मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी सत्ताबाट नेपालविरुद्ध लगातार षड्यन्त्रः जनमोर्चा

शुक्रबार, २६ असार २०७७, १२ : १७
शुक्रबार, २६ असार २०७७

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वकाे राष्ट्रिय जनमोर्चाले मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको भन्दै भारतीय मिडियाले नरेन्द्र मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेको बताएको छ । 

जनमोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय टेलिभिजनहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध भ्रामक, अतिरञ्जित, अनर्गल र आपत्तिजनक सामग्री प्रशारण गरेकोपनि कडा विरोध पनि गरेको छ । 

‘केपी शर्मा ओली र चिनियाँ राजदूतको बीचमा नक्कली कुराकानी भएको देखाइएको छ । नक्कली कुराकानीको रचना र प्रशारण गरिनु पत्रकारिताको नाममा अपराधिक तहको दुरुपयोग हो’, जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको छ र भारतीय मिडियाले मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेका छन् ।’

विज्ञप्तिमा भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीहरुको अस्मितामाथि प्रहार गरेको ठहरसहित सार्वभौमसत्तासम्पन्न मुलुक र जनताको लागि यो असह्य भएको उल्लेख छ । 

 नेपालका विरुद्ध मोदीसत्ताको वास्तविक स्वरुप भारतीय मिडियाबाट छताछुल्ल भएको पनि जनमोर्चाले जनाएको छ । 

‘भारतीय टेलिभिजन च्यानलहरुले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको विषयमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विरुद्ध भारतव्यापी रुपमा ठूलो अभियान चलाएका छन् । चीनलाई समेत मुछेर लगातार गलत सामग्री दिएका छन् । नेपालको संसदले जारी गरेको नक्साका विषयमा छिमेकी मुलुक चीनलाई समेत मुछ्नु गम्भीर आपत्तिको विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘भारतीय मिडियाको चरित्रहत्या, पितपत्रकारिता र नेपालविरुद्धको षड्यन्त्रका विरुद्ध एकजुट हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा देशभक्त नेपालीहरुमा अनुरोध गर्दछौं ।’

जनमोर्चाले भारतीय मिडियाको हर्कतका विरुद्ध देशव्यापी रुपमा नागरिक तहबाट प्रतिकार हुन जरुरी रहेकोमा पनि जोड दिएको छ । 

यस्तै जनमोर्चाले बाढीपहिरोको कारण देशमा ठूलो जनधनको क्षति भएको भन्दै पीडितहरुलाई तत्काल उद्धार गरेर सुरक्षित गर्न र राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप