शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बूढिनन्दा नगरपालिकामा टोल टोलमै पढाइ सुरु

बुधबार, २४ असार २०७७, १२ : ५४
बुधबार, २४ असार २०७७

बाजुरा । कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढिनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरु गरिएको छ । नगरपालिका–२ को कोल्टीमा रहेको बूढिनन्दा आधारभूत विद्यालयले टोलमै शिक्षक पठाएर पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक विर्जनबहादुर शाहीले बताए । 

लामो समयको लकडाउनले विद्यालय सञ्चालनमा आउन नसकेका कारण विद्यार्थीको सिकाइमा निरन्तरता दिनका लागि टोल–टोलमा गएर पढाइ शुरु गरेको प्रअ शाहीको भनाइ थियो । असार २ गते सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको थियो । कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा १६५ जना विद्यार्थी यो वर्ष भर्ना भएर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा सात शिक्षक र एक कर्मचारी छन् । सबै आठ जनालाई नै टोलमा परिचालन गरेर पढाइ शुरु गरेको विद्यालयले जनाएको छ । विद्यालय सेवा क्षेत्रभित्रका आठ बस्तीमा पढाइ सञ्चालन गरिएको छ । प्रत्येक बस्तीमा एक एक शिक्षक पुगेर सहजीकरण तथा पढाइ शुरु भएको छ । 

पहिलो चरणमा अभिभावकसहित भेला गराएर अहिले विश्वभरमा फैलिरहेको कोरोना भाइरसपछि विद्यार्थीमा परेको प्रभावका बारेमा सहजीकरण गर्ने गरिएको छ ।   बालविकास केन्द्रदेखि ५ कक्षा सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर पढाइ शुरु गरिएको छ । शहरबस्तीमा नै आएर छोराछोरीको अवस्थाका बारेमा जानकारीका साथै टोलमा भएका सबै विद्यार्थीलाई भेला गराएर सहजीकरण गर्ने गरेको अभिभावक मदन रोकायाले बताए । पहिलो चरणमा टोलमा अनुगमन तथा विद्यार्थीको अवस्थाको बारेमा जानकारी गर्ने, सिकाइमा सहजीकरण र अप्ठयारोमा सहयोग गर्ने रहेको छ ।

त्यस्तै कोभिड १९–ले पारेको सङ्कटका बेला निःशुल्क मनोसामाजिक परामर्श दिने गरेको शिक्षकले बताएका छन् । टोलमा पुगेर पढाइसँगै लेखनसीप सम्बन्धी कला, नियमित हात धुने बानीको विकास तथा सरसफाइ, आत्माबल बढाउने सम्बन्धी जानकारी गर्ने रहेको विद्यालयले जनाएको छ । शिक्षक नै टोलमा पुगेर विद्यार्थीलाई टोलमै पढाउने गरको यो बाजुराको पहिलो विद्यालय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप