बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विकास दुबे इन्काउन्टर प्रकरण : अनुत्तरित रहे यी प्रश्न, नेता तथा प्रहरीको कर्तूत खुल्ने भएपछि इन्काउन्टर ?

शुक्रबार, २६ असार २०७७, १२ : ५३
शुक्रबार, २६ असार २०७७

भारतका कुख्यात ग्याङस्टार विकास दुबे इन्काउन्टरमा मारिएका छन् । उनीविरुद्ध हत्या, अपहरण र फिरौती उठाउन संलग्न भएको भन्दै ६० भन्दा बढी अभियोग लागेको थियो । २ जुलाईमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीबारे दुबेको समूहले सुइँको पायो । त्यसपछि उल्टै, दुबे समूहले आक्रमण थाल्यो र त्यसमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा ८ प्रहरीको मृत्यु भयो । 

यसपछि घटनापछि दुबे भारतमा सर्वाधिक खोजिएका व्यक्ति थिए । एक साताको अवधिमा प्रहरीले पहिले उनका ५ सहयोगीलाई इन्काउन्टर ग¥यो । बिहीबार मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट दुबे पक्राउ परे ।

त्यसपछि उज्जैन प्रहरीले उनलाई युपी प्रहरीको जिम्मा लगायो । उज्जैनबाट शुक्रबार बिहान दुबेलाई युपी लगिँदै थियो, प्रहरीका अनुसार बाटोमा गाडी पल्टियो र त्यही मौकामा  दुबेले बन्दूक खोसेर प्रहरीमाथि नै हमला गर्न खोजे । त्यही क्रममा दुई पक्षबीच झडप हुँदा दुबे मारिएको प्रहरीको दाबी छ । 


राजनीतिक संरक्षणप्राप्त अपराधि 
विकास दुबेमाथि फेक इन्काउन्टर गरिएको हुनसक्ने धेरैको आशंका छ र केही विषयले यसको संकेत पनि गर्छन् । पहिलो, भारतीय मिडियाकाअनुसार उनी राजनीतिक समर्थनप्राप्त अपराधी थिए । सबै दलमा प्रभाव जमाएकाले यसअघि पक्राउ परेपनि केही दिनमै छुटिहाल्ने गरेका थिए ।

बिहीबार विकास दुबे उज्जैनबाट पक्राउ परेपछि युपीका पूर्व डिजीपी विक्रम सिंहले भनेका थिए, ‘दुबेसँग सोधपुछ गर्दा ठूला–ठूला मानिसको नाम बाहिर आउनेछ । आईएएस, आईपिएस अधिकारी र नेताहरुको नाम खुल्नेछ । उज्जैनमा दुबे पक्राउ पर्नु नै नसोचिएको कुरा हो ।’

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले पनि यसबारे ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘खासमा कार पल्टिएको होइन, रहस्य खुल्छ भनेर सरकारलाई गिर्नबाट बचाइएको हो ।’
मध्यप्रदेशका पूर्व मुख्यमन्त्री दिग्विजय सिंहले भनेका छन्, ‘जे शंका थियो, त्यही भयो । को–को राजनीतिज्ञ, पुलिस अधिकारीसँग विकास दुबेको सम्पर्क थियो, अब यो उजागर हुनेछैन । सबै इन्काउन्टरको प्याट्रन किन समान हुन्छ ?’

उब्जिए अनेक प्रश्न
विकास दुबे र यसअघि विभिन्न मितिमा गरेर उनका ५ सहयोगीको इन्काउन्टर मृत्यु भयो । यससँगै उनीसँग सम्पर्कमा रहेका नेता र प्रहरीको नाम अब अनुत्तरित नै रहने देखिन्छ । शुक्रबार दुबेको इन्काउन्टर पनि शंकारहित बन्न सकेन । यसले केही प्रश्न उब्जाएका छन् । 

१. विकास दुबेलाई चार्टर्ड प्लेनमार्फत उज्जैनबाट इन्दोर र त्यसपछि युपी लैजाने कुरा थियो । तर बिहीबार राति अचानक उनलाई सडकमार्ग हुँदै लैजाने निर्णय गरियो र यसका लागि युपी एसटिएफको टिम आइरहेको जानकारी दिइयो । तर युपीको टिम आएको थिएन, रातको समय उज्जैनबाट मध्यप्रदेश पुलिसको टिमले विकासलाई झान्सीसम्म लग्यो । 

२ जब दुबेलाई झान्सीबाट मध्यप्रदेश प्रहरीले युपी प्रहरीको जिम्मा लगायो, तब त्यहाँ १० भन्दा धेरै गाडी तयार थिए । एउटा गाडीमा दुबेलाई राखियो र बाँकी गाडीहरुले अगाडि–पछाडिबाट सुरक्षा दिए । दुर्घटना त्यही गाडीको मात्रै भयो, जहाँ दुबे सवार थिए । 

३ आरोप छ कि प्रहरीका गाडीसँगै गइरहेका सञ्चारमाध्यमका गाडीलाई रोक्नका लागि सडकको बीचमै अचानक चेक पोस्ट खडा गरियो । चेकजाँचमा अल्झनुपर्दा  मिडियाका गाडि पछाडि नै परे ।  पछि खबर आयो कि दुबे जुन गाडीमा थिए, त्यही पल्टियो र दुबेको इन्काउन्टर भयो । इन्काउन्टर पछि फिल्डमा खटिएका प्रहरी अधिकारीसँग सञ्चारमाध्यमले प्रश्न राखेका थिए – ‘के मिडियालाई रोक्नकै लागि अचानक चेकिङ सुरु गरिएको थियो ?’ ती अधिकारीले यसको जवाफ दिएनन् । 

४ साठीभन्दा धेरै अभियोग लागेका व्यक्ति, जसले भर्खरै ८ जना प्रहरीको हत्या गरेका छन्, के उनलाई गाडीमा हत्कडी लगाएर राखिएको थिएन ? उज्जैनको महाकाल मन्दिरमा निहत्या गार्डले विकासलाई रोकेका थिए । गार्डसँग उनको हात हालाहाल समेत भएको भनिएको छ । तर दुबे भाग्न सकेनन् । उनलाई पक्राउ गर्ने उज्जैन प्रहरीसँग लट्ठी समेत पनि थिएन । त्यहीं, कानपुर नजिकै जब पुलिसको गाडी पल्टियो, तब विकासले कसरी हतियारले सज्जित पुलिससँग पोस्तोल छिने र फायरिङ गर्न थाले । घटनास्थल पुगेका प्रहरीले यस विषयमा बिस्तृत जानकारी पत्रकार सम्मेलनमा मात्रै दिने बताए । उनका अनुसार प्रहरीले चाहेको थियो कि विकास दुबेले आत्मसमर्पण गरुन्, तर उनले मानेनन् र प्रहरीमाथि गोली चलाउन थाले, जवाफी फायरिङमा मारिए । 

६ भारतमा सर्वाधिक खोजिएका व्यक्ति दुबे कसरी चार राज्यका अधिकारीको आँखा छल्दै कानपुरबाट १२ सय ५० किलोमिट पर उज्जैन पुगे, यो विषय पनि अझै सन्देहमै छ । उज्जैनमा उनको गिरफ्तारीलाई लिएर पनि प्रश्न उठेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप