केन्द्रीय संस्करण

विदेशबाट फर्किएर स्वदेशमै उद्यममा रमाएका इलामका युवा

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

–किरण पौड्याल
इलाम । इलाम नगरपालिका–६ स्थित बालन गाउँका वुद्धिमान राईलाई घरको आर्थिक सङ्कट टार्न विदेश जानुपर्ने बाध्यता आइलाग्यो । स्वदेशमा आम्दानीको बाटो नभेटेपछि उनले विदेशको विकल्प पनि देखेनन् । 
आर्थिक अभावमा विदेश हानिएका उनले १० वर्ष कमाएको केही रकमले छोराछोरीलाई उच्च शिक्षा पढाउने धोको त पूराभयो तर विदेशबाट कमाएर ल्याएको थोरै रकम सकिएपछि फेरि पहिलेकै स्थितिमा पुगिने हो कि भन्ने त्रासले भने छोडेन । त्यसैले स्वदेशमै केही गरौँ भन्ने सोच आयो ।   

स्वदेश फर्किएर उनले व्यावसायिक पशुपालन र आधुनिक कृषि गर्ने उद्देश्यले आफ्नै बारी खनजोत गर्न थाले । त्यही भूमिमा एभोगाडो, कफी, कागती र सुन्तला लगाए । विदेशमा गरेजति दुःख घरमै गर्ने भन्दै उनले लोकल कुखुरा, बटाइ र टर्की चराको  व्यावसायिक पालन पनि थाले ।


अहिलेसम्म वुद्धिमानको लगानी उठेको त छैन तर ‘पैसा डुब्दैन’ भन्नेमा भने उनी ढुक्क छन् । करिव डेढ वर्षअघि शुरु गरेको यो व्यवसायमा उनको करिब रु १४ लाख लगानी भइसकेको छ । भौतिक संरचनादेखि विरुवा र चौपाया किन्दा ठूलो रकम खर्च भएको उनी बताउँछन् । वुद्धिमान भन्छन्–  ‘‘तर राम्रो कमाइ भयो भने एक वर्षमै यो लगानी उठाउन सक्छु भन्ने लागेको छ, आम्दानी पनि राम्रै हुन शुरु भएको छ ।’ विभिन्न संघसंस्थाबाट ऋण लिएर थालेको यो व्यवसायका लागि उनले आफ्नो बाहेक २५ रोपनी जमिन ठेक्कामा लिएका छन् ।

उनीमात्र नभएर अहिले यो काममा परिवारका पाँचै जना सदस्य खट्ने गरेको देखिन्छ । ‘‘यो व्यवसाय चक्रिय खालको छ, पशुपालनबाट मल निस्कन्छ त्यो मल बोटविरुवामा हाल्छु र बोटविरुवाको घाँस गाइवस्तुलाई हुन्छ ।’ दैनिक १२ घण्टा खट्ने गरेका वुद्धिमान आफूले नयाँ किसिमको व्यवसाय शुरु गरेको बताउँछन् । जिल्लामै नौलो रूपमा लिइएको बटाइ र टर्की चराबाट पनि राम्रै आम्दानी लिने सोचमा उनी रहेका छन् । 

अबको उनको चाहना बाख्रापालनमा छ । राम्रै जातको बाख्रा पाल्ने तयारीमा उनी  रहेका छन् । विदेश गएकोमा असन्तुष्टि भने उनलाई छैन । परिवारबाट समेत राम्रो साथ पाइरहेका वुद्धिमानले विदेशमा सिकेको कृषि कामको सीप अहिले आफ्नो व्यवसायका लागि काम लागेको उनको अनुभव छ । 

माइ नगरपालिका वडा नंं. १० का धनपति दुलाल पनि सशस्त्र द्वन्द्वको समयमा रोजगारीका लागि विदेशिनुप¥यो । माओवादीले घरघरबाट मान्छे लिएर जान थालेपछि धनपति बच्नकै लागि पनि मलेसिया हानिएको बताउँछन् । सात वर्ष विदेशमा विताएका उनको मनमा स्वदेशमै केही इलम गर्नुपर्छ भन्ने सोच आएपछि विदेशमा सँगै बसेका सात जना नै नेपाल फर्किएर सामूहिक बाख्रापालन गर्ने सल्लाह भयो । अहिले धनपति र उनका प्रवासी साथीहरू मिलेर कृषि तथा पशुपालन फार्म खोलेका छन् ।

उनीहरुको फार्मको लगानी उठेको त छैन तर निराशा पनि छैनन् । करिब रु २३ लाख लगानी गरेर उनीहरूले फार्म खोलेर बाख्रापालन थालेका हुन् । ‘विदेश जाँदा पनि नराम्रो भएन, घरजग्गा जोडियो, केही कमाई त भयो तर घरपरिवारबाट टाढा बस्दा भनेजस्तो भने नहुदो रहेछ, आफ्नै देशमा इलम गरेजस्तो आनन्द नआउने रहेछ । ।’ स्थानीय तह र स्थानीय सङ्घसंस्थाबाट पनि सरसल्लाह पाइएको र निराश हुनुपर्ने स्थिति नआएको उनीहरुको भनाई छ । 

सन्दकपुर गाउँपालिकास्थित जमुनाका युवा केवल राईले पनि लामो समय विदेशमा विताए । लामो समय प्रवासमा विताएर राम्रै पैसा कमाएका उनी घर फर्किएर डेरी चलाउन थालेका छन् । अहिले केवलसहित गाउँका दुई जना साथी मिलेर गाउँभरिको दूध सङ्कलन गरी घरमै दूध पेलेर घ्यु र छुर्पी बनाउने गरेका छन् । 

आफ्नो घरमै डेरी सञ्चालन गरेका केवलले एक दिनमा दुई सय ५० लिटर दूध पेलेर त्यसबाट छुर्पी र घ्यु उत्पादन गर्ने गरेका छन् । केवलको  डेरीमात्र नभई ‘होलिस्टेन’ जातका चारवटा गाई समेत छन् । गाउँमै गाई फार्म र डेरी चलाइरहेका केवल अहिले यसैमा सन्तुष्ट छन् । राम्रै कमाई भएको बताउने उनी व्यवसाय बृद्धि गर्दै लैजाने सोचमा छन् । 

लामो समय विदेश बसेर गाउँ फर्किएका केवल फेरि विदेशिने मनसायमा भने छैनन् । राम्रो आम्दानी गरेर गाउँमै केही गर्ने सोच भएका केवल गाउँका अन्य युवालाई पनि विदेश नजान सल्लाह दिन्छन् । विदेशबाट फर्किएका धेरैले पछिल्लो समय स्वदेशमै इलम थालेका छन् । उनीहरूले वैदेशिक रोजगारका क्रममा कमाएको पैसा र सिकेको सीप गाउँमै खर्चिएर उद्यम शुरु गरेका छन् । धेरै व्यक्ति अरूको हल्लाको पछि लागेर विदेशिने गरेकाले कतिपय युवाले विदेशमा निकै दुःख पनि पाएको वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलता कार्यक्रम चलाइरहेका सन्तोष मगरको भनाई छ । 

मगरका अनुसार गाउँमा राम्रो रोजगारीको माध्यम नदेख्नु, विदेशमा सहज रूपमा पैसा कमाइने धारणा बनाउनु र साथीसङ्गतका कारण धेरैजसो विदेशिने गरेका हुन् । स्थानीय तहसँगको समन्वयमा सुरक्षित आप्रवासनको प्रवद्र्धन र मानव वेचविखन रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका मगरले स्वरोजगारका लागि आफूहरुले उद्यमशीलता तालिम दिन थालेपछि वैदेशिक रोजगारको दर घटेको अनुभव पनि छ । 
 
‘‘हामी यो कार्यक्रममार्फत पहिले विदेश नजान अनुरोध गर्छौ । यदि उहाँहरू विदेशिने सोँचमा पुग्नुभएको रहेछ भने त्यो देशका बारेमा जानकारी गराउने काम गर्छौँ ।’ मगरले भने । धेरैमा आफू रोजगार हुन नसकेका कारण नै विदेश जाने सोँच आएको देखिएको उनले बताए । 

मगरले गत करीव डेढ वर्षमा विदेशबाट फर्किएका दुई सय ४१ जनालाई उद्यमशिलता तालीम दिएर गाउँमै काम गर्न आफूहरूले सहयोग पु¥याएको बताउँछन् । यो समयमा स्थानीय क्षेत्रमा जे उत्पादन हुन्छ त्यहीसम्बन्धी तालिम दिँदा धेरैजसो विदेशिन खोज्ने युवापनि स्वदेशमै काम गर्न थालेको मगरले सुनाए । विदेश नगइ स्वदेशमै रोजगार दिलाउनका लागि र विदशिए पनि सुरक्षित बनाउनका लागि यहाँका चार स्थानीय तहमा सुरक्षित आप्रावासन परियोजना सञ्चालनमा रहेको छ । उनीहरूले विदेश जान नियन्त्रण र न्यूनीकरणका लागि परियोजना शुरु गरेका हुन् । गत मङ्सिरबाट शुरुभएको यो परियोजना जिल्लाको इलामनगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ्ग गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछि स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित कसरी गर्न सकिन्छ भनेर परियोजनाले काम गर्दै आएको छ । परियोजनाका इलाम जिल्ला संयोजक इश्वरी तामाङले परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्र्थापना कार्यक्रम गर्दै आएको बताए ।

सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्ने काममा सूचना तथा परामर्श केन्द्र कार्यरत छ । वैदेशिक रोजगारीबाट पीडित र बिरामी भइ फर्केका कामदारको न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक सहयोगमा पनि काम गर्दै आइरहेको तामाङको भनाई छ । वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई व्यवसायिक सीप र तालिम दिलाउने काम पनि परियोजनामार्फत भइरहेको बताइएको छ । परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, जान लागिएको देशको बारेमा सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.