बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा विवाद : ओली–प्रचण्ड वार्ता नै अनिश्चित !

नेताहरु भन्छन्–सहमतिका नाममा अनन्तकालसम्म कुर्न सकिँदैन
बिहीबार, २५ असार २०७७, १५ : ०८
बिहीबार, २५ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बढेको किचलो साम्य पार्ने दुई अध्यक्षको प्रयास निरर्थकजस्तै भएको छ । 

विवाद मिलाउन भन्दै लगातार चार दिन बसेका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘वान टु वान’ वार्ता नै पछिल्लो समय अनिश्चित भएपछि यसअघिका संवाद समेत निरर्थक जस्तै बन्न पुगेका हुन् ।
दुई नेताबीचको वार्ता नै अनिश्चित भएपछि शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक समेत प्रभावित हुने संकेत देखिएको छ । 

यसअघि तीन पटक स्थगित गरिएको स्थायी समिति बैठक असार २६ गते ११ बजेलाई बोलाइएको छ । त्यसअघि दुई अध्यक्षबीच सहमति जुटाउने प्रयास गरेपनि अडानबाट टसको मस नभएपछि नेकपाभित्रको विवाद थप लम्बिने संकेत देखिएको हो । 

अहिलेसम्मका संवादमा प्रधानमन्त्री ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने भन्दै सहमतिमा आउन चाहेका छैनन् । 

‘वार्तामा बसेपछि एकले अर्काको कुरा सुन्नुपर्छ र कम्परमाइजमा आउनुपर्छ, अनिमात्रै निकासको बिन्दु पहिचान हुन्छ । तर अहिलेसम्म एकले अर्काको कुरा सुन्ने तर कम्परमाइजमा नआउने र अडान नछोड्ने अवस्था देखिन्छ ।

जसले यसअघिका वार्ता समेत निरर्थक जस्तै बन्न पुगेका छन्’, नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘खासगरी पार्टी निर्णय मान्ने र विधि प्रक्रियामा चल्ने कुरामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली लचक नबन्दा समस्या आएको हो ।’

आइतबार, सोमबार र मंगलबार भएका वार्ता सकारात्मक भएपनि बुधबारको वार्ताले स्थिति थप बिग्रिएको नेताहरुको बुझाइ छ । 

बुधवार वार्ता सकेर बालुवाटारबाट छुट्टिँदा ओली र प्रचण्डले बिहीबार फेरि बस्न बताएपनि बिहीबार यो समाचार तयार पार्दासम्म उनीहरुबीच वार्ता र संवादका लागि बस्ने तय भैसकेको छैन । 

‘दुई नेताहरु बस्ने नबस्ने अझै अनिश्चित छ । समय तय भइसकेको छैन’, ओली प्रचण्ड दुवै नेताका सचिवालयका सदस्यहरु भन्छन्, ‘निर्धारित समय छैन, बस्न पनि सक्नुहुन्छ के हुन्छ तर यसै भन्न सकिन्न ।’

स्थायी समिति सदस्य भीम रावल दुई नेताबीच सहमतिका लागि संवाद हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने भएपनि संवादका नाममा समस्यालाई लम्ब्याउँदै लैजानु समस्या पनि बढाउँदै लैजानु जस्तै भएको प्रतिक्रिया दिन्छन् । 

‘उहाँहरुले गरेको प्रयास र कुराकानी त सकारात्मक हो तर यो अनन्तकालसम्म लैजाने र पार्टीको विधि प्रणालीभन्दा पनि व्यक्तिगत कुरा गरेर सबै समस्या समाधान हुन्छ भन्ने प्रवृति त्यो प्रवृति नेकपाको विधान, विधि र प्रकृयासँग मेल खाँदैन’, नेता रावलको भनाइ छ । 

उनले पार्टीमा अन्तरविरोध बढेकाले अध्यक्षहरुबाट आउने प्रस्तावलाई मानेर जान सकिने भएकाले समय दिएको भन्दै अहिलेसम्म कुरिरहेको भन्दै यसरी अनिश्चित तुल्याएर पार्टीको नीति भन्दा व्यक्तिगत कुरा नै ठुलो भन्नतिर लागेर स्थितिलाई त्यतातिर लैजान खोजेको भए त्यो मान्य नहुने चेतावनी दिए । 

प्रचण्डनजिक मानिने एक नेताका भनाइमा बुधवारको बैठकमा सहमति हुने संकेत नदेखिएपछि वार्ता रोकिएको हो ।

नेता रावलले संवादका नाममा बैठक सार्दै लैजानु भनेको पार्टी प्रणालीलाई कमजोर बनाउनु रहेको बताए । ‘संगठन, विधि र प्रणालीप्रति आश्था राख्ने, पार्टी बलियो होस्, नफुटोस् भनेर चाहने व्यक्तिले जहिले पनि विधि विधानअनुसार पार्टी कमिटिबाट निर्णय गर्नसक्नुपर्छ’, नेता रावलको भनाइ छ । 

अर्का नेता तथा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सहमतिका लागि शीर्ष तहमा होमवर्क जारी रहेकाले त्यो अवतरण  नभएसम्म स्थायी समिति बैठक पनि बस्न नसक्ने बताए । 
उनले रातोपाटीसँग भने, ‘संवाद जारी छ । संवाद नटुंगेसम्म अघि बढ्न सकिँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप