शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीको शाहीपुर डुबानको जोखिममा

शुक्रबार, २६ असार २०७७, १९ : ४६
शुक्रबार, २६ असार २०७७

कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ शाहीपुरस्थित कर्णाली नदीको तटबन्ध भत्कने जोखिम बढेको छ । शाहीपुरस्थित कर्णाली नदीमा गरिएको तटबन्धको माटो वर्षात्ले बगाउँदा त्यहाँ डुबान र कटानको जोखिम बढेको हो । 
 सोमबारदेखि लगातार वर्षा भएपछि कर्णालीमा निर्मित तटबन्धको माटो बग्दा विभिन्न स्थानमा ठूल्ठूला चिरा पर्दै खाल्डो बनेकोे छ ।

नदी कटान नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध वरिपरिको माटो बग्न थालेकाले जोखिम बढेको दक्षिण शाहीपुरका बड्घर धर्मराज जैसीले बताए । ‘लगातार वर्षा भइरहेको छ । पानीले तटबन्धमा रहेको माटो बगाएको छ’, जैसी भन्छन्, ‘यसरी भत्काउने हो भने नदी गाउँ पस्ने खतरा बढ्छ । नदी गाउँ पसे टीकापुर वडा नं ५,६,७ जोखिममा पर्छ ।’ कर्णालीको तटबन्ध भत्किए हजारौँ घर डुबानमा पर्ने जोखिम छ । यसका साथै हजारौँ बिघा खेतीयोग्य जमीन कटान र डुबानको जोखिममा पर्नेछ । 

गत जेठमा बनेको तटबन्धको किनारको माटो बग्न थालेको उत्तर शाहीपुरका बड्घर नारायण चौधरीले बताए । वर्षात्को पानीले अहिले तटबन्ध वरिपरि ठाउँठाउँमा माटो बगेर ठूला चिरासहित खाल्डो परेको छ । निरन्तर वर्षा भएपछि कर्णालीमा पानीको बहाव बढेको छ । अझै वर्षा जारी रहे नदी बस्ती पस्न बेर नभएको चौधरीले बताए ।

यहाँ नदी कटान नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेको छ । वर्षात्को पानीले सहजै माटो बगाउँदा नदी कटानको जोखिम बढेको स्थानीयवासीको गुनासो छ । ‘हरेक वर्ष वर्षात्मा सधैँ तनाव हुन्छ, नदी कटानको जोखिम वर्षेनी बढिरहेको छ’, स्थानीयवासी गगनसिंह ठकुल्लाले भने, ‘मानव बस्तीको बासस्थानसँग जोडिएको क्षेत्रमा नियमित नदी नियन्त्रणको काम हुनुपर्ने हो । निर्माण कम्पनीले वर्षौँ लगाएर काम गर्छन् । बस्तीमा त्रास कायमै रहेको छ ।’

विसं २०६६/६७ देखि दौलतपुरदेखि शाहीपुर, सिम्रेनी क्षेत्रमा कर्णाली किनारमा तटबन्ध भइरहेको छ । गत वर्ष चण्डिका कन्ट्रक्सनमार्फत निर्माण सम्पन्न भएको उक्त तटबन्धको करीब दुई सय मिटरमध्ये विभिन्न स्थानमा वर्षात्ले माटो बगाउँदा समस्या भएको छ । कर्णालीको कटान र डुबानको जोखिम रहेकाले तत्काल रोकथामका लागि पहल भइरहेको वडा नं ५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताए । ‘यहाँका नागरिकले गुनासो गरेपछि भत्किन थालेको तटबन्ध हेरेको छु’, वडाध्यक्ष थारुले भने– ‘सिँचाइ आयोजनाले बनाउने हो । हामी नगरपालिकाले नदी नियन्त्रण गर्न सक्ने बजेट छैन, के गर्नू ?’

शाहीपुर क्षेत्रमा वर्षात्मा हरेक वर्ष बाढी र डुबानको जोखिममा पर्छ । ‘२०६३  सालमा बाढी आएपछि त्यहाँका सयौँ घर विस्थापित भएका छन् । हाल उनीहरु वीरेन्द्र विद्या मन्दिर क्षेत्रीय नमूना विद्यालयको जग्गामा बसिरहेका छन् । सिँचाइ आयोजनाले तटबन्ध निर्माण थालेपछि विस्थापितमध्ये केही परिवार फर्किएका थिए । नदी कटानको जोखिम नघटेपछि फेरि विस्थापित हुनुपर्ने अवस्था आउने स्थानीयवासी सुशीला चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप