केन्द्रीय संस्करण

नेपाली कम्युनिस्ट आन्दोलनमा सामन्तवादी सङ्क्रमण

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

कोभिड–१९ महामारी विरुद्ध विश्वका सम्पूर्ण जनता जीवन मरणको दोसाँधमा लडिरहेका छन् । यो मानवीय क्षमता बाहिरको अत्यन्तै दुःखद् परिस्थितिमा सामन्तवादी सोच, चिन्तन र रवैयाको सङ्क्रमणले नेपाली कम्युनिस्ट आन्दोलन गाँजिएको अवस्थामा पुगेको देखिन्छ । 

लगभग ७० वर्षको बलिदानीपूर्ण सङ्घर्ष र लाखौँ क्रान्तिकारी नेपालीहरुको बलिदान र रगतले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान निर्माण भएको हो । दुई ठूला कम्युनिस्ट पार्टीहरुको मोर्चागत निर्वाचनलाई जनताले सङ्घीय संसदमा बहुमत सिद्ध गराई नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपालीको  सपनालाई साकार पार्न यिनै पूर्व माओवादी र पूर्वएमाले दुई पार्टी बीचको एकताले मुलुकमा श्रमजीवी जनताहरु, निधार्, निमुखा गरिब किसान मजदुरहरु, युगौँदेखि उत्पीडन र भेदभावबाट छटपटिएका जाति, धर्म, लिङ्ग र क्षेत्रको आधारमा शोषणमा परेका नेपाली जनताहरुको अनुहारमा नयाँ उषाका किरणहरु देखापर्न थालेका थिए ।

लामो समय जहानियाँ र सामन्तले राज गरेको यो मुलुकमा अब जनताले आफ्नो श्रमको मूल्य पाउने, स्वाधीन र स्वतन्त्र मुलुकमा रैतीबाट नागरिकमा जीवनमा फेर्ने पाउने, रोगभोग, अशिक्षा र सङ्कटपूर्ण जीवनबाट मुक्ति पाउने सुनौला दिनको प्रतीक्षामा आशावादी थिए । प्रनिधिसभाको निर्वानमा जनताले कम्युनिस्ट पार्टीका अत्यधिक बहुमत सिद्ध भएपछि झन् श्रमजीवी जनताले आफ्नो पार्टी सरकारमा आएको गौरव गरे, दीपावली गरे, नेताहरुलाई कान छेक्नेगरी माला लगाइदिए । जनताले व्यक्ति विशेष केही पाउँछु भनेर होइन । आफ्नो पार्टी, वर्षौंदेखि आफ्नो रगत, पसिना, खर्चेको मात्र हैन । यो पार्टीलाई हुर्काउन नेपाली जनताले केकेमा बलिदान गरेनन्, कतिको सिउँदो पुछिए, कतिको काख रित्तियो । कतिको भविष्य नै सखाप भयो ।

कति विदेशिन बाध्य भए । कतिले आफ्नै ज्यान आहुति दिए । कति अझै अपाङ् र घाइते अवस्था जीवन र मरणको दोसाँदमा छन् । यी सबै देश र जनताले सुखका दिन ल्याउन जानी बुझी गरेका बलिदानीपूर्ण योगदान हुन । यसमा कुनै स्वार्थ छैन । मुलुक राम्रो भयो भने जनताले सुख पाउने हो । मुलुकले दुःख पाए जनताले दुःख पाउने हुन् । विगतका शासन सत्ता, राणाको जहानियाँ थियो । विगतका शासन निरङ्कुश राजा महाराजहरुको थियो । विगतका शासन एकाधिकारीवादहरुको थियो । तिनीहरुले आफूले मोजमस्ती गरेका मात्र थिएनन् । जनतालाई रैती बनाएर, कजाएर, दमन गरेर युगौँदेखि जनतालाई पशुतुल्य बनाएका थिए । नेपाली जनताले उनीहरुलाई च्यूत गरेर हामी सबै नेपाली जनताको देश, आफ्नो, वैयक्तिक स्वतन्त्रता र श्रमको मूल्य पाउन जनताको शासन स्थापित गर्न बलिदान दिए, फलस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान नेपाली जनता आफैले लेखे, आफैले पारित गरी, त्यही संविधानको आधारमा तिनै तहका सरकारका निर्वाचन गरी मुलुकले एउटा नयाँ दिशा पक्रिसकेको थियो । तर विडम्बना जनताले नेकपालाई जुन विस्वासका साथ बहुमत सिद्ध गरायो, त्योअनुसार र सरकार र पार्टी चल्न सकेन । यो सत्य र कटु यथार्थमा कसैले पर्दा लगाएर लाग्न सक्ने अवस्था छैन । यो समस्याको स्रोत के हो ? के कारणले जनताको अभिमत र पार्टी एकताको मर्मलाई हामीले समयमा बुझ्न सकेनौँ, यो विषयमा सामान्य बहसले अब पुग्ने अवस्था छैन । 

प्रथममतः २००६ सालमा कम्युनिस्ट पार्टी गठन भएयता विषेशतः तेस्रो महाधिवेशनपछि पुष्पलालद्वारा गठित पार्टीहरुको टुटफुटको अवस्थामा गुज्रन पुगेको पार्टीमध्ये २०४७ सालमा धु्रवीकरण भई क. मदन भण्डारीले नेतृत्व गरेको नेकापा एमाले धारको जन्म र अर्कोतर्फ निर्मल लामा, मोहनविक्रमद्वारा गठित चौथो महाधिवेशन टुटफुट भई २०४८ मा धु्रवीधरण भई  प्रचण्डले नेतृत्व गरेको नेकपा एकता केन्द्र धारको जन्म अलग अलग शृङ्खलामा आधारित भए पनि यी दुवै पार्टी निरङ्कुशता विरुद्धको साझाद सङ्घर्षे गर्दै नेपाली कम्युनिस्ट आन्दोलन बारेमा बहस गर्ने थलोको रूपमा विकसित हुँदै आएको थियो ।

एमालेले अङ्गीकार गरेको बहुदलीय जनवाद र एकताकेन्द्र पछि बनेको नेकपा माओवादीले जनयुद्धकै क्रममा विकास गरेको २१सौँ सताब्दीको जनवाद बीचमा तीव्र छलफल हुँदै नयाँ संविधान निर्माणको चरणसम्म यो बहसले आम कम्युनिस्ट कार्यकर्ता बीच नेपाली कम्युनिस्ट आन्दोलनबारे आआफ्नो विचार र दृष्टिकोणमा समर्पित र प्रतिबद्ध थिए । जनताको तहमा कम्युनिस्ट आन्दोलनप्रति अथाहा श्रद्धा र मायाको धरातल मजबुद भएका कारणले नयाँ संविधान निर्माणपछि राजनीतिक, सैद्धान्तिक र वैचारिक रूपमा नेपाली भूमिमा कम्युनिस्टले विजय हासिल गर्न सफल भए । यिनै मलिलो वतावरणमा सिर्जित जोश र उत्साह बीच दुई पार्टी मिलेर नेकपा यो देशमा मजबुद रूपमा उदायो । कम्युनिष्ट समर्थक जनताले राणा शासन देखी  ७० वर्ष लगाएर आफ्नो विचार र वर्गको सरकार गठन गर्न सफल भए ।

लगभग ३ पुस्ताले बगाएको रगत पसिना यो सरकारमा सङ्केन्द्रित गर्न सफल भए । यो सरकार विगतका विभिन्न चरणमा गठित सरकार जस्तो मिलीजुली नभएर नेकपालाई पूरा अवधि जनताको सेवा गर्न सक्ने अवधि तोकिदिएको मजबुद सरकार हो । यिनले विगतमा जनताका सेवा गर्न नपाएका मूलभूत विषयको योजना र खाका बनाएर सेवाको कार्ययोजना बनाउने काफी समय थियो । निर्वाचनमा घोषित प्रतिबद्धता पत्रको कार्ययोजना पल्टाएर नीति योजना र बजेट जनताको घरदैलोमा जाने, गरिबका बस्तीहरुमा जाने, असहाय र उत्पीडितहरुको बीचमा जाने योजना बनाउनुपर्ने थियो । प्रत्येक विकासमा जनताको सहभागी, पारदर्सिता, विकासलाई नयाँ ढगले सम्पन्न गर्ने खर्च र लेखा प्रणाली व्यवस्था गर्नुपर्ने थियो ।

कर्मचारीतन्त्रलाई जनताको सेवक बनाउने, सुरक्षा क्षेत्रलाई चुस्त तुरुस्त र जन उत्तरदायी बनाउनुपर्ने, बालक, वृद्ध, असाहय, बेरोजगारीको जिम्मेवारी लिने, निम्न मध्यम वर्गीयहरुलाई सुरक्षा र रोजगारीको सुनिश्चितता गर्ने, रोजगारीमूलक व्यवसाय र उद्योगको थालनी गर्ने, जस्ता समाजको तल्लो वर्गको समस्यामा सरकारको उपस्थितिको योजना तर्जुमा भएको भए पार्टी र सरकार दुवै सन्तुलित अवस्थामा अगाडि बढ्न सक्थ्यो । तर तिनै तहका सरकार लगामबिनाको घोडा जस्तै मन मिलेका बीच दौडिन खोज्ने पार्टीका शीर्षस्थ नेताहरु नै बेरोजगार हुने, एउटा बैठक बस्न माथिल्लो तहमै महिनौँ दिन लाग्ने, बैठकले निष्कर्ष नपाउने, पूर्व गुटहरुमा रुमल्लिएर पार्टी र योगदानको भन्दा आफ्नो मानिस छिराउने प्रतिस्पर्दा चल्ने, सरकारी निर्णहरुले पार्टीलाई नचिन्ने, राम्रो मानिस हैन, आफ्नो मानिस छिराउन पाए आनन्द आउने,  सम्मानित र मर्यादित नेताहरु विरुद्ध लाजैमर्दो रूपमा उछितो काड्ने, योगदान र आन्दोलनमा कुनै साइनो नभएकाहरुले राज्यका ठूला नियुक्ति पाउन ¥याल काड्ने, पाए ठूलै पद ओट्न खोज्ने नपाए जहाँ पनि भौँतारिन खोज्ने प्रवृत्तिले नेपाल कम्युनिस्ट पार्टी गठनको छोटो समयमै अक्रमण्यताको बोध हुन थाल्यो ।

    नेपाल कम्युनिस्ट पार्टीका नेताहरु विषेतः अध्यक्षद्वय बीच चरम अन्तरविरोधको समाचारहरु शीर्षस्थ नेताहरुकै अभिव्यक्तिहरुबाट आम जनताले सुन्दै आएका छन् । आफ्नो जीवन उत्सर्ग दिने, जिन्दगीभरी पार्टीका लागि जीवन समर्पित गर्ने, सबैथोक पार्टी हो भनी सबै घरपरिवार त्यागेर हिँड्ने कार्यकर्ताहरुको दिमाग र मनमा कस्तो पीडाबोध भएको होला ? ती वेदनाले छटपटाएका कार्यकर्ताहरुले नेताहरुलाई भेट्न उनीहरुको पहुँच छैन । उनीहरु पीडाका ढुकढुकीलाई सम्हालेर बस्नेबाहेक अरू विकल्प छैन । शीर्षस्थ नेताहरु अनुकूलका सहयोगीहरु बीच हुनुहुन्छ, प्रतिकूलका सहयोगीहरु भीर, पाखा, कुना, कन्दरामा रोग, भोक, अभावले छटपटी रहेका छन् । वास्तवमा शीर्षस्थ नेताहरुले अबका दिनहरुमा कसलाई रोज्ने अनुकूल समयका सहयोगी वा विगत प्रतिकूलका सहयोद्धाहरु । तपाईंहरुले अनुकूलका सहयोगीहरु बीचमा रमाउनुभयो भने ती अनुकूलका सहयोगीहरुले तपाईंहरुलाई मात्र हैन हैन सिङ्गो पार्टी डुबाउन समय लगाउने छैन । तपाईंहरु बीउबिजन जरुरी छ । जनताका सुःखदुःखको तहमा उभिनु जरुरी छ । यी सबै मान, सम्मान, मर्यादा र सुविधाहरु जनताले दिएको हो बुझ्न जरुरी छ । जनता खुसी भएन भने अर्को चुनावमा जनताले फिर्ता लिन सक्छन् भन्ने हेक्का राख्न जरुरी छ । संसारमा धेरै शासकहरुले जनतालाई प्रयोग गरेर आफू शक्तिशाली बन्न सफल भयो । तर त्यो टिकेन । यो पुनरावृत्ति नेपाली कम्युनिस्टहरु नेताहरुले गर्नु भएन । 
    नेपाली कम्युनिस्ट आन्दोलनका यी सङ्क्रमणहरुले पार्टीलाई तीव्र रूपमा कमजोर बनाउँदै लगेको छ । पार्टी एकता भयो भनी खुसीका सीमा नभएका जनता र कार्यकर्ताहरु आज मुख लुकाएर हिँड्नुपर्ने अवस्था छ । कम्युनिस्ट आदर्श, जिम्मेवारी, नीतिहरुको मूल्य मान्यता केही रहेन भन्ने अवस्था सिर्जना भइसक्यो । पार्टी केही पनि होइन भन्ने मनोगत प्रवृत्तिले आम जनप्रतिनिधिहरु बीच एउटा अराजकताको अवस्था सिर्जना हुने खतरा पैदा भइसकेको छ । संविधानले ३ तहको सरकारको जुन परिकल्पना गरेको छ, यो संयन्त्र जनताको सेवा गर्न लागि हो । राज्यको अधिकार तल्लो तहसम्म यथासक्य पुगोस् भन्ने सङ्घीयताको मोडल नेपालमा अभ्यास भइरहेको छ । तर एकाध ठाउँमा बाहेक पार्टीलाई नीति कार्यक्रमसम्म हेर्न नदिई तयार गरेको नीति कार्यक्रम जनताको तहमा कसरी कार्यान्वयन हुन्छ ? यो एकाधिकारवादी प्रवृत्तिले निर्वाचित जनप्रनिधिलाई तानासाही बाटोतर्फ डो¥याउने परिदृश्य देखा परिसकेको छ । यो पार्टी निर्माण गर्न कसको कति योगदान छ, शक्तिमा बसेर बोलेर होइन । जनताको स्तरमा बसेर जनताद्वारा परीक्षण हुनु सक्नुपर्दछ । 

    यी चर्चा गरिएका विषय कुनै व्यक्ति विशेषसँग सम्बन्धित छैन । यो नेपाल कम्युनिस्ट पार्टीमा चुलिँदै गएको अराजकता, एकाधिकारवादी र शक्तिका उन्मादबाट सिर्जित समस्या बारेको सुझाव मात्र हो । पार्टी र सरकारको समन्वय, पार्टी समर्थित, जनता, कार्यकर्ता र सबै तहको नेतृत्वको बीचमा नेकपाका तिनै तहको सरकारले विधिसम्मत पार्टीको योजनामा आफ्नो नीति कार्यक्रमको तर्जुमा र लागू गर्न सकेको भए आज पार्टीमा यो विकराल समस्या पैदा हुने थिएन ।

प्रत्येक नेता कार्यकर्ताको विगतको पृष्ठभूमि कोट्याउने, पूर्व हैसियतमा पनि त्यसभित्रको गुटको पहिचान गर्ने, गुटको पनि आफनो र अरुको छुट्याउने जस्ता अत्यन्तै गलत सामन्ती प्रवृत्तिको सङ्क्रमणले आज नेपालका किसान, मजदुर, श्रमजीवीहरु, मध्यमवर्गीय न्यायप्रेमी जनता र जनताको हितमा काम गर्ने राष्ट्रवादी शक्तिहरु, बौद्धिक जमात र आफू दुःख गरी नेकपालाई सहयोग गर्ने जनताका ठूलो तप्का र हिस्सा  निरुत्साहितको अवस्थामा रहन बाध्य छन् । अब यो विषय शीर्षस्थ कमरेडहरुको विषय मात्र नभए सिङ्गो पार्टीको जीवनमरणको दोसाँधको विषय भएकाले हामी सबैपङ्क्ति र तहका कार्यकर्ताहरुले जसरी पनि पार्टीलाई सामन्ती सङ्क्रमण, फुट र अराजकताबाट बचाउनै पर्छ ।

यो पार्टी उत्पीडित, गरिब र सबैखाले पीडामा परेको नेपाली जनताको पार्टी भएकाले यो पार्टी बचेको खण्डमा मात्र नेपाली जनताले सुखी नेपाल बनाउन सक्छ, समृद्ध नेपाल बनाउन सक्छ । युग युगसम्म नेपाली जनताले हाम्रो पार्टी र तहगत नेतृत्वलाई लाई सम्झिरहने छ । यो अवसरबाट नेताहरु चुक्न दिनु हुन्न । जसले जस्तोसुकै उक्सावटमा पार्न खोजे पनि नेतृत्व सचेत रहन सकनुपर्छ । लोभ, लालच, अवसरको खोजीबाट टाडा, श्रमिक, गरिब, योगदान भएको कार्यकर्ताको नजिकको घेरामा बस्न सक्नुपर्दछ । सामन्तवादी सङ्क्रमणबाट बच्ने अचुक औषधि त्याग र निःस्वार्थ भावनाले जनताको सेवा मात्र हो । त्याग र सेवाको संस्कार बसालाँै, लाखौँ जनताको रगतले निर्माण भएको पार्टीलाई गम्भीर क्षतिको डिलबाट बचाउने अभियानमा कम्मर कसेर जुटौँ । यो नै एउटा कम्युनिस्ट कार्यकर्ताको जिम्मेवारी र दायित्व हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.