शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोराना महामारीको मारमा परेका किसानलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग

मङ्गलबार, २३ असार २०७७, १६ : ५५
मङ्गलबार, २३ असार २०७७

बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्दै आएको दावी गर्ने बुटवल उपमहानगरपालिकाले कोराना महामारीको मारमा परेका किसानलाई आर्थिक प्रोत्साहन कार्यक्रम शुरु गरेको छ । शहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्रदान गरेको हो ।

नगरपालिकाले घोषणा गरेको कार्यक्रमअनुसार ५८ जना किसान र दुईवटा सहकारी समूह गरी कूल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । मंगलबार बुटवल उपमहानगरापलिकामा एक विशेष कार्यक्रम आयोजना गरी नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मालागयतले छनौट भएका किसानहरुलाई चेक प्रदान गरेका थिए ।

किसानलाई प्रोत्साहन रकमको चेक हस्तान्तरणपछि बोल्दै  उपमहानगरपालिका प्रमुख सुवेदीले किसानहरु लाईकुनै पनि विपत्तिमा प्रभावित हुन नदिनको लागि नगरपालिकाले आफ्नो योजनाअनुसार सहयोग गरिएको बताए । उपमहानगरले कृषि पेशालाई आकर्षणको पेशा बनाउन दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गर्न थालेको समेत उनले बताए ।

कोभिड–१९ विशेष कृषि कार्यक्रम (विदेशबाट फर्केका र व्यवसायउन्मूख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम) तर्फ छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरुलाई स्वीकृत कार्यक्रमअनुसार  प्रोत्साहन अनुदान रकम प्रदान गरिएको हो ।

बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीकाअनुसार छनौट भएका किसानहरुलाई कार्य प्रगतिअनुसार १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ र सहकारीहरुलाई १ लाख देखि १ लाख ४० हजार सम्म नगद अनुदान प्रदान गरिएको हो ।

उपमहानगरपालिकाले कूल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको छ । सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमेटेडलाई क्रमशः १ लाख ४० हजार र १ लाख रुपैयाँ प्रदान गरिएको छ ।
यिनै सहकारीको सहकार्यमा बुटवलले किसानलाई फसल धितो राखेर अनुदान दिँदै आएको छ । फसल धितो राखेर अनुदान दिने स्थानीय तहमा बुटवल नै पहिलो हो । धान खेतीका लागि बोरासहितको छपाई मेसिन र सीड ड्रिल मेसिन खरिदको लागि अनुदान प्रदान गरिएको हो ।

कोभिड–१९ विशेष कृषि कार्यक्रम (बाली उत्पादन र उत्पादकत्व बृद्धि) का लागि बीउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रोत्साहन अनुदान रकम प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीको भनाई छ ।
जैविक मल, मल्चिङ्ख, थोपा सिञ्चाई, प्लाष्टिक नर्सरी (घर स्थापना), मल्चिङ्ख, ग्रिननेट, स्पेयर, टनेल, बीउवीजन, जैविक र रसायनिक मल, कालो रोल प्लाष्टिक, ट्राली, पराल, मिनिटिलर, सुपर, आधार चाका, दाना खुवाउने मेसिन, फ्रेम, पोल, जैविक मल, मल्चिङ्ख, तार, मल्चिङ्ख, स्थायी फलामे खम्बा, सिमेन्ट, स्पेयरको लागि आवश्यक पर्ने सामान लगायतका कार्यको  लागि बुटवलले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप