शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरिता गिरीले भनिन्- पार्टीले गरेको कारवाही वैधानिक होइन, म सर्वोच्च अदालत जान्छु

मङ्गलबार, २३ असार २०७७, १९ : ४२
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । समाजवादी पार्टीले कारवाही गरेकी सरिता गिरीले पार्टीको सो कदमविरुद्ध अदालत जाने प्रतिकृया दिएकी छिन् ।  पार्टीले आज गरेको निर्णय वैधानिक नरहेको भन्दै सांसद गिरीले त्यसको विरुद्धमा आफू भोलि नै अदालत जाने बताइन् । आफू अदालत जाने तयारी गरिरहेको र भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने उनले बताइन् ।

आफूलाई कारवाही गरेको विषय संघीय कानुन विपरित र संसदीय दलको विधानको धारा २६ विपरित रहेको पनि उनले दावी गरिन् । कुनै पनि सांसदलाई कारवाही गर्न संसदबाट निर्णय हुनुपर्ने दाबी गर्दै उनले संसदले सिफारिश गरेको आधारमा पार्टीको केन्द्रीय समितिले मात्र कारवाही गर्न सक्ने प्रष्ट पारिन् । ‘राजपा नेपालसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनिसकेको छ । केन्द्रीय समिति भंग भइसकेको छ । अन्य सबै गतिविधिहरु जनता समाजवादी पार्टीको तर्फबाट गरिएको छ तर मेरो बारेमा निर्णय गर्नका लागि मात्र समाजवादी पार्टीलाई क्रियाशील गरिएको छ’ उनले भनिन् ।

निर्वाचन आयोगमा पनि समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइसकेको लिखित जानकारी गराइएको र दुवै पार्टीको केन्द्रीय समिति पनि भंग भएको भनिएको बताउँदै उनले कुन समाजवादी पार्टीले आफूलाई कारवाही गरेको भन्दै प्रश्न समेत गरिन् । समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको थियो ।

फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप