बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सिन्धुपाल्चोकमा बाढी पहिरोको वितण्डा, हराएका १६ जनाको खोजी कार्य जारी (भिडियो)

शुक्रबार, २६ असार २०७७, १९ : ३३
शुक्रबार, २६ असार २०७७

सिन्धुपाल्चोक । बुधबार बाह्रबिसे नगरिपालिका वडा नम्बर ५ कि स्थानीय सानुमाया माझी खेत रोप्न गएकी थिइन् । रोपाई सकेर घर आइपुगेपछि साँझ साढे ५ बजेदेखि मुसलधारे पानी पर्न थाल्यो । अविरल आएको पानीपछिको बाढीले रोपेको खेत पनि बगायो ।  राती ११ बजे जमिन थर्किदै ठूलो आवाज आयो । बिहान उज्यालो भएपछि पारीपट्टी अरनिको राजमार्ग मुनी ७ घर रहेको ठाउँ बगरमा परिणत भइसकेको थियो । ‘सानो गाउँ नै थियो, सबै बगायो ।’ उनले भनिन् । 

बाढीले वितण्डा मच्चएको ठाउँबाट अलि पर सिताराम राउतको पनि घर छ । राती ११ बजे गुटुटु गरेर जमिन थर्किएको आवाज आएपछि परिवारका सदस्यलाई उठाए । टर्च बालेर बाहिर हेरे भोटेकोशीमा थामी नसक्नुको बाढी आएको थियो । बिहान हेर्दा बाटोमुनी रहेका घर पसलको कुनै निशान थिएन । ७ वटा घर सबै बाढीले सबै बगाएको थियो । 

हिउँदमा सानो र बर्षातमा ठूलो हुने लेकदेखि बगेर आउने ठाडो खोलामा आएको लेदो सहितको बाढीले ७ घर बगायो भने वरिपरी रहेका अरु केही घरमा बस्न नमिल्ने गरी क्षति पु¥याएको छ ।  घटनास्थलमा बाटोमुनि सात आठओटा घर थियो । अहिले घर भएको ठाउँमा ठूला ठूला चट्टान थुप्रिएको छ । पहिले भएको घरको कुनै नाम निशान छैन् । 

स्थानीय कान्छा तामाङ्ले राती ११ बजेदेखि १२ बजेसम्म बाढी पहिरोलले सबै तहस नहस पारेको बताए । सो घटनामा उनले आफ्ना आफन्त समेत गुमाए । वारीपारीका स्थानीय रातभरी निदाउन सकेनन् । कोही ओडारतिर गएर बसे । बिहान हेर्दा बस्ती नदेखेपछि स्थानीय स्तब्ध बने । राती भूइचालो आएजस्तै जमिन हल्लिरहेको उनले बताए ।  भूकम्पले थिलथिलो पारेको जमिन र जथाभावी बाटो खन्ने कामका कारण बाढी पहिरोको उच्च जोखिम रहेको स्थानीयले सुनाए । 

बाह्रबिसेबाट १ घण्टा पैदल दुरीमा रहेको जम्बुमा बुधबार राती बाढीले १८ जना बेपत्ता पारेपछि स्थानीय शोकमग्न छन् ।  भारी मात्रामा परिरहेको वर्षाबाट उनीहरु त्रसित बनेका छन् । 

डोजर चलाएर शव खोज्दै
घटनास्थल बालुवा, लेदो र चट्टानले पुरिएका कारण पहिले घर कहाँनिर थियो भन्ने अनुमान लगाउन कठिन रहेको छ । राती घटना भएपछि बिहिबार बिहान ८ बजे बाह्रबिसेबाट प्रहरी टोली जम्बु पुगेको थियो । प्रहरीले २ जनाको शव जमिनमा आधा पुरिएको अवस्थामा भेटेको थियो भने ३ जना घाइतेको उद्धार गरेको जिल्ला प्रहरी प्रमुख प्रज्वल मर्हजनले जानकारी दिए । 

बिहिबार दिउँसो हराएकाहरुको खोजीका लागि नेपालका प्रहरीका ३५, शसस्त्र प्रहरीका २९, नेपाली सेना २५ जनाको टोली घटनास्थलमा खटिइएको थियो ।    घटनास्थलमा लेदो जम्नुका साथै ठूला ठूला चट्टानले भरिएकोले स्थानीलाई पहिले कहाँ कहाँ घर थियो सोधेर त्यहाँ–त्यहाँ मध्यभोटेकोशी जलविद्युत आयोजनाको डोजर बोलाएर खोज्ने एसपी महर्जनले बताए । मानिसहरु बाढीले बगाएको छ कि भनेर नदीको तल्लो तटीय क्षेत्रमा भागमा खोज्ने काम भएको उनले बताए । 

पहिरोले खानेपानी ट्याङ्की बगायो, ५ हजार समस्यामा 
बाह्रबिसे नगरपालिका वडा नं. ३ बाल भन्ने स्थानमा आएको निगाले खोलाले वडा नं. ३ र ४ का स्थानीय खानेपानी ट्याङकीमा क्षति पु¥याएपछि खानेपानी समस्या रहेको । सानो बाल, निगाले भन्ने ठाँउमा ५ घर जोखिममा रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका स्थानीय मोहनबहादुर योञ्जनले रातोपाटीलाई बताए । 

उनले भने– ‘जिल्ला खानेपानी आयोजनाले आरसिसी ढलान गरेर बनाएको सबै पानी ट्याङ्की पहिरोले बगायो । खानेपानीको ठूलो समस्या भएको छ । बाढीले पशु चौपाया पनि बगायो । ठूलो बाल र सानो वाल वडा नंबर ३ र ४ का मान्छेहरु पानी खान नपाएर प्याकप्याक्ति भएका छन् ।’

खानेपानीको समस्या समाधानका लागि नगरपालिकामा जानकारी दिनका आएको बाह्रबिसे आएको उनले बताए । ३ वटा पानीको मुहान पहिरोमा पर्दा नगरपालिकाका दुई वडामा ५ हजार परिवारमा खानेपानीको समस्या भएको उनले बताए । साथै निगाले खोलामा आएको बाढीले २५ बढी बंगुर बगाएको उनले बताए । 

बाह्रबिसे बजार जोखिममा
निरन्तरको झरी र भोटेकोशी खोलामा बढेको बाढीले बाह्रबिसे बजार समेत उच्च जोखिममा परेको छ । भोटेकोशी बजार छुने छुने गरी भोटेकोसीमा बाढी बगिरेहेको छ । बजार भन्दा अति पर राजर्माग पूरै कटान गरेर सम्पर्क विच्छेद भएको छ । बजारका कतिपय स्थानीय बाढीले बजार कटान गर्ने हो कि वा माथिबाट पहिरो झर्ने हो कि भन्ने चिन्तामा छन् । 

स्थानीय मोहन श्रेष्ठले खोलामा लगाइएको पर्खाल नाघेर बजारमा बाढी पस्न खोजेकोले बजार बस्ति जोखिममा रहेको बताए ।  चौविसै घण्टा पानी निरन्तर पानी परिरहेको, पानीको ट्याङ्की, ३ वटा सवारी साधन बाढी पहिरोले बगाएको स्थानीय खड्गबहादुर तामाङले बताए ।

बाह्रबिसे बजार आसपास रहेका गाउँहरुमा धेरैजसो ठाँउमा पहिरो गएका कारण घरहरु उच्च जोखिममा रहेको बताए । बुधबार दिउसोँ सो जिल्लाको जनप्रनिधि समेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले हेलिकोप्टरबाट घटनास्थल पुगेर निरिक्षण समेत गरेका छन् । 
हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप