शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको गति कहाँ पुग्यो ?

सोमबार, २२ असार २०७७, १२ : ४९
सोमबार, २२ असार २०७७

कोभिड–१९ का कारण  विश्वभरको अर्थतन्त्र प्रभावित छ । यसको प्रभावबाट नेपाल पनि अछुतो छैन । कोभिड १९ कै कारण गरिएको लकडाउनले आर्थिक गतिविधि ठप्प प्राय भए । असार १ गतेबाट लकडाउन आंशिक खुकुलो भएसँगै चहलपहल पनि बिस्तारै बढ्दै गएको छ । आर्थिक वर्षको अन्तिम ३ महिना बजेट सक्नकै लागि विकास निर्माणका कामले तीव्रता पाउँथे तर कोरोनाकै कारण यस्तो अवस्था गुमेको छ । यता संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि प्रगति गर्ने पिक समयनै गुमाएको बताउँछन् । यद्यपि, सरकारले लकडाउनकै अवधिलाई पनि निर्माण तथा पुर्ननिर्माणको काम गर्ने नीति लिएकाले केही कार्यहरु गर्न सकेको उनले बताए ।

शुक्रबार लकडाउनकै अवधिमा पर्यटन क्षेत्र अन्र्तगतका कार्यको कति प्रगति भयो भन्दै संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रगतिको फेहरिस्त नै सुनायो । यसमा विमानस्थलहरु कहाँ कति बने र के हुँदै छ भन्ने विषयको जानकारी समेत मन्त्रालयले दिएको छ । मन्त्रालयका अनुसार लकडाउनमा विमानस्थलको कार्य प्रगति यस्तो छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

लकडाउनमा पनि विमानस्थल निर्माण तथा मर्मत कार्यले निरन्तरता पाएका छन् । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लकडाउनको अवधिमा ३ प्रतिशत भौतिक कार्य सकेको छ । हालसम्म यसको कार्य प्रगति ९१ प्रतिशत भएको छ । रन वे लाइट जडानको कार्य पनि अन्तिम चरणमा पुगेको छ भने मार्वल, टायल, रङरोगन भइरहेको छ ।  अहिले टर्मिनल भवनमा एयर कण्डिसनर र अन्य उपकरणको जडान कार्य भइरहेको संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सो विमानस्थल निर्माणका लागि २९ चिनियाँ कामदारसहित २७५ जना कामदार परिचालित छन् । मुआब्जा बापत ५ करोड रुपैयाँ भुक्तानीसमेत भइसकेको छ । गत मार्च ३० मै निर्माण कार्य सकिने भनिएपनि लकडाउनका कारण केही ढिला भएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले बताए । ‘यतिबेला यस विमानस्थलबाट जहाज उडिसकेको हुने थियो, तर यस्तो परिस्थितिले सकेनौँ,’ उनले भने ।

निजगढ विमानस्थलको व्यावसायिक प्रस्ताव दिने म्याद अन्तिम पटक थप, रुख गणना शुरु

त्रिभुवन अनर््तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायकि प्रस्ताव दिने म्याद अन्तिम पटक थप गरिएको छ । प्रस्ताव दिने समय सेप्टेम्बरसम्म तोकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस विमानस्थलको निर्माणको जिम्मा जुरिच इन्टरनेशनल एयरपोर्टले पाएको छ । उसैलाई अन्तिम पटक व्यावसायिक प्रस्तावको म्याद थप भएको हो ।

 विमान स्थलका लागि पसाहा खोलाको ३० मिटर तटबन्द निर्माण कार्य सकिएको छ भने बकैया खोलाको ४० प्रतिशत तटबन्ध कार्य सकिएको छ । रुख विरुवा गणनाको कार्य शुरु भएको मन्त्री भट्टराईले भनेका छन् । यद्यपि सोचजस्तो कार्य प्रगति हुन नसकेको उनले स्वीकारे ।

पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको ५९ प्रतिशत निर्माण सकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले लकडाउनको अवधिमा ९ प्रतिशत भौतिक निर्माण सकेको छ । यो सहित यसको निर्माण कार्य ५९ प्रतिशत सकिएको छ । यो क्षेत्रमा टर्मिनल एरिया, कार पार्किङस्थल निर्माण, सडकको सव बेस निर्माण कार्य सकिएको छ । टर्मिनल भवन निर्माण कार्य र अन्य कार्य भइरहेको छ । यहाँ २४४ चिनियाँ नागरिक र ९० नेपाली नागरिक परिचालित छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा वाइडबडी पार्किङ गर्न सकिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब पाँच वटा वाइडबडी पार्किङ गर्न सक्ने भएको छ । लकडाउनकै अवधिमा दुइवटा वाइडबडी जहाज पार्किङ गर्न मिल्ने गरी एप्रोन निर्माण भएको हो । योसँगै अब ५ वटा जहाज एकैपटक पार्किङ गरेर राख्न सकिनेछ । लकडाउन अघि ८० प्रतिशत एप्रोन निर्माण सकिएकोमा लकडाउनमा सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ । यस्तै थप ३ सय मिटर धावनमार्ग र रनवे समेत निर्माण भएको छ । नयाँ आगमन कक्षको निर्माण कार्य समपन्न भएको छ । केही समयमै सञ्चालनमा आउनेछ । समानान्तर ट्याक्सी वे निर्माणका लागि एशियाली विकास बैङ्कसँग सम्भौता भएको छ ।

आन्तरिक विमानस्थल

भरतपुर, धनकुटा, डोटी, बझाङ मसिनेचौर विमानस्थलको  रनवे, ट्याक्सी वे, एप्रोन कालोपत्रेको काम सकिएको छ । यस्तै जनकपुर, लुक्ला, तुम्लिङटारको टर्मिनल भवन निर्माण कार्य भइरहेको छ ।  यता  कालिकोट गुल्मी इलाममा पनि  रनवे, ट्याक्सी वे, एप्रोनमा कालोपत्रेको काम भइरहेको छ । अर्घाखाची, मलेवा, ताप्लेजुङमा माटो काट्ने काम सकिएको छ भने अन्य विमानस्थलहरु निर्माण भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप