बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे जानकारी छैनः सञ्चार मन्त्रालय

बिहीबार, २५ असार २०७७, २० : ४४
बिहीबार, २५ असार २०७७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे मन्त्रालयलाई जानकारी नरहेको बताएको छ । 

मन्त्रालयले भारतीय न्यूज च्यानलले नेपालबारे घृणा फैलाउने गरी आपत्ति जनाउने सामग्री प्रकाशित गरेको जानकारी रहेको र यसबारे मन्त्रीले  आफ्नो धारणा स्पष्ट पारिसकेको भन्दै न्यूज च्यानलको प्रशारण नै रोक्नेबारे कुनै जानकारी नरहेको स्पष्ट पारेको हो । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले मन्त्रालयले कसैलाई पनि भारतीय न्यूज च्यानलको प्रशारण गर्नलाई निर्देशन नदिएको भन्दै केही केवल अपरेटरहरुले यसबारे निर्णय लिएको बारे आधिकारिक जानकारी नरहेको रातोपाटीलाई जानकारी दिए । 


‘मन्त्रालयले कसैलाई यसबारे निर्देशन दिएको छैन र समन्वय पनि भएको छैन’, तिवारीले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूले बिहीबारको पत्रकार सम्मेलनमा जे भन्नुभएको छ त्योबाहेक जानकारी छैन ।’

बिहीबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले  भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आउका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएका थिए । 

 प्रवक्ता खतिवडाले मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताएका थिए । 

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताएका थिए । 


भारतीय टिभी च्यानल जी न्यूजले प्रधानमन्त्री केपी शर्मा र चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक सामग्री प्रकाशित गरेपछि भारतीय मिडियाको चौतर्फी विरोध हुँदै आएको छ । 

सोही सामग्रीलाई लिएर प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पनि कडा आपत्ति जनाएको छ । 

भारतीय मिडियाले पत्रकार आचारसंहिता विपरित सामग्री प्रशारण गरेपछि केही केबल अपरेटरहरुको बैठकले स्वतस्फूर्त रुपमा भारतीय न्यूज च्यानल बन्द गर्ने घोषणा गरेको बताइएको छ । 

बिहीबार साँझदेखि भारतीय न्यूज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले  बताएका छन् । 

यसैगरी नेपाल केवल टेलिभिजन महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार दिनेश सुवेदीले  जनतासँग पैसा उठाइसकेकोले कानुनी पाटो प्रष्ट नभएकाले आधिकारिक रुपमा निर्णय नभइ स्वतस्फूर्तरुपमा गरिएको बताए । 

‘जनतासँग पैसा उठाइसकेकाले कानुनी पाटो प्रष्ट नभएकोले आधिकारिक रुपमा निर्णय गरिएको छैन । तर राष्ट्रियताको लागि टेलिभिजन अपरेटरहरुले स्वतस्फूर्त गरेका हुन्’, उनले रातोपाटीसँग भने, ‘जुन पार्टीको पक्षको भए पनि प्रधानमन्त्री देशको हो । प्रधामन्त्रीमाथि विदेशी मिडियाको आक्रमण देशकै राष्ट्रियता माथिको आक्रमण हो । यो सरकार आफैंले गर्नुपर्ने निर्णय हो । तर सरकार निकम्मा भयो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप