केन्द्रीय संस्करण

अमेरिकाका अनेक समस्या

पश्चिमी विरासतको स्फटिक (अन्तिम भाग)

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

अमेरिकाका समस्याहरू
अमेरिका दुनियाँकै एउटा भव्य मुलुक हो । यसमा शङ्का छैन । तर हामीमध्ये धेरैले सोच्ने गरेजस्तो स्वर्गै हो त अमेरिका ? के अमेरिका यस्तो मुलुक हो जसलाई हेरेर हामीले आफ्नो देशप्रति हीनताबोध गर्नुपर्छ ? यदि अमेरिका स्वर्ग होइन भने के कारणले होइन ? हो भने अमेरिकी समाजमा समस्या छैनन् त ? पक्कै त्यहाँ अनगिन्ती समस्या छन् । 

समस्याहरूको सहरमाथि बसेको छ अमेरिका । सम्पत्तिको असमान वितरण, गरिबी, शिक्षामाथि असमान लगानी, अपराध, हिंसा, जनस्वास्थ्य समस्या र बढ्दो जीवन निर्वाह खर्च जस्ता समस्याहरू भयावह छन् । अमेरिका संसारको सबैभन्दा बढी राजबन्दी जेलमा रहेको मुलुक हो, बन्दुक आतङ्क पनि । न्युयोर्क यस्तो सहर हो जहाँ निकै ठूलो जनसङ्ख्याको हरिविजोग देख्न पाइन्छ । जो मगन्ते, पागल, मानसिक रोगीका रूपमा काल पर्खेर सडकमा हिँडिरहन्छन् ।
अमेरिकी समाजका मुद्दालाई छोटकरीमा यहाँ उल्लेख गरिएको छ ।

सम्पत्तिको असमान वितरण
आश्चर्य लाग्न सक्छ, आर्थिक सहकार्य तथा विकास सङ्गठनको तथ्याङ्कअनुसार जि–७ राष्ट्रमध्ये अमेरिकामा आर्थिक असमानता सबैभन्दा उच्च छ । यहाँका २५ प्रतिशत जनसङ्ख्याको १० हजार डलरभन्दा कम सम्पत्ति छ । यो आम्दानीले यहाँ हरितन्नम जीवन मात्र गुजार्न सकिन्छ । सन् १९७० को दशकमा मुख्य १० प्रतिशत आय–आर्जन गर्नेहरू सबैले हाल राष्ट्रिय आयको झन्डै ३८ प्रतिशत आय नियन्त्रण गर्छन् ।

उच्च १० प्रतिशत धनीले सबै सम्पत्तिको ५० प्रतिशतभन्दा बढी नियन्त्रण गरेका छन् । अर्थशास्त्रीहरूले गरेको नयाँ अनुसन्धानले गत दुई दशकमा फेडरल रिजर्भको अनुपात विस्तारै बढ्दै गएको देखाएको छ । यसैगरी सबभन्दा कम सम्पत्ति भएका आधा अमेरिकनसँग १.२ प्रतिशत सम्पत्ति छ । झन्डै चार करोड मानिस गरिबीको रेखामुनि छन् । सन् १९५९ देखि गरिबी तीव्र गतिमा घट्दै गएको छ । तर नेपालको जनसङ्ख्याको झन्डै दुई गुणा मानिस गरिबीको रेखामुनि छन् ।

समयसँगै अमेरिकामा काला–गोराबीच आय भिन्नता जल्दोबल्दो छ । मध्यमवर्गीय काला तथा गोराबीचको औसत घरेलु आम्दानीको भिन्नता सन् १९८० मा झन्डै २३ हजार ८ सय डलरबाट बढेर सन् २०१८ मा सरदर ३३ हजार डलर पुगेको छ । सन् १९७० मा ५६ प्रतिशतभन्दा माथिका मध्यमवर्गीय गोराहरूको घरायसी आम्दानीको ६१ प्रतिशत मध्यमवर्र्गीय कालाहरूको आम्दानी थियो । तर एक सर्वेक्षण अनुसार सन् २००७ मा ६३ प्रतिशतबाट थोरै तल झरेको थियो ।

हालै केन्द्रद्वारा गरिएको विश्लेषणअनुसार अमेरिकाका सबभन्दा धनी तथा गरिब परिवारबीच धनको अन्तर सन् १९८९ देखि २०१६ सम्म दोब्बरभन्दा बढी भएको छ । सन् १९८९ मा मध्यमवर्गीय परिवारसँगको भन्दा ११४ गुणा बढी सम्पत्ति ५ प्रतिशत धनी परिवारसँग थियो । सन् २०१६ सम्म मध्यम–वर्गीयसँगको भन्दा २४८ गुणा बढी सम्पत्ति सोही ५ प्रतिशतसँग थियो ।

पछिल्लो पाँच दशकमा उच्च स्तरीयको तुलनामा मध्यमवर्गीय आय ढिलो वृद्वि भएको पाइएको छ । सन् १९७० देखि २०१८ सम्म मध्यमवर्गको औसत आय ४९ प्रतिशतको लाभसँगै वृद्वि भई ५८ हजार १ सय डलरबाट ८६ हजार ६ सय पुगेको छ । यो समयमा उच्च वर्गका परिवारको आय ६४ प्रतिशत वृद्धि भई १ लाख २६ हजार १ सय डलरबाट २ लाख ७ हजार ४ सय पुग्यो ।

मध्यम आयका वयस्क अमेरिकीको आय हिस्सा सन् १९७१ मा ६१ प्रतिशत रहेकोमा सन् २०१९ मा घटेर ५१ प्रतिशत पुग्यो । सोही अवधिमा उच्च आयका व्यक्तिको हिस्सा १४ प्रतिशतबाट बढेर २० प्रतिशत र तल्लो आयस्तरकाको हिस्सा २५ प्रतिशतबाट बढेर २९ प्रतिशत पुग्यो ।

जुकम्यान लगायतले तयार गरेको विश्व असमानता डाटाबेसअनुसार अमेरिकाका सबैभन्दा धनी ४ सय जनासँग ६० प्रतिशत वा करिब १५ करोड जनसङ्ख्यासँग भएजतिकै सम्पत्ति छ । यो सन् १९८७ को कुल राष्ट्रिय सम्पत्तिको ५.७ प्रतिशत थियो । सन् २०१४ मा भने खुम्चिएर २.१ प्रतिशत भएको थियो ।

सोही अध्ययन अनुसार अहिले शीर्ष ०.१ प्रतिशत जनसङ्ख्याले राष्ट्रको सम्पत्तिको करिब २० प्रतिशत ओगटेको छ । तल्लो ८० प्रतिशत आँकडामा ५ जनामा १ जना ती अमेरिकी घरधुरी पर्छन् जसको सम्पत्ति शून्य वा ऋणात्मक छ । यसको अर्थ उनीहरूको ऋण सम्पत्तिभन्दा बढी वा बराबर छ । शून्य वा नकारात्मक सम्पत्ति भएका अमेरिकी परिवारको हिस्सा सन् १९८३ देखि करिब एक तिहाइले बढेको छ । जुन, त्यतिबेला १५.५ प्रतिशत थियो ।

यसबीच शीर्ष १० प्रतिशत व्यक्तिसँग राष्ट्रको सम्पत्तिको ७० प्रतिशतभन्दा बढी स्वामित्व छ । यो हिस्सा तल्लो ९० प्रतिशतको स्वामित्वमा रहेको भन्दा दुई गुणा बढी हो । अमेरिकामा सम्पत्तिको असमान वितरण कति गहिरो छ, यसैले स्पष्ट देखाउँछ । यो घट्नुको साटो बढ्दै गइरहेको हुँदा सम्पत्तिको असमान वितरणबाट सिर्जित समस्या अरू बढ्नेछ । हुन त समग्र समाजको प्रतिबिम्ब नै शासकीय चरित्र हो । तर यो आमचरित्रको निर्माण गर्न महत्त्वपूर्ण योगदान उच्च वर्गकै हुन्छ । यस वर्गको स्वार्थअनुसार आम चरित्र निमार्ण गर्न पक्षपोषण गर्ने र आवश्यक परे हस्तक्षेप पनि गर्ने गर्छ ।

स्वास्थ्य: अमेरिकामा स्वस्थ्य सेवाको विकराल समस्या बहसको प्रमुख विषय भएको छ । जनसङ्ख्याको हिसाबले न्यून जनताको स्वस्थ्य बिमा हुनु,  महत्त्वपूर्ण समय प्रशासनिक कार्यमा खर्चिनु र अव्यवस्थित तथा असक्षम प्राथमिक हेरचाहको कारण स्वास्थ्य समस्या जटिल भएको छ । कोरोना महामारीमा यो कुरा प्रत्यक्ष महसुस गरिएको छ ।

रुढीवाद विरुद्ध प्रगतिवाद : परम्परावादी सोचले मानिसमा छनोटको विकल्प हुनुपर्छ भन्छ, प्रगतिवादले राजनीतिक समाधान उपयुक्त । अमेरिकामा बौद्धिक र दर्शनका रूपमा यो बहस समस्याको विषय हो ।
 

आप्रवासन् र अध्यागमन : अमेरिकाले विभिन्न देशका झन्डै १० लाख मानिसलाई प्रत्येक वर्ष आफ्नो देशमा स्थान दिइरहेको छ । यसो हुँदा जोगाउने, राष्ट्रिय तथा सार्वजनिक सुरक्षा लगायत कुराले आप्रवासी प्रमुख समस्या बन्दै गएको छ । समय–समयमा हुने हिंसा, गोराहरूको सर्वाेच्चताको बहस यसैसँग जोडिएका समस्या हुन् । ट्रम्पले यसलाई झन् मलजल गरिरहेका छन् ।

धार्मिक स्वतन्त्रता : धर्मको नाममा मनपरी गर्न पाउनुपर्ने सोच भएका केही व्यक्ति वा समुदायको कारण अमेरिकामा धार्मिक स्वतन्त्रालाई सीमित गर्नुपर्ने आवाज उठिरहेको छ ।

विवाह : एक अध्ययनअनुसार समाजमा राम्रो शारीरिक स्वास्थ्य, वित्तीय स्थिरता तथा सामाजिक गतिशीलता प्रदान गर्न विवाहित मानिसको महत्त्वपूर्ण भूमिका रहन्छ । तर बढ्दो सम्बन्ध विच्छेद र विवाह नगरी सन्तान जन्माउने प्रवृत्तिले समाज अझ खास गरी बच्चाहरूमा नकारात्मक असर पारेको देखिन्छ ।

खर्च : गत वर्षको एक अध्ययनले सरकारले लिएको भन्दा अर्बाैं डलर बढी खर्च राजनीतिज्ञले गर्छन् । अत्याधिक सरकारी खर्चका कारण प्रत्येक अमेरिकी नागरिक बराबर २ लाख ४० हजार डलर ऋण छ । सङ्घीय खर्च बढिरहेकाले वित्तीय सन्तुलन कायम राख्न कर तथा खर्च नीतिमा तालमेल देखिँदैन ।

कल्याण : सन् १९६० को दशकमा राष्ट्रपति लिन्डन जोनसले गरिबी हटाउन धेरै कल्याणकारी कार्यक्रम ल्याए । यसले धेरै हदसम्म गरिबी कम भएको थियो । हाल विभिन्न सङ्घीय, राज्य र स्थानीय तहमा कल्याणकारी कार्यक्रम सञ्चालनमा वार्षिक भन्डै १० खर्ब (१ ट्रिलियन) डलर खर्च हुन्छ । यद्यपि करिब १२ प्रतिशत अमेरिकीहरूरू अझै पनि गरिब मानिन्छन् ।

चुनावी अखण्डता: कुनै राष्ट्रमा त्यहाँको सरकारको प्रणाली र जनताको स्वतन्त्रता निष्पक्ष चुनावमा निर्भर हुन्छ । तर अमेरिकामा चुनाव क्रममा मतदाताबाट हुने जालसाजीका कारण मतदान निष्पक्ष नहुने र परिणाम अस्वाभाविक परिवर्तन हुने समस्या छ । यसो हुँदा त्यहाँको राजनीतिमा धनी मात्र हाबी हुने देखिएको छ ।

सत्ताधारीले आदर्शवाद र अवस्तुवादी सोचलाई ठूलो हतियारका रूपमा प्रयोग गरेका हुन्छन् । यही हतियार अमेरिकन शिक्षा प्रणाली एवं आम बुझाइमा देखिन्छ । यसको परिणाम अमेरिकीको दिमागमा समस्या अमेरिका बाहिर मात्र छन् । आतङ्कवाद बाहिर मात्र छ । हाम्रा दुस्मन बाहिर मात्र छन् भन्ने मानसिकता विकास भएको छ ।

अमेरिकन शिक्षा प्रणालीले अधिकांश बालकमा हामी संसारको मुक्तिदाता हो भन्ने मानसिकता हालिदिन्छ । यही मुक्तिदाताको मानसिकताका बालकको पुस्ता नै आज अमेरिकी सत्तामा छ । दोस्रो विश्वयुद्धको अन्त्यपछि नै यस्तो मनोविज्ञान सबै अमेरिकीमा छ । 

वातावरणीय समस्या छन् । काला–गोराबीच अभेद्य विभाजन छ । आतङ्कवादको जननी अमेरिका नै हो भन्ने जबरजस्त तर्कहरू छन् । लाखौँ घरबारविहीन छन् । हजारौँ हत्या, हिंसा र अपराध भइरहेका छन् । यसबारे त्यहाँ छलफल हुन जरुरी छ । हामी समस्यारहित होइनौँ । समस्यासहितको महाशक्ति राष्ट्र हौँ भन्ने आलोचनात्मक चेत अमेरिकी तथा आप्रवासीमा छ ? यी आलोचनात्मक चेतद्वारा ओतप्रोत बुद्धिजीवीबीच छलफल हुनुपर्ने विषय हुन् ।

अमेरिका लगायत देशका नेपाली
नेपालबाट अमेरिका, अस्ट्रेलिया वा युरोपियन मुलुक जाने अधिकांश नेपालीले देशप्रति चरम असन्तुष्टि व्यक्त गर्छन् । संसारमा धनी–गरिब मुलुक, फरक हावापानी, संस्कृति र विचार स्वाभाविक हुन् । सबै भूगोल र संस्कृतिमा आफ्नै राम्रा–नराम्रा पक्ष हुन्छन् । रोजगारको सिलसिलामा मान्छेको बसाइँसराइ भइरहनु स्वाभाविक नै हो ।

केही न केही कुरा हरेकले हरेकबाट सिक्नुपर्छ । यी सबैको ऐतिहासिक कारण हुन्छ । सत्य आत्मसात गर्नुको साटो हाम्रो देश काम नलाग्ने भयो । यहाँका नेता खराब भए । मेरा आफन्तले गरिखान दिएनन् । मेरो क्षमता यहाँको मुलुकले बुझेन । यता पैसा कमाउन सकिएन भन्ने जस्ता आधारभूत वैयक्तिक कुरा नै विदेश जानेका कारण देखिन्छन् ।

असन्तुष्ट र पूर्वाग्रही मानसिकता बोकेर विदेशिएका मान्छे जब ती मुलुक पुग्छन् तब निकै समयसम्म यहाँ र त्यहाँको तुलना गर्छन् । सतही कुराबाट धारणा बनाउन व्यस्त हुन्छन् । देशको इतिहास सूक्ष्म ढङ्गले केलाएपछि मात्र सही निष्कर्षमा पुगिन्छ । युरोप पुगेर त्यहाँको खानपान र सरसफाइको प्रशंसा गर्दै नेपाललाई सानो र होचो देख्नुअघि त्यहाँको इतिहास अध्ययन गरे उनीहरू सजिलै विकसित भएका होइनन् भन्ने थाहा हुन्छ । त्यहाँ पुग्न लामो यात्रा तय गर्नुपर्ने रहेछ भन्ने ज्ञात हुन्छ । सभ्यता, संस्कृति र विकासको सम्बन्धलाई अधिभूतवादी ढंगले हेर्दा त यो दुनियाँमा राम्रो देखिने कुनै चिज हुँदैन । हुन्छ र ?

सय वर्षभन्दा बढी महामारीले सखाप भएपछि खानेकुरामा हाहाकार भएर जे भेट्यो त्यही उसिनेर खानुपर्ने बाध्यता भयो । हात सफा गरेर नखाए महामारीमा परिने भयो । यी महामारीमा चर्चका पादरीहरू पनि मरेपछि ईश्वर प्रतिको भ्रम कम हुँदै गयो । अनि, वैज्ञानिकहरूको विकास भयो । झन्डै हजार वर्षभन्दा बढी मारकाट, हत्या हिंसा, महामारीको चपेटामा परेर करोडौँको मृत्यु भयो । धर्मको नाममा लाखौँ लाख मारिए, खेदिए ।

राष्ट्र जुट्ने र फुट्ने जस्ता अटुट शृङ्घला पार गरेको लामो इतिहास बुझेपछि बल्ल विदेश स्वाभाविक लाग्छ । नेपाल पनि स्वाभाविक लाग्छ । झन्डै २५ सय वर्ष अघिदेखिको इतिहास हेर्दा युरोप विद्वानदेखि क्रुर र शक्तिशालीदेखि युद्धपिपासु शासनको निरन्तरताबाट नै अमेरिका बनेको छ । हङ्गेरीका अट्टिला, इङ्ल्यान्डकी रानी मेरी प्रथम, रोमका शासक क्यालिगुला, रुसका इभान, इङ्ल्यान्डका जर्ज तृतीयहरूको  तीव्र ध्वंश र सङ्घर्षबाट जन्मिएको युरोप र त्यसको निरन्तरताबाट जन्मिएको अमेरिका स्वाभाविक लाग्ने अनि फरक इतिहासबाट विकास भएको नेपाल अस्वाभाविक लाग्ने । यसरी नेपाल अस्वभाविक लाग्ने विदेश स्वभाविक लाग्ने अल्पज्ञान वा सतही ज्ञान रचनात्मक हुँदैन ।

अर्काेतर्फ, समाजको मूलधारमा बग्दा त्यहाँको वस्तुगत ज्ञान हासिल हुन्छ । देश छोडेका नेपालीमा देशप्रति भावनात्मक सम्बन्ध हुने तर त्यति सकारात्मक धारणा नहुने देखिएको छ । आफू नेपालको मूलधारमा पनि नहुने हुँदा यहाँका दैनन्दिनलाई पुष्टि गर्ने वस्तुगत ज्ञानबाट टाढा हुन्छन् । जुन मुलुकमा बसेको छ, त्यहाँको मूलधारमा रहेर अगाडि बढ्ने वस्तुगत अवस्था पनि कम हुन्छ ।


त्यहाँको इतिहास, भूगोल, संस्कृति, राम्रा–नराम्रा पक्षको सम्पूर्ण ज्ञानको साटो अंशमा बस्ने, अंशमै बुझ्ने र त्यसैलाई यहाँको सम्पूर्णतासँग तुलना गर्ने प्रवृत्तिले विदेशिएका धेरैको विश्लेषण र तर्क समग्रतामा भन्दा एकाङ्गी हुन्छन् । व्यावसायिक रूपमा प्रत्यक्ष दुवैतिर आफै लगानी गरी जोडिएका वा विदेशमा कमाएपछि फर्कने लक्ष्य लिएकाको विश्लेषण भने वस्तुपरक देखिन्छ ।

विदेशमा रहने नेपालीले दिने सुझाव पनि वस्तुगत नहुनाले यस्ताले हाम्रो कुरा नेपालमा सुनिँदैन भन्ने ठान्छन् । कतिपयले त नेपालमा बस्ने र नेतृत्वले संसार देखेकै छैन । ज्ञान छैन भन्ने पनि ठान्छन् । अर्काेतर्फ, देखेर वा बुझेर पनि विदेशी कुरालाई वा सुझावलाई लागू गर्दैनन् भन्ने सोच्छन् । यसको अर्थ देश भित्रकाले बाहिरकाको सल्लाह मान्नुहुन्न भन्ने होइन । तर व्यवस्थापन गर्ने कुरामा कुनै देशको हुबहु नक्कल हुन सक्दैन भन्ने बुझ्नुपर्छ ।
प्रविधि नक्कल गर्न सकिन्छ । प्रविधि आफै काम गर्ने नभएर यसको व्यस्थापन मानिसले गर्नुपर्ने हुन्छ । व्यवस्थापन शैली, कला र सोचको विकास तथा कार्यान्वयनमा त्यस समाजको सयौँ वर्षको ऐतिहासिक पक्ष जोडिएको हुन्छ । यसको अध्ययनबिना दिइने सल्लाह सुझाव वा लादिने व्यवस्थापन सिद्धान्त प्रभावकारी हुन सक्दैन ।

पश्चिमी आकर्षण
हाम्रो समाजमा पश्चिमप्रतिको यति धेरै आकर्षण किन छ ? जसका बीसौँ कारण छन् । यसको चर्चा गरिराख्नु त्यति जरुरी छैन । तर यसको मनोवैज्ञानिक र सांस्कृतिक कारणबारे निकै कम व्याख्या विश्लेषण हुने गरेको छ । पश्चिमाहरू प्रतिको समग्र आकर्षण भौतिक विकास मात्र होइन । उनीहरूको आफ्नो संस्कृति र यसप्रतिको प्रतिबद्धता हो ।

उनीहरू आफ्नो शैली र सभ्यतामा गर्व गर्छन् । यसप्रति हीनताबोध छैन । उनीहरूमा जुन संस्कारिक पद्धति छ त्यसैले यहाँसम्म ल्याएको हो भन्ने आत्मविश्वास छ । विश्वास, आत्मविश्वास र इतिहासप्रतिको गर्वले मानिसलाई सभ्य, भव्य बनाउँछ । त्यस्तालाई अरूले मन पराउँछन् वा प्रशंसा गर्छन् जसलाई आफ्नो इतिहासप्रति गर्व हुन्छ ।

आफ्नो शैली र पद्धतिमाथि भरोसा राख्नेको विकास छिटो हुन्छ । विज्ञानको अभूतपूर्व विकास पनि यस्तै ऐतिहासिक सापेक्षतामा भएको छ । हामीले पनि पश्चिमी शैली र पद्धतिमा त्यो आत्मविश्वास पाउँछौँ । विचलन कम छ । त्यसैले उनीहरूको भूमिका आरोह–अवरोहबीच पनि नेतृत्वदायी छ । आफूप्रतिको आत्मविश्वासले मानिसलाई स्वतः नेतृत्व गर्ने आकाङ्क्षा प्रदान गर्छ । नेतृत्वमा रहिरहन खोज, अनुसन्धान र विकासमा अब्बल हुनुपर्छ । पश्चिमीहरूमा भएको यही हो । नकारात्मक दृष्टान्त, शिक्षा लिनुपर्ने इतिहास र समालोचनात्मक वर्तमानका कारण हामीमा पश्चिमी आकर्षणको मनोवैज्ञानिकले जरा गाडेको हो ।

हाम्रो बाटो
हामीले हाम्रो हजारौँ वर्षको इतिहासको जगको समालोचनात्मक र रचनात्मक अध्ययन गर्नुपर्छ । त्यसैमा टेकेर गरेको विकास नै दीर्घकालीन हुन्छ । अनि, यही विकासले विश्वलाई नेतृत्व गर्न सक्छ । यो सत्य बुझ्ने हो भने हामी लगायत कुनै पनि कम विकसित मुलुकले हीनताबोध गर्नुपर्दैन । न सांस्कृतिक रूपमा लामो समय दोधारमा रहेर भौतिक, मानसिक र सांस्कृतिक विकासमा वाधा खडा हुन्छ ।

हाम्रो देशको विकास हाम्रै जगमा हुनुपर्छ । यो जग हाम्रै विशिष्टताको छ । यसमा परिवर्तन गर्न सकिन्छ भन्ने सत्य नबुझ्दा हामी आफू कमसल र अरू असल देख्छौँ । यस्तो मनोवृत्तिले सक्दो आफ्ना छोडी अरू अँगाल्न उत्प्रेरित गर्दछ । यो विकास होइन विलय हो । विलयोन्मुख मानिसले जसरी अरूलाई मन पराउँदैनन् त्यसरी नै राष्ट्रलाई समेत कमजोर ठान्छन् ।

यसर्थ, हामीले हजारौँ वर्षको इतिहास अध्ययन गरेर यहाँको माटो र हावाको सापेक्षताका योजना र व्यवस्थापन सिद्धान्त विकास गर्नुपर्छ । भारतको गुजरात र बिहारको विकासको मोडेल त फरक छन् भने हाम्रो र पश्चिमा मुलुकको मोडेल एउटै हुन सक्दैन । ठूला र विकसित देशले यो सत्य बुझेका हुन्छन् । 

त्यसैले त कुनै पनि देशसँग छलफल गरेर निर्णय लिनुअघि उनीहरू सम्बन्धित देशको इतिहास, भूगोल र त्यहाँका जनताको मनोविज्ञान अध्ययन गर्छन् । यो नै निष्कर्ष र निर्णयमा पुग्ने वैज्ञानिक बाटो हो । हामीले हाम्रो भूगोल र इतिहासको समालोचनात्मक अध्ययन गरेर मात्र त्यसको शिक्षा लिन सक्छौँ । गर्व गर्ने चिज भेट्छौँ । जब हामीले हाम्रो मनोविज्ञानको ऐतिहासिकता बुझ्छौँ तब हाम्रा योजना हाम्रै मार्गदर्शक हुन्छन् ।

उपसंहार
अमेरिकालाई स्वर्ग मान्ने र नेपालबाट जान्ने मानिस उता पुगेपछि देशको बुद्धि खाली भइसकेको सोच्ने गर्छन् । नेपालीको अमेरिकाप्रतिको दृष्टिकोणमा आग्रह र देशप्रति पूर्वाग्रह बढी छ । यो सोचले अपनत्व, सांस्कृतिक धरातल र वर्तमानको विलयोन्मुख चेतनाको प्रतिनिधित्व मात्र गर्छ । नेपाली समाजको ऐतिहासिक सापेक्षता हेर्दा २५औंँ राम्रा गुण छन् । यही कारण हाम्रो देश अस्तित्वमा छ । यी कुरा अन्यको हकमा पनि लागू हुन्छ ।

यो मेरो अमेरिका भ्रमण अवधिमा गरिएको सङ्क्षिप्त अध्ययन मात्र हो । विवेचना गर्नुपर्ने पचासौँ राम्रा–नराम्रा कुरा छन् । यसको पुष्ट्याइँमा तर्क र ऐतिहासिक कारण छन् । तर मुख्य गरी समाज विकासको अवधारणालाई पूर्ण रूपमा विश्लेषण गर्न त्यो देशको इतिहास, राजनीतिक प्रणाली र राज्यको आदर्शलाई बुझ्न जरुरी हुन्छ ।

करिब तीन हप्ताको भ्रमणअघि र पछि मैले अमेरिकाबारे जानकारी दिने विषय क्रिस्टोफर कोलम्बस, जर्ज वासिङ्टन, अमेरिका निर्माणको कथा, युरोपको मध्ययुगीन इतिहास, धर्मयुद्ध, धर्माधिकार युग, स्पेनिस फ्लु, पहिलो तथा दोस्रो विश्वयुद्ध र यसमा अमेरिकाको भूमिका लगायतको अध्ययनले मलार्ई वर्तमान अमेरिका बुझ्न सहयोग गर्याे । समग्रताका लागि यो विश्लेषण केही होइन । आगामी अध्ययनले यसलाई अझ फराकिलो बनाउँदै लैजाने प्रयास गर्नेछु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.