शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा विवाद : बैठकबाट किन डराउँछन् ओली ?

चौथो दिनको ‘वान टु वान’ चार बजे
बुधबार, २४ असार २०७७, १२ : ४९
बुधबार, २४ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार चौथो दिनपनि सघन वार्ता हुँदैछ । 

यसअघि आइतबारयता ओली र प्रचण्डबीच निरन्तर वार्ता भइरहेको छ । दैनिक तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भएपनि सहमतिको बिन्दु भने पहिचान हुन सकेको छैन । 

ओलीको राजीनामा अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताको बटमलाइन छ भने राजीनामा बाहेकमा मात्र छलफल गर्न सकिने ओलीको अडान छ । दुवै पक्षको यो अडानका कारण नेकपामा ‘टकराव’ बढ्दै गएको छ । 

जसका कारण असार १८ पछि  स्थायी कमिटी बैठक नै बस्न सकेको छैन । अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ । 

मंगलबार दुई नेताबीच भएको वार्तामा बुधबारको स्थायी समिति बैठक सञ्चालन गर्ने र त्यसअघि दुई नेतावीच वार्ता गर्ने सहमति भएको थियो । तर ११ बजेका लागि तय भएको स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच नै वार्ता हुन नसकेपछि स्थगित गर्दै दुई अध्यक्षको वार्ता अपरान्ह चार बजेलाई तय गरिएको हो । नेकपाको हेडक्वार्टर मानिने नौ सदस्यीय सचिवालय सदस्यमध्ये ६ जना ओलीको राजीनामा माग्ने छन् । त्यस्तै ४५ सदस्यीय स्थायी समितिमध्ये ३२ जना राजीनामाको पक्षमा छन् ।  

बैठकबाट किन डराउँछन् ओली ? 
सचिवालय र स्थायी समिति दुवै कमिटीमा अल्पमतमा परेका ओली सकभर बैठक नै टार्ने पक्षमा छन् । बैठकले निर्णय गर्दा ओलीको राजीनामाको पक्षमा बहुमत पुग्छ । यसो हुँदा त्यो अवस्था आउन नदिन ओलीले बैठक टार्ने प्रयास गरिरहेको प्रचण्ड–नेपाल समूहको विश्लेषण छ । 

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार ‘भरसक स्थायी कमिटी बैठक नै नबसे हुन्थ्यो’ भन्ने उहाँ (ओलीको) चाहना छ । 

‘प्रधानमन्त्री ओलीको चाहना अझै पनि स्थायी कमिटीको बैठक स्थगित होस् र केही निर्णय गर्नुपरे सचिवालयबाट गरेर अघि बढ्न पाए हुन्थ्यो भन्ने नै छ । उहाँले त्यसैअनुसार आफ्नो कुरा प्रचण्डसँग पनि राखेको बुझिएको छ । तर प्रचण्डले जारी बैठक त्यतिकै स्थगित गर्न नमिल्ने जवाफ दिएको बुझिन्छ ।’

आफ्नो कुरा राख्ने अरुको नसुन्ने 
नेकपाका २० जना नेताहरुले गत बैशाख महिनामै स्थायी समिति बैठक माग गरेका थिए । 

नेताहरुको मागपछि २५ बैशाखमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित भयो । पुनः वैशाख ३१ मा डाकिएको बैठक पनि कोरोना कारण भन्दै स्थगित भएको थियो । त्यसपछि असार १० गतेबाट शुरु भएको स्थायी कमिटीको बैठकको सुरुकै दिन प्रधानमन्त्री ओलीको चर्को आलोचना भयो । पहिलो दिन बैठकमा उपस्थित भएर धारणा राखेका ओली दोस्रो दिन १२ गतेको बैठकमा उपस्थित नै भएनन् । 

आफ्नो स्वास्थ्यको कारण देखाउँदै उनी अनुपस्थित भएपछि बैठकमै उनको आलोचना भएको थियो । ‘आफ्नो कुरा राख्ने तर अरुको कुरा नसुन्ने’ भन्दै आलोचना भएपछि ओली थप चिढिन पुगेका थिए । त्यसपछि अर्को दिनको बैठकमा उनी एकछिन बसेर बाहिरिएका थिए । 

असार १४ पछि भाँडभैलो 
पार्टीभित्रको विवाद मिलिनसकेकै बेला असार १४ गते मदन जयन्तीको अवसरमा प्रम ओलीले दिएको अभिव्यक्तिले अर्को तरंग ल्यायो । जुन अभिव्यक्तिले स्थायी कमिटीमा भाँडभैलो भयो । कार्यसूची अनुसार बैठकमा छलफल भएपनि ओलीको अभिव्यक्तिपछि पुन कार्यसूची फेरवदल भयो । मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालका नेताहरुले चलखेल गरिरहेको आरोप लगाएका थिए । 

१५ गते बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिका बारेमा अध्यक्ष प्रचण्डले स्पष्टीकरण मागेका थिए । ‘तपाइँसँग भारतले होइन, मैले नै राजीनामा मागे हुँ, तपाईँले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजिनामा दिनुपर्छ’ प्रचण्डले स्थायी कमिटीको बैठकमा भनेका थिए । प्रचण्ड त्यतिमा मात्रै रोकिएनन, ‘ राजीनामाको विषय पहिलेबाटै उठेको हो तर तपाइँले अहिले आएर भारतलाई दोष देखाएर आफ्नो जवाफदेहीबाट उम्किने प्रयास गर्नुभएको हो’, प्रचण्डले बैठकमा ओलीलाई भनेका थिए । त्यसैबेला निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको थियो । बैठकमा नेताहरुले नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा परेको निवेदनका बारेमा समेत ओलीलाई प्रश्न गरिएको थियो । 

जवाफमा ओलीले एमाले पार्टी कसले र किन दर्ता गराएको भन्ने आफुलाई सरोकार नभएको र आफु नेकपाकै अध्यक्ष रहेको बताएका थिए । उनले मदन जयन्तीका दिन दिएको अभिव्यक्तिको भने कुनै प्रतिकृया दिएका थिएनन् । 
बरु ओलीले त्यस दिनपनि पुरानै कुरा जुन सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै सरकारलाई पार्टीले सहयोग नगरेको र पार्टीका नेताहरुले पनि विपक्षीले जस्तै व्यवहार गरेको गुनासो गरेका थिए । उक्त दिन आफ्नो धारणा राखेर बैठक छाडेका ओलीको त्यसदिन पनि आलोचना भयो ।

एकपछि अर्को विवाद 
विवाद साम्य भएको थिएन । असार १८ गते मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्यो । बालुवाटारमै एकातिर स्थायी कमिटीको बैठक र अर्कोतिर मन्त्रिपरिषद बैठक बसेर उक्त निर्णय गरिएको थियो । अघिल्लो दिनमात्रै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल हुँदा सदन स्थगित नगर्ने तथा कुनै अध्यादेश पनि नल्याउने सहमति भएपनि ओलीले प्रचण्डलाई समेत झुक्याएर संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गराएका थिए । ओलीको यो व्यवहारपछि नेताहरु थप आश्चर्यचकित बन्न पुगेका थिए । पार्टी बैठक बस्दाबस्दै प्रधानमन्त्रीले फटाफट यस्ता निर्णय गर्न थालेपछि उनी बैठकबाट डराएको र बैठक नै प्रभावित गर्न लागिपरेको भन्दै नेताहरुले विरोध गरे । 

त्यसपछि स्थायी समिति केहीबेर स्थगित गरेर ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । 

ओलीसँगको भेटपछि त्यसैदिन राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रचण्ड फर्केर बालुवाटार आएपछि बैठक २० गते बस्नेगरी स्थगित गरियो । तर २० पछि बस्न नसकेको बैठक २२,२४ हुदै २६ गतेसम्मलाई स्थगित भैसकेको छ । 

लगातार वार्ता उपलब्धि शून्य 
विवाद उत्कर्षमा पुगेपति स्थायी समिति बैठक स्थगित गरेर ओली प्रचण्डबीच गत आइतबारयता लगातार ३ दिन वार्ता भइसकेको छ । आज बुधबार उनीहरुबीच चौथो दिन वार्ता हुँदैछ । तर समस्या २० को १९ भएको छैन । एक जना स्थायी समिति सदस्य भन्छन्, ‘ प्रचण्डसँगको हरेक छलफलमा प्रधानमन्त्रीज्युले स्थायी कमिटीको बैठक अराजक भयो, नेताहरुको बोल्ने शैली भएन, त्यसलाई नियन्त्रण गर्नुपर्छ । बैठकको अध्यक्षता तपाइँले गर्नुहुन्छ, बैठकमा चाहियो नचाहिँदो कुराहरु भइरहेका हुन्छन् त्यसले बाहिर राम्रो सन्देश नगएको पनि गुनासो गर्नुहुन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप