शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक सातामै राजश्व चुहावटमा ७७ करोडको मुद्दा, एउटै व्यक्तिले छले ४३ करोडको कर

बिहीबार, २५ असार २०७७, ११ : २५
बिहीबार, २५ असार २०७७

काठमाडौं । राजश्व छली गर्नेविरुद्ध ७७ करोडको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले एक साताको बीचमा ५ वटा कम्पनी र त्यसका सञ्चालक विरुद्ध ७७ करोड ४ लाख १३ हजारको बिगोसहित मुद्दा दायर गरिएको हो । 

त्यसरी मुद्दा दायर गरिएकाहरुमा न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेज, समर ट्रेडर्स, बंगलामुखी ट्रेड सप्लाई, विएस ट्रेड इन्टरनेशनल, जिमी ग्रुप प्रा.लि., क्रिएशन इम्पेक्स प्रा.लि. तथा टोखाका इलेक्ट्रोनिक व्यवसायी मयुर मालाकार छन् । उनीहरु उपर नक्कली बिलबिजक पेश गरेको तथा आयकर कम देखाई आयकर तथा लाभांश करमार्फत् राजश्व चुहावट गरेको अभियोगमा लगाइएको छ । 

विदेशबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरुको आयात गर्ने मयूर मालाकारले ४३ करोड राजश्व छलि गरेको अभियोग विभागले लगाएको छ । मालाकारविरुद्ध भन्सारमा चोरी पैठारी गरी अवैधानिक कारोबार गर्ने गरेको, मिलेमतोमा राजश्व छल्ने मनशायले करसम्बन्धी कानूनहरुको उल्लंघन गरेको भन्दै उनीविरुद्ध कुल ४३ करोड १८ लाख ९५ हजारको विगोसहित मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । 

त्यस्तै, जिमी ग्रुप प्रा.लिलाई नक्कली बिलबिजक प्रयोग गरेर १८ करोड ३३ लाख करछलि गरेको अभियोग लगाइएको छ । मूल्य अभिवृद्धि कर र आयकर छलि गरेर कम्पनीले सो रकम बराबरको राजश्व चुहावट गरेको विभागको दाबी छ ।  सो कम्पनीले मूल्य अभिवृद्धि करतर्फ ५ करोड ९७ लाख ९९ हजार रुपैंया तथा आयकरतर्फ १० करोड ७९ लाख १९ हजार रुपैंया तथा लाभांश करबापत १ करोड ५६ लाख ३ हजार रुपैंया राजश्व चुहावट गरेको दाबीसहित सोही बराबरको बिगो कायम गरी आइतबार पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो । 

न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेजले भ्याटतर्फ ५१ लाख तथा आयकरतर्फ १ करोड १९ लाख छलि गरेको आरोप लगाइएको छ । इन्टरप्राइजेजले हुँदै नभएको बिलबिजक पेश गरेर भ्याट फिर्ता माग गरिएको तथा कम आय देखाएर आयकरमा चुहावट गरेको दाबी विभागको छ । 

त्यस्तै, महाबौद्धको समर ट्रेडर्सले आयात नै नगरेको सामान आयात गरेको भनि देखाएको तथा कुनै सामान आयातभन्दा बढी बिक्री गरेका तथा कुनै सामान आयात गरेको भन्दा कम बिक्री भएको देखाएर भ्याटतर्फ ७४ लाख ७० हजार रुपैंया, आयकरतर्फ ९६ लाख ७५ हजार तथा भन्सारतर्फ २ करोड ८६ लाख ५६ हजार रुपैंया छलि गरेको भन्दै सो रकम विगो कायम गर्दै फर्कका सञ्चालक गौतम सरार्फ र बैंकमा कारोबार खाता सञ्चालन गर्ने रामकृष्ण तुराहा विरुद्ध मुद्दा चलाइएको हो । 

आइतबार नै उपत्यकाका तीन फर्मविरुद्ध विभागले ९ करोड २३ लाखको मुद्दा चलाइएको थियो । ललितपुर महानगरपालिका वडा नम्बर ३ स्थित न्यू क्रिएसन इम्पेक्स, सोही स्थानको बंगलामुखी ट्रेड सप्लाई तथा काठमाडौं महानगरपालिका वडा नम्बर २८ को बिएस ट्रेड इन्टरनेशनल समेतलाई मुल्य अभिवृद्धि कर, आयकर र लाभांश कर छलिको अभियोगमा सो मुद्दा लगाइएको हो ।

लकडाउनको समयमा अधिकांश कम्पनीहरु बन्द रहेको अवस्थामा सुस्ताएको राजश्व अनुसन्धान विभागको गतिविधि लकडाउन खुलेपछि फेरि अघि बढेको हो । यद्यपि विभागले धेरै मागदाबीसहित दायर गरेको मुद्दामा पनि प्रतिवादीहरु थोरै जरिवाना तिरेर उम्किने गरेको पाइएको छ । राजश्व चुहावट र विदेशी विनिमय अपचलनको अनुसन्धानको जिम्मेवारी पाएको विभागले राजश्व अपचलनमा विगोको दोब्बर तथा विदेशी विनिमय अपचलनमा विगोको तेब्बरसम्म जरिवाना समेत माग गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप