शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डको ‘वान टु वान’ : विषयवस्तु एकातिर, छलफल अर्कोतिर

मङ्गलबार, २३ असार २०७७, १५ : ३३
मङ्गलबार, २३ असार २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सङ्कट मोचनका लागि नेताहरु आपसी संवादमा जुटेका छन् । त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबारबाट ‘वान टु वान’ वार्तामा जुटेपछि पार्टीभित्रको किचलो साम्य हुने तल्लो तहका नेता, कार्यकर्तामा केही आशा पलाएको छ । 

सुरुका दिनमा दोस्रो तहका नेताहरुलाई समेत वार्तामा सहभागी गराएका ओली–प्रचण्डले त्यसबाट ठोस निष्कर्ष नआउने देखेपछि दुई जनाबीचमै सघन वार्तालाई जोड दिएका हुन् ।

सोमबार र मङ्गलबार दुई दिन भएको ओली र प्रचण्डबीचको वार्तापछि हामीले सो पार्टीका तेस्रो पुस्ताका नेताहरुलाई विवाद समाधानका लागि दुई अध्यक्षको ‘वान टु वान’ कति प्रभावकारी होला ? विवाद समाधानका लागि सहमतिको विन्दु के हुनसक्ला ? साथै नेकपामा विवाद आउनुमा वैचारिक, सैद्धान्तिक वा बाह्य केही कारण पो छन् कि ? भनेर सोधेका छौँ । 

हाम्रो प्रश्नमा यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, रामप्रसाद सापकोटा ‘दीपशिखा’ र ठाकुर गैरेको भनाइ जस्ताको तस्तै पाठकसामु पस्केका छौँ । 

वान टु वानको निष्कर्ष दुई नेतामा सीमित हुनुहुँदैन  
यज्ञराज सुनुवार, केन्द्रीय सदस्य, नेकपा


– नेपाल कम्युनिस्ट पार्टीको निर्माण निकै लामो र भगीरथ प्रयासपछि भएको हो । त्यसक्रममा २०७४ सायता नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र वैचारिक रूपमा संश्लेषण गर्ने जुन प्रक्रिया आरम्भ भयो यसले केवल नेपाललाई मात्रै होइन संसारलाई नै चकित बनायो । यसमा सकारात्मक पहल कदमी लिने हिजोका फरक कार्यनीतिका आधारमा अघि बढेका दुई कम्युनिस्ट पार्टीको एकतामा दुई नेताले प्रदान गर्नुभएको छ । यो नेपाली कम्युनिस्ट आन्दोलनमा अत्यन्तै महत्त्वपूर्ण योगदान हो । यसक्रममा केही विषयमा देखिएका विवाद मिलाउन नेताहरुबीचमा यस्ता वार्ता हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ । आजको जटिल अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने कुरामा पनि नेताहरु सहमत हुनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ । यसले केवल नेता र कार्यकर्ताको मात्रै होइन देश र दुनियाँको ध्यान तानेको छ । यस्तो बेला एकीकृत कम्युनिस्ट पार्टीलाई बचाउने कुरा महत्त्वपूर्ण कुरा भएकाले वान टु वान वार्तालाई पनि सकारात्मक रुपमा लिनुपर्छ । तर उहाँहरुले निकालेका निष्कर्ष उहाँहरुबीचमा मात्रै सीमित हुनुहुँदैन । त्यो सहमति संस्थागत हुनुपर्छ पार्टी कमिटीमा अनुमोदन गर्नुपर्छ । त्यसोभयो भने मात्रै त्यो सहमतिको स्वामित्व पार्टी र सबै नेता कार्यकर्तामा जान्छ । 

–यो पार्टी कुनै एक व्यक्तिको चामत्कारिक योगदानका आधारमा निर्माण भएको होइन । यो पार्टी निर्माणमा सयौँ नेताहरुको सिर्जनात्मक सोच र योगदान छ । लाखौँ कार्यकर्ताको पसिना बगेको छ । हजारौँ सहिदहरुको रगत बगेको छ । पार्टी निर्माणमा सबैको आआफ्नो ठाउँबाट योगदान भएका कारणले सबै नेताहरुलाई हामीले भन्ने गरेका छौँ कि आपसमा फुट ल्याउने, एकले अर्कोलाई गाली गर्ने शैली हुर्काउन खोजिएको छ, त्यो एउटा अनुशासित कम्युनिस्ट पार्टीमा हुनै सक्दैन । त्यस प्रवृत्तिलाई अविलम्ब बन्द गर्नुपर्छ । आरोप प्रत्यारोपको शैली बन्द हुनुपर्यो, संस्थागत रुपमा पार्टीमा निर्णय र छलफल गर्ने वातावरण बन्नुपर्छ । कम्युनिस्ट पार्टी फुटाउनतिर लाग्ने धेरै छन् तर जुटाउन हामी आफै लाग्नुपर्छ । त्यसकारण सहमतिको विन्दु पहिचानका क्रममा कसैले त्याग गर्नुपरेमा त्यो गर्न पनि तयार हुनुपर्छ । त्यसकारण कम्युनिस्ट पार्टी निर्माणका लागि नयाँ उचाइमा सन्देश जानेगरी सहमतिको विन्दु पहिचान गर्नुपर्छ । किनभने एकताबद्ध पार्टीले नै समृद्ध नेपाल सुखी नेपालीको चाहाना पूरा गर्न सक्छ भनेर त्यसै दिशामा अघि बढ्न सक्नुपर्छ । त्यसक्रममा नेताहरु बसेर जे निष्कर्ष निकाल्नुहुन्छ त्यसलाई हिजो पनि कार्यकर्ताले मानेका हुन् र आज पनि मान्न तयार छन् ।

– कतिपय सरकार सञ्चालनमा कमजोरी भएको होला, कतिपय स्थानमा सरकार सञ्चालनमा पनि कमजोरी होलान् । तर पार्टी एकता प्रक्रिया लम्बिँदै जानु र कोलम्बसले अमेरिका पत्ता लगाउनजस्तै समय लागेका समस्या देखिएका छन् । यी तमाम कुरामा नेतृत्व गम्भीर हुनुपर्छ । पार्टी एकताको काम चाँडो सक्नुपर्छ । त्यसका लागि विभाजित मनस्थितिको पार्टी होइन, एकताबद्ध र अनुशासित कम्युनिस्ट पार्टी निर्माणमा तपाईं नेताहरु अगाडि बढ्नुस् त्यसमा कार्यकर्ताको सधैँ साथ रहन्छ । नेताहरुबाट क्षणिक आवेग र उत्तेजनामा गएर पार्टीलाई विभाजन या कार्यकर्तालाई निराश पार्ने काम हुनुहँुदैन । 

वान टु वान देश र जनता केन्द्रित हुनुपर्छ                                                                                                                                                                                                                                                   ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा 


–दुई नेताबीचको असमझदारी, अविश्वास कम गर्न र अहिलेका एजेन्डाहरुमा समान धारणा बनाउन यो वान टु वान महत्त्वपूर्ण छ र हुन्छ । तर उहाँहरुले त्यो वान टु वान बसाइलाई आफू केन्द्रित होइन, देश र जनता केन्द्रितका साथै पार्टीलाई एकताबद्ध बनाउने कोणबाट छलफल गर्नुभयो भने उपलब्धिपूर्ण हुन्छ । 

– वान टु वान मिटिङमा सहमति कायम गर्ने, वरिष्ठ नेताहरुबीचमा समझदारी कायम गरेर पार्टीको स्थायी समिति र केन्द्रीय समितिका सदस्यहरुको समेत दृष्टिकोण बुझेर अन्तिम निर्णय गर्नुपर्छ, जुन संस्थागत हुनुपर्छ । 

– यो विवाद वैचारिक होइन तर यसभित्र वैचारिक पक्ष पनि छ र त्यो महत्त्वपूर्ण पनि छ । पार्टी एकीकरण हुँदाका बेलाको द्वन्द्व कायम रहनुका साथै विगतदेखिका गुटहरुको प्रभाव पनि छ । साथै विधि र पद्धतिलाई नमान्ने प्रवृत्तिले पनि समस्या भएको हो । नेतृत्व तहमा हामी नै सबै हौँ, हामीले सबै जानेका छौँ भन्ने प्रवृत्ति र सोचाइ पनि मिसिएको छ । त्यसकारण बाहिर अरुलाई दोष दिएर हामी उम्कने ठाउँमा छौँ भन्ने म ठान्दिनँ । हामीले पार्टीलाई साँच्चै विधि, पद्धति र प्रणालीमा चलाउने हो भने बाहिरबाट हस्तक्षेप गर्ने अवस्था छ भन्ने कुरामा म सहमत छैन । 

विषयवस्तु एकातिर, छलफल अर्कोतिर                                                                                                                                                                                                                                                      रामकुमारी झाँक्री, केन्द्रीय सदस्य नेकपा


–नेताहरुबीच वान टु वान वा चारपाँच जना बसेर समस्या समाधान गर्न खोज्नु, छलफल गर्नु राम्रै कुरा हो । तर अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जुन विवाद देखिएको छ र त्यसमा सबैले चासो राखिरहेका छन्, एजेन्डा स्थायी कमिटीमा पुगेका छन् यसले विषयवस्तु एकातिर र छलफल अर्कोतिर भइरहेको मेरो बुझाइ छ ।
यस्तो कुराले समाधान दिँदैन । तर पनि नेताहरुको वान टु वान, बसाइ र संवादलाई अन्यथा भने लिन मिल्दैन । तर विषयवस्तु एकातिर छ समाधान गर्ने विधि पद्धति अर्कोतिर भयो जसले इन्गेजमेन्ट हुन्छ, समाधान निस्किँदैन । 

– पहिलो नम्बरमा पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्छ । सहमतिको विन्दु नै त्यसैमा छ । विधि र प्रक्रियामा पार्टीका सबै क्रियाकलाप  चलाउनुपर्छ । कुनै पनि विधिबाट भएका निर्णयहरु सबैले मान्ने भनेको विधिसम्मत पार्टी सञ्चालन गर्ने र त्यो विधि सबैले अपनाउनु नै समस्या समाधानको उपाय हो । व्यक्तिअनुसारको विधि र मापदण्ड बनाउने, त्यो मापदण्ड पनि आफूलाई मन लागे मान्ने नलागे नमान्ने अवस्था अन्त्य हुनुपर्छ । जुन खालको यो अराजकता, विधिहीनता पार्टीभित्र आन्तरिक लोकतन्त्रको बर्बादीको निरुपण गर्नुपर्छ र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनुपर्छ । 

– वैचारिक भनेर हामी नीति कार्यक्रम, रणनीति कार्यनीति भनेर छलफल गरिहेका छैनौँ । विचारको पाटोमा पार्टी एकतापछि बहस नै भएको छैन । तर पनि विधिसम्मत पार्टी सञ्चालन गर्ने यो अर्को विचार र राजनीतिको प्रश्न भने अवस्य हो । त्यसकारण आन्तरिक पार्टीको लोकतन्त्रलाई कसरी बलियो बनाउने ? लोकतान्त्रिक अभ्यासद्वारा पार्टी सदस्यहरुका सहमति या असहमतिलाई कसरी गति दिने ? पार्टीका सबै निर्णय प्रक्रियामा कसरी विधिसम्मत बनाउने र त्यसको पालना गर्ने कि नगर्ने भन्ने प्रश्न राजनीतिक र वैचारिक प्रश्न पनि हो । अन्तरपार्टी सङ्घर्ष सञ्चालन गर्ने विधिको प्रश्न पनि हो । यी सब कारणले यो आन्तरिक मामला हो । यो बाह्य या अरू केही भनेर भन्न हुँदैन ।     

कहिलेकाहीँ गाँठो फुक्न पनि सक्छ                                                                                                                                                                                                                                                        रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय, सदस्य नेकपा 


–वान टु वानका समस्या र सहजता दुवै पक्ष हुन्छन् । सहजताको कुरा गर्दा कुनै पनि विषय र व्यक्तिका बारेमा खुलेर कुरा हुनसक्छ । ओपन छलफल गर्दा यस्ता विधिहरु अपनाइन्छन् । यो सहज र सजिलो कुरा भयो । साथै जटिल कुरा पनि यसमा जोडिन्छन् । अहिले दुई लाइन अन्तरसङ्घर्ष  छ पार्टीमा ।

अहिलेको विवादमा बहुआयाम र बहुपक्षहरु छन् । यसमा सबभन्दा खतरनाक पक्ष भनेकै ती बहुपक्षमा आशङ्काहरु उत्पन्न र सिर्जना हुन्छन् । खासगरी दुई पक्षबीचको संवाद, सहमति र सहकार्यका लागि यो विधि उपयुक्त पनि हुनसक्छ । यस्तो विधिबाट जाँदा कहिलेकाहीँ गाठो पनि फुक्नसक्छ । तर बहुपक्षीय समस्याहरुका लागि जटिलता र आशङ्का पनि पैदा गर्न सक्छ । आशङ्काले सहजतातिर जानुको साटो अप्ठ्यारोतिर पनि जान सक्छ । त्यसकारण मेरो विचारमा थोरै वान टु वान र धेरै आवश्यक नेताहरुको बीचमा छलफल गर्नुपर्छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको वान टु वानले फाइदा र निकासतिर लगेको छैन । यस्तोमा गरिने सहमतिहरु खासगरी केपी ओलीले नमानेको देखिन्छ । त्यति मात्रै होइन उहाँले त सामूहिक निर्णयहरु नै बेलाबेलामा नमानेको पनि पाइन्छ । त्यसकारण वान टु वानमा भएका सहमतिहरु कति मान्नुहोला भनेर आशङ्का गर्ने ठाउँ छ । 

–सारमा सहमतिको विन्दु सहमत हुने नै हो । अरू छैन । पार्टी र पार्टी अध्यक्षबीचको अन्तरविरोध हो अहिले भइरहेको । किनभने सचिवालयमा नौ मा ६ जनाले प्रश्न उठाए । स्थायी समितिमा ४५ मा ३२ ले प्रश्न उठाए । केन्द्रीय समिति र तल्ला पार्टी कमिटीमा हेर्दा पनि त्यस्तै छ । अर्कोतर्फ जनता र अध्यक्षबीचको पनि अन्तरविरोध हो यो । जनता र नेकपाबीचको अन्तरविरोध होइन । त्यसकारण कि पार्टीले भनेको अध्यक्षले मान्नुपर्यो कि पार्टीलाई अध्यक्षले कन्भिन्स गर्नसक्नुपर्छ, यो बाहेक सहमतिको विन्दु छैन । 

–पार्टीभित्र अहिले देखिएको विवाद वैचारिक र सैद्धान्तिक पनि होइन । बाह्य पनि होइन । बरु प्रवृत्ति र कार्यशैलीमा देखिएको समस्या हो, अन्तरविरोध हो । विचार र सङ्गठनको मामला पनि होइन । सङ्गठनको कुरा गर्ने हो भने त एउटा अध्यक्षले अर्को अध्यक्षसँग सल्लाह गरेर सरकार चलाउने त्यसैगरी पार्टी चलाउने, पार्टीको कार्यकारी प्रचण्ड सरकारमा केपी भनिएकै छ । प्रधानमन्त्री र अध्यक्षमा जे कार्यशैली हाबी भयो त्यो पार्टीसँग मिलेन । मानिसहरुले पदीय झगडा पनि भने तर त्यो पनि होइन । किनभने प्रचण्डले ५ वर्षका लागि तपाईं सरकार चलाउनुस् भनिसक्नु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप