शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुवाछूतमा मेरो समाज

बिहीबार, २५ असार २०७७, २२ : ५३
बिहीबार, २५ असार २०७७

-जिना मेन्दो थापा 

ए नानी तिम्रो सासूससुराले तिमीले पकाएको खानुहुन्छ ? चुल्होमा जान दिन्छन् ? विवाह भएर पहिलो पल्ट माइत जाँदा एक छिमेकी काकीले सोधेको प्रश्न हो यो ? किन, के सोचेर सोध्नुभयो, थाहा छैन । म तामङकी छोरी, मेरा श्रीमान् क्षत्री थरको हाम्रो अन्तरजातीय प्रेम विवाह  थियो । म एक शिक्षित नारी भन्न रुचाउँथे ।  

समाजमा  जरा गाडिएर रहेको अन्तविश्वास जातीय विभेदलाई चिर्न  चहान्थेँ । अन्तरजातीयता आखिरमा के हो त ? विवाहको प्रसङ्ग आउने वित्तिकै तिम्रो त अन्तरजातीय विवाह पो रहेछ भन्न थाल्छन् । किन आउँछ जातीयताको कुरा  ? सबै मानव जाति नै हौँ, हामी अन्न नै खान्छौँ, पानी नै पिउँछौँ तर एउटा कुरा फरक थियो ।  उसको र मेरो थर, यो देशका मानिसहरुले उसको नाम पछाडिको थरलाई क्षत्री भनेर बुझ्थे । अझै पनि बुझ्छन् र भोलि पनि बुझ्छनेछन् । मेरो थरलाई जनजाति तामाङ भनेर, यो न उसले राखेको थर  थियो, न त मैले  ।

   पुर्ख्यौली पहिचानको रूपमा आएको दुई  अक्षरको थरले नितान्त फरक हुन भन्ने बुझायो यो समाजले । हाँस्दा, पढ्दा, खेल्दा, नाच्दा गाउँदा यसले खासै फरक पारेन । लागेको थियो सब ठिकठाक चलिरहेकै छ ।
 जब  हामी प्रेममा परियो  तब थहा पाइयो ऊ मभन्दा माथिल्लो जातको भनेर ।  तर त्यसको पर्वाह न त मलाई न त उसलाई । तर हाम्रो कुुरा मिल्यो प्रेम भयो । मेरो घरका सदस्यबाट कहिल्यै त यो जातको हामी यो जात भनेर विभेद महसुस गराउनुभएन । मेरो साथीले पनि त्यसकै समूहको केटालाई मन परायो । जसलाई यो समाजले ठूलो जात बाहुन भनेर बुझ्छ । उनीहरु पनि प्रेममा परियो । जात मिलेकै कारण सजिलैसँग विवाह भयो । यो समाजले हाम्रो प्रेमलाई अन्तरजातीय विवाह  नाम दिइयो भने उनीहरुको प्रेम विवाह, माया प्रेम त आखिरमा एउटै हुन्छ ।

जातमा पनि  प्रेम सानो ठूलो हुँदोरहेछ भन्ने बुझियो । परिस्थितिले अत्यन्त सकसपूर्ण जिन्दगीमा सधैँ लडेर सफल भविष्य बनाउने सोचसँगै प्रेमलाई विवाहमा परिणत गरियो । हाम्रो प्रेममा जातको कुरा नआएको भन्न मिल्दैन । सायद हाम्रो जात मिलेको भए विवाह गर्न सजिलै कुरा मिल्थ्यो होला । तर हाम्रो प्रेमको अगाडि कसैको केही लागेन । अन्त्यमा घर आफन्तलाई मानाई प्रेमसँगै  खुसीसाथ मागी  विवाह भयो । जातभन्दा माथि हामीसँग आँट थियो । एकअर्काको भरोसा थियो अनि केही थान सपना । मलाई पक्का विश्वास छ कि प्रेमभन्दा माथि उठेर केही पनि सोच्न सक्दैन । तर यो देशले बनाएको ठूलो जात सानो जात अनि ‘ठीक’को जात, ‘ठीक’को जात भन्नाले  तामङ, राई, लिम्बु, गुरुङलाई भन्दो रहेछ । 
गाउँ भन्ने वित्तिकै धेरै जातका मानिस बसोवास गर्छन्, जसले गर्दा समाज सुन्दर देखिन्छ । तर त्यही सुन्दर समाजले नै छुट्याउने काम गरेऊ । 

मेरो गाउँमा हरेक जातका मानिस बसोवास गर्छन्  । सबैले अन्न खान्छन्, पानी नै पिउँछन्, सबैको रगत रातो नै छ । तर पनि विभेदपूर्ण व्यवहार ।  फलानो त कामी दमाइ हो । त्यसलाई छुनु हुन्न भनेर सिकायो । मेरो विश्वकर्मा सुनार साथी धेरै छ । तर मलाई कसैले पनि तँलाई छुनु हुन्न भनेका थिएनन्, जुन ती साथीहरुलाई भनिथ्यो  । हो, हामी भन्दैनथ्यौँ तर समाजले भन्थ्यो । अझै पनि भन्छ सके कुट्छ । रिस उठे मार्छ । 
जिन्दगीलाई नियाल्ने भोग्ने क्रममा यो अछुत भनेर कामी दमाई मात्र नभई कुनै न कुनै माध्यमबाट  तामाङ  गुरुङ नि परिँदो रहेछ । पानी त चल्छ पूजापाठ चल्दैन । खाने कुरा चल्छ व्यवहार चल्दैन । के छुत के अछूत, सबै उस्तै । 

मलाई के याद छ भने छिमेकमा बूढी बटुकामी आमा हुनुहुन्थ्यो । उहाँले असाध्यै माया गर्नुहुन्थ्यो । हामी पनि गर्थे तर उहाँ घरभित्र आउनुहुन्नथ्यो । हामी केटाकेटीलाई छुतअछूत केही थाहा थिएन । उहाँको काखम लुटुपुटु खेल्थ्यो । उहाँले दिनुभएको खानेकुरा मीठो मानी  खान्थेँ ।  केही कुराको फरक थिएन । फरक थियो त जात, जसले गर्दा अछूत भनी बाहिर राक्थ्यो । तर पनि मुहारमा  खुसी  नै देखिन्थ्यो । उहाँ बटुकामी आमा नभई  अरू कुनै आमा भएको भए अरू जतिकै खुलेर हिँड्नुहुन्थ्यो होला । कामीको सट्टा उहाँको थर नेपाल भएको भए यो देशका नागरिकले बाहुन भनेर बुझ्थे, शाही भएको भए ठकुरी । यो त एउटा उदाहरण मात्र हो । देशमा यस्तो पात्रको भोगाइ उस्तै छ । आमा यो संसारमा हुनुहुन्न  तर सम्झिन बाध्य भयो ।  आमाको समयभन्दा अहिले धेरै मात्रमा परिवर्तन भएको छ । बाहुनकी छोरी  परियारसँग, तामङ, दमाईसँग विवाह गरेको प्रशस्त उदाहरण छ ।  धारामा पानी थप्दा कतै छुईछाई त गरेन ? छोयो भने घरभित्र ल्याउनुहुन्न । यस्तै सोच अझै यथार्थमा बद्लिन सकेको छैन । 

परिवर्तन प्रेमबाट गर्ने हो । तर समाजले दिएको छैन । जसको ज्वलन्त उदाहरण रुकुमको कलिला प्रेमीहरुको हत्या हो  । ऊसँगै गएका साथीहरु  भेरीमा हेलिए, कोही मरे कोही बाँच्न सफल भए । प्रेम खोज्न  गएका प्रेमी नवराज विक  जातीय विभेद अन्य गर्न खोज्ने एक योद्धा हुन् । तर समाजले सफल हुन दिएन । अन्यमा जातीय विभेदकै कारण हजारौँ सपना भेरीमा बगाई मृत्युवरण गर्नुपर्यो । म छाँगाबाट खसेजस्तै भएँ । 

जाजरकोटबाट प्रेम खोज्न साथीहरुसहित हिँडेका नवराज विकलाई लखेटी लखेटी मारे । साथीहरुलाई पनि बाँकी छाडेनन् ।  यो देशमा  कयौँ नवराज दलित भएकै कारण ठूला जात भनाउँदाहरुले प्रेम गरेर पनि सजिलै जिउन दिएका छैनन् । डुमसँग विवाह गरेको भनेर मार्ने डरले कतिपयले जहाज चढेर आफ्नो प्रेमीका साथ सात  समुद्र काटेर यो देशले नचिन्नेगरी प्रेममय घर बसाउन पुगेका छन् । म अनुमान मात्र गर्न सक्छु, कस्तो  र कत्रो पीडा हो भनेर । सायद भोग्नेलाई थाहा होला । अरूको सामाजमा एक्लिएर बस्न सकिएला तर आफ्नो समाजबाट एक्लिएर बस्न निकै सकसपूर्ण हुन्छ । तामङ, मगरलाई पानी चल्छ तर पूजापाठ चल्दैन भन्ने मेरो देशका नागरिकहरुले विक परियारलाई किन बाँकी राख्थ्यो र ? जति नै शिक्षित हुँ भन्नेहरुले समेत जातीय विभेदलाई  कहीँ न कहीँबाट प्रोत्साहन गरिरहेको देखिन्छ । ५७ वर्षअघि नै मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको छ । २०६३ सालको जेठ २१ मा संसदले पनि कानुनमा मात्र सीमित नभई व्यवहारमा पनि छुवाछूत अन्त्य हुनेछ भनेर नेपाल  छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । छुवाछूत तथा भेदभाव  कसुर र सजाय ऐन २०६८ मा विवाह गर्ने बरबधु छान्ने अधिकार सुरक्षित छ । छुवाछूत जातीय विभेद दण्डनीय हुने व्यवस्था लागू भइसकेपछि पनि अन्तरजातीय प्रेमकै कारण बर्सेनि दलित कुटिएका छन्, मारिएका छन् ।

एक व्यक्तिलाई अर्को व्यक्तिकोे हत्या गर्ने अधिकार कसले दियो ? किन मान्छेको सोचमा परिवर्तन आउँदैन ? किन मान्छे जातभन्दा माथि उठ्दैन ? नवराजको मृत्युलाई लिएर आआफ्नो स्वार्थ अनुकूल राजनीतिकरण र जातीयकरण गर्न खोजिएको छ ।  अन्तरजातीय प्रेम प्रकरणमा कसैले भाषणमार्फत, कसैले लेखमार्फत धारणा त राखे तर यथार्थमा बदल्न चहाने कम नै देखिन्छन् । नेपालमा मृत्युदण्ड दिने व्यवस्था त छैन तर यस्तो क्रुर जघन्य अपराध गर्नेलाई मृत्युदण्ड कम होला । हरेकपल्ट यस्ता घटनाले उचित न्याय पाएको देखिन्न । दुखद् पक्ष के भने अझै पनि रुकुम घटनामा दोष कसको भनेर पत्ता लागाउन सकेको छैनन् । दोषीलाई कारबाही र पीडितले चाँडै न्याय पाऊन् । म विभेद नहुने समाज चाहान्छु । मलाई विभेदपूर्ण समाज स्वीकार छैन । आफू पनि भेदभाव गर्दिनँ अरूको पनि सहन्न, सबै जातजाति मान्छे भएर बाचौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा