शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आस्था राउतदेखि दीपाश्री निरौलासम्म, जो आफ्नै बोलीका कारण विवादमा तानिए

शनिबार, २७ असार २०७७, १२ : २६
शनिबार, २७ असार २०७७

काठमाडौं । नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्यामर, उनीहरुको प्रेम सम्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ । 

कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आरोपप्रत्यारोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत विवाद र चर्चाको विषय भएका छन् । 

यस्तै भएको छ,  पछिल्लो समय पनि । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक अभिव्यक्तिका कारण कलाक्षेत्र अहिले चर्चा छ । 

दीपाले एक टेलिभिजन कार्यक्रममा ‘महानायक’को बिषयमा राखेको धारणाले अहिले उनको आलोचना मात्र भएको छैन सो अभिव्यक्ति कला क्षेत्रमा चर्चा परिचर्चाको विषय बनिरहेको छ । महानायक को ? कसरी र किन भन्ने कुराको एकातिर बहस सुरु भएको छ ।

हुन त दीपाले आफ्नो बोलीको आशय स्पष्ट पार्दै माफी समेत मागिसकेकी छन् । तर पनि उनलाई सामाजिक संजालमा गालीका वर्षा रोकिएका छैनन् ।

दीपा त पछिल्लो उदाहरण मात्र हुन् । यस अगाडि पनि कयौँ सेलिब्रेटी आफ्नो बोलीको कारणले विवादमा तानिएरका छन् । विवादपछि कतिपय सेलिब्रेटीले सामाजिक संजालमा धेरै गाली खाएका छन् त कतिले कानुनी झन्झट समेत ब्यहोर्नु परेको छ । 

पछिल्लो समय आफ्नै बोलीको कारण विवादमा मुछिएका केही सेलिब्रेटीको चर्चा अहिले यहाँ गर्न खोजिएको छः
 
पूजा शर्मा (अभिनेत्री) 
अभिनेत्री पूजा शर्मा आफ्नो बोलीको कारण केही अगाडि आलोचनाको सिकार भएकी थिइन् । एक टेलिभिजनमा अन्तर्वार्तामा उनले १४ जिल्ला र ७२ प्रदेश भनेको विषय भाइरल भएको थियो । यसैका कारणले उनी सहकर्मी कलाकार, पत्रकारदेखि ट्रोल सम्मको निसानामा परिन् । 

आफूलाई देशको महँगी हिरोइनको रुपमा चिनाउँदै आएकी पूजाले देशको विषयमा सामान्य ज्ञान समेत नराखेको देख्दा कलाकर्मीलाई हेर्ने धेरैको दृष्टिकोण मात्र परिवर्तन गराएन, सिंगो नेपाली कलाक्षेत्रको समेत बदनाम पूजाले गरेको चर्चा गरियो ।

दीपाश्री निरौला (अभिनेत्री तथा निर्देशक) 
दीपाश्री निरौलाले हालै एक टेलिभिजन कार्यक्रममा राजेश हमाल महानायक हो र ? भनेर प्रश्न उठाएकी थिइन् । कोरोनाको कारण फिल्म क्षेत्र विषम परिस्थितीमा रहेको समय अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षाैँदेखि सहयोग गरेका प्राविधिकलाई परेको पीर मर्कामा ‘महानायक’ उपाधिधारी राजेश हमाल सहयोगी हुन नसकेको भन्दै दीपाले प्रश्न उठाएकी थिइन् ।
‘महानायक’को हिसावले फिल्म क्षेत्रको पीडामा मह्लम लगाउन नसके उक्त पद प्रति शंका उठ्ने उनको आशय थियो ।

यो बोलीका कारण दीपा सामाजिक संजालमा तारो बनिन् । उनले बोलेको विषयमा माफी समेत मागिसकेकी छन् । तर पनि सामाजिक संजालमा उनलाई गालीका बर्षा भइरहेका छन् । 

सुमिना घिमिरे (अभिनेत्री) 
केही वर्ष अगाडि समाचारको विषयलाई लिएर अभिनेत्री सुमिना घिमिरेले एक पत्रकारलाई तल्लोस्तरको भाषामा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएकी थिइन् । उनले पत्रकारलाई ‘टाउको झोलामा, ज्यान खोलामा’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । 

चलचित्र पत्रकार संघको आग्रहमा धेरै मिडियाले उनको समाचार समेत ब्याण्ड गरे । सामाजिक संजाललगायत सबैतिर उनी आलोचित हुनुपर्यो ।

केही समयपछि चलचित्र पत्रकार संघको मध्यस्थतामा उनले पत्रकारसँग माफी समेत मागिन् । त्यसपछि यो विषय सेलाएर गयो ।

प्रियंका कार्की (अभिनेत्री) 
करिव ४ वर्ष अगाडि अभिनेत्री प्रियंका कार्कीलाई अमेरिकामा एक युट्युव टेलिभिजनले अहिले अमेरिका यात्रा  कतिऔँ पटक हो ? भनेर प्रश्न गरेको थियो । सोही क्रममा उनले हतार हतारमा युके, युएस धेरै पटक गइसकेँ तर अमेरिका भने पहिलो पटक भनेर निर्धक्क जवाफ दिएकी थिइन् । 

उक्त अन्तर्वार्ता सार्वजनिक भएपछि उनलाई धेरैले उडाएका थिए । उनी ट्रोलको शिकार समेत भइन् । उनले त्यसपछि पछि धेरै पटक बोलीका कारणले आलोचित हुनु परेको थियो ।

वर्षा राउत (अभिनेत्री) 
लकडाउनको समय अभिनेत्री वर्षा राउत बोलीको कारण धेरै आलोचित भएकी थिइन् । एक युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले राष्ट्रियताको झगडाले इण्डियन साथीसँग फेस गर्न गाह्रो भएको कुरा राखेकी थिइन् । यो अभिव्यक्तिले उनको चौतर्फी आलोचना भयो । सामाजिक संजालमा उनलाई गालीको ओइरो लाग्यो । बोलीका कारण चौतफी आलोचना पछि उनले माफी मागिन् । माफी पछि यो विषय त्यसै सेलाएर गयो । 

रेखा थापा (अभिनेत्री) 
करिव ७, ८ बर्ष अगाडि अभिनेता भुवन केसीको एक फिल्मको कार्यक्रममा अभिनेत्री रेखा थापा फिल्म र भुवनको विषयमा बोल्दै थिइन् । बोल्दै जाने क्रममा उनको जिब्रो चिप्लियो । उनले अभिनेता भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा केही दशक बिताइसकेको भन्न खोजेकी थिइन् होला । तर उनले भुवनले नेपाली चलचित्र क्षेत्रमा केही सताब्दी बिताइसकेको भनिन् । 

उनको सो भनाइ कार्यक्रममा उपस्थित रंगपत्रकारले  सच्याउन आग्रह गरे । रेखा उल्टै पत्रकारतिर जाइ लागिन् । त्यहाँ केही पत्रकारसँग रेखाको लफडा नै चल्यो । कार्यक्रममा उपस्थित केही सिनियर पत्रकारले उक्त लफडा त्यही टुङ्ग्याएका थिए । सो घटनाले मिडियाको समाचारमा भने प्रथामिकता पायो ।

करिस्मा मानन्धर (अभिनेत्री)  
सदबहार ब्युटी अभिनेत्री करिस्मा मानन्धर पनि बोलीका कारण नराम्रोसँग आलोचनाको सिकार भएकी छन् । उनी डा.बाबुराम भट्टराई अध्यक्ष रहेर नयाँ खोलिएको राजनीतिक पार्टी ‘नयाँ शक्ति पार्टी’को घोषणा कार्यक्रममा नराम्रोसँग चिप्लिएकी थिइन् ।

उद्घोषणाको क्रममा बोलेको टुटेफुटेको अंग्रेजी धेरैको हाँसोको बिषय बन्यो । यही कारणले उनी मिडियादेखि ट्रोलरसम्मको निसानामा परिन् । सो समय करिस्मा पनि उक्त पार्टीको सदस्य थिइन् । 
सोही पार्टीका केही सदस्यले उनलाई अनपढ समेत भनेर उडाए । पार्टीमा आफूसरह हैसियत भएका एक साथीले उडाएपछि उनले पढेर डाक्टर बनेर देखाउने प्रण लिइन् र ८ कक्षाबाट पढ्न सुरु गरिन् । अहिले उनी कलेज अध्ययन गर्दैछिन् ।

 आस्था राउत (गायिका) 
गत वर्षको गायिका आस्था राउत काण्ड सबैको मानसपटलमा ताजै होला । एक कार्यक्रमका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुर  उड्ने तयारीका क्रममा महिला प्रहरीले आफूलाई दुव्र्यवहार गरेको भन्दै रिसले चुर हुँदै आस्थाले फेसबुक लाइभ मार्फत महिला प्रहरीलाई गाली गरिन् ।

 उक्त क्रममा उनले प्रहरीलाई अपशब्द बोल्दै गाली गरेकी थिइन् । उनको उक्त भिडियो केही छिनमा भाइरल भयो । सोही कारण उनी  चौतर्फी आलोचनाको सिकार भइन् । सबैतिरबाट आलोचना बढेपछि आस्थाले आफ्नो फेसबुकबाट भिडियो डिलिट गर्दैै क्षमा समेत मागेकी थिइन् । तर उक्त बिषय अपराधसँग जोडिन पुगेको कारण उनले ठुलै लफडाको सामना गर्नुपर्यो ।

शिल्पा पोखरेल (अभिनेत्री) 
अभिनेत्री शिल्पा पोख्रेलले दिएको एउटा अन्तर्वार्ता पनि केही पहिले चर्चाको विषय भएको थियो । उनले ‘काठमाडौ कुन जिल्लामा पर्छ ?’ भन्ने झुक्याउने शैलीको प्रश्नमा बागमती बताएकी थिइन् । 
उनी झुक्किएको होला भनेर प्रश्न दोहोर्यार समेत सोधिएको थियो । फेरि पनि उनले निर्धक्कका साथ बागमती हो भनेर जवाफ दिएपछि उनी ट्रोल र टिकटकको शिकार बनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप