शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

बुधबार, २४ असार २०७७, १२ : ०८
बुधबार, २४ असार २०७७

कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । 

सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान शुरु भएको टीकापुर–८ श्रीलङ्काका नागरिक पानी पर्दा चिन्तित हुन्छन् । “नदीले कटान तीव्र पारेको छ । नदीले धार परिवर्तन गरेर जमीनमा बगिरहेको छ”, स्थानीय झपट बुढाले भने, “पानी पर्दा बाढी आउने डरले सुत्दैनौँ ।”
 
सोमबार रातिदेखि निरन्तर वर्षा भएपछि कर्णाली नदीमा पानीको बहावसमेत बढेको छ । कर्णाली नदीले कटान शुरु गर्न थालेपछि श्रीलङ्कावासी रातभर निदाउन सक्दैनन् । “पानी परेको बेला नदीको सतह बढ्ने र बाढी गाउँ पस्ने डरले निदाउन सक्दैनौँ”, स्थानीय शिक्षक पदम बुढाले भने, “पानी धेरै परेको दिन हामी सुत्दै सक्दैनौँ, अग्लो ठाउँमा गएर रातभर बसिराख्छौँ । वर्षायाम त्रासमै बित्छ । वर्षा भइरहेको दिन ध्यान नदीतिरै हुन्छ ।”
 
पहाडी क्षेत्रमा पानी परेपछि नदीमा पानीको सतह बढ्ने र कटान शुरु हुन्छ । यहाँ स्थानीयको सयौँ बिघा जमीन नदीमा मिसिएको छ । बर्सेनि नदी कटानले श्रीलङ्काका खड्क साउद, कालु साउद, गोपाल साउद, बलवीरे टमट्टा, डंग्ला चौधरी र दीपेन्द्र भण्डारीसहित दर्जनौँ किसानको सयौँ बिघा जमीन नदीमा मिसिएको छ । 
“नदीले बर्सेनि २० बिघाभन्दा बढी जमीन कटान गर्छ । साविक धनसिंहपुर गाविसको वडा नं १ पूरै कटान भएर नदी बगिरहेको छ”, कालु साउदले भने, “पछिल्ला तीन वर्षमा मात्रै हजार बिघाजति जमीन कटान भएको छ ।”

नदी कटानले यहाँको खेतीका लागि उर्वरभूमि बालुवामा परिणत हुँदै गएको छ । 
कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ तटबन्ध निर्माण गरेपछि कैलालीतर्फ नदीको कटान तीव्र भएको हो । यहाँ विसं २०६० बाट नदीले कटान शुरु गरेको हो, तर पछिल्लो तीन वर्षयता कटान तीव्र छ । नदीले कटान तीव्र पारेपछि यहाँका स्थानीयवासीले स्थानीय तहदेखि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै सङ्घीय सरकारसँग पटक–पटक गुहार मागे पनि दीर्घकालीन समाधान नभएको उनीहरुको गुनासो छ ।
 । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप