सरकारले राहत प्याकेज ल्याउन नसकेको उद्योगी व्यवसायीहरुको गुनासो
काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनै पनि राहत प्याकेज ल्याउन नसकेको उद्योगी व्यवसायीहरुले बताएका छन् । आयात निर्यात व्यवसायसँग सम्बन्धित उद्योगी व्यवसायीहरुले कोभिड–१९ का कारण उद्योग व्यवसाय समस्यामा परेको तर सरकारले राहत दिन कुनै स्टिमुलस प्याकेज ल्याउन नसकेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले ठप्प भएको व्यवसायिक क्षेत्रलाई रेस्क्यु गर्ने प्याकेज नल्याउँदा अचम्म लागेको बताएका छन् । नेपाल जर्मन चेम्बर अफ कमर्शका अध्यक्ष अनुपबहादुर मल्लले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन र अर्थतन्त्रको साइकल कायम राख्न कुनै पनि कार्यक्रम सरकारले ल्याउन नसकेको बताए ।
सरकारले निजी क्षेत्रलाई रेस्क्यु गर्ने भन्दा पनि ट्याक्स तिर्न दवाव दिने र बैंकले पनि व्यवसायीको खाताबाट रकम तान्दिने प्रवृतिले समस्या बढेको बताए । सरकारले रिफाइनान्सको प्याकेज घोषणा गरेपनि लिनै नसकिने सर्तहरु राखेकाले कुनै औचित्य नभएको उनले बताए ।
नेपाल अमेरिका चेम्बरका अध्यक्ष किरण शाक्यले ब्याजदरमा २ प्रतिशत छुट दिएर सरकारले राहत दिए भन्नु सबैभन्दा दुःखको कुरा भएको बताए । ब्याजदरमा २ प्रतिशत छुट दिएर कुनैपनि राहत नमिल्ने उनले स्पस्ट पारे । उनले बैंकले ब्याज र किस्तालाई पूँजीकरण गर्न नमानेर व्यवसायीहरुलाई असहयोग गरेको बताए । कृषि क्षेत्रका लागि समेत ब्याज पूँजीकरण गर्न नमानेको उनले बताए ।
युरोपियन इकोनोमिक चेम्बरका महासचिव राजन शर्माले लकडाउनका कारण आयात निर्यातको कुरामा ढुवानी लगात नै उच्च भएको बताए । सरकार ढुवानी सहज बनाउन कुनै काम नगर्ने तर राजश्व उठाउन लागिपर्ने अवस्थाले व्यापार गर्न समस्या भएको बताए ।
व्यवसायी दुर्गाविक्रम थापाले आयात निर्यातको लागत बढेको बताए । कुनैपनि वस्तु आयात गर्दा वा निर्यात गर्दा पाँच गुणा लागत बढेको तर सरकारले आयात निर्यातमा सहज वातावारण बनाउन कुनै चासो नदेखाएको बताए । उनले पहिला ३ डलरमा हुने ढुवानी लागत बढेर अहिले १४ डलर पुगेको बताए । धागो उद्योगी रामचन्द्र संघाईले पनि उत्पादित वस्तुको अर्डर नै नआउँदा उद्योग सञ्चालन गर्न नसकिएको बताए ।
उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रका लागि मात्रै छुट्टै स्टिमुलस प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन् । अर्थतन्त्रलाई चलायमान बनाए मात्र सरकारको आम्दानी बढ्ने भएकाले पनि व्यवसायिक क्षेत्रलाई उद्धार गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी