बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघमा बढ्यो चुनावी सरगर्मी, यस्ता छन् नेतृत्वका आकांक्षी

मङ्गलबार, २३ असार २०७७, ११ : ५४
मङ्गलबार, २३ असार २०७७

नेपाल उद्योग वाणिज्य महासंघमा अहिले चुुनावी माहौल सुरु भएको छ । उद्योग वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको महासंघले साउन २६ र २७ गतेका लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेसँगै महासंघ निर्वाचनमा होमिएको हो । 

अध्यक्ष भवानी राणाको दुईवर्षे कार्यकाल सकिएसँगै महासंघले यसअघि चैत २८ र २९ गतेको लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेको थियो । तर, घोषित कार्यक्रमअघि कोरोना महामारीको संकट चुलिएपछि त्यसलाई स्थगित गरिएको थियो । 

त्यसबेला नै तातेर पनि सेलाएको महासंघको चुनावी सरगर्मीले फेरि निरन्तरता पाएको हो । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न आकांक्षीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भेटघाट र कुराकानीलाई तीव्र बनाएका छन् । 

अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको विधान बमोजिम आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण हुनेछ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्ला/नगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ । 

महासंघको आगामी निर्वाचन यसअघिका निर्वाचनहरुभन्दा बढी रोचक छ । हाल उपाध्यक्ष रहेकाहरु नै वरिष्ठ उपाध्यक्षका लागि भिड्न लागेको तथा विषयगत उपाध्यक्षसम्मै प्यानल नै बनाएर चुनावी माहौलमा होमिएका कारण यो प्रतिस्पर्धा थप रोचक बनेको हो । चुनावी अंकगणितलाई आँकलन गर्दा नतिजा जोसुकैको पक्षमा पनि जानसक्ने देखिएकोले यो भिडन्त झनै रोचक बनेको छ । 

वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल हाल एशोसिएट्सतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला/नगरतर्फका उपाध्यक्ष हुन् । 

ढकाल प्यानलको एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् । उता, प्रधान प्यानलमा एशोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसप्रकार महासंघका ४ मुख्य पदमध्ये वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान, एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई र सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा जिल्ला/नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् । 

कुन–कुन पदमा हुँदैछ निर्वाचन ? 
विशेष र मानार्थ सदस्यबाहेक नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत हाल तीनप्रकारले सदस्यता दिने चलन छ । जिल्ला/ नगर उद्योग वाणिन्य संघ, वस्तुगत संघ र एशोसिएट्स सदस्यहरु महासंघको सदस्य हुन पाउँछन् । हाल ११२ वटा जिल्ला/नगर संघ, १०३ वटा वस्तुगत संघ, ९ वटा द्विराष्ट्रिय संघ तथा ४३ प्रकारका उद्योगअन्तर्गत ९१७ सदस्यहरु छन् । ती सदस्य मध्येबाट ७५ जनाको कार्यकारिणी समिति बन्ने महासंघको विधानमा उल्लेख गरिएको छ । यो नै महासंघको साधारणसभापछिको सबैभन्दा सर्वोच्च निकाय हो । 

कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, निवर्तमान अध्यक्ष र अन्य विषयगत संघका उपाध्यक्षहरु, कोषाध्यक्ष ७ सदस्यीय पदाधिकारी तथा अन्य सदस्यहरु रहनेछन् । अन्य सदस्यहरुमा प्रत्येक प्रदेश वाणिज्य संघका अध्यक्ष, जिल्ला/नगर उद्योग वाणिज्य संघले निर्वाचित गर्ने कुल २५ जना, एशोसिएट्स सदस्यहरुले निर्वाचित गर्ने १९ जना, वस्तुगत संघले निर्वाचित गरेको १४ जना,  द्विराष्ट्रिय संघबाट १ जना र महासंघको संस्थापक सदस्यमध्येबाट निर्वाचित १ जना रहन्छन् । द्विराष्ट्रिय संघको संख्या २० पुगेपछि मात्रै सो संघको तर्फबाट एकजना उपाध्यक्षको प्रतिनिधित्व गराउने व्यवस्था भएकोमा हाल त्यस्तो संघ ९ वटा मात्रै भएकोले अहिलेसम्म महासंघमा ३ जना मात्रै उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । 

महासंघको कार्यकारिणी समितिका पदाधिकारीमध्ये निवर्तमान अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएबमोजिम सो पदका लागि निर्वाचन हुने छैन । त्यस्तै, निवर्तमान अध्यक्ष कार्यसमितिका पदाधिकारी हुने भएकोले त्यसमा पनि निर्वाचन हुने छैन । त्यस्तै, कोषाध्यक्षको निर्वाचन पनि निर्वाचित कार्यकारिणी समितिका सदस्य मध्येबाट हुने भएकोले यसमा समेत तत्काल निर्वाचनको सरगर्मी देखिएको छैन । त्यसबाहेक प्रदेश संघको चुनाव समेत तत्कालै नहुने भएकोले अहिले ७ जना सदस्यको चुनावी प्रतिस्पर्धा समेत हुने छैन । यसप्रकार वरिष्ठ उपाध्यक्ष र तीनजना उपाध्यक्ष र कार्यकारिणी सदस्यसहित ६३ पदको लागि सो दिन निर्वाचन हुनेछ । 

महासंघको वरिष्ठ उपाध्यक्षका लागि सबैभन्दा ठूलो प्रभाव जिल्ला/नगरले राख्छ । जिल्ला/नगर संघको तर्फबाट वरिष्ठ उपाध्यको निर्वाचनमा ५० प्रतिशत मताधिकार रहन्छ । त्यस्तै, एशोसिएट्स र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट ३० प्रतिशत तथा वस्तुगत संघबाट २० प्रतिशत मताधिकार रहने व्यवस्था गरिएको छ । विषयगत उपाध्यक्षका लागि भने सम्बन्धित विषयगत समूहका प्रतिनिधिहरुले मात्रै मतदान गर्न पाउने भएकोले यो मताधिकार हिस्साले अर्थ राख्दैन ।

यस्ता छन् आकांक्षी
हाल वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चन्द्र ढकाल आईएमई समूहका अध्यक्ष हुन् । हाल एशोसिएट्स उपाध्यक्ष रहेका उनी यसअघि सो पदमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । जिल्ला/नगर संघतर्फ पनि राम्रो छ । रातोपाटीसँगको अन्तवार्तामा ढकालले जिल्ला तथा नगरसम्मको व्यवसायिक नेटवर्कलाई नै आफ्नो जितको मुख्य आधार मानेका थिए । उनले महासंघमा आफू निर्वाचित भएमा कर, विद्युत् महशुल जस्ता उद्योगीहरुका समस्या समाधान गर्न पहल गर्ने, सेज, औद्योगिक क्षेत्र र उद्योगग्रामहरु बनाएर आन्तरिक उत्पादन तथा निर्यात बढाउने योजना रहेको समेत बताएका छन् । 

उता अर्का प्रतिस्पर्धी किशोर श्रेष्ठ पनि जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संंघ मोरङबाट २८ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तात्कालिन जिल्ला/नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको हो । रातोपाटीसँगको अन्तर्वार्तामा प्रधानले उनले साना तथा मझौला उद्योगहरुको तर्फबाट आफूलाई अत्यधिक समर्थन प्राप्त हुने अवस्था रहेको र त्यो नै आफ्नो जितको मुख्य आधार भएको बताएका छन् । भावी अध्यक्ष शेखर गोल्छाको समेत समर्थन आफूलाई रहेको कारण आफ्नो जित सुनिश्चित रहेको समेत उनको दाबी थियो । उनले आफू निर्वाचित भएमा कन्ट्याक्ट फार्मिङमार्फत् देशमा उत्पादन र रोजगारीको सिर्जना गर्ने उनले बताएका छन् । 

एशोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अघिल्लो निर्वाचनमा एशोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिएका उनले चन्द्र ढकालका लागि सो पद छाडिदिएका थिए । अर्का उपाध्यक्ष रामचन्द्र भने एनआईशी एशिया बैंकका सञ्चालक छन् । ढकाल प्यानलबाट उनलाई अन्तिम समयमा उपाध्यक्षको उम्मेदवार बनाइएको हो ।  

वस्तुगत उपाध्यक्ष अन्तर्गत अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन् भने अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्षी इन्टरकन्टिनेन्टलका प्रवन्ध निर्देशक हुन् । उनी यसअघि नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष समेत थिए । 

त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठ यसअघि पशुपति प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उपाध्यक्ष भइसकेका व्यक्ति हुन् भने तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । उनी विगत १५ वर्षदेखि महासंघको केन्द्रीय कार्यकारिणी सदस्यको रुपमा क्रियाशील छन् । 

पूर्व अध्यक्षहरुले महासंघ जस्तो विशुद्ध व्यवसाययिक संस्थामा राजनीतिक चुनावजस्तो प्यानल बनाएर उम्मेदवारी दिनु उपयुक्त नहुने बताए पनि अन्ततः महासंघमा प्यानल बनेरै उम्मेदवारी दिइएको हो । पूर्व अध्यक्षहरुले अन्तिमसम्म सहमतिका लागि प्रयास गर्दा पनि सफल हुन नसकेपछि अहिले पूर्व अध्यक्षहरु समेत सहमतिको पहल गर्न छाडेका छन् । यसले गर्दा चुनावी सरगर्मी थप बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप