बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऋण तिर्न बैंकहरुको ताकेता बढ्यो

सोमबार, २२ असार २०७७, १५ : ४७
सोमबार, २२ असार २०७७

काठमाडौं । काठमाडौंको स्वयम्भूमा भेहिकल सर्भिस कम्पनी सञ्चालन गर्दै आएका दोलखाका सानु महर्जनलाई बैंकले फोन गर्न थालेको ३ महिना भयो । चैत मसान्तमै बैंकले कर्जाको सावाँ ब्याज तिर्न भनेको थियो । त्योबेला तिर्नसक्ने अवस्था छैन भनेपछि बैंक चुप लाग्यो । तर बैंकले फोन गर्न भने छाडेन । योबीचमा प्रत्येक महिना बैंकले फोन गरिरह्यो । 

‘बैशाखमा २ प्रतिशत ब्याज छुट दिन्छौं, कर्जा तिर्न आउनुस् भनेर उहाँहरुले भन्नुएको थियो, त्योबेला तिर्न सकिएन’ महर्जनले भने, ‘अहिले त झनै धेरै प्रेसर गर्नुभएको छ । बारम्बार फोन गरेर असारसम्म त जसरी पनि तिर्नुपर्छ भन्नुभएको छ । पुसदेखि राम्रोसँग गाडी चलेको छैन, तिर्नसक्ने अवस्था भएको भए बैशाखमै तिरिहाल्थेँ, अहिले गाडी चलेको छैन कहाँबाट ल्याएर ऋण तिर्नु ?’ 

३ वटा गाडी भएको उनीसँग अहिले बैंकको करिब ७० लाखको ऋण छ । कोरोना महामारीअघि उनका गाडीले राम्रै व्यापार गथ्र्यो । पर्यटन क्षेत्रमा कमाई राम्रै हुने र पर्यटन वर्ष पनि सुरु भएकोले उनले नयाँ गाडी पनि थपे तर नयाँ गाडी किन्नेबित्तिकै लकडाउन सुरु भयो । 

उनी त एकजना प्रतिनिधि पात्र मात्रै हुन् । असार मसान्त आउँदै गर्र्दा उनीजस्ता लाखौं ऋणीहरुलाई ऋणको सावाँ ब्याज र किस्ता तिर्न बैंकहरुले ताकेता गरिरहेका छन् । असार मसान्तको ब्यालेन्स सिटलाई बलियो देखाउन उनीहरुले कर्जाको किस्ता र ब्याज तिर्न दवाव दिइरहे पनि महर्जनजस्ता ऋणीहरुको संख्या नै बजारमा धेरै छ । जसले सामान्य अवस्थालाई पूर्वानुमान गरेर ऋण लिए अहिले समस्यामा परेका छन् । 

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले ऋणको किस्ता र ब्याज तिर्ने अवधिलाई असार मसान्तसम्म थप गरेको थियो । उक्त म्याद गुज्रनै लाग्दा राष्ट्र बैंकले त्यस्तो ऋणलाई पर सार्ने वा पुनर्संरचना गर्नेबारे केही बोलेको छैन । ती सबै विषय मौद्रिक नीतिमा सम्बोधन भएर आउने राष्ट्र बैंकले जनाएको छ । तर मौद्रिक नीति साउन लागेपछि मात्रै आउँछ । किस्ता तिर्ने म्याद असार मसान्तमै गुज्रिन्छ । 

सरकारले असार १ गतेदेखि यसअघि घोषित लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएसँगै उद्योगधन्दा, कलकारखानाहरु आंशिक रुपमा खुल्न थालेका छन् । तर कामदारको अभावका कारण ती उद्योगधन्दाहरु पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् । व्यापार व्यवसाय खुलेका छन् तर त्यस्ता व्यवसायहरुको पनि कारोबार एकदमै कम छ । यातायात, पर्यटन, होटल, शिक्षा तथा मनोरञ्जन क्षेत्रहरु अहिले पनि पूर्ण रुपमा बन्द नै छन् । तर, बैंकहरुले पछिल्लो समय तिनै क्षेत्रका ऋणीलाई ऋण तिर्ने दवाव दिइरहेका छन् ।  

नेपाल राष्ट्र बैंक भने यी सबै विषय मौद्रिक नीतिले सम्बोधन गर्ने बताउँदै आएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उद्योगी व्यवसायी बाँचे मात्रै बैंकिङ क्षेत्र बाँच्ने भन्दै उद्योगी व्यवसायीका समस्यालाई राष्ट्र बैंकले सम्बोधन गर्ने बताउँछन् । तर म्याद गुज्रिनै लाग्दा कर्जाको साँवा–ब्याज तिर्न के गर्ने भन्ने सम्बन्धमा राष्ट्र बैंकले कुनै घोषणा गरेको छैन । बैंकको दबाबका बाबजुद असार मसान्तसम्म ऋणको किस्ता नतिर्नेहरुलाई मात्रै मौद्रिक नीतिले सम्बोधन गर्ने मनशाय राष्ट्र बैंकले देखाइरहेको छ । 

उद्योगी व्यवसायी भने अहिले ऋण तिर्ने अवस्था नभएको बताउँछन् । राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवाल व्यवसायीहरु अहिले ऋण तिर्नसक्ने अवस्थामा नरहेको भन्दै यो अवस्थामा बैंकहरुले ऋणीलाई अनावश्यक दवाव दिन नमिल्ने बताउँछन् । उनले आफूहरुले लकडाउनको अवधिलाई शून्य समय मानेर ब्याज र घरभाडामा पूर्ण छुट दिनुपर्छ भन्ने माग गरेको उनी बताउँछन् । आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत कटुवालको छ । 

बैंकहरुले कर्जा तिर्न ताकेता गर्न नमिल्ने बताए पनि कर्जा तिर्न बैंकले दवाव दिएको अवस्थामा ऋणीले के भन्ने ? कटुवाल भन्छन्, ‘हामीले बैंकले ऋण माग्यो भने तिर्दै नतिर्नुस् भन्न मिल्दैन, तर ऋण तिर्ने क्षमता नभएकालाई बैंकले पेल्नु हुँदैन भन्ने मात्रै हो ।’

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला भने ऋण तिर्ने क्षमता नभए अहिले नै ऋण नतिर्न यातायात व्यवसायीहरुलाई आह्वान गर्छन् । ‘क्षमता छ भने तिर्दा हुन्छ, तर आफैंलाई अप्ठ्यारोमा पर्नेगरी ऋण तिर्न बैंकले भन्न पनि मिल्दैन र बैंकले भन्यो भने पनि व्यवसायीले तिर्न बाध्य हुँदैन’ सिटौला भन्छन्, ‘यातायात क्षेत्रको लकडाउन अझै खुलेको छैन, लकडाउन हुँदै गर्दा हामीलाई लवाव लिन मिल्दैन ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप