शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘महानायक’ उपाधिको आधार के ?

कलाकार नै अन्योलमा
बुधबार, २४ असार २०७७, १५ : ४१
बुधबार, २४ असार २०७७

काठमाडौं । नेपाली कला क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवालमा कला क्षेत्र नै अन्योलमा छ । न कुनै प्रष्ट मापदण्ड, न कुनै प्रक्रिया, एक्कासी कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई कसरी ‘महानायक’ भनेर मान्न सकिन्छ भन्ने प्रश्न पछिल्लो समय नेपाली कलाक्षेत्रमा खडा भएको छ ।

केही दिनयता ‘महानायक’का विषयमा सामाजिक संजालमा निकै चर्चा–परिचर्चा हुँदै आएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा ‘राजेश हमाल महानायक हो र ?’ भन्ने प्रश्न उठाएपछि सामाजिक संजालमा यो विषयले चर्चा–परिचर्चा पाएको हो ।

केहीले अभिनेता राजेश हमाललाई ‘महानायक’ संज्ञा दिँदै आएका छन् । तर दीपाश्री निरौलाले के आधारमा राजेश हमाल ‘महानायक’ भए भन्ने आशयको प्रश्न खडा गरिन् । राजेशको विषयमा प्रश्न उठाएकै कारण उनले निकै चर्काे आलोचना खेप्नु प-यो ।

कोरोनाको कारण फिल्म क्षेत्रले सामना गरेको संकटपूर्ण परिस्थितिका बाबजुद राजेश हमालले अभिभावकीय भूमिका निर्वाह गर्न चासो नदेखाएको, आफूलाई यो स्थानसम्म आइपुग्न वर्षौँदेखि सहयोगी भूमिका निर्वाह गरेका प्राविधिकले कोरोनाको कहरका कारण झेल्नु परेका समस्याप्रति उदासिन भएको भन्दै दीपाश्रीले राजेश हमाल कसरी ‘महानायक’ भए भनेर प्रश्न उठाएकी थिइन् ।

‘महानायक’ भइसकेपछि फिल्म क्षेत्रको पीडा कम गर्न भूमिका पनि निर्वाह गर्न सक्नुपर्ने अन्यथा उक्त उपाधिको गरिमा समाप्त हुने दीपाश्रीको आशय थियो । आशय जे भए पनि सामाजिक संजालमा चर्काे विवाद उठेपछि दीपाश्रीले माफी मागिन् ।

दीपाको माफीका बाबजुद सामाजिक संजालमा यो विषय सेलाउन सकेन । बरु बहसले झन् प्राथमिकता पायो । 

कतिपय कलाकारले आफुलाई रिस उठेका, नराम्रो काम गर्नेलाई ब्यक्तिलाई ‘महानायक’ शब्दले सम्बोधन गरेर ब्यङ्ग्य समेत गर्न थालेका छन् । 

को हो महानायक ? कसलाई किन र कसरी महानायक भन्ने ? महानायकको दायित्व र कर्तब्य कस्तो हुन्छ ? महानायकको उपाधि कसले दिने भन्ने बिषयमा अहिले व्यापक बहस भइरहेको छ ।

‘महानायक’ कसलाई भनिन्छ, राजेश हमाललाई कसरी ‘महानायक’ भन्न थालियो भन्ने विषयमा हामीले नेपाली कलाक्षेत्रका केही हस्तीसँग जिज्ञासा राखेका छौँ । राजेश हमाललाई जसले ‘महानायक’ भनेर उपाधि दिए, उनीसँग पनि के आधारले राजेश हमाललाई महानायक भन्न थालियो भनेर हामीले प्रश्न गरेका छौं । प्रस्तुत छ, उनीहरुको धारणा जस्ताको तस्तै ।

यस्ता उपाधिमा विश्वास लाग्दैन 
मदनकृष्ण श्रेष्ठ (वरिष्ठ कलाकार) 
महानायकको बिषयमा यतिबेला आफुलाई लागेको बिचार राख्दा विवादमा फस्ने डर छ । यो विषयमा अहिले केही नबोलौँ होला । यतिबेला ‘केही थाहा छैन’ भन्नु नै बुद्धिमानी हुन्छ । नेपालमा जसले जे गरे पनि हुन्छ, जसलाई जे उपाधि दिए पनि हुन्छ । त्यसको कुनै मापदण्ड छैन ।

मलाई पनि ‘कला क्षेत्रको हास्य सम्राट’लगायत केही उपाधिले सम्बोधन गर्ने गरिन्छ । तर यस्ता उपाधिले मलाई  छुँदैन । आफुले बनाएको सम्मान भनेको ‘महजोडी’ हो । यो कसैले दिएको होइन । आफ्नै मिहिनेतले बनेको हो ।
पब्लिकले यसलाई स्वीकारेका हुन् । यो सम्मान हामीले ४०औँ बर्षदेखि मलजल गरेर, खाई–नखाई जोगाएर राखेका छौँ । यसैमा विश्वास लाग्छ । अन्यले दिएको उपाधिमा विश्वास लाग्दैन ।

कसको महानायक ?
अशोक शर्मा (वरिष्ठ कलाकार तथा निर्देशक)

‘महानायक’को कुरा गर्नुपर्दा हामीले छिमेकी मुलुक भारतलाई पनि हेर्नुपर्छ । भारतमा अभिनेता अमिताभ बच्चनलाई ‘महानायक’ भन्ने गरिन्छ । त्यो उपाधि एउटा एजेन्सीले त्यहाँका अभिनेताहरु बिच प्रतिश्पर्धा गराएर ‘महानायक को ?’ भन्ने विषयमा पब्लिकको भोटिङमार्फत दिइएको हो । त्यो पनि एउटा समय तोकेर ‘शताब्दीको महानायक’ भनिएको थियो ।

त्यसरी उपाधि पाएपछि सम्बन्धित कलाकारको पनि केही दायित्व हुन्छ । त्यो दायित्व अमिताभ बच्चनले अहिले कोरानाको समयमा भारतको फिल्म क्षेत्रका विभिन्न विधामा कार्यरत करिव एक÷डेढ लाख प्राविधिकहरु, जो अप्ठ्यारोमा थिए, एक महिनासम्मको सबैको जिम्मेवारी बहन गरेर, खाना खुवाएर पुरा गरे । 

उनले गरेका कामको यो एउटा उदाहरणमात्र हो । यस्ता सामाजिक काम उनका धेरै छन् । उनी त्यहाँको चलचित्र क्षेत्र र चलचित्रकर्मीका लागि मर्दा र पर्दाका सहयोगी हुन सफल छन् । 

नेपालको हकमा महानायकको उपाधि एउटा टेलिभिजन कार्यक्रम चलाउने ब्यक्तिले दिएको पाइन्छ । उहाँ कसैलाई महानायक, कसैलाई सुपरस्टार लगायतका उपाधि दिने मानिस हो भने मलाई थाहा भएन । 

एउटा सर्वेेक्षणबाट प्रक्रिया पु-याएर दिएको पदको महत्व छुट्टै हुन्छ । त्यही अनुसार दर्शकले पनि स्वीकार गरेको हुनुपर्छ । महानायक मात्र होइन, हाम्रो चलचित्र क्षेत्रमा  सदावहार, मेघास्टारलगायत थुप्रै उपाधि प्रचलित छ, त्यो पनि हल्काफुल्का तरिकाबाट थमाइएका र थापिएका उपाधि हुन् यी ।

जतिबेला राजेश हमाललाई महानायकको उपाधि दिइयो । त्यो समय सर्वेक्षण गरेको भए निश्चय नै राजेश नै महानायक हुन्थे होला । त्यो समय राजेशको चर्चा थियो, फिल्म चल्थ्यो, राजेश छ भनेपछि दर्शक हलसम्म धाउँथे । उनको चलचित्रको निर्माता डुब्दैनथे ।

अर्काे कुरो, महानायक भनेको सम्मानजनक उपाधि पनि हो । जसरी मदनकृष्ण श्रेष्ठ र हरिबंश दाईलाई दर्शकले ‘महजोडी’को उपाधि दिएका छन् । त्यो अनुसार उहाँहरुले काम गरेको पनि देखिन्छ । जोडीको रुपमा कलाक्षेत्रका  जुनै विधामा पनि उहाँहरु एकसाथ हुनुहन्छ ।

त्यस्तै, हरेक सामाजिक काममा उहाँहरु जोडिने गर्नु भएको छ । कलाक्षेत्रमा आपतबिपत पर्दा पनि उहाँहरु अघि सरेको देखिन्छ । उहाँहरु कलाक्षेत्रका लागि मर्दा र पर्दाको सहयोगी साबित हुनुभएको छ । 

हुन त यस्ता उपाधिमा मलाई विश्वास छैन । हामी कलाकार हौँ । कला देखाएर दर्शकको मन जित्नुपर्छ । आफुले निर्वाह गरेको भूमिकाबाट चिनिनु भनेको झन् ठुलो पुरस्कार हो जस्तो मलाई लाग्छ ।

चलचित्र क्षेत्रलाई एकसमय चलायमान गराउने कलाकार राजेश हमाल हुन् । उनको त्यो योगदानको कदर हामीले गर्नैपर्छ । एक ब्यक्तिले महानायकको उपाधि दियो, दर्शकले पनि स्वीका¥यो भने पनि उपाधि पाउने ब्यक्तिको केही दायित्व भने हुन्छ । अहिले कोरोनाको महामारी छ । धेरै फिल्मक्षेत्रका धेरै ब्यक्ति अप्ठ्यारोमा छन् । ‘महानायक’ले यस्तै बेलामा आफुलाई क्रियाशील राखेर उपाधिको गरिमा बचाउने हो ।

महानायकले कोही चलचित्रकर्मी अप्ठ्यारोमा छन् भने त्यसको सहयोगी बन्न सक्नुपर्छ । केही चलचित्रकर्मी बिरामी पर्दा, मृत्यु हुँदा उपस्थिति देखिनुपर्छ । आफुभन्दा सिनियरलाई सम्मान र जुनियरलाई माया देखाउन जान्नुपर्छ भन्ने मेरो धारणा हो । कोरोनाको कहरमा पिठ्युँमा बच्चा बोकेर महिला दिदीबहिनी कयौँ किलोमिटर बाटो भोकै हिँडेको नदेख्ने महानायक हो कि होइन ? दर्शकले महानायक बनाएको हो कि होइन ? मेरो प्रश्न यही हो ।

महानायक भन्ने कुरामा पहिलादेखि नै विवाद छ
शान्ति प्रिय (वरिष्ठ रंगपत्रकार)

चलचित्र अभिनयमा लागेर आफ्नो नायकत्व देखाउँदै, सफलता पछ्याउँदै, व्यावसायिक चलचित्र उद्योगलाई लामो समय योगदान गरेको ब्यक्तिलाई ‘महानायक’ त भन्न सकिन्छ ।  

राजेश हमाल महानायक हो भन्ने विषयमा भने धेरै विवादहरु भए । राजेश धेरै व्यावसायिक चलचित्र खेलेका ब्यक्ति अवश्य हुन् । उनी कुनै बेला फिल्मको सानोतिनो भूमिकादेखि मेजर भूमिकासम्ममा देखिन्थे । उनी महानायक हुन् कि होइनन् ? कसरी महानायक ? भन्ने कुरोमा पहिलेदेखि अहिलेसम्म विवाद नै छ । त्यसैले हामीले हो÷ होइन भन्नेभन्दा पनि पब्लिकले कसरी लिन्छ भन्नेमा ध्यान दिनु जरुरी छ ।

राजेशका व्यावसायिक चलचित्र छन् । तर, राम्रा छैनन् । त्यो राजेशको कमजोर पाटो हो । उनका सम्झनायोग्य केही चलचित्र छैनन् ।

‘महानायक’को मापदण्ड यही हो, यस्तो हुनुपर्छ भन्ने छैन । एक ब्यक्तिले लहडमा दिएको उपाधि हो राजेश हमाललाई ‘महानायक’ । मेरो बिचारमा एउटा महानायकले जीवनको अन्तसम्म पनि चलचित्र क्षेत्रमा केही न केही क्रियाकलाप गरेकै हुनुपर्छ । चाहे त्यो अभिनय, निर्माण होस् या अन्य ।

राजेश हमाल एकसमयमा ‘सुपरस्टार’ हुन् । सुपरस्टार हिट फिल्म दिनेलाई भन्ने गरिन्छ । राजेशको यो योगदान देखिन्छ । राजेश अहिले फिल्म क्षेत्रमा क्रियाशील छैनन् ।

राजेशलाई ‘महानायक’ एक ब्यक्तिले एक कार्यक्रममार्फत दिएका हुन् । सबैले महानायक भन्नुपर्छ भन्ने जरुरी त छैन । पब्लिकले त्यो रुपमा लिएका छन् कि छैनन् भन्ने महत्वपुर्ण पक्ष हो । 

राज्यस्तरबाट वा चलचित्र क्षेत्रको सर्वोच्च संस्था विकास बोर्डबाट यस्तो सम्मान दिइएको भए अकाट्य हुन्थ्यो । हामी लहडमा धेरै उपाधि दिने गर्दछौँ । पहिले पहिले राजा, राज्यबाट पदवी दिने चलन थियो । त्यो सबैलाई मान्य हुन्थ्यो । अहिले जो कोहीले पनि उपाधि दिने भएकोले त्यसलाई मान्यता दिने÷नदिने, आफुले त्यो उपाधिमा गर्व गर्ने÷नगर्ने, ब्यक्तिको बिचारमा भर पर्ने कुरो हो ।

महानायक राजेश हो भनेर आनन्दले सुत्नु राम्रो
दीपकराज गिरी (कलाकार) 

‘महानायक’ राजेश हमाल हो । उहाँलाई नै ‘महानायक’ भन्नुपर्छ । उहाँ होइन भन्नेतिर जाँदै नजाऔँ । अहिले महानायक राजेश हमाल हो भनेर आनन्दले सत्नु राम्रो हो । म अहिले यो बिषयमा चुप लागेर बसेको छु । तै पनि विवादमा तान्ने काम भएको छ । 

यो विषयमा कुनैकुरा पब्लिकले सुन्न चाहँदैनन् । त्यो भन्नुको अर्थ छैन । जुन कुरोमा पब्लिक खुसी हुन्छन्,  त्यही भन्दा राम्रो । महानायक राजेश हमाल हो, आजको मितिमा, हिजोका मितिमा र भोलिको मितिमा पनि । ब्यक्ति, राज्य वा पब्लिकले, यो उपाधि कसले दिएको हो, थाहा छैन ।

महानायकको काम, कर्तब्य र जिम्मेवारी के हो ? त्यो कसले छुट्याउने हो ? त्यो हुनु प¥यो । त्यसको जिम्मेवारी उसैले लिनु प¥यो । अहिले राजेश महानायक हैन भन्नेतिर जाँदै नजाऔँ । पब्लिक जे सुन्न चाहन्छ, हामीले अहिले त्यही भन्नुपर्छ ।

यो कार्यकारी पद पनि होइन । आलङ्कारिक पद हो । जसले जसलाई दियो, त्यही महानायक हुन्छ । यसको केही मापदण्ड भए पो यो हो वा यो होइन भन्ने । कुनै ब्यक्तिले अर्काे ब्यक्तिलाई महानायक भनिदिए ऊ पनि महानायक हुनसक्छ । सबैको यो बुझाइ छ । महानायकको काम के ? भनेर केही साथीहरुले प्रश्न उठाएका होलान् । तर महानायक राजेश हमाल नै हो भनौँ ।

राजेशलाई महानायकको उपाधि मैले दिएको हुँ
प्रकाश सुवेदी (रंगपत्रकार) 

चलचित्र सम्बन्धी कार्यक्रम ‘रजतपट’ ५०औँ भाग पुगेको उपलक्ष्यमा अभिनेता राजेश हमाललाई यो ‘महानायक’को उपाधि दिइएको हो । त्यतिबेला यो उपाधि दिँदा मैले यो कारणले दिएको भनेर भनेको थिएँ । ती कारण के थियो भन्ने मैले बिर्सिएँ । 

कान्तिपुर टिभीमा त्यो कार्यक्रम खोज्न अहिले गएको थिएँ ।  भूकम्पको कारणले यताउति परेछ, पाउन सकिनँ । मलाई याद भएसम्म एक्लै चलचित्र उद्योग १० वर्षसम्म धानेको, पार्टीगत रुपमा नलागेको, गुटबन्दीमा नफसेकोलगायतका बिषय समेटेर त्यतिबेला यो उपाधि दिइएको हो । उक्त समय अभिनेता भुवन केसीबाहेक अन्यबाट विरोधको आएन ।

अहिले आएर महानायक कसलाई भन्ने भनेर प्रश्न उठेको छ । मेरो बिचारमा पनि यो बिषयमा बहस हुनु जरुरी छ ।

सुपरस्टार, स्टारलगायतको सबै उपाधिको मेन बिन्दु चलचित्रको ब्यवसाय भन्ने मेरो बिचार हो । राजेश हमालले दश वर्षसम्म चलचित्र क्षेत्रमा धेरै फिल्म खेलका छन् । सानो तथा ठुलो फिल्मलाई एउटै माया दिएर खेलेका छन् । उनको योगदानको मापन यस्ता उपाधि हुन् ।

एक समय राजेश हमाल बिना फिल्म चल्दैनथ्यो । त्यतिबेला पोष्टरमा उनको टाउकोमात्र राख्न सक्यो भने दर्शक हलमा आउँथे । त्यतिबेलाको उनको ब्यवहार पनि हेरिएको थियो जस्तो मलाई लाग्छ । 
अहिलेको समय राजेश हमाललाई ‘महानायक’ भन्न मिल्छ वा मिल्दैन ? यो बहसको विषय हो ।  

राजेशभन्दा अगाडिदेखि अहिलेसम्म पनि भुवन केसी दाइले चलचित्र क्षेत्रमा दिएको योगदान अन्यको भन्दा माथि छ । तर, समय समय उहाँको विषयमा आएका केही विवाद बढी हावी छन् । उहाँको राम्रो कुरा विवादले छेकिदियो । राजेश हमालको फिल्मको एकसमय राम्रो व्यवसाय हुन्थ्यो । त्यो हिसावले ‘महानायक’ भन्ने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप