शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशमा अलपत्र परेकाको उद्धार जारी

आइतबार, २१ असार २०७७, १४ : ५५
आइतबार, २१ असार २०७७

–सिबी अधिकारी
काठमाडौँ । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि ६ वटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् ।

नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ । दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ । यसैगरी  हिमालयले जुलाई दुईदेखि १० सम्मको उद्धार उडान तालिका निर्धारण गरेको छ । नेपाल एयरलाइन्सले यसअघि जुन पहिलो सातादेखि महिनाभर विभिन्न मुलुकमा चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याएको थियो । 

त्यस्तै हिमालयले जुन १६ देखि अन्तिमसम्म उद्धार उडान गरेको थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जुलाई महिनाको १२ तारिखसम्म मात्रै उद्धार उडान हुने जानकारी दिए । यसपछि एक÷दुई साता चार्टर्ड उडान नहुने उनले जानकारी दिए । उनका अनुसार जुन महिनामा छुटेकासहित उद्धार उडान जुलाईको ११ देखि १२ तारिखसम्म हुनेछ । यसपछि दुई साता उडान हुनेछैन । सरकारले निर्णय गरेमा थप उडान हुनसक्ने जनाइएको छ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले निगमको पूर्वनिर्धारित तालिकाअनुसार दैनिक तीनदेखि चार उडान भइरहेको जानकारी दिए । पछिल्लो पटक निगमको एक वाइड बडी जहाज ग्राउन्डेड भएकाले अहिले दैनिक सरदर तीन उडान भइरहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारोबडी जहाज छन् । हिमालयसँग तीन न्यारो बडी जहाज छन् ।

पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको छ । अन्य विदेशी एयरलाइन्सले पनि नेपालीको उद्धार उडानका लागि अनुमति पाएका छन् ।

हिमालयले औसतमा दैनिक दुईदेखि तीन चार्टर्ड उडान गरिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । अहिलेलाई पूर्वनिर्धारित तालिकामा उडान भर्ने र थप उडानका लागि सरकारले निर्णय गरेमा उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

उनले यात्रु चार्टर्ड र केही कार्गो उडानबाहेक अहिलेलाई कुनै योजना नभएको जानकारी दिए । एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरी चार्टर्ड उडान गरिरहेको छ ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार र आइतबार दैनिक ११ उडान भएको विमानस्थलले जनाएको छ ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सेन्टर (सिसिएमसी) को निर्णयअनुरुप पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काइने जनाइएको छ ।

सोह्र हजारभन्दा बढी फर्किए  

विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को विवरणअनुसार यही असार १८ गतेसम्म विभिन्न मुलुकबाट १६ हजार २९४ यात्रु फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै कुवेतबाट तीन हजार ५२७, युएईबाट दुई हजार ७३७, साउदी अरेबियाबाट दुई हजार दुई, कतारबाट एक हजार ८१७ र मलेसियाबाट एक हजार ५३७ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका पाँच हजार ३५८, प्रदेश नं १ का तीन हजार ८९, प्रदेश नं ५ का दुई हजार ५८१, प्रदेश नं २ का दुई हजार ४९८, गण्डकी प्रदेशका दुई हजार २१, कर्णाली प्रदेशका ३९४ र सुदूरपश्चिम प्रदेशका ३५३ स्वदेश फर्किएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप