शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको सत्ता संघर्षले काँग्रेस पनि तरंगित : अरुको विवादमा पार्टीको कित्ता क्लियर नहोस् !

आइतबार, २१ असार २०७७, २२ : ३७
आइतबार, २१ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सत्ताको जोडघटाउले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र पनि तरंग ल्याएको छ । नेकपाभित्र विवाद चरमोत्कर्षमा पुगेका बेला काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेता सुवासचन्द्र नेम्वाङबीच भएको भेटवार्ताले नेकपासँगै काँग्रेसमा पनि तरंग ल्याएको हो ।


पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जनलाई एजेण्डा बनाएर बसेको काँग्रेसको आइबारको बैठकमा देउवाले ओली र नेम्वाङसँग गरेको भेटवार्ताको विषय केन्द्रित हुन पुग्यो । दिउँसो २ बजेका लागि बैठक बोलाइएको भए पनि एक–आधा घण्टा शीर्ष नेताहरुबीचको कोठे बैठकपछि ३ बजे बैठक सुरु भएको थियो । बैठकको सुरुमा आजको छलफलको विषयबारे नेता अर्जुननरसिंह केसीले कुरा उठाए । त्यसपछि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यातालिका परिमार्जनको प्रस्तावबारे छलफल कुरा सुनाए ।

त्यही बीचमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली र नेम्वाङसँग भएको छलफलबारे बैठकलाई जानकारी गराउने माग राखे । ‘यो विषयमा त तपाईँ आफै जानकार हुनुहुन्छ, के जानकारी गराउनु’ प्रतिक्रिया दिँदै देउवाले भेट भएको स्वीकार गरे ।

असार १७ गते प्रधानमन्त्री ओलीसँग र आइतबार (आज) बिहान नेम्वाङसँग संवैधानिक नियुक्तका विषय छलफल भएको ब्रिफिङ गरे । संक्षिप्तमा देउवाले बैठकमा भने,असार १७ गते प्रधानमन्त्री केपी ओलीजीसँग संवैधानिक नियुक्तका विषयमा छलफल भएको थियो । आज त्यसैको निरन्तरता अनुसार बिहान सुवाचन्द्र नेम्वाङसँग छलफल भएको हो । यसबारे सबै कुरा मिनेन्द्र रिजालजीलाई थाहा छ ।’ 


यद्यपी ओलीले आफूसँग सत्ता सहकार्यको प्रस्ताव राखेको देउवाले बताएका थिए । त्यसपछि भेटघाटबारे रिजालले थप प्रस्ट्याउने कोशिस गरेका थिए । नेकपा नेता सुवासचन्द्र नेम्वाङसँगको भेटमा सभापति देउवाले नेकपाभित्रको विवादमा आफू ओली र प्रचण्ड कुनै पक्षतिर पनि देखिन नचाहेको बताएका थिए । 

रिजालले भने, ‘पार्टीभित्र विवाद भइरहेका बेला विपक्षी नेतासँग उहाँहरुले सहयोग माग्ने कुरालाई स्वभाविक कुरा नै मानौँ । छलफलमा सभापतिजीले यो तपाईँहरुको आन्तरिक समस्या हो, म कुनै पक्षतिर पनि देखिन चाहन्नँ भनेर प्रष्ट रुपमा भन्नु भएको छ ।’ 

रिजाललका अनुसार नेकपामा विभाजनको अवस्था पनि नआएको र संसदमा पनि अविस्वासको प्रस्ताव दर्ता नभएको बेलामा आफू कुनै पक्षतिर देखिने गरी उभिने देउवाको भनाइ थियो । ओली पक्षले देउवासँग गरिएको भेटलाई नेकपाभित्रकै विवाद मिलाउनका लागि अर्को पक्षलाई दबाब दिनका लागि हुनसक्ने रिजालको भनाइ थियो ।

केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले पनि नेकपाको आन्तरिक विवाद बढ्दै जाँदा सो पार्टीमा गुटगत गतिविधि भएकाले काँग्रेस कसैको पनि पक्षमा लाग्न नहुनेमा जोड दिएका थिए ।

उनीहरुले कुनै पनि पक्षमा कित्ता क्लियर गरेर उभिँदा समस्या हुनसक्ने भन्दै देउवालाई सावधानी अपनाउन सचेत गराएका थिए । 

त्यही बीचमा सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता महेश आचार्य, मिनेन्द्र रिजाल, रमेश लेखक गगन थापाले देउवाको कार्यकक्षमा आएर आन्तरिक छलफल समेत गरेका थिए ।
आन्तरिक छलफलमा थप कुरा प्रस्ट्याउन आग्रह गर्दै आफ्नो सुझाव पनि दिएका थिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘हामीले थप केही भित्री कुरा छ कि भनेर प्रश्न गर्दा सभापतिजीले हाँस्दै भन्नुभयो– प्रधानमन्त्रीजीबाट परिस्थिति थप अगाडि बढे सहकार्य गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने कुरा आयो, मैले तपाइँ नै होइन मलाई काँग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भाषण गर्ने । मैले त्यही बेला भनेको थिएँ नि मलाई त ज्यतिषले ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको छ भनेर भनेँ ।’

नेम्वाङले पनि आइतबारको छलफलमा देउवा र रिजालसँग प्रधानमन्त्री ओलीको भाष्य अनुसार कुरा राखेका थिए । त्यहाँ पनि देउवाले सोही ढंगले कटाक्ष गरेको स्रोतले बतायो । ती नेताका अनुसार देउवाको कुरा सुनेपछि नेम्वाङले पनि कुराकानीको अन्त्यतिर ‘तपाइँलाई प्रधानमन्त्री बनाउँछु भनेर भनेको होइन नि । त्यस्तै अवस्था परे गृह र अर्थ कुरासम्म पुगौँला,’ भनेका थिए ।

देउवाको ठट्टामा नेम्वाङले पनि ठट्टा गरेका हुन् वा प्रधानमन्त्री ओलीले यति पनि भनेर आउनु भनेर पठाएका थिए, त्यो भने बुझ्न नसकिएको ती नेताको भनाइ छ । उक्त छलफलमा सहभागी नेताहरु प्रवक्ता, थापा, लेखक लगायतले नेकपाको विवादमा चिओचर्चो गर्ने, कुनै एउटा पक्ष र अर्को विपक्षमा उभिने ढंगले जानु हुँदैन भनेर सुझाएका थिए ।

नेकपाका नेताहरुले आफ्नो विवाद व्यवस्थापन गछनर्् वा विभाजनमा जान्छन् त्यो उनीहरुको विषय भएको बताएका थिए । ओली पक्षका नेताहरुले काँग्रेससँग छलफल गरेको देखाएर पार्टीभित्रको विवादमा अर्को पक्षलाई तर्साउने ढंगले प्रचार गर्ने गरेको काँग्रेस नेताहरुको भनाइ छ । 

प्रधानमन्त्रीका दूत बनेर देउवालाई भेटेका नेम्वाङ ‘काँग्रेससँग मिलेर सरकार बनाउँदै छौँ’ भनेर सन्देश दिने गरी प्रस्तुत भएकाले भेट्ने कुरामा पनि सजक हुनुपर्नेमा नेताहरुले नेतृत्वलाई सचेत गराएका थिए । 
अहिले प्रतिपक्षी दलका नेताले सरकारको गतिविधि नियाले पनि उनीहरुका विवादमा जोडिन नहुने सुझाव दिएका थिए ।

नेकपाभित्र गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा देशभित्रकै नेताहरुको पनि संंलग्नता रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ ।

विवाद उत्कर्षमा पुगेकै बेला ओलीले काँग्रेससँग मिलनको हात मिलाउन पुगेपछि काँग्रेसभित्र पनि यो विषयले व्यापक चासो आएको हो । नेकपाभित्रको विवाद बाहिर एउटा देखिएपनि भित्रभित्रै एमसीसीको विषयसमेत जोडिएकाले यसमा काँग्रेसको पनि उत्तिकै चासो रहेको बताइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप