केन्द्रीय संस्करण

गण्डकीका सांसदहरुले भने– व्यवसायीलाई जोगाउ

person explore access_timeअसार २४, २०७७ chat_bubble_outline0

पोखरा । कोरोना महामारीको कारण अर्थतन्त्र ठप्प छ । बन्दाबन्दीकै कारण कति व्यवसायी पलायन भई सके त कति हुने तरखरमा छन् ।  व्यवसायीलाई पलायन हुनबाट जोगाई पुरानै अवस्थामा फर्काउन गण्डकीका सांसदहरुले सरकारसँग आग्रह गरेका छन् । सभाको विशेष समयमा बोल्दै सांसद राजीव पहारी र विन्दु थापाले बन्दाबन्दीको मारमा परेका व्यवसायीलाई जोगाउनुपर्ने बताएका छन् । 

सभाको विशेष समयमा बोल्दै सांसद राजीव पहारीले कोरोनाले पर्यटन क्षेत्र गम्भिर संकटमा परेको बताए । पर्यटन सम्बन्धित सबै क्षेत्र लकडाउनमा हुँदा व्यवसायीहरु मारमा परेको उनले बताए । ‘पर्यटनसँग सम्बन्धित सबै क्षेत्र बन्द छन् । तर, व्यवसायीलाई फोनका घण्टी बज्न थालेको छ । माघदेखि असार मसान्तसम्मको सावा ब्याँज चुक्ता गर्नु नत्र कालो सूचिमा पछौं भनेर ताकेता गरेको छ,’ उनले भने । 

बैंकको किस्ता तिर्न नसक्दा कैयौं पर्यटन र अन्य व्यवसायी पलायन हुनुपरेको उनले सुनाए । यस्तै अवस्था रही रहें कल्पनै नगरेको घटना घट्ने उनले बताए । संघ सरकारले १ खर्ब रुपैयाँ पुन कर्जामा छुट्याएको रकमबाट मझौंला र मध्यम खालका व्यवसायीले पनि पाउने व्यवस्था गर्नुपर्ने उनको मत छ । यस्तै, गण्डकी प्रदेशले १ अर्ब रकम बराकरको व्यवसायी जीवन रक्षा खडा गरेकोमा ५ प्रतिशतमा ३ देखि ५ वर्षसम्मको लागि कर्जा पाउने व्यवस्था मिलाउनु पर्ने उनले बताए । 

व्यवसायीहरुले अहिले सरकारबाट सहयोग आए सामान्य अवस्थामा फर्कि सकेपछि सबै रकम चुक्ता गर्न तयार रहेको उनको भनाई छ । उनले यसतर्फ प्रदेश र संघ सरकारको ध्यान जानुपर्ने बताए । अर्का सांसद विन्दु थापाले कूल व्यवसायको ८० प्रतिशत स्वरोजगार रहेको यातायात क्षेत्र कोरोनाको कारण मारमा परेको बताएका छन् । उनले पोखरामा २२ सय ट्याक्सी र ५ सय माइक्रो बस सुचारु अवस्थामा रहेकोमा ८० प्रतिशत स्वरोजगार रहेको बताए । 

पोखरा महानगरभित्र २ हजार ५ सय सार्वजनिक सवारी सञ्चालनमा रहेकोमा यातायात व्यवसायसँग आवद्ध मजदुरको रोजगारी पनि छुटेको उनले सुनाए । सामान्य हिसाबले पनि प्रति परिवार ५ सदस्यले हिसाब गर्दा १३ हजार ५ सय व्यक्ति यातायात क्षेत्रमा आश्रीत रहेको उनले बताए । 

सार्वजनिक यातायात सञ्चालनमा आई हाले पनि सवारी सुचारु गर्न मर्मत खर्च हिसाब गर्दा २ लाख व्यक्ति प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा प्रभावीत देखिने छन् । २०६९ सालमा कायम भएको वैज्ञानिक भाडा दर लागू नहुँदा पनि यातायात व्यवसायी मर्कामा परेको उनको तर्क छ । ‘उक्त वैज्ञानिक भाडा दरमा प्रत्येक वर्षको असार मसान्तमा ३५ प्रतिशत इन्धन । ६५ प्रतिशत बैंक व्याज पार्टस र गाडीको मुल्यवृद्धिलाई आधार मानेर भाडादर निर्धारण गर्नुपर्ने थियो,’ उनले भने, ‘तर, ०६९ यता भाडा समायोजन भएको छैन ।’ 

कोभिडको कारण छोटो दूरीमा चल्ने मात्र नभई लामो दूरीमा चल्ने सवारी मजदुर, व्यवसायीको विचल्लि भएको उनले सुनाए । लामो र छोटो दुरिमा १९ कम्पनी मार्फत आबद्ध भई २५ हजार बढी प्रदेश भित्रै चल्नेमा सबैको हालत दयनीय बनेको उनले सुनाए । प्रदेश ५ ले सावरी कर, आय कर, जाँच पास, रोड परमिट ३३ प्रतिशत लकडाउन अवधिको लागि छुट दिए पनि गण्डकी प्रदेशले केबल भाडाका बसको सवारी करमा ६० प्रतिशत छुट दिएको उनले सुनाए । बैंकको किस्ता तिर्न नसकेर व्यवसायीले १५० गाडीको चाबी बैंकलाई बुझाएको स्मरण गराउँदै उनले बाँकी १२५० गाडीको चाबी पनि बुझाउने क्रममा रहेकोले सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । यातायात व्यवसायी र मजदुर बचाउनु सरकारको दायित्व समेत रहेको उनले स्मरण गराए । 

सांसद मेखलाल श्रेष्ठले संघ र प्रदेश सरकारले कोभिडको प्रभाव न्युनिकरण गर्न नसकेको आरोप लगाए । राष्ट्रियताको पक्षमा सबै जुटे पनि काम कर्तव्य पालना गर्नुको सट्टा जनताको आवाज सुनाउनुपर्ने ठाउँमा हठात बन्द गरेको भन्दै उनले सरकारको कडा आलोचना समेत गर्न भ्याए । उनले सरकारले लोकतन्त्र र संघीयतामाथि नै आहात हुने काम केन्द्र सरकारले गरेको आरोप लगाएका छन्  ।

गुमाएको भूमि फिर्ता ल्याउन सबै एकजुट भए पनि नेपालको सार्वभौमिकता नै खण्डित हुने गरि विदेशी शक्ति सरकार ढाल्न लाग्यो भनेर भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेको भन्दै उनले कडा आलोचना पनि गरे । ‘आफूहरुको आन्तरिक विवादलाई बाहिर ल्याउने । विदेशी कुटनीतिक नियोगले रातारात घर गएर चलखेल गरेको छ । यो कानुनको बर्खिलाप छ,’ उनले भने । वैदिक कुटनीतिक नियोगका प्रमुखको चलखेलको भत्र्सना गर्दै उनले  चाँडो भन्दा चाँडो व्यवहार सच्याउन समेत चेतावनी दिए । 

अर्का सांसद हरिशरण आचार्यले संघीयता कसैले तथास्तु भनेर आकाशबाट खसेको बस्तु नभएको जिकिर गर्दै हजारौंको बलिदानर लाखौंको त्यागले जन्मिएको पुँजी भएको बताए । ‘यो प्राकृतिक नियमबाट बनेको कुनै पिण्ड पनि होइन,’ उनले भने, ‘हजारौंको बलिदान, लाखौंको त्यागले जन्मिएको पुँजी हो ।’  माध्यमिक शिक्षा गुणात्मक शिक्षाको कारण छट्पटिएको बताउदै उनले सार्वजनिककको गुणस्तर बढाउन प्रदेश मातहत बनाउनुपर्ने उनले माग राखे ।

 हिंसामा परेका चेलीको घाउमा नुनचुक दल्ने ? 
केही समय अघि कैलालीको लम्किचुहाको क्वारेन्टाइनमा बसेकी युवति सामुहिक बलात्कारमा परेको घटनाले सिंगो देशमा नै तरंग पैदा गराएको थियो । सबैतिर बहसको विषय पनि बनेको थियो ।  प्रदेशसभामा बजेटमाथि छलफलको क्रममा सांसद राजीव पहारीले आफ्नो प्रदेशमा बलात्कारका घटना नभएको भन्दै त्यसको बहस गर्न जरुरी नभएको अभिव्यक्ति दिएपछि महिला सांसदहरु व्यापक विरोधमा उत्रिएका थिए । सो शृंखला बुधबारको प्रदेशसभा बैठकमा पनि चलेको छ । सभाको विशेष समयमा बोलकी सांसद पियारी थापाले माननीयको अभिव्यक्तिले हिंसामा परेका चेलीको घाउमा नुनचुक दलेको महसुुस भएको बताइन् ।

‘कैलालीको लम्की चूहामा भएको सामूहिक बलात्कारलाई प्रदेश सभाका एक माननीयले सदनमा अत्यन्तै गैह्रजिम्मेवार तर्क दिई रहँदा हामी सबैलाई यस विषयले दुःखी बनाएको छ । यस विषयमा पहिले नै कुरा उठी सकेको छ । घटना त्यति सामान्य थिएन कि जसलाई विरोधको अट्टाहासमा उडाइयोस्,’ उनले भनिन्, ‘यति धेरै संवेदनशील विषयमा सुक्ष्म टिप्पणीले अघि मैले उल्लेख गरेका बलात्कार र हिंसामा परेका चेलीको घाउमा नुनचुक दलेको अनूभुति भएको छ ।’ महिला तथा बालबालिकामाथिको हिंसा शृंखलाबद्ध बढेको उनले सुनाइन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले ७७ जिल्लामा गरेको सर्वेक्षणमा ७३० महिला तथा बालबालिका विभिन्न प्रकारको हिंसा र १ सय ९ महिला बलात्कारको सिकार हुन पुगेको उनले सुनाइन् ।  

महिलामाथि हुने सबै प्रकारका विभेद् र हिंसा अन्त्य गर्न ठूलो कदम चालिए पनि प्रभावकारीता न्युन रहेको उनले बताइन् । महिलामाथि हुने यस्ता जघन्य अपराधमा सरकार बचाउको साध्य बनेको विषय अत्यन्तै निम्न स्तरको रहेको उनको जिकिर छ । ‘विरोधमा उनको र हाम्रो प्रदेश भन्ने नै हुँदैन, जहाँ भए पनि यो घिणित काम हो,’ उनले भनिन् । उनले यस्तो गम्भिर विषयमा बोल्दा हेक्का राख्न चेतावनी पनि दिइन् । यसको जबाफ सम्बन्धित मन्त्रालयका मन्त्रीले दिनुपर्ने र यस्ता विषयमा बोल्ने सांसदलाई घटनाको गाम्भिर्यताको आधारमा रुलिङ गर्ने प्रावधान समेत राख्नु पर्ने उनले माग राखेकी थिइन् । 

सभाको विशेष समयमै बोलेका सांसद राजीव पहारीले कानुन सबैको लागि बराबर हुने साथै दुई तिहाई सरकार हुँदा क्षम्य नहुने जिकिर गरेका थिए । बलात्कार, भ्रष्टाचार भए कारबाही गर्नुपर्ने समेत उनले बताएका थिए । ‘तथ्यप्रमाण सहित । विषय राख्दा गोलमोडल ढंगले राख्न हुन्न्, खिचडी पकाउन हुन्न्,’ उनले भने, ‘आरोप लगाउन खोजेको होइन यति मात्र भन्न खोजको हुँ विषय केन्द्रित ढंगबाट अभिव्यक्ति आउँदा राम्रो । तोरीमा कोदो मिसाउँदा न तेल आउँछ न पिना । यस्तो ढंगबाट गोलमटोल हिसाबले नआउँदा अनुमानको हिसाबमा आउँदा हुन्छ कि जस्तो लाग्छ ।’ 

सभाको विशेष समयमा खिमविक्रम शाही र पुष्पाकेसी भण्डारीले पनि बोलेका थिए । उनीहरुले कोरोना महामारि र लकडाउनका कारण विकास निर्माणका काममा पनि अवरोध खडा भएको बताएका थिए । शून्य समयमा बोलेका सांसद कृष्णबहादुर थापाले पोखरा १६ मजुवाको डुङ्नी खोलाबाट पोखरा सप्लाई हुने खानेपानीको पाइपमा क्षति पुगेको भन्दै ध्यानाकर्षण गराएका थिए । 

पर्वतकी सांसद जुनादेवी नेपालीले पिसिआरको दायरा बढाउनुपर्ने साथै समाजमा विभेद् र हिंसा बढेकाले ऐन कानुन व्यवहारमा प्रयोग गर्न जरुरी रहेको बताइन् ।  गोरखाका सांसद प्रकाशचन्द्र दवाडीले बारपाक सुलिकोट वडा नम्बर ४ रन्चोकमा पहिरोले घर जोखिममापरेको भन्दै आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

कास्कीका सांसद विन्दुकुमार थापाले एक निर्वाचन क्षेत्र, एक सडक अन्तर्गत नारनथान पुल, भलाम खोला पुल, चण्डीपाटन देउराली हुँदै अर्मलासम्मको सडक निर्माणको लागि १२ करोड १० लाख विनियोजन भएको । तर, रातो किताब अनुसार नारथान पुलबाट सुरु गर्नुपर्नेमा २ किमी अघि भलाम खोला पुलबाट काम भई रहेको बताए । उनले रातो किताबो सम्मानको लागि भए पनि बाटो मर्मत गर्न आग्रह गरेका थिए । 

सांसद मीना गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा कार्यरत कर्मचारीले असार ८ गते ट्रेड युनियन दर्ता भएपछि अध्यक्ष सहित केही निस्कासनमा परेको घटनाले कर्मचारीहरु कालोपट्टी लगाएर हाजिरी भएकाले सरकारलाई ध्यान दिन सुझाइन् ।  शून्य समयमा बोलेका सांसद राजीव पहारीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा वर्षाको कारण ६ घर ध्वस्त भएको साथै ७ परिवार प्रभावित भएको भन्दै । अरु घरलाई क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराए । 

पर्वतकी सांसद ललितकला गुरुङले पर्वत पैयूँ वडा नम्बर २ की २२ वर्षिय गर्भवति महिला उपचारको अभावले मृत्यु भएको भन्दै  गगन थापा स्वास्थ्यमन्त्री हुँदा हुवास स्वास्थ्य चौकीलाई १५ शैड्ढयाको अस्पताल बनाउन अघि सरेको योजनालाई निरन्तरता दिन सुझाएकी थिइन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.