मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको प्रेरणामा लिग उपाधि जित्ने बार्सिलोनाको आशा कायमै

सोमबार, २२ असार २०७७, ०६ : ५५
सोमबार, २२ असार २०७७

फर्ममा रहेको भिल्लेरियालमाथि ४–१ को जीत निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झार्न सफल भएको हो ।

खेलमा बार्सिलोनाले पाउ टोरेसको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । तर, लगत्तै जेरार्ड मोरेनोले भिल्लेरियालका लागि बराबरी गोल फर्काएका थिए । खेलको २० औँ मिनेटमा लियोनेल मेस्सीको पासमा लुइस सुवारेजले बार्सिलोनालाई पुनः अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा मेस्सीले पुनः एन्टोनियो ग्रिजमानका लागि गोलको अवसर सिर्जना गरे । अन्सु फातीले बार्साका लागि चौथो गोल गरे ।

मेस्सीले यो सिजन ला लिगामा १९ एसिस्ट गरेका छन् । पछिल्लो पटक सन् २०१०–११ मा उनले नै एक सिजनमा यति धेरै गोलको अवसर सिर्जना गरेका थिए । खेलमा उनको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले अफसाइड करार गर्दै रद्द गरेको थियो भने खेलको अन्त्यतिर उनको फ्रिकिक क्रसबारमा लाग्न पुगेको थियो ।

चार खेल बाँकी छँदा रियल म्याड्रिडभन्दा बार्सिलोना ४ अंकले पछि रहेको छ । ३४ खेलबाट बार्सिलोनाको ७३ अंक रहेको छ भने रियलको ७७ अंक रहेको छ ।

यसअघि रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई संघर्षपूर्ण खेलमा १–० गोलअन्तरले पराजित गरेको थियो । खेलमा एक मात्र गोल कप्तान सर्जियो रामोशले गरेका थिए ।

खेलको ७३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उनले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । उनले स्पेन र रियलका लागि लगातार २२ पेनाल्टीलाई गोलमा परिणत गरेका छन् ।

कोरोनाभाइरसको महामारीपछि लिग पुनः सुचारु भए यता उनले सात खेलमा पाँच गोल गरेका छन् जसमा रियलले सबै खेलमा जीत हासिल गरेको छ ।

यता, रियलका लागि गोलकिपर थियाबट कोर्टवा एकै सिजनमा १७ वटा क्लिन सिट राख्ने सन् १९९४–९५ मा फ्रान्सिस्को बुयोपछि पहिलो गोलकिपर बनेका छन् । अब बाँकी चार मध्ये तीन खेलमा जीत हासिल गरे रियलले सन् २०१२ पछि पहिलो लिग उपाधि जित्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप