शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति क्षेत्रको कैलाशडाँडामा वृक्षरोपण

मङ्गलबार, २३ असार २०७७, १५ : १९
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाशडाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आज वृक्षरोपणको शुरुवात गरेका हुन् । समी, कपुर, रुद्राक्ष, असारेलगायत प्रजातिका ती बिरुवा कैलाशडाँडाको खुला स्थानमा रोपिएको हो । कोषले पर्खाल निर्माण गरी यसै वर्ष कैलाशडाँडालाई संरक्षण गरेको थियो । सो क्षेत्रलाई आकर्षक उद्यानका रुपमा विकास गर्ने सोच कोषले अघि सारेको छ ।
 
कोषले गत वर्षदेखि पशुपति क्षेत्रमा धार्मिक प्रजातिका पाँच हजार बिरुवा रोप्ने घोषणा गरी अभियान जारी राखेको छ । यसैगरी पशुपति क्षेत्रको दक्षिणतिर चक्रपथबाट छिर्ने गरी निर्माण गरिएको मुख्यद्वारको पनि मन्त्री भट्टराईले उद्घाटन गरे । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रु तीन करोडको लागतमा दक्षिणतिरको मुख्यद्वार निर्माण गरिएको हो । 

 कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिकुल परिस्थिति भए पनि सबै क्षेत्रलाई सधैँ बन्द गर्न नसकिने बताए । दूरी कायम गरेर सार्वजनिक यातायात लगायत व्यवसायसमेत सञ्चालनको तयारी भइरहेको उनको भनाई थियो । 

 मन्दिर आउने भक्तजनलाई न्यूनतम् सेवा दिने गरी अझै धेरै गर्न आवश्यक रहेकामा उनले जोड दिएका थिए । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमाझ पशुपति महत्व स्थापित गर्न कोष लाग्नुपर्नेमा पनि उनले कोषका पदाधिकारीको ध्यानाकर्षण गराए ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजधानीको केन्द्रबिन्दुमा रहेको पशुपतिमा सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न व्यावसायिक प्रतिष्ठानको रुचि बढेजस्तै देशका अन्य धार्मिक स्थलमा पनि विकेन्द्रित हुनुपर्नेमा जोड दिए ।

कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्न लागिएको बताए । विश्वभर फैलिएका धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी धार्मिक आध्यात्मिक सुन्दरस्थलका रुपमा पशुपतिको पहिचान स्थापित गर्ने अभियानमा कोष लागेको उनले सुनाए ।

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनाकरले कोषसँग साझेदारीमा अन्य कामसमेत गरिने प्रतिबद्धता जनाए । सो अवसरमा उनले पशुपति क्षेत्रको सफाइका लागि रु २५ लाख मूल्य पर्ने ब्रुमरसमेत हस्तान्तरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप