बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेनाको सम्मानसहित कोरोना सङ्क्रमितको शव व्यस्थापन

सोमबार, २२ असार २०७७, १० : ३९
सोमबार, २२ असार २०७७

क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ ।

 विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो । 

यही असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब सङ्कलन गरिएको भए पनि मृत्यु भएपछि मात्र कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । सुनिलको शवलाई नेपाली सेनाको अर्जुन बाड गणअन्तर्गत शत्रुमर्दन गुल्मका तीन जना सेनाले आइतबार राति अन्तिम सलामी दिएर बिदाइ गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए । खोला नजिक बगरमा डोजरले खाल्डो खनेर विश्वकर्माको शव गाडिएको छ ।

पोखरा, गोरखालगायतका विभिन्न स्थानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा आएको अवरोधलाई देखेर आफूहरु तयारी अवस्थामा रहेको भए पनि ढोरपाटनमा कुनै अवरोध नभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताएका छन् । 

मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको बिरामी थिए । उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको बताइएको छ । असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टिनमा बसेका थिए । 

श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब सङ्कलनको लागि ढोरपाटन–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडाध्यक्ष तिलक पुनले बताए ।

श्रीमती, दुई छोरी र एक छोराको समेत स्वाब सङ्कलन गरी पठाइएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो । एक छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले सपरिवार क्वारेन्टिनको एउटै कोठामा बसिरहेको वडासचिव देवेन्द्र बस्यालले जानकारी दिए । 

मृतक विश्वकर्माका परिवारका सदस्यको पुनः स्वाब सङ्कलन गरी परीक्षण गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप