बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डसँगको छलफलपछि शीतलनिवास पुगे प्रधानमन्त्री ओली

बुधबार, २४ असार २०७७, २३ : ०९
बुधबार, २४ असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । 

बुधबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । त्यस क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबीच एक घण्टा भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले जनाएको छ  । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्टपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । 

बुधबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा झण्डै २ घण्टा वार्ता भएको थियो । बुधबारको ओली प्रचण्ड वार्ता यसअघिका वार्ताकै निरन्तरता भएको बताइएपनि यसबारे नेताहरुले मुख खोलेका छैनन् । आइतबार यता दैनिक भएका भेटवार्ता अघिल्ला दिनकै निरन्तरता भएको दुवै नेता निकट स्रोतहरुले बताएका छन् । 

आइतबारको भेटमा ओली प्रचण्ड आरोप प्रत्यारोपमा उत्रिएपनि सोमबार ओलीको धारणा प्रचण्डले सुनेका थिए भने मंगलबारको भेटमा प्रचण्डको धारणा ओलीले सुनेका थिए । 

बुधबारको भेटमा भने दुवैले आ–आफ्ना कुरा सुनाएका थिए । एक अर्काका कुरा सुनेपनि दुवै नेता यसअघि राखेका अडानबाट दायाँबायाँ भएका छैनन् ।  अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन सुझाव दिइरहेका छन् भने ओेली कुनैपनि पद छोड्न तयार छैनन् । 

बुधबार ओलीससँगको भेटअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल प्रचण्ड निवास खुमलटारमा पुगेर ओलीसँगको वार्ता र प्रगतिबारे सोधखोज गरेका छन् । 

त्यस क्रममा प्रचण्डले ओली अझैपनि राजीनामा दिने पक्षमा नरहेको आफूले पाएको नेपाल र खनालसँग ब्रिफिङ गरेका थिए । प्रचण्डको ब्रिफिङ सुनेका नेपाल र खनालले ओलीले अटेर गरेरै जित्छु भन्ने ठानेको भन्दै अब बस्ने स्थायी समिति बैठकमा निर्णय नै गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । 

सोही सन्देश बोकेर प्रचण्ड बधबार ओली भेट्न बालुवाटार पुगेका थिए । तरपनि ओलीले आफ्नो राजीनामा समस्याको निकास हुन नसक्ने भन्ने पुरानै अडान दोहोर्याएका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप