मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भावुक हुँदै डब्लूएचओ प्रमुखले भने, ‘विभाजित विश्वले महामारीलाई जित्न सक्दैन’

‘हाम्रो सामु भाइरसमात्र सबैभन्दा ठूलो चुनौती होइन’
शुक्रबार, २६ असार २०७७, २२ : १६
शुक्रबार, २६ असार २०७७

विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोनाभाइरसको महामारीसँग लड्नका लागि ‘नेतृत्वको अभाव’ को आलोचना गर्दै वैश्विक एकताका लागि भावुक अपिल गरेका छन् । विनाशकारी भाइरस पहिचान भएको छ महिनाभन्दा बढी भइरसक्दा पनि पूरा विश्व यसलाई नियन्त्रण गर्न संघर्षरत छ भने दैनिकरुपमा संक्रमितको संख्या बढ्दो छ ।

‘साथीहरु, गल्ती नगर्नुहोला । आज हाम्रो सामु भाइरसमात्र सबैभन्दा ठूलो चुनौती होइन,’ टेड्रोस अधानोम घेब्रेसियसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो लागि चुनौती भनेको राष्ट्रिय र वैश्विक स्तरमा नेतृत्व र ऐक्यबद्धताको कमी हो ।’

डब्लूएचओ प्रमुखको यो अभिव्यक्तिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित रहेको धेरैको बुझाइ छ । आफ्नै देशमा विश्वकै खराब स्थितिमा रहेको कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न असफल रहेका ट्रम्पले डब्लूएचओविरुद्ध खुल्ला युद्ध सुरु गरेका छन् ।

‘यो त्रासदीले हामीलाई हाम्रा धेरै साथीहरुलाई गुमाउनु परिरहेको छ । विभाजित विश्वले यो महामारीलाई जित्न सक्दैन,’ भावुक बनेर बोली समेत लर्बरिएका टेड्रोसले भने ।

अमेरिकामा दैनिकरुपमा संक्रमितहरुको संख्यामा रेकर्ड वृद्धि भइरहेको छ । देशमा ३० लाखभन्दा बढी संक्रमित पुगिसकेका छन् । अन्य देशमा पनि उस्तै हालत रहेको देखिन्छ । ब्राजिलमा त राष्ट्रपति जायर बोल्सोनारो नै कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । उनले कोरोनाभाइरसलाई सामान्य फ्लुको संज्ञा दिन्थे । भारतमा पनि एक दिनमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको छ भने मेक्सिकोमा भाइरसको संक्रमण बढ्दो छ ।

कोरोनाभाइरसलाई नियन्त्रण गर्न सफल भनेर वाहवाही कमाएको अस्ट्रेलियामा पनि मेलबर्नमा संक्रमण बढेपछि फेरि भिक्टोरियाका ६० लाख जनतालाई सिल गर्नुपरेको छ । 

‘कुनै भेदभाव बिना मानिसको ज्यान लिइरहेको एउटा साझा दुश्मनविरुद्ध एकताबद्ध भएर लड्न हामी मानिसहरुलाई किन गाह्रो भइरहेको छ ?,’ डब्लूएचओ प्रमुखले भने, ‘के हामीले हाम्रो साझा दुश्मनलाई चिन्न नसकेका हौँ ? हामीमा देखिने विभाजन भाइरसका लागि फाइदा हो भनेर किन बुझ्दैनौँ ?’

विश्वका शक्ति राष्ट्रहरुलाई एकताबद्ध हुन आह्वान गर्दै उनले भने, ‘कोभिड–१९ वैश्विक एकता र नेतृत्वको परीक्षा हो ।’

ट्रम्प प्रशासनले कंग्रेस र संयुक्त राष्ट्रसंघलाई अमेरिका डब्लूएचओबाट हट्ने औपचारिक प्रक्रिया सुरु गरेको जानकारी गराएको केही दिनपछि डब्लूएचओ प्रमुखको यस्तो धारणा आएको हो । ट्रम्पको यो कदमको आलोचना भइरहेको छ । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडनले त आफू राष्ट्रपतिमा निर्वाचित भए यो निर्णयलाई पहिलो दिनमा नै उल्ट्याउने वाचा गरेका छन् ।

चीन परस्त भएको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनको आलोचना गर्ने गरेका छन् । तर, जर्मनी, फ्रान्स र बेलायत जस्ता शक्ति राष्ट्रहरु संकटको घडीमा डब्लूएचओको पक्षमा देखिएका छन् ।

बिहीबार जर्मन चान्सलर एन्जेला मार्केलले महामारीले विश्वभर देखिएको ‘तथ्य नस्वीकार्ने पपुलिजम’ को खतरालाई उजागर गरेको बताएकी थिइन् । ‘हामीले झुट र दुष्प्रचार देख्यौँ, महामारीसँग लड्ने यो तरिका होइन ,’ ब्रसेल्समा युरोपियन संसदलाई उनले भनेकी थिइन् ।

स्रोतः सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप