बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले तहसनहस बाह्रबिसे : मेयर भन्छन्-उद्धार गर्नै कठिन भयो

बिहीबार, २५ असार २०७७, ११ : ४८
बिहीबार, २५ असार २०७७

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र त्यसपछि आएको बाढीले नगरपालिकाको २ वडामा बढी क्षति भएको छ । नगरपालिकाको वडा नम्बर ५ मा मानवीय क्षति बढी भएको छ । 

बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाका अनुसार घटनामा १६ जना बेपत्ता भएका छन् । ‘२ जनाको शव भेटिएको छ । बाढीले पक्की पुल समेत बगाएको छ’ मेयर शेर्पाले रातोपाटीसँग भने, ‘बिहीबार ११ बजेसम्मको तथ्यांक संकलनमा ११ वटा घर पूरै क्षतिग्रस्त भएका छन् । फकथोल भन्ने स्थानमा रहेको वडानम्बर ५ को पक्की पुल बगाएको छ ।’

मेयर शेर्पाका अनुसार स्थानीयसहित र नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिएपनि अवरुद्ध बाटो, पहिरो र मौसमले समेत साथ नदिँदा समस्या भएको छ ।  

 उनले चार ठाउँ भन्दा बढी स्थानमा ठाडो खोलले क्षति पुर्याएको छ भने गाडी र एम्बुलेन्स समेत जाने अवस्था छैन । 

‘मानिस समेत हिँडेर घटनास्थल पुग्न सक्ने अवस्था छैन । अहिले हामी गाउँगाउँबाट छिरेर स्टेचरमा बोकेर विरामीहरु बोकेर ल्याइरहेका छौ’, मेयर शेर्पाको भनाइ छ । 

उनले बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको पुलसहित चालीस मिटर सडक नै बाढीले बगाएको छ । त्यस्तै वडा नम्बर ५ को जम्बु भन्ने स्थानमा मानवीय क्षती भएको पनि मेयर शेर्पाले जानकारी दिए । घटनामा चार जना घाइते भएका छन् । 
त्यसैगरी अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इलाका प्रहरी कार्यालय आसपास लगायत जम्बु बजारसम्मका सडक र पुल बाढीले बगाउनुका साथै जनजीवन अस्तव्यस्त बनेको छ । 
बाह्रबिसे बजारछेउको ढिस्को समेत खस्न थालेपछि तटीय क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ ।

 यसैबीच सभामुख अग्नि सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलतर्फ लागे पनि मौसमका कारण उनसहित चढेको हेलिकोप्टर फर्किएको छ । मौसम अनुकुल हुनासाथ त्यसतर्फ लाग्ने सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप