मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आफन्तले मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका बिरामी निको भएर फर्किए

बुधबार, २४ असार २०७७, ०७ : १२
बुधबार, २४ असार २०७७

उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु”, उनले भने  ।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गर्नुभयो । अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए । उनले भने, “तोडफोडमा मेरो संलग्नता थिएन ।” आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले बताए । एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो ।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए । यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उनले जानकारी दिए ।

अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उनले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप