मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट

मङ्गलबार, २३ असार २०७७, ११ : ०७
मङ्गलबार, २३ असार २०७७

तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । 

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो ।

    बन्दाबन्दीका कारण पसल बन्द हुँदा व्यवसायी मर्कामा परेको र व्यवसायीले भाडा छुट दिन अनुरोध गरेकाले दुई महिनाको भाडा छुट दिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय सोमबारको कार्यपालिकाको बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ ।

    नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक रु १३ लाखका दरले दुई महिनाको रु २६ लाख भाडा छुट पाउनेछन् । नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडाछुट दिन अनुरोध गरेको छ ।

    कार्यपालिका बैठकले नगरभित्रका विकास आयोजना एवं प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक वातावरणीय परीक्षण एवं व्यवस्थापन ऐन, २०७७ नगरसभामा पेश गर्ने निर्णय गरेको छ । यही असार २५ गते ३३ औँ नगरसभा बस्दैछ ।

    नगरपालिकाको बुद्धसिंह मार्गबाट निर्माण सामग्री ढुवानी गर्ने टिपर राति पनि हिँड्ने र शहरी क्षेत्रमा असुरक्षाको अवस्था सिर्जना भएको गुनासो आएकाले ती सवारीसाधनलाई साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र बजार क्षेत्रका सडक बाहेक राजमार्गमा प्रवेश गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप