शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिलगङ्गाको बस्ती हटाइँदै

आइतबार, २१ असार २०७७, १९ : १३
आइतबार, २१ असार २०७७

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ ।
 
काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए । 

जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारवाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिग्रहण गरेको सूचना जारी गरेको कोषले जनाएको छ ।
 
विसं २०७१ वैशाख ५ गते त्यस क्षेत्रका अधिकांशलाई मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए । मुआब्जा लिइसकेका सबैलाई ३५ दिनभित्र स्थान छोड्न कोषले अनुरोध गरेको छ । सूचनाको बर्खिलाप हुने गरी संरचना नहटाएमा कोषले प्रशासनको सहयोगमा हटाउने पनि उनले सुनाए ।
 
तिलगङ्गामा मुआब्जा लिएर हट्नेलाई कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ गोठाटारमा रहेको जग्गामा जग्गा विकास गरी न्यूनतम् मूल्यमा खरिद गर्नसक्ने व्यवस्था गर्न लागेको छ । गोठाटारमा जग्गा विकास गरी सडक, बत्ती, खानेपानी, टेलिफोन, ढल लगायत सबै पूर्वाधार सुविधा पु¥याउने तयारीसमेत भइरहेको छ । यसअघि पशुपतिको मुख्य क्षेत्रबाट अधिग्रहण गरिएकालाई पनि सिनामङ्गलमा जग्गा विकास गरी बस्ने व्यवस्था मिलाइएको थियो ।
 
तिलगङ्गाको जग्गामा भने गुरुयोजनाअनुसार विक्रान्त मन्दिर र नक्षेत्र मण्डल निर्माण गरी धार्मिक पर्यटक आकर्षित गरिने तयारी शुरु भएको छ । यस क्षेत्रमा हाल ७५ देखि ८० घर रहेका कोषले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप