरिकताको प्रतिलिपि, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि र खेलकूद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको प्रतिलिपि पेश गर्न मन्त्रालयले सूचना जारी गरेको छ । तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनालाई सिफारिस समितिले अध्ययन गरी थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाएर छलफल गर्नेछ । कार्ययोजना अध्ययनपछि समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीन जनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा पठाउने छ । नयाँ खेलकूद विकास ऐन, २०७७ यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि नयाँ सदस्यसचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो ।
नयाँ सदस्यसचिव छान्न युवा तथा खेलकूद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका सचिव थपिलया तथा सदस्यमा रिम रानाभाट र इन्दिरा निरौला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा मानबहादुर विकेका अनुसार उक्त समितिले सदस्यसचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । सिफारिस गरिएका नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान छ ।
नयाँ खेलकद ऐन लागू भएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललगायत पदाधिकारी पदमुक्त भएका थिए । मन्त्रालयले मन्त्रालयकै खेलकूद विभाग महाशाखाका प्रमुखसमेत रहनुभएका भक्तराज ढकाललाई कार्यबाहक सदस्यसचिवको जिम्मेवारी सुम्पेको छ । राखेपमा खुला आह्वानबाट सदस्यसचिव नियुक्त हुनलागेको यो पहिलोपटक हो । यसअघि युवा तथा खेलकूदमन्त्रीले नै सदस्यसचिव नियुक्त गर्ने चलन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव