शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेरीगाउँ–हाँसिवाङ खण्ड कालोपत्रेको काम शुरु

बुधबार, २४ असार २०७७, १४ : ०६
बुधबार, २४ असार २०७७

रुकुम पश्चिम । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको रुकुम(पश्चिम) खण्डमा कालोपत्रेको काम शुरु भएको छ । जिल्ला समन्वय समितका प्रमुख राजकुमार शर्माले शेरीगाउँ–हाँसिवाङ सडकखण्ड कालोपत्रेको काम उद्घाटन गरेका हुन् ।

अन्य खण्डमा धमाधम कालोपत्रेको काम भइरहँदा जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका –५ शेरीगाउँदेखि सानीभेरी गाउँपालिकाको हाँसिवाङ खण्डमा काम हुन सकेको थिएन ।  अन्य खण्डका तुलनामा निकै ढिलो गरी ठेक्का लागेपछि आजदेखि सो खण्डमा कालोपत्रेको काम शुरु भएको हो ।

बाह्र किलोमिटर लामो सो खण्डको कालोपत्रेको जिम्मा दिवा–यती जेभीले पाएको छ । गत जेठ २८ गते सम्झौता भएकामा आजदेखि काम शुरु भएको हो । रु ४४ करोड नौ लाख दुई हजार २९८ र पैसा ७६ मा सम्झौता भएअनुसार सो खण्ड कालोपत्रेको काम २०७९  मङ्सिर २७ गते अर्थात् ३० महिनामा सक्नुपर्ने प्रावधान छ । डबल कटिङ, वाल, ग्याबिन वाल, नालीसहित सडक कालोपत्रे गरिने निर्माण कम्पनीका साइट सुपरभाइजर हीरालाल केसीले जानकारी दिए । 

उनका अनुसार सडकको कुल लम्बाइ १२ किमी र चौडाइ नौ मिटर हुने छ भने साढे ७ मिटर कालोपत्रे गरिने छ । डेढ मिटर भने नाली र वालले ओगट्ने सुपरभाइजर केसीले बताए ।  जिल्लामा विभिन्न खण्डमा विभाजन गरेर मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम भइरहेको छ । केही खण्डमा कालोपत्रेको काम सकिएको छ भने केहीको अन्तिम चरणमा  छ । साविकको सिङ्गो रुकुम जिल्लामा कुल आठ खण्ड रहेकामा रुकुम९पश्चिम०मा पाँच खण्ड पर्छन् । सोमध्ये मुसीकोट नगरपालिकाभित्र पर्ने शीतलपोखरी–बैरीदह खण्डमा कालोपत्रेको काम सकिसकेको छ । अन्य तीन खण्डमा  काम चलिरहेको छ । 

जिल्लामा पर्ने सबैभन्दा अप्ठ्यारो खण्डका रुपमा रहेको शेरीगाउँ–हाँसिवाङ खण्डमा कालोपत्रेको काम शुरु नहुँदा सवारी साधनसहित नागरिकले सास्ती भोग्दै आएका छन् । सो खण्डमा पर्ने मुसीकोट नगरपालिका –३ खरखरेमा वर्षामा पहिरो झर्ने तथा हिउँदमा ढुङ्गा र गिट्टीले सवारी साधनसहित नागरिकलाई आवतजावतमा ठूलो समस्या पर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप