शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हावाबाट बिजुली उत्पादनः गाउँ झिलिमिली

मङ्गलबार, २३ असार २०७७, ०९ : ५६
मङ्गलबार, २३ असार २०७७

रामपुर –  टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । 

मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्ञ्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट बिजुली थपिएको छ ।

टुकीका भरमा दिनचर्या बिताउँदै आउनुभएका स्थानीयवासी झममाया सुनारी विद्युत् सेवा उपभोग गर्न पाउँदा खुशी व्यक्त गर्छन् । उनले दुर्गम गाउँमा बिजुली बत्ती बाल्न पाइन्छ भन्ने कहिल्यै आशा नगरेको तर गाउँमै हावाबाट बिजुली उत्पादन गरी घर घरमा बाल्न पाउँदा अहिले गाउँ नै झिलिमिली बनेको बताए ।

विद्युत् सेवा उपभोग गर्न पाएपछि यहाँका बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीयस्तरमै हावाबाट निकालिएको विद्युत् सेवा मित्यालका काफल, मौलाथर, रुक्सेभञ्ज्याङ र झ्याल्टुङका नागरिकले प्रयोग गर्दै आएका छन् ।

विद्युत् उत्पादन सफल भएपछि यहाँका बासिन्दा थप बिजुली निकाल्न कस्सिएका छन् । हावाबाट बिजुली निकाल्न गाउँपालिका र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको रु दुई करोड १५ लाख बराबर खर्च भइसकेको सौर्य तथा वायु ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारी बताउँछन् ।

मित्याल आसपासका १४६ घर तथा गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र विद्यालयले विद्युत् उपभोग गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउँछन् । रुक्सेभञ्ज्याङडाँडामा दुई ठूला पङ्खा घुमिरहेका हुन्छन् । सोलार प्यानलसमेत राखेर दुवैबाट बिजुली निकालिएको छ । शुरुमा हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले अविश्वास गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप