मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा ओली–प्रचण्डबीच 'वान टु वान' वार्ता, आवश्यक परे वरिष्ठ नेतालाई पनि बोलाउने

सोमबार, २२ असार २०७७, १२ : ११
सोमबार, २२ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्केको आन्तरिक कलह व्यवस्थापनको प्रयासस्वरुप अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको 'वान टु वान' वार्ता सकिएको छ । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा असमझदारी बढ्नुका कारणहरु खोज्ने प्रयास भएको छ । 

‘छलफलको सुरुवात भएको छ । नेताहरुमा देखिएका अविश्वास, भ्रम र हल्लाहरुबारे एक अर्कामा प्रष्ट पार्ने काम भएको छ’, नेकपाका एक सचिवालय सदस्यले भने, ‘वार्तालाई निरन्तरता दिने र त्यसका लागि मंगलबार पुनः बस्ने कुरा भएको छ ।’

सोमबार करिव २ घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । दुई नेताबीच छलफलका लागि आवश्यक परेमा पार्टीका वरिष्ठ नेताहरुलाई पनि राख्ने विषयमा कुराकानी भएको बुझिएको छ । 

दुई नेताको वार्तामा वार्ता र सहमतिको प्रयास भइरहेका बेला चलाइएका हल्लाको वास्तविकता केहो ? भन्नेमा नेताहरुबीच कुराकानी भएको थियो । 

त्यसक्रममा अध्यक्ष प्रचण्डले यस्तो बेलामा चल्ने हल्लाबाट सतर्क रहनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । जवाफमा ओलीले संकटका बेला विभिन्न तत्वहरुले खेल्न खोज्ने भएकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए । 

स्रोतका अनुसार आइतबार ५ बुँदे सहमतिको ड्राफ्ट तयार भएको र त्यसैमा आधारित भएर सहमति खोज्न थालिएको भनेर चलाइएको हल्लाहरु नियोजित भएको भन्दै दुबै नेताले त्यस्तो ड्राफ्ट तयारै नभइ हल्ला गरेर भाँड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

यसैबीच नेकपाको आन्तरिक झगडा साम्य पार्ने उद्देश्यले यसअघि नै तय भएको स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको छ । 

पार्टीमा आन्तरिक झगडा चर्कदै गएपछि पार्टी एकता बचाउन पार्टीका दोस्रो तथा तेस्रो तहका  नेताहरुले दवा दिँदै आएका छन् । नेताहरुको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु सक्रिय भएका हुन् । त्यसका लागि उनीहरुले दुवै पक्षका शीर्ष नेताहरुलाई भेट्नेदेखि धर्ना र भेला गर्दै आएका छन् । 

गत असार १४ गते प्रधानमन्त्री केपी ओलीले भारतको योजनामा आफूलाई हटाउन लागेको अभिव्यक्ति दिएपछि पहिलाबाटै चलिरहेको नेकपाको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको थियो । 

यसक्रममा नेताहरुले ओलीले दुवै पदबाट राजीनामा गर्नुपर्ने अडान राखेका थिए भने ओली कुनैपनि हालतमा कुनै पदबाट राजीनामा नदिने अडान दोहोर्याउदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप