शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मास्कको प्रयोगमा अलमल र कचकच !

सवारीमा यात्रा गर्दा मास्क लगाउनेबारे यसो भन्छन् जनस्वास्थ्यविद्
सोमबार, २२ असार २०७७, १० : १५
सोमबार, २२ असार २०७७

हालसम्मको विज्ञानलाई नै चुनौती दिँदै संसारभरि फैलिएको महाव्याधि कोभिड–१९ को हालसम्म कुनै भरपर्दो खोप वा औषधि फेला पर्न सकेको छैन । अत्यन्तै तीब्र दरमा संक्रमण फैलिने, हालसम्म विश्वव्यापी रुपमा जनालाई संक्रमित तुल्याइसकेको र जनाको ज्यान लिइसकेको यस महाव्याधिका विरुद्धको लडाइँमा हालसम्मकै सबैभन्दा कामलाग्दा उपायमध्ये पनि सबैभन्दा प्रभावकारी  भनेकै सामाजिक दूरीको पालना तथा मास्कको अनिवार्य प्रयोग नै रहेको छ ।

हालसम्मको विज्ञानले निर्विवाद रुपमा पुष्टि गरेको सत्य के हो भने, मास्कको उचित र सही प्रयोगले कोरोनाको संक्रमण फैलिनबाट धेरै रोकथाम गर्छ । तर समस्या के छ भने, धेरै मानिसहरुको बुझाइमा मास्कको प्रयोग किन, कहिले, कहाँ र कसरी गर्ने भन्नेबारेमा अझै पनि सही, वस्तुवादी ज्ञानको अभाव छ । त्यसैको परिणाम हो, कतै मास्क लगाउनै पर्ने स्थानहरुमा पनि मास्क नलगाइ मानिसहरुले कोरोनाको संक्रमणलाई खुला निम्तो दिइरहेको पाइन्छ भने कतै चाहिँ मास्क नै नलगाउनुपर्ने स्थितिमा पनि मास्क किन नलगाएको भनी मानिसहरुले अनावश्यक रुपमा सरकारी दण्डको भागी बन्नुपरेको, गालीगलौज, अपमान र दण्डको शिकार बन्नुपरिरहेको स्थिति पनि विद्यमान छ ।

वास्तवमै भन्ने हो भने मास्कको प्रयोग किन र कसरी गर्ने भन्नेबारेमा जनमानसमा तथा त्यसको कार्यान्वयनलाई नियमन गर्ने सरकारी निकायमा नै पनि ठूलो अलमल र कचमच छ ।


गुनासो : मास्कको नाममा प्रहरीले सास्ती दिन्छन्

खुकुलो लकडाउनसँगै कोरोना संक्रमण नियन्त्रण गर्नका लागि उपत्यका सडकमा निजी सवारी चलिरहेको छ । निजी साधनहरु चलाउने क्रममा चलाउने र चढनेलाई मास्क नलगाएको भन्दै ट्रफिक प्रहरीले ‘अनावश्यक दुख दिएको’ सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

एक्लै सवारी साधन चलाइरहेको अवस्थामा होस्, या साथमा अन्य सवारी रहेको अवस्थामा होस्, मास्क नलगाएको अवस्थामा प्रहरीले रोकेर केरकार गर्ने गरेको, मास्क नलगाएकोमा ‘कारवाही गर्ने गरेको’ पाइन्छ । तर वास्तवमै सवारी चालक वा सवारीमा रहेका व्यक्तिहरुले कस्तो अवस्थामा मास्क लगाउनुपर्ने वा नपर्ने भन्नेबारेमा अलमल रहेको पाइन्छ ।

रमाइलो कुरा चाहिँ के छ भने, मास्क लगाए नलगाएकोबारेमा प्रहरीलाई भन्दा पनि बढी चासो र ‘चिन्ता’ भिडियो खिचिरहेका ‘पत्रकार’लाई हुने गर्छ, जसले मास्क नलगाएका सवारी चालकको प्रहरीकै सामुन्ने ‘पुलिस शैली’मा केरकार गरेर ‘हुर्मत लिने काम’ पनि गरिरहेको हुन्छ ।

तर जसरी जुनसुकै बेलामा र जतिखेर पनि मास्क लगाउनै पर्ने भन्ने खालको बुझाइ छ, त्यो सही नरहेको कुरा जनस्वास्थयविद्हरु बताउँदछन् ।

‘एक्लै बाइक तथा निजी गाडी चलाउँदा मास्क लगाउन नपर्ने’ जनस्वस्थ्य वैज्ञानिक समीरमणि दिक्षित बताउँछन् । ‘मोटरसाइकलमा दुई जनाले यात्रा गरेको खण्डमा पछि बस्नेले मास्क लगाउनुपर्ने’ उनी बताउँछन् ।

‘निजी गाडी एक्लै भ्mयाल खोलेर चलाएमा पनि मास्कको आवश्कता नपर्ने उनको भनाइ छ । ‘निजी गाडी चलाउँदा भ्mयाल खोलेर चलाउँदा मास्कको जरुरत पर्दैन,’ उनले भने, ‘गाडीको भ्mल्याल बन्द गरेर एसी, हिटर खोलेर चलाउँदा भने मास्क लगाउनुपर्छ ।’

‘गाडीमा चालक बाहेक दुई जना एउटै परिवारको सदस्य भए पनि मास्क लगाएर यात्रा गर्दा राम्रो हुने’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन  बताउँछन् ।

एक्लै मोटरसाइकल चलाएर स्वतन्त्र रुपमा गन्तव्यमा सकेमा मास्कको प्रयोग गर्न नपर्ने डाक्टर दिक्षितको कुरामा डाक्टर पुन पनि सहमत छन् ।

तर ‘दुई पाङ्ग्रे सवारीमा दुई जना चढ्ेमा मास्क लगाउँदा राम्रो हुने डाक्टर पुनको कथन छ । त्यसका लागि कारण प्रस्तुत गर्दै उनी ‘मोटरसाइकल तथा स्कुटीलाई चेकिङ, पार्किङका लागि रोक्दा पछाडि बस्ने मानिस मूलतः बोल्ने हुँदा मास्क लगाउँदा संक्रमण सर्ने–सार्ने सम्भावना कम हुने’ बताउँछन् । ‘गन्तव्यमा पुग्नुभन्दा अगाडि मोटरसाइकलमा गुड्दा गुड्दै, सडकमा रोकेर, पार्किङ गर्दागर्दै सामाजिक दुरी कायम नगरिकन बोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले दुई पाङ्ग्रेमा सवार हुने दुवैले मास्क लगाउनुपर्छ,’ डा. पुन भन्छन् ।

कोरोना महामारी फैलिने क्रम बढिरहँदा घरबाट बाहिर निस्कने सबैले मास्क नलगाउँने प्रवृत्ति बढ्दो छ, जसले गर्दा संक्रमण सर्ने–सम्भावनालाई पनि बढाएको जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डे बताउँछन् । उनी ‘मोटरसाइकल तथा एक्लै निजी गाडी चलाउनेले पनि नेपालको परिवेशमा मास्क लगाउन आवश्यक रहेको’ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डे ठान्छन् ।

सावधानी नअपनाइकन धेरै जना घरबाहिर निस्किने गरेको पृष्ठभूमिमा मोटरसाइकल कुदाउनेले पनि मास्क लगाएमा उपयुक्त हुने डा. पाण्डेको सुझाव छ । 

सरुवा रोग विशेषज्ञ डाक्टर पुनका अनुसार ‘मोटरसाइकल तथा निजी गाडी चलाउनेले गन्तव्यमा पुग्नभन्दा अगाडि चेकिङ, सडक छेउमा पार्किङ गरेर चर्को स्वरले सामाजिक दुरी कायम नगरिकन बोल्न पर्ने अवस्था आउन सक्ने हुँदा मास्क अनिवार्य रुप लगाउँदा कोरोनाबाट जोगिन सकिन्छ ।’

नेपालको सन्र्दभमा संक्रमणबाट जोगिनका लागि व्यवाहारिक रुपमा अपनाउनै पर्ने सावधानी अपनाइएका पाइँदैनन् । ‘घरबाट दुई पाङ्गे्र सवारी चलाएर कार्य क्षेत्रमा जाने आउने क्रममा नजिकै आएर थुकको छिटा मुख पर्ने गरेर कोही कोहीले बोलाउँछन्,’ डा. पुन भन्छन्, ‘त्यसरी बोल्ने क्रममा सवारी चलाउनेले कसैसँग बोल्नुपूर्व खल्ती   वा झोलाबाट मास्क भिकेर लगाउने अभ्यास प्रचलनमा नभएकाले संक्रमण सर्ने–सार्ने समभावना हुन्छ । त्यो स्थितिबाट बच्नका लागि सधैं मास्क लगाएर सवारी कुदाउँदा उचित हुन्छ ।’

कोरोना संक्रमण पहिला नाकबाट भन्दा मुखबाट हुने विज्ञहरुले भने पनि वर्तमान समयमा मुखबाट भन्दा नाकबाट छिट्टै कोरोना सर्ने कुरा जनस्वास्थ्य विज्ञहरुले पत्ता लगाएको विज्ञ डाक्डर पाण्डे बताउँछन् । उनका अनुसार, आँखाबाट पनि कोरोना सर्छ ।

संक्रमण रोकथामका लागि कडा मापदण्ड अंगीकार गरेका कतिपय विदेशी मुलुकहरुमा घर बाहिर भीडभाडमा निस्कँदा मास्क नलगाएमा कारवाही हुने गरेको’ उनले सुनाए । ‘कोरोना संक्रमणको जोखिमबाट बँच्नका लागि सडक चोक बजार कार्यालयमा बस्ने हिँड्नेहरु मध्ये धेरैले सुरक्षा विधि नअपनाएकाले, लक्षणविहीन संक्रमित परीक्षणको दायरामा नआएको स्थिति छ । यो अवस्थामा सवारी चेकजाँच गर्दा, सवारी जाममा पर्दा एकआपसमा नजिकैबाट कुराकानी गर्दा, पाकिङ गर्दा, सवारी सडकमा रोकेर कुराकानी गर्दा सावाधानी नअपनाएमा कोरोना संक्रमण हुन सक्छ । त्यसैले चेकजाँचमा खटिउका ट्राफिक प्रहरीले सवारी चालकहरुलार्ई मास्क लगाउन आग्रह गर्ने कार्यलाई सकारात्मक रुपमा नै लिनुपर्ने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ ।

‘सबैले अनिवार्य रुपमा घरबाहिर निस्कँदा मास्क लगाएमा बीसदेखि पचास प्रतिशत कोरोना संक्रमणबाट जोगिन सक्ने’ जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डेको भनाइ छ ।

तर ‘धेरै मानिसले मास्क लगाए पनि सही तरिकाले प्रयोग नगरेको’ सरुवा रोग विशेषज्ञ डाक्टर पुन गुनासो गर्छन् ।

‘हामी एक्लै सवारी तथा पदैल यात्रामा निस्कँदा मास्कले नाक मुख ढाक्छौं,’ उनले भने, ‘जब आम्ने–साम्ने हुन्छौं, सामाजिक दुरीसमेत कायम नगरिकन कुराकानी गर्न थाल्छौं, अनि लगाएको मास्क पनि घाँटीमा चिउँडोमा झुन्ड्याएर हामी बोल्न सुरु गछौं ।’

कोरोना संक्रमणबाट जोगिनका लागि मास्क लगाउन अनिवार्य छ भन्ने सबै मानिसलाई थाहा छ । डाक्टर पुनका अनसार, ‘नेपालका राजनीतिक दलका नेताले समेत चिउँडो र घाँटीमा मास्क झुन्ड्याएर सामाजिक दुरी कायम नगरिकन सामुहिक रुपमा गफ गरेको पाइन्छ ।’

त्यसो त ‘खुल्ला स्थानमा एक्लै हुँदा मास्क लगाउनु नपर्ने’ डाक्टर पुन बताउँछन् । ‘कोरोना संक्रमणका लक्षण देखानपरेका वा पहिचान नभएका व्यक्तिहरु कार्यालयमा सामाजिक दुरी कायम गरेर झयाल खोलेर बसेको खण्डमा पनि मास्कको प्रयोग गरिबस्नु नपर्ने’ उनको भनाइ छ ।

हावाको राम्रो प्रवाह हुने खुला स्थानहरुमा भीडभाड छैन भने मास्क लगाइबस्नु नपर्ने, संक्रमणका लक्षण देखानपरेका, संक्रमित क्षेत्रमा यात्रा नगरेका तथा संक्रमणका आशंका गरिएकाहरुसँग सम्पर्कमा नआएका एकाघरका परिवारजनहरु साथसाथै बस्दा पनि मास्क लगाइबस्नु नपर्ने जनस्वास्थ्यविद्हरुले भन्दै आएका छन् ।  तर भीडभाडमा जाँदा, सार्वजनिक सवारी साधनमा गुड्दा, कोरोना संक्रमणको लक्षण देखापरेका व्यक्तिहरु तथा पसल–मलहरुमा जाँदा सबैले अनिवार्यतः मास्क लगाउनुपर्ने कुरा विश्व स्वास्थ्य संगठन तथा धेरै जनस्वास्थ्यविद्हरुले बारम्बार भन्दै आइरहेका छन् ।

अझ कोरोना संक्रमण समुदाय स्तरमा फैलिएका क्षेत्रमा त मास्कको प्रयोग गरिनु नै सबैभन्दा उचित उपाय हो । तर  धेरै नेपालीले यी कुराहरुलाई वास्ता गरेको पाइँदैन । फलतः को कतिखेर संक्रमित बन्न सक्छन् भनेर भन्न सकिने स्थिति छैन । यो स्थितिमा ‘मोटरसाइकल, स्कुटीमा एक्लै हिँडेका मानिसले सवारी पार्किङ गरेर सडकमा काम विशेषले रोकिएर सामाजिक दुरी काम नगरिकन अर्को व्यक्तिसँग भेट्दा वा बोल्दा संक्रमणको जोखिम हुन सक्ने भएकाले मास्कको सही प्रयोग गरिनु उपयुक्त हुने’ डा. पुन बताउँछन् । 

‘लक्षणविहिन कोरोना संक्रमित परीक्षणको दायरामा नपुग्न सक्छन्, आफूलाई कोरोना संक्रमण भएको थाहा नपाएर मोटरसाइकल चलाउँदा वा पछाडि बस्दा, निजी कार भ्यानमा यात्रा गर्दा, सामाजिक दुरी कायम नगरेर मास्क नलगाएर यात्रा गर्दा कोरोना संक्रमण हुन सक्छ,’ डा. पुन थप्छन् ।

‘एक्लै बाइक तथा निजी सवारीमा गुड्दा सामान्यतः मास्कको प्रयोग गर्न नपर्ने भएपनि कोभिड–१९ का विरुद्ध पालना गर्नैपर्ने सामाजिक–भौतिक दूरी, सरसफाइका नियम पालना गर्ने कुरामा अधिकांशले वेवास्ता गर्ने गरेको पाइएकोले सवारीमा यात्रा गर्दा मास्क लगाउँदा धेरै राम्रो हुने’ वैज्ञानिक डाक्टर दिक्षित बताउँछन् ।

 ‘मोटरसाइकल चलाएर हामी भीड तरकारी बजारमा हामी जान्छौं, मास्क नलगाइकन आम्नेसाम्ने भएर तरकारी किन्छौं, जसले गर्दा एकअर्कामा संक्रमण सर्ने र फैलिने सम्भावना बढेर जान्छ । यस हिसाबले हेर्दा मास्क नलगाई सवारी कुदाइरहेका सवारी चालकलाई ट्रफिक प्रहरीले मास्क लगाउन भनेका कुरा ठीकै पनि हो,’ डाक्टर दीक्षित भन्छन् ।

लकडाउनलाई अर्धखुकुलो बनाएर सडकमा सवारीको चापलाई कम गर्न सरकारले यतिखेर निजी सवारी साधनहरुमात्रै चल्न दिएका छन् । तिनमा पनि जोरविजोर प्रणाली लागू गरिएको छ । तर जोरविजोर सवारी सडकमा गुडाउने नियमलाई पालना नगर्नेहरुको संख्या पनि निक्कै छ । यस्तो अवस्थामा ट्रफिक प्रहरीले चेकजाँच गर्ने क्रममा सवारी र यात्रुको भीड हुँदा मास्क नलगाई कुद्नेहरुबाट संक्रमण सर्ने जोखिम बढ्ेको छ ।

४० प्रतिशले सवारी यात्रा गर्दा मास्क लगाउँदैनन्

प्रहरीको बुझाइमा सवारी चढ्दा मास्क लगाउनु पर्ने हुन्छ । तर ‘सवारीचालकहरुमध्ये थुप्रैले सवारी नियम उल्लंघन गर्नुका साथै  मास्कको पनि सही प्रयोग नगरेको’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल बताउँछन् ।

निजी चार पाङ्ग्रे सवारीमा चालकसहित तीन जनाले यात्रा गर्न मिल्छ । ‘चार पाङ्ग्रे सवारीमा सामाजिक दुरी कायम नगरिकन, मास्कको प्रयोग नगरिकन तीन जनाभन्दा बढिले यात्रा गर्ने गर्छन्,’ उनले भने, ‘मोटरसाइकल गुडाउनको पछाडि बस्नेले पनि मास्क नलगाइक हिँड्छन् । त्यसरी यात्रा गर्दा नियम उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याएर मास्कको प्रयोग गर्न सुझाव पनि दिन्छौं ।’

‘मोटरसाइकल चलाउने मध्ये करिब ४० प्रतिशतले मास्क नै नलगाउने गरेको फेला परेको’ उनी बताउँछन् । उनका अनुसार, दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी चलाउने ६० प्रतिशतले मात्र मास्कको प्रयोग गर्छन् । 

नेपालमा लक्षणविहीन कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम झन बढेको छ । परीक्षणको दायरा सीमित रहेको र त्यसमा नआएकाहरुमा संक्रमण रहे नरहेको थाहा पाउन नसकिने स्थितिबीच जोकोही पनि लक्षणरहित ढंगले समेत संक्रमित हुन सक्ने भएकाले मास्क लगाएर मात्र यात्रा गर्न तथा बोल्दा भेटघाट गर्दा सामाजिक दूरी कायम गर्न सुझाब दिने गरेको’ उनी बताउँछन् ।

सवारी चालकहरुमा कोभिड–१९ का विरुद्धसडकमा होर्डिङ्ग वोर्ड, पर्चा–पम्पेलेट टाँसेर र ट्राफिक प्रहरीले कोरोना संक्रमणबाट बँच्न जनचेतना फैलाएको’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ढकाल बताउँछन् ।

कतिपय सवारी चालकहरुको गुनासो मास्क नलगाएको भन्दै ट्राफिक प्रहरीले धम्काउने गरेको भन्ने छ । यसबारे जिज्ञासा राख्दा ‘मास्क नलगाएको नाममा सडकमा यात्रुलाई  ट्राफिक प्रहरीले नधम्काएको’ ढकाल बताउँछन् । ‘हामीले नियमानुसार नै सवारी नियम उल्घंन गर्नेलाई कानुनी दायरामा ल्याएका छौं,’ उनले भने, ‘सवारी नियम पनि उल्लंघन गर्ने, सामाजिक दुरी कायम गर्ने तथा मास्कको प्रयोग गर्नेलाई नियमानुसार आवश्यक कारवाही तथा सम्झाइबुझाइ गर्ने गरेका छौं ।’ 

मास्क कसरी लगाउने ?

‘कोरोना संक्रमणबाट जोगिनका लागि सडक चोक, बजारमा निस्कँदा मास्क लगाए पनि सही तरिकाले प्रयोग हुने नगरेको’ जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे बताउँछन् ।

मास्क लगाउँदा वा फुकाल्दा सावधानी अपनाउनु पर्ने अन्यथा मास्क लगाउनु–नलगाउनुको कुनै अर्थ नहुने डा. पाण्डेको भनाइ छ । ‘प्याकेटबाट मास्क निकाल्दा मास्कको भित्रपट्टि नछोइकन दुईवटा डोरीलाई समातेर लगाउनु पर्छ, मास्क लगाएपछि पटक–पटक हातले छुने फुकाल्ने गर्नु हँुदैन, मास्क भनेको नाक मुख छोप्नको लागि प्रयोग गर्ने हो, त्यसलाई घाँटीमा झुन्ड्याउनु हुँदैन’ डाक्टर पाण्डेको सुझाव छ ।

‘‘युज एण्ड थ्रोे’ मास्क एक पटक लगाएपछि पुनः प्रयोग गर्न नहुने’ उनी बताउँछन् । प्रायः मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ । एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै चाहिँ धोएर पुनप्रयोग गर्न मिल्ने उनी बताउँछन् । 

कस्तो कस्तो मास्क लगाउने ?

‘उपलब्ध भएको र सम्भव भएको खण्डमा एन नाइन्टी फाइभ मास्क लगाउनु राम्रो । किनभने यस मास्कले सामान्यतः ९५ प्रतिशत किटाणु रोक्छ । तर एन नाइन्टी फाइभ मास्कको प्रयोग गर्न सक्ने अवस्था नभए घर बाहिर भिडभाडमा निस्कँदा युज एण्ड थ्रोे मास्क तथा कपडाले बनाइएका मास्क भएपनि लगाउनु संक्रमण रोकथामको हिसाबले निक्कै राम्रो हुने’ डा. पाण्डे बताउँछन् । ‘रुघाखोकी अथवा श्वास–प्रश्वाससम्बन्धी समस्या भएकाले हाच्छ्यु गर्दा, खोक्दा र बोल्दा निस्किने कणलाई रोक्ने काम मेडिकल मास्कले गर्छ । मेडिकल मास्कले पनि एकबाट अर्कोमा कोरोना संक्रमणबाट जोगाउन सक्ने’ उनी बताउँछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप