मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनाको भाका सरेको सर्‍यै, आउला त एक वर्षमा पानी ?

सोमबार, २२ असार २०७७, ११ : ०८
सोमबार, २२ असार २०७७

पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने धोको अझै पूरा भएको छैन । 

पञ्चायतकालमा सम्भाव्यता पहिचान गरिएपनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आउँदा समेत काठमाडौंमा पानी झरेन । पटक पटकका सरकारले मिति घोषणा गरेपनि घोषणा गरेको मिति हालसम्म पूरा भएको छैन । 

वर्तमान सरकारले आगामी आर्थिक वर्षभित्र अर्थात अर्को असारसम्म काठमाडौंवासीलाई पानी खुवाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

आइतबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सुरुङमार्गभित्र पानी परीक्षणका लागि पठाइएको जनाइएको छ । यद्यपी यो प्रक्रिया नै २ महिनाभन्दा बढी लाग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन् । 

सुरुङमार्ग सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजना वर्तमान सरकार आएपछि रातारात निर्माण भएको आयोजना भने होइन । २०४१ सालमा काठमाडौं उपत्यकामा हुने खानेपानी समस्या समाधानको विकल्पमा मेलम्चीको पहिचान गरिएको थियो । 

२०४९ सालमा भएको अध्ययनले मेलम्ची र अन्य दुई सहायक खोलाबाट दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउन सकिने निष्कर्ष निकालिएको थियो । 

मेलम्चीबाट काठमाडौं पानी ल्याउने योजना अनुसार २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरिएको थियो ।  समिति गठनको ११ वर्षवपछि अर्थात २०६६ सालदेखि आयोजनाको सुरुङ खन्न थालिएको थियो । तर सो मार्ग सम्पन्न गर्नका लागि १० वर्ष लाग्यो । २०७५ सालमा साढे २७ किलोमिटर सुरुङमार्ग पूरा गरिएको थियो । सुरुङ खन्ने काम सम्पन्न गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसी र खानेपानी मन्त्रालयबीच भएको विवादका कारण सो कम्पनीले काम पूरा नगरी छोडेको थियो । 


इटालियन कम्पनीसँग ठेक्का सम्झौता तोडेर सरकारले २०७६ साल असोजमा चिनियाँ ठेकेदार सिनो हाइड्रो कर्पोरेशनलाई १५ महिनाभित्र काम सक्नेगरी ठेक्का दिएको थियो । अहिले यो कम्पनीले आयोजना बाँधस्थलमा काम गरिरहेको छ । 

आयोजनाको बाँकी कामका रुपमा खोलामा स्थायी बाँध अर्थात हेडवक्र्सको काम बाँकी छ, जुन २०७७ सालभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । अहिले परीक्षणका रुपमा सुरुङमा पानी पठाउन थालिएको मन्त्रालयको भनाइ छ । 
मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिने भएको छ । 

सुरुङको सुरक्षा तथा सञ्चालनका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप पानीको प्रवाह गरिने र त्यसरी पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने प्राविधिक अनुमान छ । भरिएको सुरुङलाई १५ देखि २० दिन यथास्थितिमा राखिने त्यति नै दिन लगाएर सुरुङको पानी खाली गरिने जनाइएको छ । 

सुरुङ खाली भएपछि त्यसको अवस्था जाँच गर्न ७ दिन समय लाग्ने र कुनै समस्या देखिएमा आवश्यकता अनुसार त्यसको समाधान गरिने योजना बनाइएको छ । 

भाका सरेको सर्‍यो
मेलम्ची खानेपानी काठमाडौं आउने भाका सरेको स¥यै छ । खानेपानी मन्त्री बिना मगरले विगतमा आगामी दशैँलाई मेलम्चीको पानी आउने भाका दिने गरेपनि अहिले भने मिति तोक्न छोडेकी छिन् । उनले यो वर्षभित्र काठमाडौंमा पानी आउने दावी गरेकी छिन् । 

पाँच छ बर्षदेखि विगतका सरकारले कहिले वैशाख १ गते त कहिले दशैँको समयमा पानी आउने दावी गर्ने गरेका थिए । 

तर ठेकेदार कम्पनीसँग तालमेल नमिल्ने, भूकम्पको समस्या लगायतका कारण मेलम्ची खानेपानी आयोजनाको काम पछि धकेलिँदै आएको थियो । अहिले आयोजनाको ९७ प्रतिशत काम सकिएका कारण छिट्टै पानी आउने आशा पलाएको छ ।

काठमाडौंको सुन्दरीजलमा पानी प्रशोधन केन्द्र तयार भइसकेको छ भने पानी वितरणको पाइपलाइन पनि जडान गरिएको छ । 

यद्यपी खानेपानी आयोजनासँग सम्बन्धित अन्य समस्याहरु हल गर्न भने बाँकी नै छ । काठमाडौंमा जडान गरिएका पाइपलाइन सफाइ, मेलम्चीको पानी काठमाडौ लगेबापत स्थानीयले नाफाको २५ प्रतिशतसम्म रोयल्टी मागेका छन्, सो विषयको संवोधन लगायतका काम बाँकी नै रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप